नाभाहोका
भेडाखाले मानिसहरूका लागि चरन
नाभाहो इन्डियनहरूको भाषामा हजोनी शब्दको अर्थ “सुन्दर” हो किनभने नाभाहो मानिसहरू आफ्नो भूमिलाई सुन्दर ठान्छन्। अमेरिकी सरकारले सन् १८६८ देखि नाभाहोहरूका लागि उत्तरपूर्वी एरिजोनामा लगभग ६२,००० वर्ग किलोमिटर भूभाग छुट्याएको छ। यस क्षेत्रले एरिजोना, कोलोराडो, न्यु मेक्सिको र युटा गरी चार प्रान्तहरू समेटेको छ। अमेरिकाको काउबोइ चलचित्रहरूमा प्रायजसो छायांकन गरिने मन्युमेन्ट भ्याली अहिले नाभाहो ट्राइभल पार्कको नाउँमा संरक्षित छ र यो हेर्न संसारभरिका पर्यटकहरू ओइरिन्छन्। त्यहाँ रातो बलौटे ढुंगाको ३०० मिटर अग्लो स्तम्भ छ र त्यो मरुभूमिरूपी उजाड जमीनमा प्रस्टै देखिन्छ। त्यसकारण, नाभाहो भाषामा मन्युमेन्ट भ्यालीलाई “चट्टानहरूबीचको खोच” भन्ने नाउँ दिनु सुहाउँदो छ।
नाभाहो जाति नम्र, न्यानो अतिथि-सत्कार गर्ने र एकताबद्ध ठूलो परिवारमा बस्न चाहने मानिसहरू भनेर प्रख्यात छन्। यस संरक्षित इलाकाका १,७०,००० बासिन्दाहरू पुरानो चलनअनुसारै अलग अलग समूहहरूमा बस्छन्। कोही कोही अहिलेसम्म भेडाबाख्रा पाल्छन् अनि काठ र माटोले बनेका झोपडीहरूमा बस्छन्। नाभाहो साजसज्जा अनि हस्तकलाले चारैतिर ख्याति पाएको छ। विशेषगरि भेडाको ऊनबाट बनिएका अनि रंगीचंगी ज्यामीतिय आकार वा परम्परागत डिजाइनका राडी, कम्बल निकै बहुमूल्य मानिन्छ। यूँ र अन्य प्राकृतिक वस्तुहरू राखेर नाभाहोहरूले बनाउने चाँदीका गहनाहरू पनि त्यत्तिकै ख्यातिप्राप्त छन्।
नाभाहोका मानिसहरूलाई सुसमाचार
यहोवाका साक्षीहरू नाभाहो मुलुकमा आएका ३० वर्षभन्दा बढी भइसक्यो। तिनीहरू यहाँ दृश्यावलोकन गर्न मात्र होइन तर यस दुर्गम इलाकाका मानिसहरूलाई परमेश्वरको राज्यको सुसमाचार प्रचार गर्न आएका हुन्। (मत्ती २४:१४) यहोवाका साक्षीहरूको नियमित तथा विशेष अग्रगामी सेवकहरूले यहाँ प्रचारकार्यमा अगुवाइ लिइरहेका छन्। यिनीहरूमध्ये प्रायजसो खाँचो बढी भएको ठाउँमा सेवा गर्न परिभ्रमण निरीक्षक तथा स्थानीय साक्षीहरूको आग्रहमा त्यहाँ आएका हुन्। कोही नजीकैका मण्डलीहरूबाट आएका छन् भने कतिपय चाहिं संयुक्त राज्यका अन्य भागहरूबाट आएका छन्। यसरी बसाइँ सर्नेहरूमा अन्य आदिवासी जातिहरू पनि छन्।
