जापानमा धार्मिक स्वतन्त्रतालाई मान्यता दिइयो
जापानमा वर्षौंदेखि यहोवाका साक्षीहरूमध्ये जवान विद्यार्थीहरू एउटा दुबिधामा परेका छन्: आफ्नो बाइबलप्रशिक्षित अन्तस्करणअनुसार गर्ने वा आफ्नो अन्तस्करणको विरुद्ध स्कूल पाठ्यक्रमलाई स्वीकार्ने? किन यस्तो दुबिधा? किनभने तिनीहरूको स्कूलमा शारीरिक शिक्षाअन्तर्गत मार्सल आर्ट पनि पर्छ। ती जवान साक्षीहरूलाई त्यसमा भाग लिनु यशैया अध्याय २ को पद ४ मा उल्लिखित बाइबल सिद्धान्तहरू विपरीतजस्तो लाग्थ्यो। त्यहाँ यसो भनिएको छ: “तिनीहरूले आफ्ना आफ्ना तरवार पिटेर हलोको फाली र भाला चाहिं हँसिया बनाउनेछन्। एउटा जातिले अर्को जातिको विरुद्ध तरवार उठाउनेछैन, औ तिनीहरूले अब उप्रान्त युद्ध गर्न सिक्नेछैनन्।”
अरूलाई हानि पुऱ्याउने, झैझगडा गर्ने सीप सिक्न नचाहेको हुँदा जवान मसीही साक्षीहरूले मार्सल आर्टमा भाग लिनु आफ्नो अन्तस्करण विरुद्ध भएको कुरा आफ्ना शिक्षकहरूलाई बताए। यी विद्यार्थीहरूलाई स्कूल पाठ्यक्रम स्वीकार्न विश्वस्त गराउन खोजेपछि थुप्रै समझदार शिक्षकहरू अन्ततः विद्यार्थीहरूको अन्तस्करणप्रति आदर देखाउँदै अन्य वैकल्पिक क्रियाकलापको प्रबन्ध गर्न राजी भए।
तथापि, केही शिक्षकहरू भने आवेशमा आए र कुनै कुनै स्कूलले ती जवान साक्षीहरूलाई शारीरिक शिक्षामा लब्धांक दिनै इन्कार गरे। सन् १९९३ मा कम्तीमा नौ जना साक्षीहरूलाई कक्षाबाट अनुत्तीर्ण बनाएर स्कूल छाड्न बाध्य तुल्याए वा मार्सल आर्टमा भाग नलिएकोमा निष्कासन गरे।
स्पष्टतः, आफ्नो अन्तस्करणसित सम्झौता नगरी शिक्षा प्राप्त गर्ने जवान साक्षीहरूको अधिकारलाई जोगाउन केही त गर्नै परेको थियो। कोबे म्युनिसिपल इन्डस्ट्रियल टेक्निकल कलेजले (छोटकरीमा कोबे टेक्) अनुत्तीर्ण गरेका पाँच जना विद्यार्थीले कानुनी कारवाही गर्ने निर्णय गरे।
विवाद के थियो?
सन् १९९० को वसन्त ऋतुमा ती पाँच विद्यार्थीहरू कोबे टेक्मा भर्ना हुँदा आफ्नो बाइबलआधारित दृष्टिकोणले गर्दा केन्डोमा (जापानी तरवारखेल) भाग लिन सक्दैनन् भनेर शिक्षकहरूलाई बुझाए। शारीरिक शिक्षा विभागले कडा विरोध गऱ्यो अनि शारीरिक शिक्षामा लब्धांक पाउने कुनै विकल्पको प्रबन्ध गर्न इन्कार गऱ्यो। आखिरमा ती विद्यार्थीहरू शारीरिक शिक्षामा अनुत्तीर्ण भए अनि परिणामस्वरूप प्रथम वर्ष (कलेजको पहिलो वर्ष) दोहोऱ्याउनुपऱ्यो। सन् १९९१ अप्रिलमा तिनीहरूले कोबे जिल्ला अदालतमा मुद्दा दायर गरे र के दाबी गरियो भने, स्कूलको यस्तो कार्य धार्मिक स्वतन्त्रता प्रदान गर्ने संवैधानिक ग्यारेन्टी विपरीत भयो।a
