प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w96 ४/१५ पृ. २२-२७
  • यहोवाको आशिष्‌ले वृद्धि

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवाको आशिष्‌ले वृद्धि
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • उपशीर्षकहरू
  • हृदयग्राही कार्यक्रम
  • भवनहरू समर्पण गरिए
  • थप घरहरूको आवश्‍यकता किन पऱ्‍यो
  • ९० स्यान्डस्‌पछाडिको कथा
  • यहोवाको आशिष्‌ प्रमाणित
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
w96 ४/१५ पृ. २२-२७

यहोवाको आशिष्‌ले वृद्धि

आफ्ना साक्षीहरूले ब्रूकलिन, न्यु योर्कस्थित मुख्यालयमा गरेको वृद्धिलाई यहोवा परमेश्‍वरले साँच्चै आशिष्‌ दिनुभएको छ भन्‍ने कुरालाई सेप्टेम्बर १८, १९९५ का साँझ भएको समर्पण कार्यक्रमले जोड दियो।

छ हजारभन्दा धेरैले यो समर्पण भाषण सुने। यो कार्यक्रम ब्रूकलिनमा सञ्चालन गरिएको थियो। ब्रूकलिनलगायत न्यु योर्कस्थित प्याटर्सन र वाल्किल नजीकैको यहोवाका साक्षीहरूका अन्य ठूल-ठूला भवनहरू अनि टोरन्टो, क्यानाडा नजीकै पर्ने शाखा कार्यालयका स्वयंसेवकहरूले पनि यो कार्यक्रम सुने। ब्रूकलिन शहरबाहिरकाहरूले टेलिफोन मार्फत यस कार्यक्रम सुने।

हृदयग्राही कार्यक्रम

यो कार्यक्रम सुन्‍ने बेथेल सेवक अर्थात्‌ स्वयंसेवकहरू विश्‍वव्यापी १६,४०० बेथेल सदस्यहरूमध्येको सबैभन्दा ठूलो समूह थियो। लगभग सयवटा जति देशहरूमा यी बेथेल सेवकहरू सेवा गरिरहेका छन्‌। यहोवाका साक्षीहरूको ७८,६०० भन्दा बढी विश्‍वव्यापी मण्डलीहरूका लागि बाइबल साहित्यहरू प्रकाशन गर्न सघाउ पुऱ्‍याउने विभिन्‍न विभागहरूमा यी सदस्यहरूले सहयोग गरिरहेका छन्‌।

साँझ साढे छ बजे कार्ल क्लेनले भजन र प्रार्थनाद्वारा समर्पण कार्यक्रम सुरु गर्दा श्रोताहरू निकै रोमाञ्चित थिए। कार्यक्रमका सभापति लोयड ब्यारीले यस सुअवसरको महत्त्वबारे छोटो टिप्पणी गर्दै सबैलाई हार्दिक स्वागत गरे। अल्बर्ट श्रोडरले त्यस हप्ताको प्रहरीधरहरा (अंग्रेजी) पाठको पुनरावृत्ति गरेपछि डानिएल सिड्‌लिकले १५ मिनेटजति “बेथेलमा हाम्रो पवित्र सेवा” बारे बताए। सुरुका यी सबै वक्‍ताहरू यहोवाका साक्षीहरूको परिचालक निकायका सदस्यहरू थिए।

त्यसपछि कार्यक्रमका बाँकी दुइ भागहरू—“आवास भवनको हाम्रो बढ्‌दो मागलाई पूरा गर्ने, १९७४-१९९५,” र “बेथेल जीर्णोद्धार तथा ब्रूकलिनमा गरिएको निर्माणका विशेषताहरू” समर्पित भवनहरू कसरी निर्माण वा प्राप्त गरिए भन्‍नेबारे थिए। ती भाषणहरू हालै निर्मित आवास भवनमाथि केन्द्रित थिए। अहिले यो आवास भवनमा १,००० बेथेल सेवकहरू बस्छन्‌। नब्बे स्यान्डस्‌ स्ट्रीटमा निर्मित यो ११५ मिटर अग्लो आवास भवन छापाखानाको छेउमै पर्छ।

यो कार्यक्रममा वाच टावर बाइबल एण्ड ट्राक्ट सोसाइटीका अध्यक्ष मिल्टन हेन्श्चेलले समर्पण भाषण दिए। तिनले बाइबलका उदाहरणहरूद्वारा समर्पण गरिएका भवनहरू यहोवाको सेवामा प्रयोग गरिने कुरामा जोड दिए। भजनपश्‍चात्‌ परिचालक निकायका सदस्य क्यारी बार्बरले प्रार्थनाद्वारा कार्यक्रम विसर्जन गरे। तर कार्यक्रमका केही विशेषताहरू के थिए?