यी आत्मत्यागी पुरुष तथा स्त्रीहरूले यस इलाकामा आफ्नो सेवकाईलाई मिसनरी कार्यजस्तै ठान्छन्। किन? प्रथम त नाभाहोहरूको भाषा टिप्न गाह्रो हुनुका साथै शैली तथा खास खास शब्दहरूले गर्दा भाषा सिक्न असाध्यै गाह्रो छ। अनि प्रायजसो यहाँका आदिवासीहरूले आफ्नो धर्म, पारिवारिक प्रणाली र खेतीपातीसम्बन्धी आफ्ना परम्परागत तौरतरिकाहरू छोडेका छैनन्। यसबाहेक, यहाँ गैरआदिवासीहरूलाई आवास तथा जागिर पाउन गाह्रो छ। यसकारण, यहाँ बसाइँ सर्नेहरूलाई गाह्रो पर्छ। तर मुख्यतः लामो समयसम्म गोराहरूको दुर्व्यवहार खपिसकेको हुँदा यी नाभाहोहरूले आफ्नो जातिबाहेक अरूप्रति शंकाको दृष्टिले हेर्नु स्वाभाविकै हो।a
टाई लगाएका साक्षीहरूले सुरु सुरुमा घर-घर प्रचार गर्न थाल्दा तिनीहरूलाई मर्मन धार्मिक समूहका मानिसहरू भन्ठान्थे र धेरैले ढोकै खोल्दैनथे। अनौपचारिक पोशाक लगाएर ढोका ढोकामा प्रचार गर्न थाल्दा तिनीहरूले घरभित्र बोलाउँथे र लगभग एक घण्टासम्म कुरा गर्नसक्थे। अहिले फेरि यहोवाका साक्षीहरू सेवकाईमा टाईसहित औपचारिक लुगा लगाउँछन् तर तिनीहरू अन्य समूहका मानिसहरू भनेर झुक्किंदैनन्।
नाभाहो संरक्षण इलाकामा बस्ने मानिसहरूलाई भेट्नु मात्र पनि एउटा ठूलो चुनौती हो। खाल्डाखुल्डी परेको, बलौटे वा हिलो भएको कच्ची बाटोमा धेरै किलोमिटर गाडीमा यात्रा गर्नपर्नु कुनै अनौठो कुरा होइन। यसले गर्दा गाडी पनि चाँडै थोत्रो देखिनु अनि यात्रुहरू लखतरान हुनुको कारण बुझ्नसक्छौं। कहिलेकाहीं गाडी फस्छ तर बटुवाहरू मदत गर्न आइहाल्छन्। जिज्ञासुहरूलाई भेट्न, गृह बाइबल अध्ययनमा जान वा कसैलाई मसीही सभामा लैजान मात्र पनि घण्टौं लाग्छ। तर साक्षीहरू अल्छी नमानिकन त्यस्तो सहयोग गरेर आदिवासीहरूप्रति प्रेम झल्काउँछन्।—१ थिस्सलोनिकी २:८ तुलना गर्नुहोस्।
नाभाहो मानिसहरूलाई बाइबल छलफल गर्न मन पर्छ। मानिसजातिको लागि भावी प्रमोदवनको आशाबारे सुन्न प्रायजसो सारा परिवार अर्थात् छोराछोरी, आमाबाबु, बाजेबज्यै सबै भेला हुने गर्छन्। प्रमोदवन कस्तो होला भनी एक नाभाहो पुरुषलाई सोध्दा तिनले यस्तो जवाफ दिए, “ठूलो हरियो चरन अनि थुप्रै भेडाहरू।” तिनको यो भनाइले भूमि र बगालप्रति तिनीहरूको मायालाई झल्काउँछ। तिनीहरू बाइबल साहित्यहरूको पनि मूल्यांकन गर्छन्। किनभने राज्य सेवकाईलाई समर्थन गर्न कहिलेकाहीं तिनीहरू ठूलठूला पोते गेडाहरू, साबुन, एक सिसी दूध वा त्यस्तै अन्य चीजबीजहरू दिने गर्छन्। एक विशेष अग्रगामीले एक वर्षमा प्रहरीधरहरा र ब्यूँझनुहोस्!-को २०० जना ग्राहक बनाए र त्यसमध्ये एक जना घोडसवार पनि ती दुइ पत्रिकाको ग्राहक बनेका थिए।