वैकल्पिक क्रियाकलापहरू प्रबन्ध गर्नु भनेको कुनै एउटा धर्मको पक्ष लिए सरह हुनेछ र निष्पक्ष जनशिक्षामा दखल हुनेछ भनी स्कूलले दाबी गऱ्यो। त्यसबाहेक, तिनीहरूले यो पनि दाबी गरे, वैकल्पिक शारीरिक शिक्षा कार्यक्रम प्रबन्ध गर्ने विभाग तथा कर्मचारीहरू पनि छैनन्।
जिल्ला अदालतको निर्णयले जानकारहरूबीच हलचल मच्चाउँछ
मुद्दाको सुनुवाइ होऊञ्जेल पाँच जनामध्ये दुइ जना विद्यार्थी शारीरिक शिक्षामा पुनः अनुत्तीर्ण भए र अरू तीन जनाले भने जसो तसो उतीर्णांक पाए। पढाइमा कमजोर तथा लगातार दुइ वर्षसम्म एउटै कक्षामा अनुत्तीर्ण हुने विद्यार्थीहरू स्कूलका नियमावलीहरूअनुसार निष्कासित गरिने थियो। यसलाई ध्यानमा राख्दै ती दुइमध्ये एकले स्कूल छाड्ने निधो गरे। तर अर्को, कुनिहितो कोबायाशीले स्कूल छाड्न इन्कार गरे। अतः तिनलाई निष्कासित गरियो। चाखलाग्दो कुरा, शारीरिक शिक्षालगायत अरू सबै विषयहरूमा कुनिहितोले १०० मा औसतन ९०.२ लब्धांक पाए र अनुत्तीर्ण भएको विषय अर्थात् शारीरिक शिक्षामा लब्धांक ४८ थियो। तिनी आफ्नो कक्षाका ४२ विद्यार्थीहरूमध्ये प्रथम भए।
फेब्रुअरी २२, १९९३ मा कोबे जिल्ला अदालतले कोबे टेक्को पक्षमा फैसला सुनाएर यसो भन्यो: “स्कूलले उठाएको कदमले संविधानमा दखल पुऱ्याएन” तर यसले कुन कुरालाई स्वीकाऱ्यो भने, “केन्डोमा भाग लिन लगाएर स्कूलले केही हदसम्म वादीको उपासना गर्ने स्वतन्त्रतामा चाहिं रोक लगायो।”
प्रथम शताब्दीमा प्रेरित पावलले जस्तै वादीले उच्च कानुनी अख्तियारहरूसमक्ष अपिल गर्ने निधो गरे। (प्रेरित २५:११, १२) मुद्दा अब ओसाका उच्च अदालतसम्म पुग्यो।
वादीको निःस्वार्थ मनोवृत्ति
एक जना प्रख्यात विद्वान्, सुकुबा विश्वविद्यालयका प्राध्यापक, टेट्सुओ शेमोमुरा एक विशेषज्ञको हैसियतमा ओसाका उच्च अदालतमा बयान दिन राजी भए। शिक्षा तथा कानुन विशेषज्ञको हैसियतमा तिनले विद्यार्थीहरूप्रति स्कूलको व्यवहार असाध्यै असमझदारपूर्ण भएको कुरालाई जोड दिए। कुनिहितो कोबायाशीले अदालतमा आफ्ना भावनाहरू व्यक्त गरे र तिनको निष्कपट मनोवृत्तिले अदालतकक्षमा उपस्थितहरूको मन छोयो। साथै, फेब्रुअरी २२, १९९४ मा कोबे बार एसोसिएसनले स्कूलको कार्यले उपासनासम्बन्धी कुनिहितोको स्वतन्त्रता र तिनले शिक्षा पाउनुपर्ने अधिकारमाथि दखल पुऱ्याएको घोषणा गर्दै तिनलाई स्कूलमा पुनः भर्ना गर्ने सुझाउ दियो।
ओसाका उच्च अदालतले औपचारिक निर्णय सुनाउने समय आउँदा संलग्न सबै जवान साक्षीहरू मुद्दाको अन्तसम्मै संघर्ष गर्न उत्सुक थिए। जापानभरि यस्तै विवादको सामना गर्ने अरू हजारौं जवान साक्षीहरूको खातिर तिनीहरूले कानुनी संघर्ष गरिरहेको महसुस गरे। तर तिनीहरूलाई स्कूलबाट निष्कासन नगरिएको हुँदा तिनीहरूको मुद्दा सामसुम हुनसक्ने निकै सम्भावना थियो। अनि तिनीहरूले यो पनि महसुस गरे, तिनीहरूले मुद्दा फिर्ता लिएमा कुनिहितोलाई निष्कासन गर्दा स्कूलले देखाएको अव्यवहारिकतामा सबैको ध्यानाकर्षण हुनेथियो। तसर्थ, कुनिहितोबाहेक अरू सबै विद्यार्थीहरूले मुद्दा फिर्ता लिए।