भवनहरू समर्पण गरिए

मे २, १९६९ ब्रूकलिनमा बेथेल आवास भवनहरू समर्पण गरेदेखि अरू १७ वटा आवास भवनहरू थपिएको जानकारी बेथेल होमका निरीक्षक जर्ज काउचले दिए।a यी घर वा भवनहरूमध्ये केही निर्माण गरिए भने केही चाहिं किनेर जीर्णोद्धार गरिए। वास्तवमा यिनै १७ वटा आवास भवनहरू समर्पण गरिएका थिए। तीमध्ये दुइ स-साना भवनहरू सन्‌ १९४० को दशकतिर किनिएका र पछि बेथेल आवास भवनहरूको रूपमा काँटछाँट गरिएका थिए। यसको अतिरिक्‍त मार्च १५, १९८२ मा यहोवाका साक्षीहरूको मुख्यालयका कार्यालय भवनहरूको समर्पणपछि बनाइएका वा किनिएका कारखाना तथा कार्यालय भवनहरू पनि ती समर्पित भवनहरूमध्ये पर्छन्‌।b

समर्पण गरिएका भवनहरूमध्ये सबैभन्दा ठूलो ३६० फर्मन स्ट्रीटको हो। सन्‌ १९२८ मा निर्माण गरिएको यस भवन मार्च १५, १९८३ मा यहोवाका साक्षीहरूले किनेर पूर्णतया जीर्णोद्धार गरे। यसले ९३,००० वर्ग मिटर अथवा लगभग २३ एकड भूभाग ओगटेको छ। समर्पण गरिएका अन्य भवनहरूमा १७५ पर्ल स्ट्रीटस्थित कारखाना र हालैका वर्षहरूमा निर्माण गरिएका ग्यारेजहरू पनि थिए।

थप घरहरूको आवश्‍यकता किन पऱ्‍यो

सन्‌ १९६९ मा ब्रूकलिन बेथेलको अन्तिम आवास घर समर्पण गर्दा विश्‍वभरि परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्नेहरूको शिखर संख्या १३,३६,११२ थियो। तर सन्‌ १९९५ सम्ममा प्रचारकहरूको संख्या साढे तीन गुना बढेर ५१,९९,८९५ पुगिसकेको थियो। यसर्थ, बाइबल साहित्यहरूको बढ्‌दो मागलाई ध्यानमा राख्दै ब्रूकलिन बेथेल परिवारको संख्या पनि सन्‌ १९६९ का १,०४२ नियमित सदस्यहरूबाट बढेर ३,३६० भन्दा धेरै भइसक्यो। तिनीहरू अहिले २२ वटा आवास भवनहरूमा बस्छन्‌।

थप घरहरूको माग सन्‌ १९७४ देखि १९९५ सम्ममा कसरी पूरा गरियो भन्‍नेबारे जर्ज काउचले बताए। सन्‌ १९७० दशकको प्रारम्भतिर यहोवाका साक्षीहरूले बढ्‌दो बेथेल परिवारलाई आवासको प्रबन्ध गर्न नजीकैको टावर्स्‌ होटलका केही तल्लाहरू भाडामा लिए। डिसेम्बर १९७३ मा वाच टावर सोसाइटीका तत्कालीन अध्यक्ष नेथन नोरले बेथेल कार्यालय तथा टावर्स्‌ होटलको व्यवस्थापन पक्षलाई सोसाइटीले ‘अक्टोबर १, १९७४ सम्ममा टावर्स्‌ होटलबाट सर्ने’ योजना बनाएको जानकारी पठाए।

टावर्स्‌मा बसिरहेका बेथेल परिवारलाई अन्यत्र सार्ने कुनै ठाउँ नभएकोले यो योजनाबारे थाह पाउँदा आफू अक्क न बक्क भएको भाइ काउच बताउँछन्‌। तिनीहरू सोसाइटीले दिने बहालको रकममा ऋण चुक्‍ता गर्न भर परेकोले टावर्स्‌ होटलको व्यवस्थापन पक्ष पनि छक्क परे। फलस्वरूप टावर्स्‌का व्यवस्थापन पक्षले यहोवाका साक्षीहरूलाई होटल खरिद गर्न आग्रह गरे। तिनीहरूले यसो भने, “हामी यो टोलछिमेकमा आएदेखि तपाईंहरूको संख्या बढ्‌दै गएको देखेका छौं। त्यसैकारण यो भवन तपाईंहरूलाई चाहिन्छ।”

“तर अरूले पनि त होटल भाडामा लिएका छन्‌,” सोसाइटीका प्रतिनिधिले जवाफ दिए। “किन्‍ने नै हो भने, हामी हाम्रै मानिसहरू राख्न चाहन्छौं।”

“तपाईंहरूका लागि हामी ती बहालवालाहरूलाई अन्यत्र सारिदिन्छौं,” टावर्स्‌का व्यवस्थापन पक्षले वचन दिए। अनि केही समयपछि नै यहोवाका साक्षीहरूले सुपथ मूल्यमा टावर्स्‌ किने। “भाइ नोरले त्यो पत्र किन लेखे होलान्‌?” मक्ख परेर सुनिरहेका श्रोतालाई काउचले सोधे। “सम्भवतः उहाँ आफैलाई नै थाह थिएन, तर त्यो घटनाले गर्दा नै वाच टावर सोसाइटीलाई टावर्स्‌ होटल बेचिएको थियो।”

यहोवाका साक्षीहरूले ९७ कोलुम्बिया हाइट्‌स्‌ कसरी किने त्यसबारे पनि वक्‍ताले व्याख्या गरे। यो मूल बेथेल गृहको पारिपट्टिको प्रशिद्ध मार्गरेट होटल थियो। जमीनमुनि सुरुङ खनेर त्यो भवन र बेथेल भवनलाई सजिलै जोड्‌न सकिने भएकोले यो ठाउँ अति पायक पर्ने थियो। फेब्रुअरी १९८० मा त्यस भवनमा हेरफेर गरिरहेको बेला आगलागी भयो। त्यसपछि घर मालिकलाई त्यस ठाउँमा नयाँ भवन बनाउन कठिनाइ भएकोले तिनले त्यो घरजग्गा यहोवाका साक्षीहरूलाई बेचे।

भाइ काउचले भने: “भनौं भने, यी प्रत्येक भवनहरूको आ-आफ्नै रोचक कथा छ अनि यसले एउटा कुरालाई संकेत गर्छ। त्यो हो, आफ्नो दृश्‍य संगठनले प्राप्त गर्नुपर्ने खास भवनबारे निर्देशन दिनुहुने व्यक्‍ति यहोवा परमेश्‍वर नै हुनुहुन्छ।”

९० स्यान्डस्‌पछाडिको कथा

सबैभन्दा नयाँ र सबैभन्दा ठूलो आवास भवन ९० स्यान्डस्‌ स्ट्रीटको हो। डिसेम्बर १९८६ मा यहोवाका साक्षीहरूले यो घरजग्गा किनेपछि १६० जे स्ट्रीटको ठूलो कारखानामा काम गर्नेहरूको निम्ति यो निवासस्थान भयो।c कारखाना भत्काइयो। अनि अगस्त ३०, १९९० का दिन त्यस ठाउँमा ३० तल्ले आवास भवन बनाउने अनुमतिका लागि निवेदन दिइयो भन्‍ने जानकारी बेथेल परिवारलाई बताइयो।

परिचालक निकायका सदस्य थिअडोर जारासले लिएको अन्तरवार्तामा सोसाइटीको ब्रूकलिन कारखानाका निरीक्षक म्याक्स्‌ लार्सनले ९० स्यान्डस्‌ स्ट्रीट आवास भवन निर्माण गर्ने अनुमति कसरी प्राप्त भयो व्याख्या गरे। भाइ लार्सनको भनाइअनुसार सन्‌ १९६५ मा भएको घटना निर्णायक थियो। त्यतिखेर सोसाइटीले अन्य कारखानाहरूसँगै दश तल्ले कारखाना भवन निर्माण गर्न चाहेको थियो तर त्यस क्षेत्रमा दुइ तल्ले भवन मात्र निर्माण गर्न पाइने अनुमति प्राप्त भयो। आर्किटेक नयाँ कारखानाको प्रस्तावनाअनुसार नक्सा बनाइ दिन राजी त भए, तर तिनले यसो भने: “यो नक्सा पास गराउन खोजेर म आफैलाई अप्ठ्यारोमा पार्न चाहन्‍नँ।” स्तर निर्धारण एवं अपील समितिले त्यस क्षेत्रको हदबन्दीसम्बन्धी आफ्नो नियम परिवर्तन गर्नेछैन भनेर तिनी निश्‍चित थिए। तर भवनको नक्सा पास हुँदा तिनले यस्तो उद्‌गार गरे: “हैन, तपाईंहरूले यो कसरी गर्नसक्नुभयो!”

यसरी हाम्रो दश तल्ले कारखानाको निम्ति त्यस क्षेत्रको हदबन्दी पुनः तोक्दा १६० जे स्ट्रीटको भवनलगायत वरपरका क्षेत्रहरूको पनि हदबन्दी तोकियो भन्दै लार्सनले यसको कारण व्याख्या गरे। अनि अचम्मको कुरा, त्यो क्षेत्रमा होटल निर्माण गर्न सकिने अनुमति दिइएको रहेछ। लार्सनले भने, यसबारे कसैले विचारै गरेको थिएन रहेछ। लगभग २५ वर्षपछि नयाँ बेथेल गृह बनाउन अर्कै ठाउँ खोज्दा मात्र त्यो कुरा थाह लाग्यो!

त्यति बेला के भयो भाइ लार्सन व्याख्या गर्छन्‌: “हामीले ३० तल्ले आवास भवनको नक्सा तयार गरेर नगरपालिकामा पास गराउन लैजाँदा हामीलाई यसो भनियो: ‘तपाईंहरू त्यहाँ आवास भवन बनाउन सक्नुहुन्‍न। त्यो क्षेत्र कारखानाको निम्ति तोकिएको छ र तिनीहरूले तपाईंहरूको निम्ति हदबन्दीसम्बन्धी आफ्नो नियम परिवर्तन गर्नेछैनन्‌।’

“‘उहाँहरूले आफ्नो नियम परिवर्तन गर्नु पर्दैन,’ हामीले त्यहाँका पदाधिकारीहरूलाई जानकारी दियौं। ‘तोकिएको हदबन्दीअनुसार त्यहाँ पहिल्यै होटल निर्माण गर्ने अनुमति दिइसक्यो।’ तिनीहरूले अभिलेख पल्टाएर हेर्दा पत्याउनै सकेनन्‌! यसरी हामीले ३० तल्ले भवन निर्माण गर्न पायौं,” भन्दै लार्सनले कुरो टुंग्याए।

यहोवाको आशिष्‌ प्रमाणित

बाइबलका भजनरचयिता लेख्छन्‌: “परमप्रभुलेनै घर नबनाउनु भएता बनाउनेहरूले व्यर्थमा परिश्रम गर्छन्‌।” (भजन १२७:१) येशूले आफ्ना अनुयायीहरूलाई आज्ञा गर्नुभएको विश्‍वव्यापी प्रचारकार्य तथा शिक्षण कार्यलाई सुगम पार्न यहोवाका साक्षीहरूको निर्माण गतिविधिमा यहोवाले आशिष्‌ दिनुभएको कुरा सुस्पष्ट छ।—मत्ती २४:१४; २८:१९, २०.

सेप्टेम्बर १८, १९९५ मा कार्यक्रम सुन्‍ने विशेषाधिकार पाएकाहरूले यहोवाका सेवकहरूको विश्‍व मुख्यालयमा यस्ता आशिष्‌हरूको वृद्धिको प्रमाण देख्न पाउँदा रोमाञ्चित भए। उहाँको आज्ञा पालन गरूञ्जेल उहाँले निरन्तर आशिष्‌ दिइरहनुहुन्छ भनेर यहोवाका जनहरू विश्‍वस्त हुनसक्छन्‌।

[फुटनोटहरू]

a प्रहरीधरहरा (अंग्रेजी), जून १५, १९६९, पृष्ठ ३७९-८२.

b प्रहरीधरहरा (अंग्रेजी), डिसेम्बर १, १९८२, पृष्ठ २३-३१.

c ब्यूँझनुहोस्‌! (अंग्रेजी) डिसेम्बर २२, १९८७, पृष्ठ १६-१८.

[पृष्ठ २३-मा भएको चित्र]

९० स्यान्डस्‌ स्ट्रीट • १९९५

[पृष्ठ २४, २५-मा भएका चित्रहरू]

समर्पण गरिएका केही थप आवास भवनहरू

९७ कोलुम्बिया हाइट्‌स्‌ • १९८६

बोसर्ट होटेल, ९८ मनट्यागु स्ट्रीट • १९८३

३४ अरेन्ज स्ट्रीट • १९४५

स्ट्यान्डिश होटेल, १६९ कोलुम्बिया हाइट्‌स्‌ • १९८१

६७ लिभिङस्टन स्ट्रीट • १९८९

१०८ जराल्मेन स्ट्रीट • १९८८

टावर्स्‌ होटेल, ७९-९९ विलो स्ट्रीट • १९७५

[पृष्ठ २६-मा भएका चित्रहरू]

१७५ पर्ल स्ट्रीट • १९८३

६९ आडम्स्‌ स्ट्रीट • १९९१

३६० फर्मन स्ट्रीट • १९८३

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने