प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w96 १२/१ पृ. २४-२८
  • यहोवा मेरो शरणस्थान हुनुभएको छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवा मेरो शरणस्थान हुनुभएको छ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • महत्त्वपूर्ण भेट
  • बाइबल सत्यको लागि हाम्रो अडान
  • भीषण विरोध सहने
  • गम्भीर अस्वस्थतासित संघर्ष
  • विरोधको बावजूद अग्रगामी
  • इनामदायी अनुभव
  • यहोवाले मेरो भलाइ गर्नुभएको छ
  • अस्ट्रेलियामा मैले साँचो धन भेट्टाएँ
    ब्यूँझनुहोस्‌!—१९९४
  • यहोवाको मार्गमा आठ लालाबाला हुर्काउँदाको सुखदुःख
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • पचास वर्षभन्दा लामो समयसम्म ‘स्थानान्तरित’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • त्यागिएको टुहुरोले मायालु बुबा पाउँछ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
w96 १२/१ पृ. २४-२८

यहोवा मेरो शरणस्थान हुनुभएको छ

पेनलपी माकरिसको वृत्तान्तमा आधारित

मेरी आमाले व्यग्रतासाथ मसित यसरी बिन्ती गर्नुभयो: “तिम्रो लोग्नेलाई छाडिदेऊ, तिम्रा दाइहरूले तिम्रोनिम्ति अझ राम्रो लोग्ने खोजी दिनेछन्‌।” मेरी मायालु आमाले मैले विवाह भंग गरोस्‌ भनी किन चाहनुभएको? उहाँलाई कुन कुराले त्यति विचलित बनायो?

म सन्‌ १८९७ मा सामोस भन्‍ने ग्रीक टापुको सानो गाउँ आम्बेलोसमा जन्मेकी थिएँ। मेरो परिवार ग्रीक अर्थोडक्स चर्चका भक्‍त सदस्यहरू थिए। बुबा म जन्मनुभन्दा केही समयअघि नै बितिसक्नु भएको थियो र त्यतिबेला अत्यन्तै दरिद्र अवस्थामा हात मुख जोर्न मात्र पनि आमा, मेरा दुइ दाइ, एक भाइ र मैले निकै परिश्रम गर्नुपर्थ्यो।

सन्‌ १९१४ मा प्रथम विश्‍वयुद्ध सुरु भयो र त्यसको तुरुन्तैपछि मेरा दुइ दाइहरूलाई सेनामा भर्ती हुने आदेश दिइयो। तर त्यसबाट उम्कन घरमा आमासित म र भाइलाई मात्र छाडेर दाइहरू अमेरिकामा बसाइँ सर्नुभयो। केही वर्षपश्‍चात्‌ सन्‌ १९२० मा हाम्रो गाउँको जवान शिक्षक थिमिट्रिससित मैले विवाह गरें।

महत्त्वपूर्ण भेट

मेरो विवाहको तुरुन्तैपछि मेरो ठूलो मामा अमेरिकाबाट हामीलाई भेट्‌न आउनुभयो। उहाँले चार्ल्स टेज रसलद्वारा लिखित धर्मशास्त्रको अध्ययन-का (अंग्रेजी) खण्डहरूमध्ये एउटा ल्याउनुभएको रहेछ। यो त्यतिबेला बाइबल स्टुडेन्ट्‌स भनी चिनिने यहोवाका साक्षीहरूको प्रकाशन थियो।

थिमिट्रिसले यो पुस्तक खोल्नुहुँदा आफूले सानो छँदादेखि जान्‍न चाहेको विषय अर्थात्‌ “मृत्युपछि मानिसलाई के हुन्छ?” भन्‍ने लेख देख्नुभयो। उच्च माध्यमिक विद्यालयमा हुँदा उहाँले ग्रीक अर्थोडक्स धर्मविद्‌लाई त्यही विषयमा प्रश्‍न सोध्नुभएको थियो तर सन्तोषजनक जवाफ भने पाउनुभएको थिएन। त्यस साहित्यमा दिइए- का स्पष्ट तथा तर्कसंगत स्पष्टीकरणबाट थिमिट्रिस यति दंग पर्नुभयो कि उहाँ सीधै ग्रीसको चलनअनुसार लोग्नेमानिसहरू जम्मा हुने ठाउँ, गाउँको कफी घरमा जानुभयो। त्यहाँ उहाँले आफूले बाइबलबाट सिकेका कुराहरू बताउनुभयो।

बाइबल सत्यको लागि हाम्रो अडान

यसै समयतिर वा सन्‌ १९२० को दशकको सुरुमा ग्रीस अर्को युद्धको चपेटामा पऱ्‍यो। थिमिट्रिसलाई अनिवार्य भर्ती गराइयो र एसिया माइनरमा टर्कीको मुख्य भूभागमा पठाइयो। उहाँ घाइते भएकोले घर पठाइयो। उहाँ पुनः स्वस्थ हुनुभएपछि म पनि उहाँसितै स्मर्ना, एसिया माइनरमा गएँ (अहिले इजमिर, टर्की)। अकस्मात्‌ सन्‌ १९२२ मा युद्ध रोकिंदा हामी भाग्नुपऱ्‍यो। वास्तवमा हामी नराम्रोसित क्षतिग्रस्त भएको डुंगाबाट बल्लतल्ल सामोस भाग्यौं। घर आइपुग्दा हामीले घुँडा टेकेर परमेश्‍वरलाई धन्यवाद दियौं तर त्यस परमेश्‍वरबारे हामीसित अझै थोरै मात्र ज्ञान थियो।

चाँडै थिमिट्रिसलाई टापुको राजधानी भाथेको स्कूलमा पढाउन खटाइयो। उहाँले बाइबल स्टुडेन्ट्‌सको साहित्य पढि नै रहनुभयो। पानी परिरहेको एक रात किआस टापुबाट दुइ बाइबल स्टुडेन्ट्‌स हामीलाई भेट्‌न आए। तिनीहरू अमेरिकाबाट कल्पोर्टरहरूको हैसियतमा सेवा गर्न फर्केका रहेछन्‌। त्यतिबेला पूर्ण-समय सुसमाचारकहरूलाई कल्पोर्टर भनिन्थ्यो। त्यस रात तिनीहरूलाई हामीकहाँ नै राख्यौं र तिनीहरूले परमेश्‍वरका उद्देश्‍यहरूबारे धेरै कुरा हामीलाई बताए।

थिमिट्रिसले मलाई पछि यसो भन्‍नुभयो: “पेनलपी, सत्य यही हो अब मैले यसलाई पछ्याउनुपर्छ। यसको अर्थ अबदेखि मैले ग्रीक अर्थोडक्स चर्चमा गीत गाउन बन्द गर्नुपर्छ र स्कूलका विद्यार्थीहरूसित चर्च धाउनु पनि हुँदैन।” यहोवाबारे हाम्रो ज्ञान सीमित भए तापनि उहाँको सेवा गर्ने हाम्रो इच्छा बलियो थियो। त्यसैले मैले यस्तो उत्तर दिएँ: “तपाईंको लागि म अवरोध हुनेछैन। अघि बढ्‌नुहोस्‌।”

तर हिचकिचाउँदै उहाँले यसो भन्‍नुभयो: “हो, तर अरूले थाह पाए भने मैले जागिर गुमाउनुपर्नेछ।”

मैले भनें, “चिन्ता नगर्नुहोस्‌, के सबै मानिसले शिक्षण पेशाबाट मात्रै जीविकोपार्जन गरिरहेका छन्‌ त? हामी जवान र बलिया छौं, परमेश्‍वरको मदतद्वारा अर्को जागिर पाउनसक्छौं।”

यही समयतिर अर्को एक बाइबल स्टुडेन्ट सामोसमा आएको कुरा थाह पायौं। तिनी पनि कल्पोर्टर थिए। तिनलाई प्रहरीले जनभाषण दिन अनुमति नदिएको सुनेपछि हामी तिनलाई खोज्न हिंड्यौं। हामीले तिनलाई एउटा पसलमा ग्रीक अर्थोडक्सका दुइ धर्मविद्‌हरूसित कुरा गरिरहेको भेट्टायौं। बाइबल देखाएर आफ्नो विश्‍वासलाई समर्थन गर्न नसकेकोले ती धर्मविद्‌हरू लाजले भुतुक्क भएर गइहाले। ती कल्पोर्टरको ज्ञानबाट प्रभावित भएर मेरो पतिले सोध्नुभयो: “तपाईं बाइबल चलाउन कसरी खप्पिस हुनुभएको?”

