झ्यालखानामा परेकाहरूलाई आध्यात्मिक स्वतन्त्रता दिने
“हामी तपाईंलाई पर्खिरहेका थियौं।” “तपाईं आउनुभएको सपना धेरै पटक देखें।” “हामीसित नियमित भेटघाट गर्न कसैलाई खटाउनुभएको लागि धन्यवाद।” “यहोवा र उहाँको संगठनबाट हामीले प्राप्त गर्ने हर आशिष्को लागि र हामीलाई ठीक ठीक समयमा आध्यात्मिक खानेकुरा दिनुभएकोमा कृतज्ञता व्यक्त गर्न चाहन्छौं।”
यसरी कृतज्ञता प्रकट गर्नुको कारण के थियो? माथिका केही अभिव्यक्तिहरू मेक्सिकोका विभिन्न झ्यालखानाका कैदीहरूले व्यक्त गरेका हुन्। यहोवाका साक्षीहरूबाट पाइरहेको हेरचाहको तिनीहरू मूल्यांकन गर्छन्। किनकि त्यसै हेरचाहको कारण झ्यालखानामा भए तापनि तिनीहरूले आध्यात्मिक छुटकारा पाएका छन्। मेक्सिकोका ४२ वटा झ्यालखानामा यहोवाका साक्षीहरूले त्यहाँका कैदीहरूको आध्यात्मिक खाँचो पूरा गर्छन्। यी झ्यालखानाहरूलाई सेन्त्रो रेआडाप्टास्योन सोस्याल (सामाजिक सुधार केन्द्र) भनिन्छ। यी झ्यालखानाहरूमध्ये केहीमा मसीही सभाहरूसमेत नियमित तवरमा सञ्चालन हुन्छन् र यसले राम्रो फल फलाएको छ। उदाहरणका लागि, हालै गरिएको गणनाअनुसार लगभग ३८० व्यक्तिहरू यी ठाउँमा सञ्चालन गरिने सभाहरू धाइरहेका थिए। त्यतिबेला सरदर ३५० वटा बाइबल अध्ययनहरू सञ्चालन भइरहेका थिए। सैंतीस जना प्रचार गर्नसक्ने भए अनि ३२ जनाले यहोवामा जीवन समर्पण गरे र यसलाई जनाउन तिनीहरूले पानीमा बप्तिस्मा लिए।
कामकुरा कसरी गरिंदैछ
यी झ्यालखानाहरूमा यहोवाका साक्षीहरूले कसरी प्रचार गर्दैछन्? सबैभन्दा पहिला तिनीहरू झ्यालखानामा जाने लिखित अनुमति पाउन त्यहाँका पदाधिकारीहरूकहाँ जान्छन्। आफूहरू त्यहाँ आउनुको कारण कैदीहरूलाई तिनीहरूको जीवन कसरी सुधार्ने र परमेश्वरलाई खुशी तुल्याउने ढंगमा उहाँको सेवा कसरी गर्ने, त्यो सिकाउनु हो भनेर तिनीहरू बताउँछन्।
हरेक पल्ट तिनीहरूले अख्तियारवालाहरूबाट अनुमति पाएका छन्। यी पदाधिकारीहरू त्यहाँका कैदीहरूलाई सिकाइँदै गरेको निर्देशनको मूल्यांकन गर्छन्। झ्यालखानामा लागू गरेका सुरक्षासम्बन्धी नियमहरू यहोवाका साक्षीहरूले पालन गरेको त्यहाँका अख्तियारवालाहरूले देखेका छन्। त्यहाँ आउने यी सेवकहरूलाई सभा सञ्चालन गर्न ती अख्तियारवालाहरूले कार्यालय, खाना खाने कोठा र कारखाना प्रयोग गर्न दिएका छन्। एउटा झ्यालखानामा त यहोवाका साक्षीहरूले सानो राज्यभवन बनाउने अनुमतिसमेत पाए। यो कुरा दक्षिणपूर्वी मेक्सिकोमा सेवारत परिभ्रमण निरीक्षकको निम्न अनुभवले देखाउँछ।
“सन् १९९१ को प्रारम्भतिर हामी ओक्साका, तेउनात्पेकको झ्यालखानामा जान थाल्यौं। त्यहाँ आध्यात्मिक खानेकुराको असाध्यै खाँचो परेको थियो। हामीले तुरुन्तै २७ वटा बाइबल अध्ययनहरू थाल्यौं। कैदीहरूको रुचिलाई ध्यानमा राख्दै मण्डलीका पाँचवटा सभाहरू सञ्चालन गर्ने चाँजो मिलाइयो। ती कैदीहरूमध्ये एकले यहोवाप्रति ठूलो प्रेम देखाउँदै सभाहरू सञ्चालन गर्न झ्यालखानाभित्रै राज्यभवन बनाउने निर्णय गरे। तिनले झ्यालखानाको निर्देशकसित त्यसको लागि अनुमति मागे र अख्तियारवालाहरूले पूर्णतया सहयोग गरे। सन् १९९२, डिसेम्बरको सुरुतिर छ जना कैदीहरू सुसमाचारका प्रकाशक बन्नसके। त्यहाँको प्रगतिले गर्दा झ्यालखानाभित्रै स्मरणार्थ उत्सव मनाउने प्रबन्ध मिलाइयो। हामीले झ्यालखानाको निर्देशकसित स्मरणार्थको प्रतीक, रोटी र दाखरस ल्याउन अनुमति माग्यौं। चार घण्टाको कुराकानीपछि अनुमति दिइयो।
“संयोगको कुरा, अप्रिल ३, १९९३ का दिन (स्मरणार्थ उत्सवको तीन दिनअघि) केही कैदीहरूलाई रिहाइ गरियो। आफ्नो रिहाइको पुर्जी पाउने एक कैदी प्रकाशकले स्मरणार्थ उत्सव सिद्धिञ्जेल बस्ने अनुमति झ्यालखानाको निर्देशकसित मागे। यो देखेर निर्देशक साँच्चै चकित भए किनभने त्यस्तो निवेदन प्रायः गरिएको थिएन। तर झ्यालखानामा सम्पन्न हुने स्मरणार्थ उत्सवमा उपस्थित हुन कैदीले असाध्यै इच्छा गरेको देखेर निर्देशकले तिनलाई अनुमति दिए। स्मरणार्थमा ५३ व्यक्तिहरू भेला भएका थिए। कार्यक्रमको अन्तमा तिनीहरू खुशीले रोए। हामी यस समूहलाई ‘स्वतन्त्र सेरेसो’ भन्न सहमत भयौं। किनभने तिनीहरू आध्यात्मिक तवरमा स्वतन्त्र छन्।”
यी झ्यालखानाहरूमा यहोवाका साक्षीहरूको कामको एकदमै मूल्यांकन गरिन्छ। कैदीहरू सुधार्ने यी घरहरूमध्ये एकको रेखदेख गर्ने व्यक्तिले यहोवाका साक्षीहरूको सभामा उपस्थित हुनु कैदीहरूलाई सुधार्ने चाँडो “उपचार” हो भनेर खुलस्तसित प्रशंसा गरे।
सुधार कार्यक्रम सफल भयो
यहोवाका साक्षीहरूको क्रियाकलापद्वारा थुप्रै कैदीहरू पूर्णतया सुध्रिए। हो, रिहाइ पाएका कैदीहरूले पुनः अपराध गर्ने भए तापनि परमेश्वरको वचनको सन्देशलाई साँच्चै स्वीकार्नेहरू पूर्णतया परिवर्तन भएका छन्। तिनीहरू परिवर्तन भएको देख्दा हामीलाई प्रेरित पावलले भनेका यी शब्दहरूको झलझली सम्झना आउँछ: “व्यभिचारीहरू . . . , चोरहरू, लोभीहरू, मतवालाहरू, गाली गर्नेहरू, लुटाहाहरू, परमेश्वरको राज्यको हकदार हुनेछैन। औ तिमीहरूमा कोही कोही यस्तै थिए, तर प्रभु येशू ख्रीष्टको नाउँमा, र हाम्रा परमेश्वरका आत्माले तिमीहरू पखालिएका, पवित्र भएका र धर्मी ठहरिएका छौं।”—१ कोरिन्थी ६:९-११.
तिनीहरूले मनका कुराहरू व्यक्त गरेको सुन्दा तिनीहरू साँच्चै परिवर्तन भएको छर्लङ हुन्छ। काम्पेचे शहरको झ्यालखानामा कैद भएका मीगेलले यसो भने: “२ पत्रुस ३:१३ र मत्ती ५:५ मा उल्लिखित आशा राख्ने अरू भेडामध्ये म पनि एक हुँ भन्न पाउँदा खुशीछु।” कोबेन, काम्पेचेको झ्यालखानामा कैद भएका होसेले यसो भने: “म कैदी हुँ र मेरो अपराध ठूलै साबित होला। तैपनि, यहोवा एकदमै कृपालु हुनुहुन्छ र मेरो प्रार्थना तथा बिन्तीहरू सुन्नुहुन्छ भनेर बुझेको छु। उहाँले मेरा अपराधहरू क्षमा गर्न सक्नुहुन्छ र मेरो बाँकी जीवन उहाँको राज्यको सुसमाचार सुनाउन बिताउने अवसर दिनुहुन्छ। हामीले परमेश्वरको राज्यसम्बन्धी प्रतिज्ञाहरूबाट लाभ उठाउन सकौं भनी हामीलाई भेट्न समय निकाल्नुभएको लागि प्राचीनहरूप्रति कृतज्ञ छौं। कत्ति आनन्ददायी आशिष्हरू! के अहिले म आफूलाई कैदी ठान्नसक्छु? अहँ, किनभने मलाई चाहिएको आध्यात्मिक स्वतन्त्रता यहोवाले दिनुभएको छ।”
कुन कारणले हत्यारा, बलात्कारी, दंगा फसाद गर्ने, चोर र अरूहरू परिवर्तन भएर सही जीवन बिताउने मसीही बन्छन्? यी नै मानिसहरूले बताएअनुसार परमेश्वरको वचनमा मानिसको व्यक्तित्व परिवर्तन गराउने शक्ति छ र साँचो भक्त मानिसहरूसित राम्रो सम्बन्ध राख्दा त्यसरी परिवर्तन हुन सकिन्छ। माजात्लान, सिनालोआको बन्दीगृहमा कैद भएको टीबुर्स्योको घटनाले यस सुधार कार्यक्रम सफल भएको देखाउँछ। तिनी सिनोलाको कोन्कोर्दिया झ्यालखानामा थिए। तिनलाई छिटो रीस उठ्ने हुँदा तिनीमाथि समस्याहरू आइपरे। तिनकी पत्नी यहोवाकी साक्षी थिइन्। पत्नी झ्यालखानामा भेट्न आउँदासमेत तिनी पत्नीलाई अति नराम्रो व्यवहार गर्थे। तिनकी पत्नी धीरजी थिइन् र तिनलाई भेट्न आइरहिन्। त्यसैले तिनले पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तक मागे। तिनले त्यो आफै अध्ययन गर्न थाले।a त्यसपछि तिनले कसैले झ्यालखानामा आएर अध्ययन गरिदिन्छन् कि भनेर सोधे। तिनको आध्यात्मिक उन्नति हुन थाल्यो र अरूसित पनि तिनको सम्बन्ध राम्रो हुँदै गयो। तिनलाई माजात्लानको झ्यालखानामा सारियो। त्यहाँ बाइबल अध्ययन गर्ने समूह थियो र अहिले तिनी प्रकाशक भएका छन्। तिनी भन्छन्: “यस ठाउँमा बाइबल सत्यहरू सुन्न पाउँदा अहिले मेरी पत्नी, छोराछोरी र सँगी कैदीहरूसँगसँगै म पनि अति कृतज्ञ छु। निकट भविष्यमा मेरो रिहाइ भएपछि सबै सम्मेलन र मण्डली सभाहरूमा उपस्थित हुने आशा साँचेको छु।”
