चार वर्ष लामो युद्धको दौडान सान्त्वना
भूतपूर्व युगोस्लाभियाली भूभागमा चलेको चार वर्षे लामो युद्धको दौडान थुप्रै मानिसहरूले कठिनाइ अनि अति अभाव खप्नुपऱ्यो। यो समूहमा यहोवाका ती सयौं साक्षीहरू पर्छन् जसले विश्वासी भई “सबै सान्त्वनाको परमेश्वर[को]” उपासना गरिरहे।—२ कोरिन्थी १:३.
युद्ध चलुञ्जेल सराइभो शहर घेराबन्दीमा परेको हुँदा त्यस ठूलो शहरका मानिसहरूले थप कठिनाइ भोग्नुपऱ्यो। शहरमा पर्याप्त विद्युत, पानी, दाउरा अनि भोजन थिएन। त्यसोभए यस्तो दुर्गम परिस्थितिमाझ यहोवाका साक्षीहरूको सराइभो मण्डली कसरी सञ्चालन भइरह्यो त? छिमेकी मुलुकका मसीहीहरूले आफ्नो गर्दन बाजी लगाएर ठूलो मात्रामा राहत सामग्री भित्र्याए। (प्रहरीधरहरा, [अंग्रेजी] नोभेम्बर १, १९९४, पृष्ठ २३-७ हेर्नुहोस्।) यसका साथै सराइभोका भाइहरूले विशेषगरि आध्यात्मिक कुराहरू बाँड्नेतर्फ बढी जोड दिंदै आफूसँग जेजति छ आपसमा बाँडे। घेराबन्दीको दौडान सोही शहरका एक मसीही निरीक्षकले यस्तो रिपोर्ट दिए:
“हामी सभाहरूलाई असाध्यै बहुमूल्य ठान्छौं। मेरी पत्नी र म अनि अरू ३० जना जान आउन जम्मा ३० किलोमिटर [१८ माइल] हिंडेर सभाहरू धाउँछौं। कहिलेकाहीं सार्वजनिक घोषणा गरिएअनुसार पानी वितरण हुने दिन र हाम्रो सभा हुने दिन जुधिराख्या हुन्छ। त्यस्तो बेला भाइहरूले के गरे? तिनीहरू घरैमा बसे वा सभा धाए? हाम्रा भाइहरूले सभाहरू धाउन रुचाए। आफूसँग भएजति सबै बाँडेर भाइहरू सधैं एकअर्कालाई मदत गर्छन्। हाम्रो मण्डलीको एक जना बहिनी शहरबाहिर जंगल नजिकै बस्ने भएकीले अरूलाई भन्दा दाउरा पाउन अलिक सजिलो छ। तिनी पाउरोटी कारखानामा पनि काम गर्छिन् र तलबको रूपमा पीठो पाउँछिन्। यो बहिनी मौका मिल्ने बित्तिकै ठूलो पाउरोटी सेकेर सभामा ल्याउँछिन्। अनि सभा सकेपछि सबैलाई एक-एक टुक्रा बाँड्छिन्।
“हाम्रा कुनै पनि भाइ वा बहिनीले आफू लत्याइएको महसुस नगर्नु महत्त्वपूर्ण छ। किनभने अर्को पटक कसलाई पो गुहार चाहिने हो कसैलाई थाह छैन। सडकमा हिउँ जम्दा हाम्री एक बहिनी बिरामी भएकी थिइन्। तर जवान, बलिया भाइहरूले तिनलाई स्लेजमा तानेर सभाहरूमा ल्याए।
“हामी सबै जना प्रचारमा जान्छौं र यहोवाले हाम्रा प्रयत्नहरूमा आशिष् दिनुभएको छ। बोस्नियाको दुर्दशा उहाँबाट लुकेको छैन र पनि उहाँले हाम्रो वृद्धि गराउनु भएर आशिष् दिनुभएको छ। त्यस्तो वृद्धि त हामीले युद्धअघि कहिल्यै देखेका थिएनौं।”
भूतपूर्व युगोस्लाभियाका अन्य युद्धग्रस्त क्षेत्रहरूमा पनि कठिनाइको बावजूद यहोवाका साक्षीहरूले त्यस्तै वृद्धि अनुभव गरिरहेका छन्। यहोवाका साक्षीहरूको क्रोएसियास्थित कार्यालयबाट साक्षीहरूको एक समूहबारे यस्तो रिपोर्ट प्राप्त भएको छ: “भेलिका क्लादुसामा बस्ने भाइहरूको दुर्दशा बताएर साध्य छैन। यस शहरमा निकै चोटि आक्रमण भइसक्यो। भाइहरूले क्रोएसियाली, सर्बियाली र विभिन्न मुसलमान सिपाहीहरूको समूहहरूलाई आफ्नो तटस्थताबारे बुझाउनुपऱ्यो। निस्सन्देह तिनीहरूले कारावासको सजाय, कुटाइ, भोक सहनुपऱ्यो, मृत्युको खतरा सामना गर्नुपऱ्यो। तैपनि, तिनीहरू सबै विश्वासी भएर बसे र यहोवाले तिनीहरूको क्रियाकलापमा दिनुभएको आशिष् अनुभव गर्ने अद्वितीय सुअवसर पाए।”
यी कठिनाइहरूको बावजूद भेलिका क्लादुसा अनि निकटवर्ती इलाका बिहाकका साक्षीहरू आफ्ना छिमेकीहरूसित परमेश्वरको सान्त्वनाको सन्देश बाँड्दैछन् र वृद्धिको अनुभव गर्दैछन्। यी दुइ ठाउँका कुल २६ जना राज्य प्रकाशकहरूले ३९ वटा बाइबल अध्ययनहरू सञ्चालन गर्दैछन्!