तिनले भने: “हामी क्रमबद्ध ढंगमा बाइबल अध्ययन गर्छौं।” तिनले आफ्नो झोलाबाट परमेश्‍वरको वीणा (अंग्रेजी) नामक अध्ययन पुस्तक झिके र अध्ययन गर्न यो पुस्तक कसरी चलाउने, त्यो पनि देखाए। हामी सिक्न यति उत्सुक थियौं कि मेरो पति र म, त्यस कल्पोर्टर र अर्को दुइ मानिस तुरुन्तै त्यस पसलेसँगै तिनको घर गयौं। त्यस कल्पोर्टरले प्रत्येकलाई परमेश्‍वरको वीणा-को प्रति दिए र हामीले उति नै खेर अध्ययन गर्न थाल्यौं। मध्य रात भइसक्दा पनि हामीले अध्ययन गरिरह्‍यौं अनि झिसमिसे बिहानीपख बाइबल स्टुडेन्ट्‌सले गाउने गीत सिक्न थाल्यौं।

त्यतिबेलादेखि मैले दिनमा दुइ तीन घण्टा बाइबल अध्ययन गर्न थालें। समुद्र पार बस्ने बाइबल स्टुडेन्ट्‌सले हामीलाई बाइबल अध्ययन सहायक पुस्तकहरू पठाइ नै रहे। जनवरी १९२६ मा मैले बिनारोकटोक उहाँको इच्छा गर्ने भाकल गर्दै प्रार्थनाद्वारा समर्पण गरें। पछि त्यही वर्षको ग्रीष्म ऋतुमा मेरो पति र मैले पानीको बप्तिस्माद्वारा आफ्नो समर्पणलाई प्रतीकात्मक रूप दियौं। हामीसित आफूले सिकेका कुराहरू अरूलाई बताउने तीव्र इच्छा थियो त्यसैले आशाको सन्देश (अंग्रेजी) पर्चा लिएर ढोका-ढोकाको सेवकाई सुरु गऱ्‍यौं।

भीषण विरोध सहने

एक दिन, एक जवान युवतीले मलाई सानो ग्रीक अर्थोडक्स चर्चको पूजाआजामा उपस्थित हुने निमन्त्रणा दिइन्‌। “मैले त्यस्तो तरिकाले परमेश्‍वरलाई उपासना गर्न छाडिसकें” भन्दै जवाफ दिएँ। “म त अब बाइबलले सिकाएअनुसार आत्मा र सत्यतामा उहाँको उपासना गर्छु।” (यूहन्‍ना ४:२३, २४) तिनी तीन छक परिन्‌ र मेरो पतिलाई समेत विथोलित गरेर चारैतिर हल्ला फैलाइन्‌।

साँच्चै भन्‍ने हो भने, सबैले विरोध गर्न थाले। हामीले कहीं पनि शान्ति पाएनौं। नता आफ्नो घरमा नता टापुका केही इच्छुक व्यक्‍तिहरूसित सञ्चालन गर्ने सभाहरूमा। अर्थोडक्स पादरीहरूले उक्साएको कारण हाम्रो सभा हुने ठाउँ बाहिर भीड भेला भएर तिनीहरूले ढुंगा हान्‍न थाले र अपमानजनक बोली बोल्न थाले।

हामीले आशाको सन्देश पर्चा वितरण गर्दा केटाकेटीले हामीलाई घेरेर “सहस्र वर्षवादहरू” भनेर कराउँथे र अरू बेइज्जतीपूर्ण ढंगमा गालीहरू गर्थे। मेरो पतिका सहकर्मीहरूले पनि उहाँलाई दुःख दिन थाले। सन्‌ १९२६ को अन्ततिर उहाँ सार्वजनिक स्कूलका शिक्षक हुन अयोग्य छन्‌ भनेर दोष लगाउँदै पुर्पक्षको लागि राखिए र १५ दिनसम्म कैदमा पर्नुभयो।