कोन्राडो पनि आफ्नो जीवनमा परिवर्तन गर्न सकेकोमा अत्यन्तै कृतज्ञ छन्। तिनको वैवाहिक जीवनमा कति विघ्न समस्याहरू आइपरे भने तिनलाई पत्नीले समेत छाडिन्। तिनले लागू पदार्थको सहारा लिए। समय बित्दै जाँदा तिनी लागू पदार्थको बिक्रेता भए। गाँजा र कोकिन ओसारपसार गरेको आरोपमा तिनी गिरफ्तार भएर झ्यालखानामा परे। त्यहाँ यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गर्ने समूह थियो र तिनलाई पनि अध्ययन गर्न निम्त्याइयो। तिनी यसरी भाव व्यक्त गर्छन्: “म कुन कुरा देखेर प्रभावित भएँ भने, सभाहरू व्यवस्थित ढंगमा सञ्चालन हुन्थ्यो, प्रकाशनहरू मार्फत बाइबल छलफल गरिन्थ्यो। अनि सबै कुरा बाइबलमा आधारित हुन्थ्यो। तुरुन्तै मैले बाइबल अध्ययनको लागि अनुरोध गरें र सभाहरू धाउन थालें।” त्यो कुरा जनवरी १९९३ को हो। अहिले तिनी कोन्राडो झ्यालखानाबाट रिहाइ भएका छन् र मसीही मण्डलीमा प्रगति गरिरहेका छन्।
ईस्लास मारीआस
मेक्सिकोमा चारवटा द्वीप भएको डरलाग्दो झ्यालखाना छ र त्यसलाई ईस्लास मारीआस भनिन्छ। आफूलाई कैद गरिएका द्वीपभरि कैदीहरू यात्रा गर्नसक्छन्। कोही कोही त्यहाँ आफ्ना पत्नी र छोराछोरीसित बस्छन्।
त्यहाँ सानो मण्डली स्थापित गरिएको छ। महिनामा तीनपल्ट माजात्लानबाट तीन भाइहरू त्यहाँ सभाहरू सञ्चालन गर्न, साहित्य र प्रोत्साहन दिन जान्छन्। कहिलेकाहीं परिभ्रमण निरीक्षक तिनीहरूलाई भेट्न जान्छन्। सरदर त्यहाँ २० देखि २५ जना उपस्थित हुन्छन्। चार जना बप्तिस्माप्राप्त र दुइ जना बप्तिस्मा अप्राप्त प्रकाशकहरू छन्। परिभ्रमण निरीक्षकको रिपोर्टअनुसार “आइतबारका सभाहरूमा उपस्थित हुन केही व्यक्तिहरू १७ किलोमिटर टाढाबाट हिंडेर आउँछन् र हाजिरीको निम्ति फर्कन सभापछि हतारपतार कुद्छन्। चाँडचाँडो हिंड्दासमेत गन्तव्यस्थानमा पुग्न तिनीहरूलाई दुइ घण्टा लाग्छ।” झ्यालखानामा सत्य सिकेका एक भाइले भर्खरै यसो भने: “पहिला त झ्यालखानाबाट चाँडै रिहाइ हुन चाहन्थें। तर अहिले यहोवाले जहिले इच्छा गर्नुहुन्छ, त्यतिबेला नै म मुक्त हुन चाहन्छु। खासमै भन्ने हो भने, यहाँ मैले गर्नुपर्ने काम थुप्रै छन्।”
यहोवालाई खुशी तुल्याउन खोजिरहेका इमानदार मानिसहरूलाई स्वतन्त्र पार्न सत्यको शक्ति प्रयोग भइरहेको देख्दा हामी खुशी छौं। झ्यालखानामा सत्य सिक्नेहरूमध्ये १२ जनाभन्दा धेरैको रिहाइ र बप्तिस्मा भइसकेको छ र अहिले तिनीहरू परमेश्वरका सेवकहरूको हैसियतमा सोझो जीवन बिताइरहेका छन्। कति त मण्डलीमा प्राचीन पनि भएका छन्। सान्त्वना दिने र मानिसलाई सुधार्ने बाइबलको शक्ति स्पष्ट देखिएको छ। एक समय नराम्रो काम गरेकोले गर्दा कैदमा परेका यी मानिसहरू परमेश्वरको वचनको उज्यालोमा हिंडेपछि येशूले प्रतिज्ञा गर्नुभएको यस साँचो स्वतन्त्रताको अनुभव गर्छन्: “तिमीहरूले सत्य के हो, सो जान्नेछौ, र सत्यले तिमीहरूलाई स्वतन्त्र तुल्याउनेछ।”—यूहन्ना ८:३२; भजन ११९:१०५.
[फुटनोट]
a वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित।
[पृष्ठ २३-मा भएको चित्र]
आफूले झ्यालखानामा सिकेको मसीही सत्यबाट थुप्रैले लाभ उठाए