प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w97 ६/१५ पृ. २६-२९
  • हाम्रो स्वदेशी मिसनरी भ्रमण

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • हाम्रो स्वदेशी मिसनरी भ्रमण
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • उपशीर्षकहरू
  • भाषाको पर्खाल नाघ्दै
  • थरिथरिका सेवकाई
  • थरिथरिका संस्कृतिहरू
  • उज्ज्वल प्रत्याशाहरू
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
w97 ६/१५ पृ. २६-२९

हाम्रो स्वदेशी मिसनरी भ्रमण

मेरो जिम्मामा दिइएका मसीही मण्डलीहरूको भ्रमण गर्नु पुर्तगालदेखि चीनको यात्रा गरे सरहै छ। तर ती यात्राहरू गर्न म र मेरी पत्नी अलिभ बेलाइतबाट कतै जानु पर्दैन।

बेलाइतमा विदेशी भाषा बोल्ने साक्षीहरूको मण्डलीहरू बढ्‌दो छन्‌ र ती मण्डलीहरू देशका विभिन्‍न भू-भागमा छरिएर रहेका छन्‌। फ्रान्सको नरमन्डी किनारको लगभग २० किलोमिटर पर पर्ने जर्सी टापुहरूका पुर्तगाली समूहदेखि लिएर बेलाइतको उत्तरी, सन्डरल्याण्डका जिज्ञासु चिनियाँ भाषीहरूलाई भेट्‌न हामी भ्रमण गर्छौं। आध्यात्मिक तवरमा फस्टाइ रहेको बहुभाषी क्षेत्रमा हामी काम गर्छौं। यस्तो अनौठो कार्यभार हामीले कसरी पायौं त? अनि हाम्रो स्थानीय मिसनरी क्षेत्रमा के के हुँदैछ? पख्नुहोस्‌ है, म सुरैसित बताउँछु।

हप्तै पिच्छे विभिन्‍न मण्डलीको भ्रमण गर्दै म र मेरी पत्नी, अलिभले करिब २० वर्ष परिभ्रमण सेवा गरेका छौं। भ्रमणको दौडान हामी बेलाइतको उत्तर दक्षिण, पूर्व पश्‍चिम चारैतिर पुगिसक्यौं। अनि हालै हामी भूमध्यसागरको माल्टा टापुमा पुग्यौं, जहाँ हामीले गजबको मसीही आतिथ्य अनुभव गऱ्‍यौं। (प्रेरित २८:१, २ तुलना गर्नुहोस्‌।) माल्टामा तीन वर्ष सेवा गरिसकेपछि अब हामीलाई कहाँ खटाइने होला भनेर सोच्दै थियौं। बेलाइतका दुर्गम अंग्रेजी भाषी इलाकाहरूमा भ्रमण गर्नुपर्ने होला भनेर कल्पना गर्दै थियौं। त्यो क्षेत्रको भ्रमणमा यस्तो होला उस्तो होला भनेर सोचविचार गर्दै गरेको बेलामा २३ थरिका भाषा बोल्ने क्षेत्रमा हामीलाई खटाउँदा हामी त अक्क न बक्क भयौं!

अब कसरी यो कार्यभार पूरा गर्ने होला भनेर हामी सोचमग्न भयौं। माल्टामा बाहेक, बेग्लाबेग्लै भाषा, पृष्ठभूमि अनि संस्कृतिका मानिसहरूसँग हामीले कहिल्यै संगत गरेका थिएनौं। राम्ररी अंग्रेजी नबुझ्नेहरूलाई के हामीले प्रोत्साहित गर्न सक्थ्यौं होला त? भाषै नबुझी कसरी कुराकानी गर्ने? त्यहाँको खानेकुरा अनि उनीहरूको रहनसहन नि? के हामी घुलमिल हुन सकौंला? म्यासिडोनियाको बोलावटबारे प्रार्थनापूर्वक विचार गर्दा यी विभिन्‍न प्रश्‍नहरू मनमा खेल्न थाले।—प्रेरित १६:९, १०; १ कोरिन्थी ९:१९-२२.

