तपाईंको बच्चाको ज्यान जोगाउनुहोस्!
मिकल र अल्फिन दक्षिण अफ्रिकास्थित क्वाजुलु-नाटालका हरिया पहाडहरू भएको ग्रामीण उपत्यकामा बसोबास गर्छन्। सात जना छोराछोरी हुर्काउन तिनीहरूले अनेकन् चुनौतीहरू सामना गरे। आफ्नी पत्नीको पूर्ण सहयोग पाएर मिकलले पिताहरूलाई दिइएको यस बाइबलीय आज्ञा पालन गर्न यथाशक्य गरे: “[आफ्ना छोराछोरीहरूलाई] प्रभुको शिक्षा र चेताउनीमा पालन-पोषण गर।” (एफिसी ६:४) तर कहिलेकाहीं समस्याहरू हुन्छन्।
उदाहरणका लागि, अफ्रिकी गोठालाहरूले अरूको बगालसँगसँगै आफ्नो गाईबस्तु चराएर आफू खेलमा मग्न हुनु सामान्य कुरा हो। कहिलेकाहीं तिनीहरू उट्पट्याङ गर्छन् र अनुचित कुराकानी गर्छन्। मिकलका छोराहरू बगाल चराउन जाँदा तिनले त्यस्ता केही केटाकेटीहरूसित सरसंगत नगर्नू भनी कडा निर्देशन दिन्थे। (याकूब ४:४) तैपनि, आफू कामबाट घर फर्कंदा कहिलेकाहीं आफ्ना बच्चाहरू ती केटाकेटीहरूसितै बसिरहेको भेट्टाउँथे। यसो हुँदा तिनले तिनीहरूलाई अनुशासन दिनुपर्थ्यो।—हितोपदेश २३:१३, १४.
के तपाईंको विचारमा मिकल आफ्ना छोराछोरीप्रति असाध्यै कडा भएका हुन् त? कसैलाई त्यस्तो लाग्ला तर येशू ख्रीष्टले भन्नुभयो, “बुद्धि चाहिं उसका कामहरूबाट योग्य ठहरिन्छ।” (मत्ती ११:१९) मिकल र अल्फिनले घरमा एउटा मायालु वातावरण बनाएका थिए। तिनीहरू छोराछोरीसित समय बिताउँथे र बाइबल विवरण तथा सत्य सिकाउँथे।
मिकल र अल्फिनका चार छोरीहरू छन्—टिम्बकेली, सफेवी, टलाकेली र टिम्बकानी। तिनीहरू चारै जना परमेश्वरको राज्यका पूर्ण-समय प्रचारकहरू हुन्। दुइ जना छोरा यहोवाका साक्षीहरूको मण्डलीमा अध्यक्षको हैसियतमा सेवारत छन्। अर्को छोरा सेवकाई सेवक र तिनकी पत्नी पूर्ण-समय प्रचारक हुन्।
ठूलो परिवार भएका थुप्रै मसीही आमाबाबुहरू आफ्ना छोराछोरी हुर्काउन सफल भएका छन्। तथापि, आमाबाबुले राम्रो पालनपोषण गरेका केही केटाकेटीहरू सत्यलाई ग्रहण गर्दैनन्। निस्सन्देह, तिनीहरूका आमाबाबुले येशूले भन्नुभएको उडन्ता पुत्रको उखानलाई सधैं सम्झन्छन् र कुनै दिन आफ्नो छोरा वा छोरीले पश्चात्ताप गरेर अन्ततः मुक्ति पाउनेछ भन्ने आशा राखेका हुन्छन्।—लूका १५:२१-२४.
तर दुःखको कुरा, केही मसीही आमाबाबुका सबै छोराछोरीले सत्य त्यागेका छन्। अफ्रिकाका केही भागहरूमा विशेषगरि यस्तो समस्या छ। किशोरावस्थामा नपुगुञ्जेल छोराछोरीहरूले राम्रै गरिरहेका हुन्छन् तर पछि जवानीको बैंसमा पुगेपछि शैतानी संसारका अनैतिक मार्गमा हिंड्न प्रलोभित हुन्छन्। (१ यूहन्ना ५:१९) परिणामस्वरूप, धेरै बुबाहरू मण्डलीका प्राचीनहरूको हैसियतमा सेवा गर्न अयोग्य हुन्छन्। (१ तिमोथी ३:१, ४, ५) स्पष्टतः मसीही बुबाले आफ्नो परिवारको मुक्तिलाई असाध्यै महत्त्वपूर्ण ठान्नुपर्छ। अतः आमाबाबुले आफ्ना छोराछोरीको ज्यान जोगाउन के गर्नसक्छन्?
घनिष्ठ मित्र हुनुहोस्
येशू सिद्ध मात्र होइन, उहाँ जत्ति ज्ञानी अरू कोही छैन र निकै अनुभवी पनि हुनुहुन्छ। तैपनि, उहाँले आफ्ना असिद्ध चेलाहरूसित घनिष्ठ मित्रजस्तो व्यवहार गर्नुभयो। (यूहन्ना १५:१५) त्यसकारण त तिनीहरू उहाँको साथमा बस्न पाउँदा रमाउँथे, नभन्दै उहाँको साथ पाउँदा तिनीहरूले प्रगति गर्न सके। (यूहन्ना १:१४, १६, ३९-४२; २१:७, १५-१७) आमाबाबुले यसबाट पाठ सिक्नसक्छन्। पारिलो घामतिर पात फर्काउने स-साना बोटहरूजस्तै घरमा मायालु, मित्रैलो वातावरण हुँदा छोराछोरीले राम्रो प्रगति गर्छन्।
आमाबाबु हो, के तपाईंका छोराछोरी तपाईंसित जस्तोसुकै विषयमा पनि कुरा गर्न अघि सर्छन्? के तपाईं तिनीहरूको कुरा सुन्नुहुन्छ? निष्कर्षमा पुग्नुअघि विषयवस्तु राम्ररी थाह पाउन के तिनीहरूको सोचाइ तथा भावनाहरू बुझ्ने प्रयास गर्नुहुन्छ? के तपाईं तिनीहरूसँगसँगै बाइबल प्रकाशनहरू अनुसन्धान गरेर केही प्रश्नहरूको जवाफ पत्ता लगाउन धैर्यपूर्वक मदत गर्नुहुन्छ?
एक दक्षिण अफ्रिकी आमा यसो भन्छिन्: “स्कूल गएको पहिलो दिनदेखि नै हामीले छोरीलाई दिनभरिको वृत्तान्त सुनाउन प्रोत्साहन गऱ्यौं। उदाहरणका लागि, मैले सोध्थें: ‘आज कोसित खाजा खायौ? तिम्रो नयाँ शिक्षिकाबारे म पनि सुनुँ न। कस्तो हुनुहुन्छ? यो हप्ताभरि स्कूलमा के के गर्ने कार्यक्रम छ?’ एक चोटि छोरी स्कूलबाट घर फर्केपछि भनिन्, अंग्रेजी शिक्षिकाले सम्पूर्ण कक्षालाई एउटा चलचित्र देखाउन लैजाने योजना बनाएकी छिन्। र त्यसबारे विद्यार्थीहरूले पछि छोटो टिप्पणी लेख्नुपर्नेथियो। उक्त चलचित्रको शीर्षक अलि शंकास्पद थियो। त्यससम्बन्धी थप जानकारी बुझ्दा त्यो चलचित्र मसीहीहरूका लागि अनुपयुक्त हुने कुरा पत्ता लाग्यो। हामी सपरिवार बसेर छलफल गऱ्यौं। भोलिपल्ट छोरीले गएर शिक्षिकालाई आफू त्यो चलचित्र हेर्न नजाने कुरा बताइन्। कारण त्यसमा देखाइने नैतिक स्तरहरू उनको मसीही विश्वासअनुरूप हुनेथिएन। शिक्षिकाले पनि यस विषयमा पुनः सोच्न थालिन् र बेकारमा पछि पछुताउनुभन्दा हेर्न नलैजानु नै बेस ठानिन्। अनि त्यस्तो सुझाउ दिएकोमा हाम्री छोरीलाई धन्यवाद दिइन्।” आफ्नी छोरीको मुक्तिको लागि यी आमाबाबुले निरन्तर देखाएको मायालु चासोले असल फल फलायो। तिनी आशावादी तथा सकारात्मक मनोवृत्ति राख्छिन् र अहिले वाच टावर बाइबल एण्ड ट्राक्ट सोसाइटीको दक्षिण अफ्रिकास्थित शाखा कार्यालयमा स्वयंसेवा गर्दैछिन्।
अरूका छोराछोरीसित व्यवहार गर्ने सन्दर्भमा येशूले अत्युत्तम उदाहरण बसाल्नुभयो। उहाँलाई तिनीहरूसित बस्न रमाइलो लाग्थ्यो। (मर्कूस १०:१३-१६) आफ्नै छोराछोरीहरूसित मिलेर कामकुरा गर्न आमाबाबुहरू झन् कत्ति रमाउनुपर्ने हो! अफ्रिकाका केही भागहरूमा आफ्नो छोरासित समय बिताएर सँगै खेल्न वा अन्य कामकुरा गर्न बुबाहरू लाज मान्छन्। तर आफ्ना छोराछोरीसित कामकुरा गरेको अरूले देख्यो भने के भन्ला भन्ने सोचाइ मसीही बुबाहरूले कहिल्यै राख्नु हुँदैन। आमाबाबुले आफ्ना कलिला केटाकेटीहरूसित समय बिताउनु नितान्त आवश्यक छ। यसो गर्दा छोराछोरीलाई आफ्ना खुलदुलीहरू व्यक्त गर्न सजिलो हुन्छ। त्यस्ता भावनात्मक आवश्यकताहरूको हेलचेक्राइँ गर्दा र विशेषगरि सधैंजसो तिनीहरूको भूल मात्र कोट्याइरहँदा छोराछोरीहरू चिढचिढाहा वा एकलकाँटे हुन्छन्।
पावलले कलस्सीहरूलाई पारिवारिक सम्बन्धबारे यसप्रकार लेखे: “ए बाबु हो, आफ्ना केटा-केटीहरूलाई रीस नउठाओ, र तिनीहरू खिन्न नहोऊन्।” (कलस्सी ३:२१) यसले अनुशासन मात्र दिइरहने तर घनिष्ठ हुन नखोज्ने कमजोरीलाई देखाउनसक्छ। किशोरकिशोरीलगायत स-साना केटाकेटीलाई माया चाहिन्छ, तिनीहरूको तारिफ गर्नुपर्छ। यस्ता केटाकेटीहरूले अनुशासनलाई सहजै स्वीकार्छन्।
परमेश्वरको प्रेम
