तिनले महान् नाउँको प्रयोग किन गरे
“शताब्दीयौंदेखि प्रचलित पर्यायवाची शब्द ‘परमप्रभु’-को ठाउँमा ‘यहोवा’ राखेको भएर मेरा समालोचकहरूअनुसार मैले पाप गरेको छु।”
भजनसंग्रह पुस्तक अनुवादको दोस्रो संस्करणमा जे. जे. परोनले उक्त टिप्पणी गरेका थिए। पहिलो संस्करण सन् १८६४ मा छापिएको थियो। यहूदी वा मसीही चर्चहरूमा प्रयोग गर्नै छाडिसकेको परमेश्वरको नाउँलाई तिनले आफ्नो अनुवादमा प्रयोग गरेको हुँदा जुलाई २, १८६४ को स्याटर्डे रिभ्यु-मा समालोचकले आपत्ति जनाए। यहोवा नाउँको यहूदीहरूसित निकटम सम्बन्ध भएकोले “परमप्रभु” वा “परमेश्वर” जस्ता “स्थानीय तथा राष्ट्रिय नदेखिने“ अर्कै नाउँ प्रयोग गर्नुपर्छ भन्ने दाबा तिनले गरे।
मानवजातिको निम्ति परमेश्वरको प्रकटीकरणको “एउटा पनि अक्षर नामेट पार्ने इच्छा” नभएकोले परोन यी दाबीहरूसित सहमत भएनन्। हिब्रू भाषामा लेखिएको ईश्वरीय नाउँलाई “परमप्रभु” भनी अनुवाद गर्ने अनुवादकहरूले दुइ हिब्रू शब्दहरूबीच भिन्नता छुटाउन नसकेका हुँदा यिनीहरू विरुद्ध तिनले उचित तरिकामा तर्क प्रस्तुत गरे।
यसबाहेक, परोनले ईश्वरीय नाउँ पुनः प्रयोग गर्न चाहने योग्य विशेषज्ञहरू छन् भन्ने ठोकुवा गरे। तिनले प्रशिद्ध अंग्रेज कवि स्यामुएल टेलर केल्रिज्को भनाइ उद्धरित गरे:
“सेप्टुआजिन्टलाई माध्यम बनाएर हिब्रूबाट अंग्रेजीमा अनुवाद गर्ने क्रमलाई किन कायमै राख्ने? के हामीले हिब्रू शब्द यहोवा-लाई अंगिकार गरेका हैनौं र? के हिब्रू नाउँ यहोवा-लाई युनानी सेप्टुआजिन्टमा अनगिन्ती पटक Κύριος वा परमप्रभु भनेर प्रतिस्थापन गरिएको हैन र? त्यसो भए, मूल शब्द नै किन प्रयोग नगर्ने? पुरानो नियमप्रति कर्तव्यनिष्ठ भई यहोवाको ठाउँमा किन यहोवा नै नराख्ने? अनि पुरानोलाई संकेत गर्ने नयाँ नियमका हरेक शब्दको ठाउँमा किन मूल शब्द नै नराख्ने?”
हिब्रू टेट्राग्रामाटनको सही उच्चारण लोप भइसकेको परोनले स्वीकारे। तैपनि तिनले यस्तो टिप्पणी गरे: “यहूदी चर्चहरूले अन्धविश्वासको कारण यो नाउँ प्रयोग गर्न छाडे भन्दैमा वा युनानी र ल्याटिन संस्करणहरूबाट हाम्रो [अंग्रेजी] संस्करणको प्रति बनाउँदा यो शब्दको प्रचलन हराएको हो भन्दैमा मूल शब्दलाई फेरि प्रयोग नगर्ने सशक्त कारणहरू यी होइनन्।” परोनले “यहोवा” नाउँलाई समर्थन गरे। किनकि यो नाउँ सुपरिचित थियो। त्यसै बेलादेखि थुप्रै आधुनिक अनुवादहरूमा यो ईश्वरीय नाउँ प्रयोग गर्न थालिएको छ। पवित्र धर्मशास्त्रको नयाँ विश्व अनुवाद-ले (अंग्रेजी) हिब्रू र मसीही युनानी धर्मशास्त्रमा ७,२०० पटकभन्दा धेरै चोटि यहोवा नाउँ प्रयोग गरिएको छ।
भजनसंग्रहको आफ्नो अनुवादमा परोनले “त्यस हिब्रू नाउँ-लाई सम्बन्धित भाषाको वाक्पद्धति र उपवाक्यको व्याकरणसित यथासम्भव मिलान गर्ने कोसिस गरे।।” भजन ६९ को ५ र ६ पदलाई अनुवाद गर्दा “परमेश्वर” (एलोहिम), “परमप्रभु” (अदोनाइ) र “यहोवा” जस्ता हिब्रू शब्दहरूबीचको भिन्नता बुझाउनुपर्ने आवश्यकता देखेर तिनले उक्त पद यसरी अनुवाद गरे: “हे परमेश्वर [एलोहिम], तपाईंले मेरो मूर्खता जान्नुहुन्छ। र मेरा पापहरू तपाईंबाट लुकेका छैनन्। तपाईंको बाटो हेर्नेहरू मद्वारा शर्ममा नपरून्, हे परमप्रभु [अदोनाइ], सेनाहरूका यहोवा (परमेश्वर)। तपाईंलाई खोज्नेहरू मद्वारा अनादरमा नपरून्, हे इस्राएलका परमेश्वर।”