मेरी आमाले यो सुन्‍नु भएपछि मलाई, मेरो पतिलाई छाड्‌ने सल्लाह दिनुभयो। मैले यसरी जवाफ दिएँ: “मेरी प्रिय आमा सुन्‍नुहोस्‌, म तपाईंलाई कति प्रेम र आदर गर्छु भन्‍ने कुरा मलाई जति थाह छ, तपाईंलाई पनि त्यति नै थाह छ। तर म हाम्रो सत्य परमेश्‍वर यहोवाको उपासना गर्ने बाटोमा तपाईं अवरोध भएर खडा हुनुभएको सहन सक्दिनँ।” उहाँ एकदमै निराश भएर आफ्नो गाउँ फर्कनुभयो।

सन्‌ १९२७ मा एथेन्समा बाइबल स्टुडेन्ट्‌सको सम्मेलन भयो र यहोवाले हाम्रोनिम्ति त्यहाँ उपस्थित हुने बाटो खोलिदिनुभयो। अरू थुप्रै सँगी विश्‍वासीहरूसित भेला हुन पाउँदा हामी रोमाञ्चित अनि आध्यात्मिक तवरमा दह्रो भयौं। सामोस फर्केर हामीले संसारका शासकहरूका लागि साक्षी (अंग्रेजी) नामक पर्चाको ५,००० प्रति हाम्रो टापुको शहर तथा गाउँहरूमा वितरण गऱ्‍यौं।

यसै समयताक थिमिट्रिसको जागिर खोसियो र हामीप्रति भएको पूर्वाग्रहको कारण अर्को जागिर पाउनु त असम्भवै थियो। तर मैले सिलाइ जानेकी हुँदा र थिमिट्रिस रंगरोगन गर्न निपुण हुनुभएकोले घरखर्च टार्न सक्यौं। सन्‌ १९२८ मा सामोसमा मेरा पतिलगायत अन्य चार मसीही भाइहरूलाई सुसमाचार प्रचार गरेको आरोपमा दुइ महिना कैद सजाय दिइयो। बाइबल स्टुडेन्टको नाउँमा म मात्र झ्यालखानामा पर्नदेखि बचेकीले मैले उहाँहरूलाई खाना पुऱ्‍याउन सक्थें।

गम्भीर अस्वस्थतासित संघर्ष

एक समय म त्यतिबेला नाउँ नसुनेको दीर्घकालीन रोग ट्यूबरक्यूलर स्पनडिलाइटिसको कारण थला परें। मलाई पटक्कै खान मन लाग्दैन थियो र असाध्यै ज्वरो चढ्‌थ्यो। यसको उपचारको लागि घाँटीदेखि तिघ्रासम्म प्लाष्टर लाउनुपर्थ्यो। मेरो उपचार कायमै राख्न मेरो पतिले एक टुक्रा जग्गा बेच्नुभयो। निराश हुँदै म बलको निम्ति दिनहुँ परमेश्‍वरलाई प्रार्थना गर्थें।

आफन्तहरू मलाई भेट्‌न आउँदा निरन्तर विरोध गरेर आगोमा घ्यू थप्थे। आमाको भनाइअनुसार हामीले धर्म परिवर्तन गरेकोले यी सबै समस्याहरू अनुभव गर्नुपरेको थियो। चलहल गर्न नसकेकोले ओछ्यानमै हाम्रो स्वर्गमा हुनुहुने पितालाई धीरज र साहसको निम्ति बिन्ती गर्दै आफ्नो तकिया आँसुले निथ्रुक्क भिजाउँथे।

मेरो पलङसँगैको टेबलमा आगन्तुकहरूको लागि पुस्तिका तथा पर्चाहरू राख्थें। हाम्रो सानो मण्डलीको सभाहरू घरमै हुनु आशिष्‌ नै थियो। यसले गर्दा मैले नियमित तवरमा आध्यात्मिक प्रोत्साहन प्राप्त गर्न सकें। एथेन्सबाट आएको चिकित्सकको शुल्क तिर्न हामीले अर्को एक टुक्रा जग्गा बेच्नुपऱ्‍यो।

त्यसको तुरुन्तैपछि परिभ्रमण निरीक्षक हामीलाई भेट्‌न आउनुभयो। उहाँ मेरो यो अवस्था र बेरोजगार थिमिट्रिस देखेर दुःखी हुनुभयो। उहाँले दयापूर्वक हामीलाई लेजबास टापुको मिटेलेने शहरमा बासको प्रबन्ध मिलाइ दिनुभयो। सन्‌ १९३४ मा हामी त्यहाँ सऱ्‍यौं र थिमिट्रिसले जागिर पनि पाए। त्यहाँ हामीले खुबै असल भाइबहिनीहरू पनि पायौं। उहाँहरूले म बिरामी परेको बेला मेरो हेरचाह गर्नुभयो। पाँच वर्षको उपचारपछि बिस्तारै म पूर्णतया स्वस्थ भएँ।

तथापि दोस्रो विश्‍वयुद्ध सकेको केही समयभित्रै सन्‌ १९४६ मा म फेरि सिकिस्त बिरामी भएँ, यसपालि चाहिं ट्यूबरक्यूलर पेरिटोनाइटिसको कारण। ज्वरो ज्यादै चढ्‌ने र असह्‍य हुनेगरि कटकटी दुख्ने हुनाले म पाँच महिनासम्म थला परें। तर पहिला जस्तै आगन्तुकहरूलाई यहोवाबारे भन्‍न कहिल्यै बन्द गरिनँ। समयमा म पुनः स्वस्थ भएँ।

विरोधको बावजूद अग्रगामी

युद्धपछिका वर्षहरूमा ग्रीसका साक्षीहरूले भीषण विरोधबाहेक अरू केही पाएनन्‌। घर-घरको सेवकाईमा भाग लिइरहेको बेला हामी निकै चोटि पक्राउमा पऱ्‍यौं। मेरो पतिले जम्माजम्मी एक वर्ष झ्यालखानामा बिताउनुभयो। सेवकाईको निम्ति निस्कँदा हामी अक्सर त्यस रात थानामा बिताउने योजना बनाउँथ्यौं। तैपनि यहोवाले हामीलाई कहिल्यै त्याग्नुभएन। हामीले सहन सकोस्‌ भनेर उहाँले सधैं आवश्‍यक साहस र बल दिनुभयो।

सन्‌ १९४० को दशकमा मैले इन्फर्मेन्ट-मा (अहिले हाम्रो राज्य सेवकाई) बिदामा अग्रगामी गर्ने प्रबन्धबारे पढें। मैले सेवकाईको यस पक्षमा भाग लिने निर्णय गरें र त्यसका लागि हरेक महिना सेवकाईमा ७५ घण्टा बिताउनुपर्थ्यो। फलतः मेरो पुनःभेट र बाइबल अध्ययनहरू बढ्‌न थाले। एकताका त मैले हप्तामा १७ वटा अध्ययनहरू सञ्चालन गर्थें। मिटेलेनेको व्यापारिक इलाकामा मैले पत्रिका रूट पनि बनाए। त्यहाँ मैले पसल, कार्यालय र बैंकहरूमा गरेर प्रहरीधरहरा र ब्यूँझनुहोस्‌!-को ३०० प्रतिहरू नियमित तवरमा वितरण गर्थें।

सन्‌ १९६४ मा परिभ्रमण निरीक्षकले हाम्रो मण्डलीको भ्रमण गर्नुहुँदा उहाँले यसो भन्‍नुभयो: “बहिनी पेनलपी, मैले तपाईंको प्रकाशक रिकर्ड कार्डबाट तपाईंले सेवकाईंमा पाइरहनुभएको राम्रो नतिजा देखें। तपाईं नियमित अग्रगामीको निम्ति किन निवेदन भर्नुहुन्‍न?” उहाँको त्यस प्रोत्साहनको निम्ति म सदैव कृतज्ञ हुनेछु। तीन दशकभन्दा बढी समयदेखि पूर्ण-समय सेवकाई मेरो आनन्दको स्रोत भएको छ।

इनामदायी अनुभव

मिटेलेनेमा ग्रीक शरणार्थीहरू बस्ने बाक्लो बस्ती भएको लाङगाडा भन्‍ने टोल छ। हामीले पहिला त्यहाँ सामना गरेको कट्टर विरोधको कारण हामी ढोका-ढोकामा जाँदैन थियौं। यद्यपि, मेरो पति झ्यालखानामा हुनुहुँदा उहाँलाई भेट्‌न म त्यस इलाका भएर जानुपर्थ्यो। एक पटक झमझम पानी परिरहेको दिन मलाई एक स्त्रीले मेरो पति झ्यालखानामा हुनुभएको कारण सोध्न घरभित्र बोलाइन्‌। परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गरेकोले मेरो पति झ्यालखाना पर्नुभएको हो भनी मैले तिनलाई बताएँ। र अहिले ख्रीष्टले जस्तै दुःख भोगिरहनुभएको छ भनेर पनि बुझाएँ।