डिसेम्बर २२, १९९४ मा ओसाका उच्च अदालतका प्रमुख न्यायाधीश, रासुकी शेमाडाले कोबे जिल्ला अदालतको विपरीत न्याय सुनाए। कुनिहितोले केन्डो गर्न अस्वीकार गर्नुको कारण निष्कपट हुनुका साथै तिनले आफ्नो धार्मिक विश्वासको कारण भोग्नु परेको असुविधा अचाक्ली भएको अदालतले पत्ता लगायो। स्कूलले वैकल्पिक क्रियाकलापको प्रबन्ध गर्नुपर्ने थियो भनी प्रमुख न्यायाधीश, शेमाडाले भने। यस उत्तम निर्णयले मानव अधिकारबारे चिन्तित व्यक्तिहरूबाट राम्रो समर्थन पायो। तथापि, स्कूलले जापानको सर्वोच्च अदालतमा फेरि अपिल गऱ्यो र परिणामस्वरूप कुनिहितो थप एक वर्षभन्दा बढी समयको लागि शिक्षाबाट वञ्चित भए।
सर्वोच्च अदालतसम्म
कोबे शिम्बुन नामक अखबारको सम्पादकीयमा पछि यसो भनियो: “[ओसाका उच्च अदालतले निर्णय सुनाएपछि] कोबे शहरको स्कूल समिति तथा स्कूलले त्यति नै खेर श्री. कोबायाशीलाई पुनः भर्ना गर्नुपर्ने थियो। . . . अनावश्यक तर्कवितर्क गर्ने तिनीहरूको मनोवृत्तिले त्यस जवानको महत्त्वपूर्ण समय खेर गयो।” तर कोबे टेक्ले अझैपनि यस मुद्दामा दृढ अडान लियो। परिणामस्वरूप, यो राष्ट्रव्यापी समाचारको विषय हुन गयो। देशभरिका शिक्षक तथा स्कूल अधिकृतहरूको ध्यानाकर्षण भयो र देशको सर्वोच्च अदालतको निर्णयले त्यस्तै प्रकारका भावी मुद्दाहरूको नजिर तय गर्नेथियो।
स्कूलले सर्वोच्च अदालतमा अपिल गरेको एक हप्ताजति पछि जनवरी १७, १९९५ का दिन कुनिहितो तथा तिनको परिवार बस्ने आशिया शहरमा भैंचालो गयो। कुनिहितो, भैंचालो जानुभन्दा केही मिनेटअघि बिहान साढे पाँच बजे आफ्नो आंशिक जागिरको लागि घर छाडिसकेका थिए। तिनी हान्शीन फ्लाइओभरमुनि साइकल चलाउँदैथिए र भैंचालो जाँदा तिनी पुग्नै लागेको बाटो गर्ल्यामगुर्लुम भत्कियो। तुरुन्तै तिनी आफ्नो घर फर्के र तिनीहरूको भुइँतल्ला धूलोपीठो भएको देखे। त्यस भैंचालोमा आफूले ज्यान गुमाउनसक्थे भनी सम्झँदा कुनिहितो झस्किए र तिनलाई बचाउनु भएकोमा यहोवाप्रति कृतज्ञ भए। तिनी मरेका भए सर्वोच्च अदालतको निर्णयबिना केन्डो मुद्दा सामसुम हुन्थ्यो होला।
जापानको सर्वोच्च अदालतले लिखित अपिल मात्र प्रायजसो केलाउँछ र तल्लो अदालतहरूको निर्णय सही थियो कि थिएन भनी जाँच्छ। तल्लो अदालतको निर्णय बदर गर्नुपर्ने कुनै गम्भीर कारण छैन भने सुनुवाइ हुँदैन। अदालतले निर्णय सुनाइने मितिबारे सम्बन्धित पक्षहरूलाई सूचना दिंदैन। अतः मार्च ८, १९९६ का दिन बिहान अदालतको निर्णय सुनाइनेछ भनी थाह पाउँदा कुनिहितो तीन छक परे। सर्वोच्च अदालतले ओसाका उच्च अदालतको निर्णयलाई मान्यता दिएछ भनी थाह पाउँदा तिनी हर्षविभोर भए।