“भेडा चराउने” ठाउँ तयार पार्ने
गर्मी हुन थालेपछि नाभाहो गोठाला आफ्नो बगाललाई भेडा चरनमा लैजान्छन्। हरियो चौर र पानीको सुविधा हेरेर छानिएका यी चरनहरूमा भेडाबाख्राहरू मोटाघाटा हुन्छन्। प्रतीकात्मक अर्थमा हेर्ने हो भने, राज्यभवनलाई पनि त्यस्तै ठाउँसित तुलना गर्न सकिन्छ अर्थात् आध्यात्मिक चरन र सत्यको पानी बग्ने ठाउँ। यहाँ आउने मानिसहरू आध्यात्मिक तवरमा स्वस्थ तथा मोटाघाटा हुनसक्छन्।
केही समयको लागि एरिजोनास्थित केएन्टाको कक्षाकोठामा सभाहरू सञ्चालन हुन्थे। तर अगस्त १९९२ मा विभिन्न प्रान्तबाट आएका सयौं स्वयंसेवक साक्षीहरूको मदतले केएन्टामा एउटा नयाँ राज्यभवनको निर्माण भयो। यो तथा यस प्रान्तका अन्य राज्यभवनहरूले गर्दा यहाँ यहोवाका साक्षीहरू स्थायी बसोबासका लागि आएका हुन् भनेर स्थानीय जनता महसुस गर्छन्। यस ठूलो इलाकाका अन्य राज्यभवनहरूमा संरक्षित इलाकाभित्र पर्ने ट्युबा शहर र चिन्लेमा पर्ने राज्यभवनहरू, नाभाहो संरक्षण इलाकाभित्र पर्ने केम्स क्यान्यनको एउटा राज्यभवन र सीमा इलाकाका अरू थुप्रै राज्यभवनहरू समावेश छन्। परिणाम कस्तो भएको छ?
धेरैले राज्य सन्देश स्वीकार्दैछन्
राज्यभवनको निर्माण भएदेखि केएन्टामा १२ जनाभन्दा बढी स्थानीय बासिन्दाहरूले बप्तिस्मा लिइसके। यसले साँचो उपासनाको यस थलोमा यहोवाको आशिष् छ भनेर देखाउँछ। यहोवाका साक्षीहरू यहाँ सधैंभरि रहिरहनेछन् भनेर यो भवनले देखाउँछ अनि परमेश्वरको राज्यको सन्देशप्रति विश्वास बढाउँछ। हालै प्रथम चोटि नाभाहो भाषामा जनभाषण दिइयो। आमाबाबुको जिम्मेवारी विषयमा दिइएको उक्त भाषण सुन्न आएका २४५ जनालाई स्वागत गर्न पाउँदा मण्डलीका ४० सदस्यहरू हर्षित थिए। मूल्यांकनले ओतप्रोत एउटा आठ सदस्य भएको परिवार पनि त्यो भाषण सुन्न आएका थिए। तिनीहरूले जम्माजम्मी छ घण्टा यात्रा गर्नुपऱ्यो र तिनीहरू राज्यभवनमा पहिलो चोटि आएका थिए।
यहोवाले प्रबन्ध गर्नुभएको अर्को मदतकारी सामग्री, नाभाहो भाषामा प्रकाशित पृथ्वीमा सधैंभरि जीवनको आनन्द उठाउनुहोस्! पुस्तिका हो। नाभाहो जस्तो जटिल भाषामा यस पुस्तिका अनुवाद गर्नु एउटा कठिन चुनौती थियो। यस पुस्तिकाले राज्य सन्देश स्पष्टसित बताओस् भन्ने मनसाय राखेर अनुवादकहरूले समष्टिगत रूपमा १,००० भन्दा बढी घण्टा बिताए। सन् १९९५ को अन्ततिर यो पुस्तिका विमोचन भएदेखि स्थानीय साक्षीहरूले हजारौं प्रति वितरण गरेका छन्। यसले गर्दा सत्यको खोजमा लागेका अनगिन्ती व्यक्तिहरूसित बाइबल अध्ययन गर्न सम्भव भएको छ।
