समय किन यति विघ्न खराब?
समाचारपत्र पढ्नुहुँदा, टिभी वा रेडियोबाट समाचार सुन्नुहुँदा के तपाईं दुइ चारवटा अशुभ समाचारहरूको आशा गर्नुहुन्न र? युद्ध झनै चर्किरहेको, हिंसा त्यतिकै फैलिरहेको अनि अनिकालले अल्पविकसित देशलाई झन् खोक्रो पार्दै लगेको कुरा सुनेर तपाईंलाई अचम्म लाग्दैन होला।
यी घटनाहरू भएका ठाउँहरूभन्दा टाढा बस्नुहुन्छ भने, यस्ता रिपोर्टहरूले शायद तपाईंलाई त्यति भरंग नपार्ला। आखिर, सबै पीडितहरूप्रति सहानुभूति राखेर के साध्य होला र? तैपनि, ती व्यक्तिहरू कसरी पीडित भए, त्यो थाह पाउँदा पनि हामीमा दया नपलाउनु चाहिं गाह्रै पर्छ। अर्को शब्दमा भन्ने हो भने, युद्धबारे पढ्नु र दुर्घटनामा मर्नेहरूको तथ्यांकलाई विचार गर्नु एउटा कुरा हो तर बमले आफ्नो घर नष्ट हुँदा आमा गुमाउनु परेको नौ वर्षीय बोस्नियाली सानो केटो अड्नानबारे पढ्नु अर्कै कुरा हो। त्यस घटनाको केही महिनापछि नै सडकमा सँगै हिंडिरहेको बेला अड्नानको बुबालाई कसैले लुकिछिपी गोली ठोकेर माऱ्यो। त्यसको केही हप्तापछि नै तिनकै आँखाको सामने तिनकी बहिनी रक्तश्राव भएर मरिन्। उनी स्कूलको आँगनमा पड्केको बमको शिकार भएकी थिइन्। अड्नानको मानसिक आघातबारे उपचार गर्ने चिकित्सकले तिनी चेतनाशून्य, भावनारहित र जिज्ञासारहित भएको पाए। डर र विगत घटनाहरूको दृश्यले तिनलाई विपनामा मात्र चैन नदिएको होइन तर सुत्दा पनि डरलाग्दा सपनाहरूले गर्दा आराम पाएनन्। अड्नानको पीडा अरू मानिसहरूले भोग्ने पीडाजस्तो मात्र होइन। तिनी साक्षात् पीडित केटा हुन्। हामीले तिनीप्रति समानुभूति पोखाउनु बाहेक अरू के पो गर्नसक्छौं र?
संसारका अरू दुर्गतिहरू पनि त्यस्तै हुन्। अनिकालबारे पढ्नु एउटा कुरा हो अनि फुलिएको पेट र सुकिसकेको हातखुट्टा लिएर मुश्किलले बाँचिरहेकी पाँच वर्षीया भोको केटीको चित्र हेर्नु बिल्कुलै अर्को कुरा हो। त्यसरी नै अपराधको तथ्यांक पढ्नु एउटा कुरा हो भने कुनै वृद्धालाई निर्दयतापूर्वक कुटपिट गरेको, लुटेको र बलात्कार गरेको सुन्नु भिन्नै कुरा हो। त्यस्तैगरि परिवारको पतनबारे पढ्नु एउटा कुरा हो तर कुनै आमाले जानाजानी आफ्नो बच्चालाई भोकै राखेको र दुर्व्यवहार गरेको थाह पाउनु बेग्लै कुरा हो।
यस्ता विवरणहरू पढ्दा मात्र पनि मुटुमा गाँठो पर्छ भने यी विश्वव्यापी महामारीहरूमध्ये कुनै एउटा हामीमाथि सोझै आइपर्दा झन् कत्तिको बित्यास लाग्ला! जब तपाईंमाथि दुःखकष्ट आइपर्छ तब संसारका समाचारहरू तपाईंलाई असह्य लाग्नसक्छ। मानव इतिहासमा अघि कहिल्यै नभएको बढ्दो अपराध, युद्ध, अनिकाल र रोगव्याधिको सामना गर्नुपर्दा डर लाग्छ। यस २० औं शताब्दीका घटनाहरूको सामना गर्दा वास्तवमा भ्रम, डर र खिन्नताजस्ता गहन प्रभावहरू हामीमा पर्छन्।
यति विघ्न खराबी किन? होइन, मानिसजाति कतातिर लम्किंदैछन्? भन्ने जस्ता दुःखदायी प्रश्नहरूका जवाफ पाउन थुप्रै धर्मका मानिसहरू भौंतारिरहेका छन्।
दुःखको कुरा, आज धर्महरूले सन्तोषजनक जवाफ प्रायः दिनसक्दैनन्। तपाईंले यस पत्रिकाको आवरणमा सोधिएको प्रश्न प्रथम पटक झ्वाट्टै देख्नुहुँदा अन्योलमा पर्नुभयो होला अनि तपाईंलाई यस्तो हुनु स्वाभाविकै हो। कट्टरपन्थी धर्महरूले बाइबलमा हुँदै नभएको अर्थात् यस संसारको अन्त हुने खास दिन र समयबारे अक्सर लख काट्ने चेष्टा गर्छन्। (मत्ती २४:३६ हेर्नुहोस्।) यस पत्रिकाका प्रकाशकहरूले बाइबलबाट नै यसबारे जवाफ दिन चाहन्छन्। बाइबलमा आखिरी दिनबारे गरिएको छलफल तथ्यपूर्ण र व्यवहारिक छ भनेर थाह पाउँदा तपाईंलाई आश्चर्य लाग्ला। अनि बाइबलले यति विघ्न खराबी किन भएको भनेर मात्र बताउँदैन। यसले भविष्यको लागि साँच्चै सान्त्वनादायी आशा पनि दिन्छ। यो कसरी हो, त्यो बुझ्न हामी तपाईंलाई यसपछिका लेखहरू पढ्न आमन्त्रित गर्छौं।
[पृष्ठ ३-मा भएको चित्रको स्रोत]
Jobard/Sipa Press