पाठकहरूका प्रश्नहरू
मैले बुझेअनुसार युनानी शब्द टोटे (त्यसपछि) पछि हुने घटनालाई बुझाउन प्रयोग गरिन्छ। त्यसोभए मत्ती २४:९ मा किन यसो लेखिएको: “तब [टोटे] तिनीहरूले तिमीहरूलाई घोर शासनाको लागि सुम्पिदिनेछन्,” जब कि यसैको समानान्तर विवरण लूका २१:१२ मा यसो भनिएको छ: “तर यी सबै कुराहरू हुनुभन्दा अघि, तिनीहरूले मेरो नाउँको खातिर तिमीहरूलाई हात हाल्नेछन् र खेदो गर्नेछन्”?
हो, अर्को शब्दमा भन्ने हो भने पछि हुने घटना वा घटनाक्रमलाई बुझाउन टोटे प्रयोग गर्न सकिन्छ। तर यस शब्दलाई बाइबलमा त्यही अर्थमा मात्र प्रयोग गरिएको छ भनेर हामीले सम्झनु हुँदैन।
बाउवर, आर्न्ट र गीङग्रीचद्वारा लिखित नयाँ नियम तथा अन्य प्रारम्भिक मसीही साहित्यको युनानी-अंग्रेजी शब्दकोश-अनुसार (अंग्रेजी) दुइ मूलभूत अर्थ बुझाउन धर्मशास्त्रमा टोटे शब्द प्रयोग गरिएको छ।
एउटा हो, “त्यसबेला।” यसमा “बितेको समय बुझाउन त्यसबेला” भनी प्रयोग गर्न सकिन्छ। यसको उदाहरण मत्ती २:१७ मा यसप्रकार छ: “तब यर्मिया अगमवक्ताद्वारा यसो भनी बोलिएको वचन पूरा भयो।” यसले क्रमानुसार त्यतिबेला भएको कुनै घटनालाई संकेत गरेको होइन तर भूतकालको एक निश्चित समयलाई संकेत गर्छ। त्यसरी नै टोटे-लाई “भविष्यमा हुने समयलाई बुझाउन त्यसबेला” भनी पनि प्रयोग गर्न सकिन्छ। एउटा उदाहरण १ कोरिन्थी १३:१२ मा पाइन्छ: “अहिले हामी ऐनामा धमिलोसँग देख्छौं, तर त्यस बेला-चाहिं मुखामुख, अहिले म केही मात्र जान्दछु, तर त्यस बेला-चाहिं जसरी म अहिले चिनिएको छु, त्यसैगरी म प्रष्टै चिन्नेछु।” पावलले यहाँ ‘भविष्यको कुरा’ बुझाउन टोटे प्रयोग गरेका छन्।
उक्त शब्दकोशअनुसार टोटे-को अर्को प्रयोग “समयको दौडानमा हुने घटनाहरू” बुझाउन गरिन्छ। प्रेरितहरूले येशूको उपस्थितिबारे सोधेको प्रश्नमा उहाँले दिनुभएको जवाफको तीनवटा विवरणहरूमा पाइएका थुप्रै उदाहरणहरू उक्त शब्दकोशले दिएको छ।a “समयको दौडानमा हुने घटनाहरू” बुझाउन टोटे चलाइएका उदाहरणस्वरूप उक्त शब्दकोशले मत्ती २४:१०, १४, १६, ३०; मर्कूस १३:१४, २१ र लूका २१:२०, २७ उल्लेख गरिएको छ। प्रसंगलाई विचार गर्ने हो भने समयको दौडानमा हुने घटनालाई बुझाउँछ भनेर सोध्नु बेस हो। अनि यो येशूको भविष्यवाणीअनुरूप भावी घटनाहरू कसरी विकास हुन्छ भनेर बुझ्न मदतकारी हुन्छ।
तर, यी विवरणहरूमा हरेक चोटि टोटे-को प्रयोगले खालि समयको दौडानमा पछि हुने घटनाहरूलाई मात्रै बुझाउँछ भन्ने निष्कर्षमा पुग्नु हुँदैन। उदाहरणका लागि, मत्ती २४:७, ८ अनुसार राज्यको विरुद्धमा राज्य र ठाउँ ठाउँमा अनिकाल र भैंचालो हुनेछ भनेर येशूले भविष्यवाणी गर्नुभयो। पद ९ अझ यसो भन्छ: “तब तिनीहरूले तिमीहरूलाई घोर शासनाको लागि सुम्पिदिनेछन्, र तिमीहरूलाई मार्नेछन्, औ मेरो नाउँको खातिर सबै जातिमध्ये तिमीहरू घृणित हुनेछौ।” त्यसोभए के भविष्यवाणी गरिएअनुसार युद्ध, अनिकाल र भैंचालोहरू सबै हुनुका साथै त्यो रोकिएपछि मात्रै सतावट सुरु हुन्छ भनेर बुझ्नु मनासिब होला र?
त्यो तर्कसंगत छैन र त्यो प्रथम शताब्दीमा पूरा भएको घटनासित पनि मेल खाँदैन। प्रेरितको पुस्तकको विवरणले प्रकट गरेअनुसार नयाँ मसीही मण्डलीका सदस्यहरूले प्रचार गर्ने बित्तिकै कठोर विरोधहरूको अनुभव गरे। (प्रेरित ४:५-२१; ५:१७-४०) निस्सन्देह, येशूले भन्नुभएका युद्ध, अनिकाल र भैंचालोहरू प्रारम्भिक समयको सतावटअघि भए भनेर भन्न सक्दैनौं। त्यसको विपरीत, भविष्यवाणी गरिएका धेरै कुराहरू “हुनुभन्दा अघि” सतावट सुरु भयो। र यो लूकाका ती शब्दहरूअनुरूप छन्: “तर यी सबै कुराहरू हुनुभन्दा अघि, तिनीहरूले मेरो नाउँको खातिर तिमीहरूलाई हात हाल्नेछन्, र खेदो गर्नेछन्।” (लूका २१:१२) यसअनुसार मत्ती २४:९ मा प्रयोग गरिएको टोटे-लाई “त्यसबेला” भन्ने अर्थ बुझाउन बढी प्रयोग गरिएको छ। युद्ध, अनिकाल तथा भैंचालोहरूको दौडान वा त्यसबेला येशूका अनुयायीहरूलाई सतावट दिइनेछ।
[फुटनोट]
a मत्ती, मर्कूस र लूकाका समानान्तर विवरणहरू प्रहरीधरहरा फेब्रुअरी १, १९९४ पृष्ठ २४, २५ को स्तम्भमा दिइएको थियो। टोटे बुझाउन चलाइएको शब्द “त्यसपछि[लाई]” गाढा गरी लेखिएको थियो।