ठूलठूला भूकम्पहरू—बाइबलमा कस्तो भविष्यवाणी गरिएको थियो?
प्रत्येक वर्ष लाखौँ भूकम्पहरू जाने गर्छ। प्रायजसो सानातिना भूकम्पहरू जाने गर्छन् तर कहिलेकाहीँ शक्तिशाली भूकम्पहरू पनि जान्छन्। यसले गर्दा ठूलठूलो क्षति हुन्छ अनि पीडादायी अवस्था र मृत्युसमेत निम्तिन्छ। कहिलेकाहीँ भूकम्पको कारण निम्तिने सुनामीले गर्दा समुद्री किनारामा पनि ठूलो क्षति पुग्छ र त्यहाँका थुप्रै मानिसहरूले ज्यान गुमाउँछन्। के बाइबलमा यस्ता भूकम्पहरूबारे पहिल्यै भविष्यवाणी गरिएको थियो?
यस लेखमा
के बाइबलमा भूकम्पबारे भविष्यवाणी गरिएको थियो?
येसुले भूकम्पबारे गर्नुभएको भविष्यवाणी बाइबलमा उल्लेख गरिएको छ। उहाँले भन्नुभएको कुरा बाइबलका यी तीन वटा किताबहरूमा लेखिएका छन्:
“जातिको विरुद्धमा जाति र राज्यको विरुद्धमा राज्य उठ्नेछ अनि ठाउँठाउँमा अनिकाल र भूकम्प हुनेछ।”—मत्ति २४:७.
“जातिको विरुद्धमा जाति र राज्यको विरुद्धमा राज्य उठ्नेछ अनि ठाउँठाउँमा भूकम्प जानेछ र अनिकाल पर्नेछ।”—मर्कुस १३:८.
“ठूलठूला भूकम्प जानेछ, ठाउँठाउँमा अनिकाल पर्नेछ र महामारी हुनेछ।”—लुका २१:११.
युद्ध, अनिकाल र महामारी भइरहेको समयमा ठाउँठाउँमा ठूलठूला भूकम्पहरू जानेछन् भनेर येसुले भविष्यवाणी गर्नुभयो। यी सबै घटनाहरू एकैचोटि हुँदा यो नै “यस युगको आखिरी समय” अथवा “अन्तको दिन”-को चिन्ह हो भनेर स्पष्ट हुने थियो। (मत्ति २४:३; २ तिमोथि ३:१) बाइबल घटनाको कालक्रमअनुसार अन्तको दिन १९१४ देखि सुरु भयो अनि अहिलेसम्म सकिएको छैन।
के अहिलेका भूकम्पहरूले बाइबल भविष्यवाणी पूरा गर्छ?
गर्छ। येसुले भूकम्पलगायत गर्नुभएका अरू भविष्यवाणीहरू अहिले हाम्रो समयमा पूरा भइरहेका छन्। १९१४ देखि यता १ हजार ९ सय ५० भन्दा धेरै शक्तिशाली भूकम्प गएका छन्, जसले गर्दा २० लाख भन्दा धेरै मानिसहरूले आफ्नो ज्यान गुमाएका छन्।a यस शताब्दीमा गएका केही भूकम्पहरूबारे विचार गरौँ।
२००४—हिन्द महासागर। ९.१ रेक्टर स्केलको भूकम्पले सुनामी निम्त्यायो, जसको कारण थुप्रै देशहरूमा ठूलो क्षति पुग्नुका साथै २ लाख २५ हजार मानिसहरूले ज्यान गुमाए।
२००८—चीन। ७.९ रेक्टर स्केलको भूकम्पले थुप्रै गाउँ अनि सहरहरू तहसनहस पाऱ्यो। लगभग ९० हजार मानिसहरूले आफ्नो ज्यान गुमाए, ३ लाख ७५ हजार मानिसहरू घाइते भए अनि लाखौँ घरबारविहीन भए।
२०१०—हाइटी। ७.० रेक्टर स्केलको भूकम्प अनि त्यसपछि आएका पराकम्पनले गर्दा ३ लाखभन्दा धेरै मानिसहरूले आफ्नो ज्यान गुमाए अनि लाखौँ मानिसहरू घरबारविहीन भए।
२०११—जापान। ९.० रेक्टर स्केलको भूकम्प र त्यसले गर्दा आएको सुनामीको कारण लगभग १८ हजार ५ सय मानिसहरूले आफ्नो ज्यान गुमाए र हजारौँ मानिसहरू घरबारविहीन भए। फुकुसिमामा भएको पावर प्लान्ट क्षतिग्रस्त भयो र ठूलो आणविक दुर्घटना भयो। १० वर्षपछि पनि पावर प्लान्ट नजिकै घर भएका ४० हजार जति मानिसहरू आफ्नो घर फर्कन सकेनन् किनभने त्यतिबेलासम्म पनि हानिकारक विकिरणहरू अत्यधिक मात्रामा फैलिरहेको थियो।
बाइबलको भविष्यवाणीले हाम्रो लागि कस्तो अर्थ राख्छ?
बाइबलमा भूकम्पसम्बन्धी गरिएका भविष्यवाणीहरूले अब चाँडै हुन लागेका घटनाहरूबारे सजग गराउँछ। येसुले भन्नुभयो: “जब तिमीहरूले यी कुराहरू भइरहेका देख्छौ, तब परमेश्वरको राज्य नजिकै छ भनेर जान।”—लुका २१:३१.
परमेश्वरको राज्य स्वर्गमा स्थापना भएको एउटा वास्तविक सरकार हो र त्यसको राजा येसु ख्रिष्ट हुनुहुन्छ भनी बाइबल बताउँछ। येसु ख्रिष्टले यही राज्यको लागि आफ्नो चेलाहरूलाई प्रार्थना गर्न सिकाउनुभयो।—मत्ति ६:१०.
परमेश्वरको राज्यले पृथ्वीमा शासन गर्न थालेपछि मानिसहरूलाई हानि पुऱ्याइरहेको भूकम्पलगायत सबै प्राकृतिक प्रकोप परमेश्वरले हटाउनुहुनेछ। (यसैया ३२:१८) त्यति मात्र होइन, भूकम्पले गर्दा भएको शारीरिक अनि भावनात्मक हानिलाई पनि उहाँले निको पार्नुहुनेछ। (यसैया ६५:१७; प्रकाश २१:३, ४) यसबारे अझ धेरै जान्न “परमेश्वरको राज्यले के गर्नेछ?” भन्ने लेख हेर्नुहोस्।
a Statistics are from the Global Significant Earthquake Database maintained by the United States National Geophysical Data Center.