प्रेम देखाएर राम्रो उदाहरण बसाल्नु नै आमाबाबुले आफ्ना छोराछोरीलाई दिनसक्ने सबैभन्दा बहुमूल्य पुर्ख्यौली सम्पत्ति हो। आमाबाबुले परमेश्वरप्रति साँचो प्रेम व्यक्त गरेको तथा प्रकट गरेको छोराछोरीले देख्नु तथा सुन्नु खाँचो छ। वाच टावर बाइबल एण्ड ट्राक्ट सोसाइटीको दक्षिण अफ्रिकास्थित शाखा कार्यालयमा कार्यरत एक जवान यसो भन्छन्: “सानो छँदा म बुबालाई घरायसी कामहरू गर्न सघाउँथें। उहाँलाई मदत गर्न असाध्यै रमाइलो लाग्थ्यो किनभने मैले जस्तोसुकै सानो काम गरे पनि उहाँ मूल्यांकन गर्नुहुन्थ्यो। उहाँले मलाई यहोवाबारे थुप्रै कुराहरू बताउन समय निकाल्नुहुन्थ्यो। उदाहरणका लागि, एक चोटि शनिबार हामी दुवै मिलेर खूब मेहनत गरी गरी बगैंचामा घाँस काट्दैथियौं। असाध्यै गर्मी थियो। बुबाको खलखली पसिना बगिरहेको थियो। त्यसकारण म दौडेर गई दुइ गिलास पानी ल्याएँ र त्यसमा बरफ पनि हालें। बुबाले भन्नुभयो: ‘छोरा, यहोवा कत्तिको बुद्धिमान् हुनुहुन्छ भनेर के तिमीले कहिल्यै सोचेका छौ? बरफ पानीमा तैरिन्छ। बरफ पानीमा नतैरेको भए ताल र पोखरीको पिंधमा बस्ने सबै प्राणीहरू मर्नेथिए। त्यसो नभई बरफले पानीभित्रको तातो बाहिर निस्कन दिंदैन! के यसले यहोवालाई अझ राम्ररी चिन्न मदत गर्दैन र?’a पछि, मसीही तटस्थता कायम गरेको हुँदा म थुनामा परें। तब मैले ती क्षणहरू सोच्ने निकै मौका पाएँ। दिक्क भएर कालकोठरीमा बसिरहँदा मैले बुबाका ती शब्दहरू सम्झें। ती शब्दहरू कत्ति अर्थपूर्ण थिए! आफूले सकेसम्म सदासर्वदा यहोवाको उपासना गर्नेछु।”
हो, आमाबाबुले गर्ने हरेक कामकुरामा परमेश्वरप्रति प्रेम झल्किएको छोराछोरीले देख्नुपर्छ। मसीही सभामा उपस्थिति, क्षेत्र सेवकाईमा सहभागिता, पारिवारिक बाइबल पढाइ तथा अध्ययन गर्नुको मुख्य कारण परमेश्वरप्रति प्रेम र उहाँप्रति आज्ञाकारिता हो भनी प्रस्ट देखिनुपर्छ। (१ कोरिन्थी १३:३) सबैभन्दा महत्त्वपूर्ण कुरा, भित्री हृदयदेखि गरिएका पारिवारिक प्रार्थनाहरूमा परमेश्वरप्रति प्रेम झल्किनुपर्छ। आफ्ना छोराछोरीलाई त्यस्तो पुर्ख्यौली सम्पत्ति दिनुको महत्त्व जत्ति वर्णन गरे पनि पुग्दैन। त्यसैकारण इस्राएलीहरूलाई यस्तो आज्ञा दिइएको थियो: “तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सम्पूर्ण मनले, आफ्नो सम्पूर्ण प्राणले र आफ्नो सम्पूर्ण शक्तिले प्रेम गर। मैले तिमीहरूलाई सुनाएको आज्ञा आफ्नो मनमा राख। ती तिमीहरूले आफ्ना छोरा-छोरीहरूलाई होशीयारीसाथ सिकाओ। औ घरमा बस्ता, बाटोमा हिंड़दा, ढल्केर बस्ता र उठदा तिनको चर्चा गर।”—व्यवस्था ६:५-७; तुलना गर्नुहोस् मत्ती २२:३७-४०.
परमेश्वरलाई प्रेम गर्नु तथा उहाँप्रति आज्ञाकारी हुनुमा ठूलो अवरोध हामीमा जन्मजात भएको पापी स्वभाव हो। (रोमी ५:१२) तसर्थ, बाइबल यस्तो आज्ञा पनि दिन्छ: “हे परमप्रभु[लाई] प्रेम गर्ने हो, खराबीलाई घृणा गर।” (भजन ९७:१०) खराब सोचाइको परिणाम प्रायजसो खराब कार्यहरू हुन्छन्। यसो नगर्न बच्चाले अर्को अत्यावश्यक गुण पनि विकास गर्नुपर्छ।
परमेश्वरको डर
यहोवाप्रति श्रद्धेय भय छ भने हामी उहाँलाई अप्रसन्न तुल्याउन डराउँछौं। त्यस्तो डरको साथसाथै प्रेम पनि छ भने त्यो असाध्यै मनमोहक गुण हो। “परमप्रभुको भयमानै” रमाउने व्यक्तिको उत्तम उदाहरण येशू ख्रीष्ट स्वयं हुनुहुन्छ। (यशैया ११:१-३) बच्चाले जवानीको बैंसमा पुगेर तीव्र यौन इच्छाहरू अनुभव गर्न थाल्दा यस्तो भय अत्यावश्यक हुन्छ। परमेश्वरको भयले जवान व्यक्तिलाई अनैतिक आचरणतिर डोऱ्याउने सांसारिक दबाबहरूको विरोध गर्ने मदत दिनसक्छ। (हितोपदेश ८:१३) केही समुदायमा आमाबाबुहरू छोराछोरीलाई यौन प्रलोभनहरूको सामना कसरी गर्ने जस्ता विषयहरू सिकाउनुपर्दा अप्ठ्यारो मान्छन्। भनौं भने, थुप्रैले त यी विषयहरू छलफल गर्नु गलत नै ठान्छन्। तर आमाबाबुले यस्तो लापरवाही गर्दा परिणाम के भएको छ?
बुगे, अमको र सायेयाने नाउँका तीन चिकित्सा विशेषज्ञहरूले दक्षिण अफ्रिकाको ट्रान्सा ग्रामीण इलाकाका १,७०२ केटीहरू तथा ९०३ केटाहरूसित अन्तरवार्ता लिए। साउथ आफ्रिकन मेडिकन जर्नल-को रिपोर्टअनुसार “यीमध्ये ७६% केटीहरू तथा ९०.१% केटाहरूले कुनै न कुनै प्रकारको यौनसम्बन्ध राखिसकेका थिए।” केटीहरूको औसत आयु १५ वर्ष थियो र धेरैलाई जबरजस्ती यौनसम्बन्ध राख्न लगाइएको थियो। त्यसमध्ये २५० भन्दा बढी केटीहरू त कम्तीमा एक वा त्योभन्दा धेरै चोटि गर्भवती भइसकेका थिए। परिणामस्वरूप थुप्रै जना यौनजन्य रोगहरूले पीडित थिए।
अफ्रिकाका धेरै आमाबाबुहरूले आफ्ना छोराछोरीहरूलाई विवाहपूर्व यौनसम्बन्ध नराख्न सिकाउनुपर्ने खाँचो बुझेका छैनन् जस्तो छ। बरु, माथि उल्लिखित पत्रिका यसो भन्छ: “ग्रामीण ट्रान्स्का समाजमा स्त्री हुनुको महत्त्व नै बच्चा जन्माउनु र बच्चाको स्याहारसुसार गर्नु हो भनेर सिकाइन्छ अनि त्यसलाई असाध्यै महत्त्वपूर्ण ठानिन्छ। भर्खर १२, १३ वर्ष पुगेका केटीहरूले यो कुरा राम्ररी बुझिसकेका हुन्छन्।” यस्तै प्रकारका समस्याहरू संसारका अरू भागहरूमा पनि छन्।
यौनबारे बुझ्न मदत नगरेकोमा अफ्रिकाका थुप्रै युवकयुवतीहरूले आफ्ना आमाबाबुलाई दोष लगाइरहेका छन्। केही मसीही आमाबाबुहरूले तपाईंको युवावस्थाको सर्वोत्तम लाभ उठाउने (अंग्रेजी) पुस्तक चलाउन पनि असाध्यै अप्ठ्यारो मानेका थिए।b पृष्ठ २०-३ मा यौन अंगहरूको उचित प्रयोग र किशोरावस्थामा हुने परिवर्तनहरूबारे बताइएको छ।
परमेश्वरले यौनप्रति कस्तो दृष्टिकोण राख्नुहुन्छ, त्यसबारे छोराछोरीसित छलफल गर्न प्रयास गर्ने मसीही आमाबाबुहरूको सराहना गर्नैपर्छ। बच्चाको बुझ्ने क्षमतालाई ध्यानमा राख्दै यी विषयमा छलफल गर्नु बेस हो। बच्चाको उमेरअनुसार आमाबाबुले शरीरका अंग तथा त्यसको कामबारे खुलस्त बताउनसक्छन्। अन्यथा, उमेरै नपुगेको हुँदा राम्ररी नबुझ्नसक्छ।—१ कोरिन्थी १४:८, ९.
दक्षिण अफ्रिकी एक पुरुषको दुइटी छोरी र एक छोरा छन्। तिनी यसो भन्छन्: “छोरीहरूसित पनि यौनसम्बन्धी गहन विषयहरू छलफल गर्ने मौका बारम्बार पाएँ। तर मेरी पत्नीले विशेषगरि छोरीहरूलाई ध्यान दिइन् र तिनीहरूलाई मदत गर्न तपाईंको युवावस्थाको सर्वोत्तम लाभ उठाउने पुस्तक चलाइन्। [पृष्ठ २६-३१ हेर्नुहोस्।] छोरा १२ वर्ष पुगेपछि मैले उसलाई एक पटक लामो पहाडी यात्रामा लैजाने निधो गरें। त्यतिबेला हामीले केटाको शरीरका अंगहरूबारे विस्तृत छलफल गऱ्यौं र विवाह गरेपछि त्यसले खेल्ने भूमिकाबारे पनि कुरा गऱ्यौं। हस्तमैथुन गर्ने पतित आचरणलाई त्याग्नुपर्छ तथा केटीहरूलाई आमा र बहिनीलाई जस्तै सम्मान र आदर गर्नुपर्छ भनेर पनि बताएँ।”
आनन्दमय इनामहरू
भर्खरै उल्लिखित आमा र बुबाले कडा मेहनत गरे अनि तीन छोराछोरी हुर्काउन सफल भएकोमा आनन्दित छन्। अहिले तीनै जना हुर्किसके र विश्वासी मसीहीहरूसित विवाह गरेका छन्। तिनीहरूका छोरा तथा ज्वाइँहरू सबै मसीही मण्डलीका प्राचीनहरूको हैसियतमा सेवारत छन् र दुइ जोडी त पूर्ण-समय प्रचार कार्यमा लागेको वर्षौं भइसक्यो।
हो, आफ्नो परिवारको मुक्तिको लागि कडा मेहनत गर्ने आमाबाबुले बाइबलका शिक्षाहरू पालन गर्न रोज्ने आफ्ना छोराछोरीबाट आनन्दमय इनाम पाउने आशा गर्नसक्छन् किनभने हितोपदेश २३:२४, २५ यसो भन्छ: “असल मानिसको बाबु रमाउनेछन्, बुद्धिमानी छोरादेखि बाबु खुशी हुनेछ। तेरा आमा-बाबुलाई खुशी हुने केही कारण होस्, तँलाई जन्म दिने आमाले रमाहट गरोस्।” यस लेखको सुरुमा उल्लिखित ठूलो परिवारलाई विचार गर्नुहोस्। अल्फिन भन्छिन्, “मेरा छोराछोरीको आध्यात्मिक प्रगतिलाई सम्झँदा मेरो हृदय हर्षले गद्गद हुन्छ।” सबै मसीही आमाबाबुले यस्तै आनन्दमय इनाम पाउन मेहनत गरून्।
[फुटनोटहरू]
a पानी जम्ने बिन्दुमा पुग्नै लागेपछि घनत्व कम हुन्छ र सतहमा उत्रन्छ। वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित जीवन कसरी सुरु भयो? विकासवादबाट वा सृष्टिबाट? (अंग्रेजी) पुस्तकको पृष्ठ १३७-८ हेर्नुहोस्।
b वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित युवा जनहरूका प्रश्न तथा त्यसका उपयोगी जवाफ (अंग्रेजी) पनि हेर्नुहोस्।
[पृष्ठ २३-मा भएको चित्र]
जीवनका यथार्थहरू बताउन बुबाले उपयुक्त समयको बन्दोबस्त मिलाउनसक्छन्