भाषाको पर्खाल नाघ्दै

अलिभ भन्छिन्‌, “मलाई भाषाको कुनै ज्ञान नभएकोले पहिला त यो काम गर्न सक्दिनँ जस्तो लाग्यो। त्यहाँका बहिनीहरूलाई कसरी सहयोग गर्ने हो, खै मैले त केही बुझ्नै सकिनँ। अनि त्यति नै बेला मैले हामीलाई बाइबलका कुराहरू सिकाउने दम्पतीले भनेको कुरा सम्झें, तिनीहरूले हामीलाई कार्यभार पाउँदा कहिल्यै अप्ठ्यारो नमान्‍नु, यहोवाले हामीबाट हुन नसक्ने काम गर्न कहिल्यै लगाउनुहुन्‍न भनेर सिकाएका थिए।” त्यसैले, हामी दुवैले खुशीसाथ त्यो कार्यभार स्वीकाऱ्‍यौं।

बितेका कुराहरू विचार गर्दा अरूको भाषा नजानेकोले जुनसुकै भाषाभाषीलाई पनि उस्तै व्यवहार गर्नु पर्ने रहेछ भनेर हामीले सिक्यौं। उदाहरणका लागि, हप्तै पिच्छे अर्कै भाषामा सञ्चालन हुने सभाहरूमा भाग लिनुपर्दा हामीले अर्को एउटा कुरा पनि सिक्यौं। त्यो के हो भने, अंग्रेजी भाषामा सञ्चालन हुने सभाहरूमा बस्दा अलिअलि मात्र अंग्रेजी बुझ्ने भाइहरूले गर्ने महसुस। एकदम राम्ररी तयारी गरेमा मात्र विदेशी भाषामा सञ्चालन हुने सभाहरूमा प्रस्तुत गरिएका कुराहरू बुझ्न सक्थ्यौं। अलिभ जहिले पनि सभामा एउटा न एउटा जवाफ दिन्छिन्‌। पहिला तिनी अंग्रेजीमा तयारी गर्छिन्‌, त्यसपछि एउटी बहिनीले स्थानीय भाषामा अनुवाद गरी लेखेर दिएपछि अप्ठ्यारो मानी मानी टिप्पणी गर्न हात उठाउँछिन्‌। कहिलेकाहीं उच्चारण गरेको नमिलेर उनले हँसाइन्‌ पनि, तर यसले तिनलाई निराश भने पारेको छैन। तिनी भन्छिन्‌, “भाइहरूले मेरो प्रयासको मूल्यांकन गर्छन्‌ भनेर मलाई थाह छ। वास्तवमा, मेरो यस्तो टिप्पणीले त्यो भाषा बोल्न सीपालु भाइबहिनीहरूलाई सभामा अझ बढी भाग लिन प्रोत्साहित गर्छ।”

भाषाले गर्दा मेरो भाषण दिने तरिकामा पनि फरक पाऱ्‍यो। किनभने हरेक वाक्यपछि दोभाषेलाई बोल्ने समय दिनुपर्थ्यो। यसो गर्दा आफूले सोचेको कुरा तुरुन्तै बिर्सने धेरै सम्भावना हुन्छ। त्यसैले एकदम ध्यान दिनुपर्ने र थुप्रै बुँदाहरू छाँटकाँट गरेर भाषणको रूपरेखा छोटो बनाउनुपर्ने महसुस गर्छु। तर जे होस्‌, मलाई रमाइलै लाग्छ।

थरिथरिका सेवकाई

बेलाइतका कैयौं शहरी क्षेत्रहरूमा विदेशी भाषीहरू छरिएर रहेका छन्‌। एउटै भाषा बोल्नेहरू शहरको एक गल्लीमा एक दुइ जना त अर्को ठाउँमा एक दुइ जना बसेका हुनसक्ने हुँदा तिनीहरूलाई भेट्‌न निकै यात्रा गर्नुपर्ने हुन्छ। तर, तिनीहरूलाई भेटेर तिनीहरूकै भाषामा अभिवादन गरिसकेपछि तिनीहरूको राम्रो प्रतिक्रिया पाउँदा तपाईंले प्रयत्नको फल पाएको महसुस गर्नसक्नुहुन्छ। अझ त्यसमाथि मसँगै गएका भाइले घरधनीकै भाषामा परमेश्‍वरको राज्यको सुसमाचार बताउँदा त घरधनीले झन्‌ राम्रो प्रतिक्रिया देखाउँछन्‌।

वास्तवमा भन्‍ने हो भने, हाम्रो ४० वर्षको राज्य सेवामा सबैभन्दा रोमाञ्चकारी अनुभव नै विदेशी भाषीहरू माझ सेवा गर्नु हो। त्यस क्षेत्रमा हुनसक्ने उन्‍नतिको कुरा गरेर साध्यै छैन। आफ्नै मातृभाषामा सत्य सिक्न पाउँदा मानिसहरूले चाँड्‌चाँडो र गहिरो मूल्यांकनसहित सिक्छन्‌ भन्‍ने कुरामा कुनै शंकै छैन। (प्रेरित २:८, १४, ४१) सभा सिद्धिएपछि भाइहरूको आँखामा टलपलाएका आँसुले हामीलाई असाध्यै भाव विभोर बनाउँछ। अझ त्यसमाथि पनि आफ्नै भाषामा संपूर्ण कार्यक्रम सुनेर बुझ्न पाउँदा त भाइबहिनीहरूको खुशीको सीमा नै रहँदैन।

घर-घर प्रचार गर्न जाँदा सकेसम्म घरधनीकै भाषामा परिचय मात्र भए पनि दिने कोसिस गर्छौं। तापनि, बेलाबेलामा समस्या नपर्ने होइन। उदाहरणको लागि, गुजराती भाषा बोल्ने घरधनीलाई अभिवादन गर्न केम्चो भन्‍नुपर्छ, जसको अर्थ हो, “नमस्ते।” एक पटक मैले त्यसरी अभिवादन गर्दा एउटा चिरपरिचित कफीको विज्ञापन गरेको जस्तो पो भएछ। जे होस्‌, एउटा घरमा गुजरातीमा अभिवादन गर्दा भने त्यस घरको दम्पती मुसुक्क हाँसे। तिनीहरूले हामीलाई तुरुन्तै भित्र बोलाए अनि माया गरेर कफी पिउन दिए। तर हाम्रो गलत उच्चारणले गर्दा कफी पिउन दिएको नठान्‍नुहोस्‌। पछि थाह भयो, तिनीहरू हामीले भ्रमण गर्दै गरेको यहोवाका साक्षीहरूका आफन्त रहेछन्‌। अनि तिनीहरूले निष्कपट चासो देखाए।

अंग्रेजी बोल्ने एउटी बहिनीले चिनियाँ भाषी युवतीलाई वर्षौंदेखि बेलाबेलामा पत्रिका छोड्‌ने गर्थिन्‌। त्यस युवतीलाई कहिलेकाहीं निश्‍शुल्क गृह बाइबल अध्ययनको प्रस्ताव पनि राख्थिन्‌ तर अस्वीकार गर्थिन्‌। एक दिन चिनियाँ भाषा सिक्दै गरेकी एउटी बहिनी तिनीसँग गइन्‌ र त्यही भाषामा पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नुहुन्छ पुस्तक प्रस्तुत गरिन्‌। त्यस जिज्ञासु घरधनीले खुशीसाथ स्वीकारिन्‌।a आफ्नै भाषामा पुस्तक पाएपछि तिनले बाइबल अध्ययन गर्न मञ्जुर गरेकिछिन्‌। त्यस युवतीको आफ्नै भाषामा केही शब्दहरू बोलिदिंदा यति फरक पर्न गयो।

थरिथरिका संस्कृतिहरू

कुनै कुनै संस्कृतिका आइमाईहरू राति एक्लै बाहिर हिंडेको पुरुषहरूले मन पराउँदैनन्‌ भनेर हामीलाई थाहै थिएन। यसले गर्दा साँझमा हुने सभाहरूमा उपस्थित हुन धेरै बहिनीहरूलाई अति गाह्रो पर्छ। उमेर पुगिसकेकी छोरी विवाह नगरिकन घरमै बसिन्‌ भने, एसियाका कुनै कुनै समाजका मानिसहरू परिवारको इज्जत जान्छ भन्‍ने विश्‍वास गर्दारहेछन्‌। त्यसैले एउटी साक्षी बहिनी आफ्नो आमाबाबुले खोजिदिएको केटोसँग बिहे गर्न राजी नहुँदा उनका बाबु झन्डै विष खाएर मरेका थिए। त्यस्ता बहिनीहरूको सहनशीलतालाई मान्‍नैपर्छ! त्यस परिवारमा सत्यको प्रभाव परेको देख्दा र यहोवासित वफादार रहँदा बहिनीहरूका आमाबाबु प्रभावित भएको देखेर साँच्चै अचम्म लाग्छ!

यो कार्यभार सँभाल्न हामीले केही छाँटकाँट पनि गर्नु परेको थियो। हामीले परिभ्रमण काम थाल्नुअघि म साधारण बेलाइती खाना खान्थे। अहिले मसालादार मीठो खाना खान सिकेका छौं। कैयौं वर्षसम्म स्थानीय खानेकुरा खान अनकनायौं तर पछि भने पहिलेदेखि नै खान सुरु गर्नुपर्ने रहेछ भनेर चुकचुकायौं। अहिले काँचो माछादेखि लिएर तरकारीहरूसम्म जे पनि मीठो मानेर खान थालेका छौं।

उज्ज्वल प्रत्याशाहरू

हामीलाई लाग्छ, थुप्रै विदेशी भाषी क्षेत्रहरू फस्टाउने समय यही हो। अहिले विभिन्‍न भाषामा हाम्रा प्रकाशनहरू पाइन्छन्‌। नयाँ नयाँ मण्डलीहरू संगठित भएकोबाटै तपाईं यहोवाको आशिष्‌ अनुभव गर्न सक्नुहुन्छ। अनि अन्य भाषाको ज्ञान भएका भाइहरू टाढा टाढाको मण्डलीहरूबाट सहयोगको लागि आउँदैछन्‌।

फ्रान्सेली भाषामा राज्यको सुसमाचार प्रचार गर्दा पाइएको सकारात्मक प्रतिक्रियालाई नै लिनुहोस्‌ न। हालैका वर्षहरूमा जाइर र अन्य अफ्रिकी मुलुकहरूबाट फ्रान्सेली भाषी शरणार्थीहरू बेलाइतमा आएका छन्‌। लण्डनमा पहिलो फ्रान्सेली भाषी मण्डली स्थापित हुँदा जम्मा ६५ जना मात्र राज्य प्रकाशकहरू थिए। वर्षदिनपछि, त्यो संख्या वृद्धि भएर ११७ पुग्यो। तिनीहरूमध्ये ४८ जनाले त पूर्ण-समय अर्थात्‌ नियमित अग्रगामीको रूपमा सेवा पनि गरे। फलतः जिज्ञासुहरू धमाधम बढ्‌दै गएकाले दोस्रो मण्डली स्थापना गर्नुपऱ्‍यो। सन्‌ १९९५ को स्मरणार्थमा उपस्थित भएका ३४५ जना जिज्ञासुहरूलाई अझ बढी ध्यान दिन अब सजिलो भएको छ। बेनिन, कोट डेभ्वा, मोरक्को र जाइरमा पहिले सेवा गरेका गिलियड स्नातकहरूले यहाँ आफ्ना अनुभवको सदुपयोग गरिरहेका छन्‌। परिणाम उदेकलाग्दै छ।

फ्रान्सेली मण्डलीको भ्रमणको दौडान एक चोटि म अफ्रिकी जवान युवतीकहाँ बाइबल अध्ययनमा गएँ। हामी फर्कन लाग्दा त्यस युवतीले आत्तिंदै भनिन्‌: “यत्ति चाँडै नजानुस्‌ न। बिन्ती छ, अलि बेर बस्नुस्‌।” तिनी अझ बढी जान्‍न बुझ्न चाहन्थिन्‌। तिनको त्यस्तो व्यवहारले मैले पहिलो शताब्दीकी लिडियालाई सम्झें।—प्रेरित १६:१४, १५.

हाम्रो प्रारम्भिक काम स-साना विदेशी भाषी समूहहरूलाई मण्डलीमा परिणत गर्नु हो। मण्डली पुस्तक अध्ययन सञ्चालन भइरहेको इलाकामा हामीले महिनैपिच्छे सञ्चालन हुने छोटो ईश्‍वरतान्त्रिक सेवकाई पाठशालाको प्रबन्ध मिलायौं। यसले तिनीहरूलाई क्षेत्र सेवकाईमा राम्ररी समाचार प्रस्तुत गर्न सहयोग गर्छ। त्यसपछि तिनीहरू बिस्तारै मण्डलीका पाँचवटै सभाहरू सञ्चालन गर्नेतर्फ अघि बढ्‌दैजान्छन्‌। अहिलेसम्ममा यहाँ गुजराती, चिनियाँ (क्यान्टोनिज), जापानी, तामिल, पंजाबी, पुर्तगाली, फ्रान्सेली र वेल्स भाषाका नयाँ मण्डलीहरू स्थापित भइसकेका छन्‌।

हामीले बहिरा भाइहरूका मण्डलीहरूको सभामा बस्ने सुअवसर पनि पायौं। भाइहरूले हातको इशाराबाट भजन गाएको देख्दा असाध्यै घत लाग्यो। सेवकाईमा तिनीहरूले हातको संकेतबाट परमेश्‍वरको राज्य प्रचार गर्न भरमग्दूर प्रयास गर्छन्‌ भन्‍ने थाह पाउँदा मेरो हृदयमा मूल्यांकन जाग्यो। त्यहाँ कान पनि नसुन्‍ने र आँखा पनि नदेख्नेहरूलाई समेत दोभाषेको काम गर्न सक्ने भाइहरू छन्‌। यसो हेर्दा, यहोवाले कोही पनि नछुटोस्‌ भनी निश्‍चित गर्न चाहनुहुन्छ जस्तो लाग्छ।

यदि हामीलाई कुनै खास वरदान माग्न दिएको भए हाम्रो माग येशूको जस्तै हुने थियो: “तिमीहरूले फसलका प्रभुलाई उहाँको आफ्नो फसलमा खेतालाहरू पठाइदिऊन्‌ भनी बिन्ती गर।” (मत्ती ९:३८) स्थानीय मण्डली वरपरका जनजातीय समूहहरूको भाषा सिक्ने जस्तो गाह्रो काम पनि हाम्रा थुप्रै भाइहरूले स्वीकारीरहेका छन्‌। चमत्कारपूर्ण ढंगमा विभिन्‍न भाषा बोल्ने वरदान हामीलाई नदिइए तापनि यहोवाले यस स्वदेशी मिसनरी क्षेत्रमा कटनी गर्न तयार भएको खेतमा सेवा गर्ने अवसर भने पक्कै खोल्दै हुनुहुन्छ। (यूहन्‍ना ४:३५, ३६)—कालिन सेमोरको वृत्तान्तमा आधारित।

[फुटनोट]

a वाच टावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने