पाठकहरूका प्रश्नहरू
यहोवाका साक्षीहरू एकअर्काप्रति इमानदार र भरपर्दा हुँदाहुँदै तिनीहरूबीच व्यापारिक कारोबारमा कबुलियतनामा गर्नु किन महत्त्वपूर्ण छ?
यसो गर्नु धर्मशास्त्रीय, व्यवहारिक र मायालु प्रबन्ध हो। तर कसरी? आउनुहोस्, व्यापारिक कबुलियतनामाका ती पक्षहरूलाई विचार गरौं।
परमेश्वरले करार बाँध्नुभएका मानिसहरू अर्थात् इस्राएलीहरूसित गर्नुभएको व्यवहारबारे बाइबलमा लिखित विवरण छ। यसमा साँचो उपासकहरूबीच व्यापारिक कारोबार पनि समावेश छ। उत्पत्ति अध्याय २३ को एउटा विवरणलाई हामी विचार गर्नसक्छौं। अब्राहामले आफ्नो प्रिय साराको लास गाड्न जमीन किन्न चाहन्थे। तिनले हेब्रोन नजीकै बसोबास गर्ने कनानीहरूसित कारोबार गर्न थाले। पद ७-९ ले देखाएअनुसार तिनले आफूलाई चाहिएको जमीनको लागि निश्चित दाम तोके। तिनले यो प्रस्ताव जनसमक्ष अर्थात् शहरको मूल ढोकाका सबैले सुन्ने गरी राखे भनी पद १० ले प्रमाणित गर्छ। अब्राहामलाई जग्गा दिन जग्गाधनी राजी भए तर पद १३ ले देखाएअनुसार अब्राहाम त्यो जमीनको दाम तिरेपछि मात्र लिन तयार थिए। अनि पद १७, १८ र २० ले बताएअनुसार त्यस्तै भयो, “हेत वंशीहरू र त्यस शहरको ढोकाबाट पसेर आएकाहरू सबैका सामने” पुष्टि गरियो।
त्यसोभए, साँचो उपासकहरूबीच व्यापारिक कारोबार हुँदा चाहिं के भिन्नै होला त? यर्मिया अध्याय ३२ ले यसको जवाफ दिन्छ। हामीले पद ६ देखि पढ्यौं भने थाह पाउँछौं, यर्मियाले आफ्नो नातेदारबाट जमीन किन्नुपरेको थियो। पद ९ ले देखाएअनुसार जमीनको मनासिब दाम तोकियो। पद १०-१२ मा यसो भनिएको छ: ”मैले [यर्मिया] तमसुकमा सही गरें, छाप लगाएँ, साक्षीहरू राखें र जोखेर दाम दिएँ। तब मैले शर्त्तहरू भएको छाप लगाएको र खुला तमसुक दुवै लिएँ, र मेरो काकाको छोरो हनमेल, तमसुकमा सही हाल्नेहरू र प्रहरीको चोकमा बसेका सबै यहूदीहरू सामने ती तमसुकहरू मैले नेरियाहको छोरो मासेयाहको नाति बारूकलाई सुम्पिदिएँ।”
हो, यर्मियाले सँगी उपासक र त्यो पनि आफ्नै नातेदारसित कारोबार गरिरहेका भए तापनि केही यथोचित कानुनी औपचारिकताहरू पूरा गरे। दुइटा लिखित विवरण बनाइयो। एउटा सजिलै हेर्नसकिने खुला तमसुक थियो भने अर्को चाहिं छाप लगाइएको। खुला तमसुकको सत्यतामा शंका लागेमा वैकल्पिक प्रमाणसरह छाप लगाइएको तमसुक हेर्न सकिन्थ्यो। पद १३ ले देखाएअनुसार यो सबै लेनदेन “तिनीहरूकै सामने” भयो। अतः यो जनसमक्ष गरिएको कानुनी व्यापारमा साक्षीहरू थिए। त्यसकारण, स्पष्ट छ, साँचो उपासकहरूले त्यस्तो पक्का र लिखित रूपमा कारोबार गर्नुको धर्मशास्त्रीय आधार छ।
यो व्यवहारिक पनि छ। “समय र अवसरलेनै सबैलाई अधीन गरेको हुन्छ” भन्ने भनाइको सत्यता हामीलाई थाह नभएको होइन। (उपदेशक ९:११) त्यसमा हामी पनि समावेश छौं। याकूब ४:१३, १४ यसरी बताउँछ: “तिमीहरू यसो भन्नेहरू, ‘आज कि भोलि हामी फलानो शहरमा जाऔंला, र त्यहाँ एक वर्ष बिताऔंला, र किन-बेज गरेर नाफा गरौंला।’ तर यो जान्दैनौ, कि भोलि के हुने हो।” यसर्थ, हामीले केही किन्ने, सम्झौता गरिसकेको कार्य वा सेवा पूरा गर्ने वा अरूको लागि कुनै थोक उत्पादन गर्ने जस्ता कामहरूको परियोजना बनाऔंला। तर भोलि, आउँदो महिना वा आउँदो वर्ष के हुनेछ, कसलाई के थाह? आफ्नो वा अर्को पक्षको दुर्घटना भयो भने नि? मानौं, हामीले त्यो काम वा सेवा पूरा गर्न सकेनौं वा अर्को व्यक्तिले भुक्तानी गर्न वा सम्झौताअनुरूप गर्नै नसक्ने भयो। कुनै लिखित सम्झौता छैन भने जटिल समस्याहरू हुनसक्छन्। तर सरल लिखित कबुलियतनामा छ भने त्यस्ता समस्याहरू रोक्न वा सुल्झाउन सकिने थियो।
अनि हामीले यो पनि बिर्सनु हुँदैन, जीवनमा कतिपय अनिश्चित घटनाहरू हुने भएको हुँदा व्यापारमा अरू कसैले दुवै पक्षको वा अर्को पक्षको जिम्मेवारी वहन गर्न वा समस्या सुल्झाउनुपर्ने पनि हुनसक्छ। याकूबले पद १४ मा अझै यसो भने: “तिमीहरू ता पानीको वाफ हौ, जो केही बेरको निम्ति देखा पर्दछ, अनि बिलाइहाल्दछ।” वास्तवमा, दुवै पक्षमध्ये कुनै एकमाथि अप्रत्याशित घटना आइ परे तापनि लिखित सम्झौता अर्थात् कबुलियतनामाले अरूलाई त्यो कारोबार सँभाल्न सजिलो बनाउनेथियो।
यसले त्यस्तो लिखित कबुलियतनामाको तेस्रो पक्ष मायालु प्रबन्ध हो भन्ने कुरालाई पनि समेट्छ। निस्सन्देह, कबुलियतनामा गरेको एउटा पक्षको मृत्यु भयो वा दुर्घटनाले गर्दा चलहलै गर्न नसक्ने भयो भने मसीहीको हैसियतमा तिनले आफ्ना दायित्व वा वित्तीय मोलको लिखित विवरण प्रदान गर्नु मायालु कुरा हुनेथियो। अनि यसले आफ्नो भाइप्रति अविश्वास होइन, माया झल्काउँछ। किनभने त्यस्तो लिखित कबुलियतनामाबाट आफूले पूरा गर्नुपर्ने दायित्व वा आफूले पाउने रकमबारे स्पष्टसित थाह लाग्नेछ। एउटा असिद्ध पक्षले केही विवरण वा जिम्मेवारीहरू पूरा गर्न बिर्से तापनि यस्तो मायालु कदमले व्यापारिक सम्झौता गरेकाहरूबीच कठोर भावना वा द्वेषलाई कम गर्नेछ। अनि हामीमध्ये को चाहिं असिद्ध, भुलक्कड छैनौं वा कससित पो कार्यविवरण वा मनसायहरूको गलत अर्थ लगाउने झुकाउ छैन र?—मत्ती १६:५.
व्यापार गर्दा लिखित सम्झौता गर्नाले आफ्नो भाइ, परिवार र मण्डलीप्रति थुप्रै तरिकाले प्रेम झल्किन्छ। तर ती लिखित सविवरण कबुलियतनामाहरू तयार पार्नु मायालु हुनुको अलावा व्यवहारिक र धर्मशास्त्रमा पनि आधारित छन्।