राज्य प्रकाशकहरूले भाषा सिक्दै जाँदा सेवकाईमा नाभाहो भाषाको प्रयोग बढ्न थालेको छ। त्यहाँका मण्डलीहरूको ईश्वरतान्त्रिक सेवकाई पाठशालामा नाभाहो भाषा प्रयोग हुन थालेको छ र प्रकाशकहरूलाई प्रशिक्षण दिन नाभाहो भाषा कक्षा सञ्चालन हुन्छन्। यसबाहेक, स्थानीय सम्मेलनका कार्यक्रमहरू पनि नाभाहो भाषामा अनुवाद हुन्छन्। यी सबै प्रयासहरूको परिणामस्वरूप अवश्य अझ वृद्धि हुनेछ।
यस संरक्षित आदिवासी इलाकामा हाम्रा नाभाहो भाइहरूले देखाएका उत्कृष्ट आध्यात्मिक गुणहरू पनि हामी बिर्सन सक्दैनौं। सात वर्षसम्म जिम्मी र सान्ड्राले पाँच छोराछोरीलाई साप्ताहिक सभाहरूमा ल्याउन लैजान २४० किलोमिटर लामो यात्रा गर्थे। ती लामा यात्राहरूको दौडान राज्य गीतहरू गाएको र एकसाथ बाइबल अध्ययन गरेको मीठो सम्झना तिनीहरूले सँगालेका छन्। सत्यप्रति आमाबाबुको प्रेम र जोशले छोराछोरीलाई पनि यहोवाका समर्पित उपासकहरू हुन उत्प्रेरित गरेको छ। चार जना अहिले नियमित अग्रगामी गर्दैछन् भने जिम्मी प्राचीनको हैसियतमा सेवारत छन्। जिम्मीकी दिदी, एल्सीले हालै बप्तिस्मा लिंदा यस परिवारको आनन्दमाथि आनन्द थपिएको छ। किनभने उनी नाभाहो भाषा मात्रै बोल्ने पहिलो साक्षी हुन्।
नाभाहो संरक्षणका स्तम्भहरूले प्रदान गर्ने सौम्य वातावरणमा स्थानीय गोठाला तथा तिनीहरूको बगालले सुनमाथि सुगन्ध थपेका छन्। अगमवक्ता यशैयाले धेरैअघि यहोवाको विषयमा यसो भनेका थिए: “उहाँले आफ्नो बगाललाई गोठालालेझैं चराउनुहुनेछ। उहाँले थुमाहरूलाई आफ्नै अङ्गालोमा लिनुहुनेछ, र तिनीहरूलाई आफ्नै काखमा बोक्नुहुनेछ, दूध खुवाउने माऊलाई चाहिं बिस्तार बिस्तार डोऱ्याएर उहाँले लैजानुहुनेछ।” (यशैया ४०:११) असल गोठालो येशू ख्रीष्टद्वारा यहोवाले नाभाहो संरक्षणका त्यस्ता मानिसहरूलाई आध्यात्मिक चरनमा जम्मा गरिरहनुभएको छ जो राज्यको सुसमाचार सुन्न र अनन्त आशिष् पाउने मौकाको भागीदार हुन चाहन्छन्।
[फुटनोट]
a मे ८, १९४८; फेब्रुअरी २२, १९५२; जून २२, १९५४ र सेप्टेम्बर ८, १९९६ को ब्यूँझनुहोस्! (अंग्रेजी) हेर्नुहोस्।
[[पृष्ठ २४-मा भएको चित्र]
नाभाहो गोठाल्नीले सुसमाचार सुन्छिन्