“ट्रायरको पवित्र अलखा”
जर्मनीको ट्रायर शहर २,००० वर्षभन्दा लामो इतिहास बोकेको पुरानो शहर हो।a ट्रायर शहरले क्याथोलिक चर्चसित निकै घनिष्ठ सम्बन्ध राखेको शताब्दीयौं भइसक्यो। हालै आएर सन् १९९६ मा यही ट्रायर शहरको ठूलो चर्चले शहर जत्तिकै पुरानो चिनो प्रदर्शन गऱ्यो। त्यो हो, ट्रायरको पवित्र अलखा।
यो अलखा झन्डै डेढ मिटर लामो र १ मिटर चौडा छ र यसको हाफ बाहुला छ। हान्स योआकिम काआनको भालफार्ट्सफ्युरर ट्रिर अन्ट उम्गाबुङ (ट्रायर र छेउछाउका ठाउँहरूबारे तीर्थयात्रीहरूले जान्नुपर्ने कुरा) भन्ने (अंग्रेजी) किताबअनुसार सुती कपडाले बनेको यो अलखा सम्भवतः बाहिरी लुगा हुनसक्छ। शताब्दीयौंको दौडान अलखाको धेरैजसो अंश पुनः सिलाइएको वा अरू कपडाहरूले टालटुल गरेको भए तापनि असली लुगा चाहिं सा.यु. दोस्रो वा पहिलो शताब्दीकै हो भनेर कसै कसैले अनुमान लगाएका छन्। यदि यो साँचो हो भने, यो अलखालाई सबैभन्दा दुर्लभ लुगा अनि संग्रहालयमा राख्न योग्य वस्तु भन्नु अनुपयुक्त हुनेछैन।
तथापि, केही मानिसहरू यो लुगा दुर्लभ मात्र नभई पवित्र पनि छ भनेर ठोकुवा गर्छन्। मानिसहरूको यस्तो भनाइले गर्दा त्यसको नाउँ पवित्र अलखा भएको हो। यो लुगा येशू ख्रीष्टको भित्री लुगाजस्तो सिउनी नभएको हुनाले त्यसो भनिएको हो। (यूहन्ना १९:२३, २४) कसै-कसैले यो “पवित्र अलखा” वास्तवमा मसीहको हो भनेर पनि दाबी गरेका छन्।
यो अलखा ट्रायर कसरी पुग्यो, बताउन कठिन छ। यद्यपि, एउटा किताबअनुसार “महान् कन्सटनटाइनकी आमा साम्राज्ञी हेलनाले ट्रायर शहरलाई अलखा उपहार दिएकी थिइन्।” काआनअनुसार चाहिं ट्रायरमा अलखा हुनुका कारणहरूमध्ये सन् ११९६ देखि यताका रिपोर्टहरूलाई मात्र भरोसा गर्न सकिन्छ।
ठूलो चर्चमा राखिएको यो अलखालाई १६ औं शताब्दीदेखि यदाकदा प्रदर्शन गर्ने गरिएको छ। उदाहरणका लागि, ट्रायरले निकै नोक्सानी बेहोर्नु परेको तीस वर्षे युद्धपश्चात् सन् १६५५ मा त्यो प्रदर्शन गरिएको थियो। तीर्थयात्रीहरूलाई सम्झनाका लागि अलखासँग सम्बन्धित वस्तुहरू बेचबिखन गरिने हुँदा बेलाबेलामा निकै आम्दानी भएको छ।
यस शताब्दीमा तीन पटक—सन् १९३३, १९५९ र १९९६ मा “पवित्र अलखा[को]” मेला लाग्यो। सन् १९३३ मा हिटलर जर्मनीको चान्सलर भएकै दिन मेलाको घोषणा गरिएको थियो। यी दुवै घटनाहरू एकै दिन भएकोले मेलाको रौनकै अर्को थियो भनेर काआन औंल्याउँछन्। ठूलो चर्चबाहिर भेला हुने तीर्थयात्रीहरूको सम्मानमा सैन्य पोशाक लगाएको नाजी सिपाहीहरूको गारद थियो। त्यस वर्ष २५ लाख मानिसहरूले अलखा हेरे।
ट्रायरमै बस्ने हर्बट भन्ने व्यक्ति सन् १९५९ र १९९६ को मेलालाई तुलना गर्दै भन्छन्: “सन् १९५९ मा सडक भीडले भरिएको थियो। सडकको हरेक कुनाकाप्चामा कोसेलीहरू बेच्न राखिएका हुन्थे। तर यो वर्ष त्यस्तो कुनै रमझमै छैन।” वास्तवमा यस वर्ष सन् १९५९ मा भन्दा झन्डै १० लाख कम, ७,००,००० मानिसहरूले मात्र अलखा हेरे।
मानिसहरू किन अलखाको दर्शन गर्न जान्छन्?
अलखालाई उपासनाको वस्तु मान्नु हुँदैन भन्ने चर्चहरू यो सिउनी नभएको अलखालाई एकताको प्रतीक मान्छन्। फ्र्यान्कफर्टर अल्गेमाइन जाइटुंग-को रिपोर्टअनुसार मेला घोषणा गरिंदा विशप स्पिटलले यसो भनेका थिए: “हाम्रो संसारको अनौठा परिस्थितिहरूले हामी मसीहीहरूसित अनौठो जवाफहरू नै खोज्छ। चारैतिर बढ्दै गरेको घृणा, क्रूरता र हिंसा विरुद्ध हामी खडा हुनुपरेको छ।” अनि अलखाको दर्शन गर्नु एकताको सम्झना गर्नु हो भनेर पनि विशपले भने।
तर चर्चको एकताको सम्झना गर्न के “पवित्र अलखाको” दर्शन नगरी हुन्न? यदि हो भने, अलखा खराब भएमा, कुहिएमा वा नक्कली साबित भएमा के पो हुने हो? के त्यसबेला चाहिं चर्चको एकता खतरामा पर्नेछ? अनि ट्रायरको तीर्थयात्रा गर्न नसक्नेहरूलाई चाहिं के भन्ने? के तिनीहरूलाई चर्चभित्रको एकताबारे वास्तै छैन?
सुरु-सुरुका मसीहीहरूलाई मसीही एकताको सम्झना गराउन कुनै वस्तुको आवश्यक परेको थियो भनेर पवित्र धर्मशास्त्रमा उल्लेख छैन। बरु, प्रेरित पावलले मसीहीहरूलाई यस्तो प्रोत्साहन दिए: “हामी दृष्टिले होइन तर विश्वासले हिंड़छौं।” (२ कोरिन्थी ५:७) त्यसैकारण साँचो मसीहीहरूबीचको एकतालाई “विश्वासको . . . एकता” भनेर पनि व्याख्या गरिएको छ।—एफिसी ४:११-१३.
[फुटनोट]
a अप्रिल २२, १९८० को ब्यूँझनुहोस्! (अंग्रेजी) पृष्ठ २१-३ हेर्नुहोस्।