न्यायाधीश शिनिची कावीको अध्यक्षतामा चारै जना न्यायाधीशहरूले “सामाजिक तवरमा मान्यताप्राप्त सिद्धान्तहरूको दृष्टिकोणमा आफ्नो व्यक्तिगत अधिकार विपरीत स्कूलले उठाएको कदम असाध्यै अनुचित भएकोले त्यो गैरकानुनी” हो भनी निर्विरोध फैसला सुनाए। अदालतले केन्डो नसिक्ने कुनिहितोको निष्कपटतालाई स्वीकार्दै यसो भन्यो: “केन्डो नसिक्ने वादीको कारण निष्कपट र तिनको विश्वासको जडसित सम्बन्धित थियो।” वादीको धार्मिक विश्वासप्रति आदर देखाउन स्कूलले वैकल्पिक प्रबन्ध गर्नसक्थ्यो र गर्नुपर्थ्यो भनी सर्वोच्च अदालतले फैसला सुनायो।
दूरव्यापी असर
निस्सन्देह, यस निर्णयले स्कूलमा उपासनाको स्वतन्त्रताको पक्षमा भावी घटनाहरूको लागि उत्तम नजिर कायम गर्नेछ। द जापान टाइम्स-ले यसो भन्यो: “शिक्षा तथा धार्मिक स्वतन्त्रताको विषयमा सर्वोच्च अदालतको यस्तो निर्णय प्रथम चोटि सुनाइएको हो।” तथापि, विश्वासको जाँच हुँदा आफ्नो अन्तस्करणअनुसार गर्न प्रत्येक जवान विद्यार्थीको जिम्मेवारीलाई भने उक्त निर्णयले हल्का बनाउँदैन।
कुनिहितोलाई विजयी बनाउन न्यायाधीशहरूलाई प्रेरित गर्ने एउटा तत्त्व, तिनी “पढाइमा उत्कृष्ट निष्कपट विद्यार्थी” भएकोले हो भनी सुकुबा विश्वविद्यालयका प्राध्यापक मासायुकी उचिनोले टिप्पणी गरे। विश्वासको जाँच सामना गर्ने मसीहीहरूलाई बाइबलले यस्तो सल्लाह दिन्छ: “अन्यजातिहरूका बीचमा तिमीहरूको चालचलन असल गराओ, र जसले तिमीहरूका विरुद्धमा तिमीहरूलाई कुकर्मी भन्छन्, तिनीहरूले देखेका तिमीहरूका असल कामबाट कृपादृष्टिको दिनमा तिनीहरूले परमेश्वरको महिमा गरून्।” (१ पत्रुस २:१२) विश्वासी जवान मसीहीहरूले आफ्नो बाइबलीय अडान मानिसहरूको आदरयोग्य छ भनी बाइबल स्तरअनुरूप सम्पूर्ण जीवन बिताएर देखाउनसक्छन्।
सर्वोच्च अदालतको निर्णयपछि कुनिहितो कोबायाशीलाई कोबे टेक्मा पुनः भर्ना गरियो। सुरुमा कुनिहितोसँगसँगै भर्ना भएका अधिकांश विद्यार्थीहरूले कलेजको पढाइ सिध्याइसकेका थिए। कुनिहितो अहिले आफूभन्दा पाँच वर्ष कान्छो विद्यार्थीहरूसित अध्ययन गरिरहेका छन्। संसारका अधिकांश मानिसहरूको दृष्टिकोणमा तिनको जवानीको मूल्यवान् पाँच वर्ष यत्तिकै खेर गयो। तथापि, कुनिहितोको निष्ठा यहोवा परमेश्वरको नजरमा मूल्यवान् छ र तिनको त्याग निस्सन्देह निरर्थक भएको छैन।
[फुटनोट]
a विस्तृत विवरणको लागि वाचटावर बाइबल एण्ट ट्राक्ट सोसाइटीद्वारा प्रकाशित अक्टोबर ८, १९९५ ब्यूँझनुहोस्! (अंग्रेजी) पृष्ठ १० देखि १४ हेर्नुहोस्।
[पृष्ठ २०-मा भएको चित्र]
बायाँ: भैंचालोपछि कुनिहितोको घर
तल: अहिलेको कुनिहितो