समयमा अर्की स्त्रीले पनि मलाई तिनको घरमा लैजान प्रबन्ध मिलाइन्‌। त्यहाँ पुग्दा त त्यस स्त्रीले अरू १२ जना स्त्रीहरूलाई बोलाइरहेकी पाएँ। सम्भाव्य विरोधको प्रत्याशा गर्दै मैले परमेश्‍वरलाई जे भए पनि सामना गर्न बुद्धि र साहसको निम्ति प्रार्थना गरें। त्यस स्त्रीका थुप्रै प्रश्‍नहरू थिए र कोही कोहीले आपत्ति जनाए तर म धर्मशास्त्रीय जवाफहरू दिन सफल भएँ। घर फर्किन उठ्‌दा त्यस घरकी स्त्रीले भोलिपल्ट फेरि आउन आग्रह गरिन्‌। खुशीसाथ मैले त्यो निमन्त्रणा स्वीकारें। अर्को दिन एक साथी र म त्यहाँ पुग्दा त्यस स्त्री पर्खिरहेकी थिइन्‌।

त्यसपछि हाम्रो धर्मशास्त्रीय छलफलहरू नियमित तवरमा चल्यो र थुप्रै बाइबल अध्ययनहरू सुरु भए। थुप्रै स्त्रीहरूलगायत तिनीहरूको परिवारले सही ज्ञान हासिल गर्दै गए। मिटेलेनेमा यही समूह नै पछि यहोवाका साक्षीहरूको नयाँ मण्डलीको केन्द्रबिन्दु हुन गयो।

यहोवाले मेरो भलाइ गर्नुभएको छ

वर्षौंको दौडान यहोवाले मेरो पति र मैले उहाँलाई सेवा गर्न गरेको प्रयासलाई इनाम दिनुभएको छ। सन्‌ १९२० को दशकमा सामोसका ती मुट्ठीभर साक्षीहरू बढेर अहिले दुइ मण्डली भएका छन्‌ र प्रत्येक समूहमा लगभग १३० प्रकाशकहरू छन्‌। अनि लेसबोसको टापुमा चारवटा मण्डली र पाँच समूहहरू छन्‌ जसमा जम्माजम्मी ४३० राज्य उद्‌घोषकहरू छन्‌। मेरो पतिले सन्‌ १९७७ मा मृत्यु नहोउञ्जेल सक्रियतासाथ परमेश्‍वरको राज्यबारे उद्‌घोषणा गर्नुभयो। हामीले मदत गरेका व्यक्‍तिहरू अझै सेवकाईमा जोसिलो भएको हेर्न पाउनु कत्ति ठूलो सुअवसरको कुरा हो! नहोस्‌ पनि किन, तिनीहरूका छोराछोरी, नातिनातिनी र पनातिपनातिनी सबैलाई एकत्रित गर्ने हो भने यहोवालाई एकताबद्ध भएर उपासना गर्ने ठूलो भीड नै बन्छ!

सत्तरी वर्षभन्दा लामो समयदेखिको मेरो मसीही सेवा सजिलो त पक्कै भएको छैन। तैपनि यहोवा मेरो अतुलनीय किल्ला हुनुभएको छ। ढल्कँदो उमेर र बिग्रँदो स्वास्थ्यको कारण म ओछ्यानमा परेकी छु र प्रचारकार्य पनि त्यति धेरै गर्न सक्दिनँ। तर भजनरचयिताले जस्तै म पनि यहोवालाई यसो भन्‍नसक्छु: “उहाँ मेरो शरणस्थान र मेरो किल्ला हुनुहुन्छ, मेरो परमेश्‍वर, जसमा म भरोसा राख्तछु।”—भजन ९१:२.

(यस लेख तयार गरिरहेकै समयमा बहिनी माकरिसको मृत्यु भयो। तिनको आशा स्वर्गीय थियो।)

[पृष्ठ २६-मा भएको चित्र]

सन्‌ १९५५ मा तिनको पतिसित

[पृष्ठ २६-मा भएको चित्र]

अन्यथा बहिनी माकरिस जनवरी १९९७ मा १०० वर्ष पुग्ने थिइन्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने