“साह्रै बुद्धिमान” प्राणीहरूले हामीलाई के सिकाउनसक्छन्
वातानुकूल यन्त्र, हिमप्रतिरोधक, लवणरहित गर्ने यन्त्र र सोनारजस्ता आविष्कारहरूबारे मानिसजातिले २०औं शताब्दीमा व्यापक रूपमा थाह पाएका छन्। यद्यपि, ती कुराहरू जन्तुजगत्मा हजारौं वर्षअघिदेखि थिए। हो, मानिसजातिले त्यस्ता “साह्रै बुद्धिमान” प्राणीहरूको अध्ययन गरेर धेरै लाभ उठाउँछन्। (हितोपदेश ३०:२४-२८; अय्यूब १२:७-९) केही जनावरहरू मानिसजातिका मौन शिक्षकहरू भएजस्तो देखिन्छन् अनि तिनीहरूको अध्ययन गर्नु एकदमै चाखलाग्दो हुनसक्छ।
के हामी केही जनावरहरूको बानीबेहोरा हेरेर लाभ उठाउनसक्छौं? भनौं भने, येशू ख्रीष्टले आफ्ना अनुयायीहरूलाई भेडा, सर्प, ढुकुर र सलहसितसमेत तुलना गर्नुभयो। यी प्राणीहरूसित तुलना गर्नुहुँदा उहाँको मनसाय के थियो? हामी हेरौं।
“मेरा भेड़ाहरूले मेरो सोर सुन्छ”
बाइबलमा २०० भन्दा धेरै चोटि भेडाको उल्लेख गरिएको छ। स्मिथ्स बाइबल डिक्सनरी-अनुसार, “भेडा नम्रता, धैर्यता तथा अधीनताको प्रतीक हो।” यशैया अध्याय ५३ मा येशू स्वयंलाई भविष्यसूचक ढंगमा भेडासित तुलना गरिएको छ। आफ्ना अनुयायीहरूलाई उहाँले त्यही जनावरसित तुलना गर्नु कति सुहाउँदो छ! तर भेडाको कुन विशेष गुनहरू येशूको मनमा थियो?
येशूले यसो भन्नुभयो, “मेरा भेड़ाहरूले मेरो सोर सुन्छ, र म तिनीहरूलाई चिन्छु, र तिनीहरूले मलाई पछ्याउँछ।” (यूहन्ना १०:२७) यसरी उहाँले आफ्ना चेलाहरूको नम्रता अनि उहाँलाई पछ्याउने तिनीहरूका उत्सुकतालाई प्रकाश पार्नुभयो। भेडाले आफ्नो गोठालोको कुरा सुन्छ र स्वेच्छासाथ उसको पछि लाग्छ। गोठालोले पनि आफ्नो बगालसित घनिष्ठ सम्बन्ध राखेको हुन्छ।
चउरमा यत्रतत्र छरिएर बगाल चरिरहेको होला तर प्रत्येक भेडाले बगालसित सामूहिक तवरमा सम्पर्क राख्छ। तसर्थ, आलेस फर डास साफ (भेडाको लागि सबै) नामक पुस्तकमा उल्लेख गरेअनुसार जनावरले असुरक्षित वा डर महसुस गरेमा “तिनीहरू हतपत एकै ठाउँमा जम्मा हुनसक्छन्।” खतराबाट बच्ने हो भने भेडाहरू बगालको रूपमा भाग्छन् र समय समयमा परिस्थिति बुझ्न रोक्छन्। “रोकी रोकी भाग्दा पाठा तथा कमजोरहरूलाई समेत सजिलो हुन्छ। बगालले तिनीहरूलाई विशेष सुरक्षा पनि प्रदान गर्छ।” यस बानीबेहोराबाट हामी के सिक्नसक्छौं?
आज साँचो मसीहीहरू विभिन्न धार्मिक सम्प्रदाय र मसीहीजगत्का गुटहरूमा छरिएका छैनन्। बरु, तिनीहरूलाई एउटै बगालमा जम्मा गरिएको छ। प्रत्येक मसीहीले परमेश्वरको यस बगालसित व्यक्तिगत तवरमा घनिष्ठ सम्बन्ध महसुस गर्छ अनि यसले यहोवाका साक्षीहरूको संगठनमा एकता कायम राख्न योगदान पुऱ्याउँछ। गम्भीर बिमारी, युद्ध वा प्राकृतिक विपत्तिहरूजस्ता जस्तोसुकै कठिनाइहरू आइपरे तापनि प्रत्येक उपासकले डोऱ्याइ र सुरक्षा कहाँ खोज्छ? आध्यात्मिक सुरक्षा दिने यहोवाको संगठनमा।
बाइबलीय सल्लाह कसरी उपलब्ध गराइन्छ? प्रहरीधरहरा र यसको सहपत्रिका ब्यूँझनुहोस्! जस्ता प्रकाशनहरू मार्फत। यी पत्रिका तथा मसीही सभाहरूले बगालका पाठो र कमजोर भेडाहरूलाई जस्तै थप हेरचाह चाहनेहरूलाई विशेष सहयोगसमेत प्रदान गर्छ। उदाहरणका लागि, एक्लो आमा वा बुबाहरू तथा निराशाले पीडितहरूलाई ध्यान दिइन्छ। तसर्थ, प्रत्येक पत्रिका पढ्नु, मण्डलीका सबै सभाहरू धाउनु र सिकेका कुराहरू लागू गर्नु कति बुद्धिमानी हो! त्यसरी हामी विनम्रता र परमेश्वरको बगालप्रति प्रगाढ सम्बन्ध प्रदर्शन गर्छौं।—१ पत्रुस ५:२.
“सर्पझैं चनाखो र ढुकुरझैं सोझो”
स्मिथ्स बाइबल डिक्सनरी यसो भन्छ: “पूर्वी इलाकाभरि सर्पलाई दुष्ट सिद्धान्त र अनाज्ञाकारी आत्माको प्रतीकको रूपमा प्रयोग गरिन्थ्यो।” अर्कोतर्फ, “मेरी ढुकुर” चाहिं प्रेमको अभिव्यक्ति थियो। (श्रेष्ठगीत ५:२) येशूले आफ्ना अनुयायीहरूलाई “सर्पझैं चनाखो र ढुकुरझैं सोझो होओ” भन्नुहुँदा उहाँको मनसाय के थियो?—मत्ती १०:१६.
येशूले प्रचार गर्न तथा शिक्षा दिन निर्देशनहरू दिइरहनुभएको थियो। उहाँका चेलाहरूले मिश्रित प्रतिक्रियाहरूको अपेक्षा गर्नसक्थे। थोरै व्यक्तिहरूले चासो देखाउने थिए भने अरूले सुसमाचारलाई अस्वीकार गर्नेथिए। केहीले परमेश्वरका यी साँचो उपासकहरूलाई सताउनेसमेत थिए। (मत्ती १०:१७-२३) सतावट आइपर्दा चेलाहरूले कस्तो प्रतिक्रिया देखाउनुपर्थ्यो?
मत्ती १०:१६ को सन्दर्भमा फ्रिट्स रेनेकर दास आफांगाल्यम डेस माताउस-मा (मत्तीरचित सुसमाचारको पुस्तक) यसो भन्छन्: “चनाखो हुनुका साथै . . . निष्ठावान्, इमानदार र स्पष्टवादी हुनुपर्छ। अन्यथा शत्रुहरूले आशंका गर्ने वैध कारणहरू पाउनेछन्। येशूका राजदूतहरू निष्ठुर विपक्षीहरूबीच छन्। यिनीहरू प्रेरितहरूको कुनै ख्याल गर्दैनन् र तिनीहरूलाई क्रूर भई स-सानो अवसरमा पनि हमला गरी हाल्छन्। तसर्थ, सर्पजस्तै आफ्ना विपक्षीहरूलाई सजग भई हेर्नु र आफ्नो आँखा तथा ज्ञानेन्द्रियहरूलाई चनाखो राख्नु आवश्यक छ। कुनै छल वा बेइमानीबिना परिस्थितिलाई आफ्नो नियन्त्रणमा राख्न आफ्नो वचन र कार्यमा ढुकुरजस्तै हुनुपर्छ।”
मत्ती १०:१६ मा पाइने येशूका शब्दहरूबाट परमेश्वरका आधुनिक सेवकहरूले के सिक्नसक्छन्? प्रथम शताब्दीमा जस्तै आज पनि मानिसहरूले सुसमाचारप्रति त्यस्तै प्रतिक्रिया देखाउँछन्। सतावट आइपर्दा साँचो मसीहीहरू सर्पजस्तै चनाखो र ढुकुरजस्तै सोझो हुनुपर्छ। मसीहीहरूले ठगी वा बेइमान तरिकाहरू कहिल्यै प्रयोग गर्दैनन् तर परमेश्वरको राज्यको सन्देश अरूलाई सुनाउन तिनीहरू भ्रष्टाचाररहित निष्कपट र इमानदार छन्।
उदाहरणका लागि: कार्यस्थलमा सहकर्मीहरू, स्कूलमा युवाहरू वा आफ्नै परिवारका सदस्यहरूले समेत तपाईं यहोवाको साक्षी हुनुभएकोले तपाईंको विश्वासबारे कटु टिप्पणीहरू गर्लान्। त्यति नै खेर तपाईंको प्रतिक्रिया पनि तिनको विश्वासबारे त्यस्तै कटु टिप्पणी गर्ने हुनसक्छ। तर के त्यसो गर्नु ठीक हो? पटक्कै होइन। आफ्ना आलोचकहरूलाई तिनीहरूको टिप्पणीले तपाईंको राम्रो आचरणमा कुनै असर नपरेको देखाउनुभयो भने शायद तिनीहरूले त्यस्तो कटु टिप्पणीहरू गर्न बन्द गर्नेछन्। त्यसो गर्नुभयो भने, तपाईं चनाखो र निष्खोट दुवै हुनुहुनेछ अर्थात् ‘सर्पझैं चनाखो तरैपनि ढुकुरझैं सोझो।’
“ती सलहहरूका आकार लड़ाइँलाई तयार गरिराखेका घोड़ाहरूकै जस्ता थिए”
जिइओ पत्रिकाअनुसार “इतिहासमा लेखिएको सबैभन्दा ठूलो [सलहको] ताँतीले” सन् १७८४ मा दक्षिण अफ्रिकालाई सखाप पारेको थियो। त्यस झुन्डले ५,२०० वर्ग किलोमिटर ढाकेको थियो जुन हङकङको क्षेत्रफलभन्दा पाँच गुना ठूलो छ। स्मिथ्स बाइबल डिक्सनरी-अनुसार सलह “जुन जुन देशमा पुग्छ त्यहाँ वनस्पति सखाप पार्छ।”
“प्रभुको दिन[मा]” हुने घटनाहरूलाई उहाँको ईश्वर-प्रदत्त प्रकाशमा येशूले सलहको ताँतीको दर्शनलाई प्रयोग गर्नुभयो। तिनीहरूबारे यसो भनिएको थियो: “ती सलहहरूका आकार लड़ाइँलाई तयार गरिराखेका घोड़ाहरूकै जस्ता थिए।” (प्रकाश १:१, १०; ९:३-७) यस प्रतीकको उल्लेखनीय पक्ष के थियो?
प्रकाश अध्याय ९ मा वर्णित सलहहरूले यस शताब्दीमा पृथ्वीमा रहेका परमेश्वरका अभिषिक्त जनहरूलाई चित्रण गर्छन् भनेर यहोवाका साक्षीहरूले धेरै अघिदेखि बुझेका छन्।a यी मसीहीहरूलाई निर्दिष्ट कार्यभार अर्थात् पृथ्वीभरि परमेश्वरको राज्यको सन्देश प्रचार गर्ने र चेला बनाउने कार्य सुम्पिएको छ। (मत्ती २४:१४; २८:१९, २०) यसकारण तिनीहरू अवरोधहरूमाथि विजय हासिल गर्दै आफ्नो कार्यमा लागिरहनुपर्छ। यस्तो अदम्य सलहले भन्दा यिनीहरूलाई अरू कुन कुराले राम्ररी चित्रण गर्नसक्छ र?
सलह पाँच सेन्टिमिटरभन्दा अलिकति मात्रै ठूलो हुने भए तापनि साधारणतया प्रतिदिन यसले १०० देखि २०० किलोमिटरसम्म यात्रा गर्छ। स्थानान्तरण गर्ने शिष्टोसेर्का ग्रेगारिया नामक सलहले १,००० किलोमिटरसम्म पनि यात्रा गर्नसक्छ। जिइओ यसरी बताउँछ: “यसका पखेटाहरू प्रतिसेकेण्ड १८ चोटिसम्म र प्रतिदिन १७ घण्टासम्म फरफराउँछन्। र यो अरू कुनै कीराहरूले गर्नै सक्दैन।” यति सानो कीराको कत्रो ठूलो काम!
समूहगत रूपमा यहोवाका साक्षीहरू परमेश्वरको राज्यको सुसमाचार सुनाउन अटल छन्। अहिले तिनीहरूले २३० भन्दा बढी मुलुकहरूमा प्रचार गर्छन्। यो कार्य पूरा गर्न परमेश्वरका यी सेवकहरूले धेरै कठिनाइहरू झेल्छन्। तिनीहरूले कस्ता प्रकारका समस्याहरूमाथि विजय हासिल गर्छन्? पूर्वाग्रह, कानुनी प्रतिबन्ध, बिमारी, निरुत्साह तथा नातेदारहरूबाट सतावट त केही मात्र समस्याहरू हुन्। तर तिनीहरूलाई अघि बढ्न कसैले पनि रोक्न सकेको छैन। तिनीहरू ईश्वरप्रदत्त कामलाई पक्रिराख्छन्।
मसीही गुनहरू प्रदर्शन गरिरहनुहोस्
हो, येशूले आफ्ना अनुयायीहरूलाई भेडा, सर्प, ढुकुर र सलहसित तुलना गर्नुभयो। यो आज हाम्रो समयमा साँच्चै सुहाउँदो छ। किन? किनभने यस रीतिरिवाजको अन्त सँघारमै छ र समस्याहरू पहिलेभन्दा अहिले झन् धेरै छन्।
येशूका यी सुस्पष्ट शब्दहरू मनमा राख्दै साँचो मसीहीहरू परमेश्वरको बगालसित घनिष्ठ हुन्छन् र यहोवाको संगठनबाट प्राप्त सल्लाहलाई नम्रतापूर्वक स्वीकार्छन्। सबै कुराहरूमा तिनीहरू निष्खोट रहँदै मसीही क्रियाकलापहरूमा बाधा पुऱ्याउने परिस्थितिहरूप्रति तिनीहरू सजग र सतर्क रहन्छन्। यसबाहेक तिनीहरू अवरोधहरूको बावजूद परमेश्वरको इच्छा गर्न निरन्तर लागिरहन्छन्। अनि तिनीहरू केही “साह्रै बुद्धिमान” प्राणीहरूबाट सिकिनैरहन्छन्।
[फुटनोट]
a वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित प्रकाश—त्यसको चरमोत्कर्ष निकट! अध्याय २२ हेर्नुहोस्।