मेरो हृदय कृतज्ञताले छचल्किएको छ
जोन विनको वृत्तान्तमा आधारित
यहोवाका साक्षीहरूको सभामा जान्नँ भनेर म अक्सर जिद्दी गर्थें! सभामा जान नपरोस् भनेर म कहिले पेट दुखेको त कहिले टाउको दुखेको बहाना बनाउँथे। तर मेरी मुमा अटल हुनु भएकोले उहाँअघि मेरो कुनै पनि बहाना चल्दैन थियो। त्यसैले म तीन किलोमिटर पर पर्ने राज्यभवनतिर लुरुलुरु उहाँको पछि लाग्थें, त्यहाँ पुगेपछि मुमा र उहाँकी वृद्धा साथीबीचको छलफल सुनिरहन्थें।
यसबाट मैले बहुमूल्य पाठ सिकें: यहोवालाई जे मन पर्छ त्यो गर्न आमाबाबुहरू मायालु तरिकामा सधैं अटल हुनुपर्छ। (हितोपदेश २९:१५, १७) ‘एक ठाउँमा भेला हुन नछोडौं’ भन्ने ईश्वरीय आदेशलाई तिनीहरूले कहिल्यै बिर्सनु हुँदैन। (हिब्रू १०:२५) बितेका कुराहरूलाई सरसरती केलाउँदा म मेरी मुमाप्रति अति कृतज्ञ हुन्छु। किनकि उहाँ मेरोनिम्ति जे असल छ, त्यो मलाई गराइ छाड्नुहुन्थ्यो!
असल उदाहरणहरूका लागि कृतज्ञ
हुन त मेरो बुबाको विश्वास मुमाको भन्दा भिन्न थियो। तैपनि, मुमा बाइबल स्टुडेन्ट्स बन्नुहुँदा उहाँले कुनै किसिमको विरोध गर्नुभएन। यहोवाका साक्षीहरूलाई त्यतिखेर बाइबल स्टुडेन्ट्स भनिन्थ्यो। सन् १९१३ मा मुमा वाच टावर सोसाइटीका प्रथम अध्यक्ष चार्ल्स टि. रसलद्वारा सम्बोधित “मृत्युपछि” शीर्षकको भाषण सुन्न जानुभयो। तर ढिलो भएकोले उहाँले सीट पाउनुभएन। ढिलो आउनेहरूलाई मञ्चमा बस्न दिइएको रहेछ र मेरी आमालाई पनि त्यहीं अर्थात् पास्टर रसललाई नजीकैबाट हेर्न सकिने ठाउँमा बसाइएछ। त्यस भाषणले उहाँमा अमेट छाप पाऱ्यो। भोलिपल्टको स्थानीय अखबारमा यो भाषण छापियो। उहाँले त्यसको एक प्रति किन्नुभयो र बारम्बार पढ्नुहुन्थ्यो।
सभापछि मुमाले आफ्नो नाउँ तथा ठेगाना एउटा कागजमा लेखेर बुझाउनुभएको थियो। त्यसैकारण, केही दिनपछि नै उहाँलाई बाइबल स्टुडेन्ट्स भेट्न आयो। समयमा उहाँले बेलाइतस्थित हाम्रो शहर ग्लास्टरमा बाइबल पर्चाहरू ढोका ढोकामा प्रस्तुत गर्न थाल्नुभयो। मेरा दुइटी दिदी र म केटाकेटी छँदादेखि नै मुमासँगसँगै प्रचारमा जान्थ्यौं।
ह्यारी फ्रान्सेस भन्ने जोशिलो बाइबल स्टुडेन्ट्स ग्लास्टरमा आउँदा मुमाले तिनलाई हार्दिक स्वागत गर्नुभयो। तिनले ममाथि निकै चाख लिन थाले। मुख्यतः तिनकै प्रोत्साहनले गर्दा म पछि अग्रगामी अर्थात् पूर्ण-समय सेवक भएँ। भाइ फ्रान्सेसको उदाहरणबाट पनि मैले महत्त्वपूर्ण पाठ सिकेको छु। त्यो हो, पाको व्यक्तिहरूले जवानहरूलाई प्रोत्साहन दिने तरिकाहरू खोजिरहनुपर्छ।
मेरी आमा बाइबल स्टुडेन्ट्स बन्नुभएपछि ग्लास्टरका अरू मानिसहरू पनि बाइबल स्टुडेन्ट्स भए। तर मण्डलीका केही प्राचीनहरूमा मै हुँ भन्ने भाव जाग्न थाल्यो। फलतः आजकाल मण्डली भनिने कक्षाका स्टुडेन्ट्सहरू व्यक्तिविशेषको पछि लाग्न थाले। एउटा यस्तै सभामा कुनै खास प्राचीनको समर्थनमा हात उठाओस् भनेर कक्षाका केही स्टुडेन्ट्सहरूले मुमालाई पछाडिबाट घोचिरहन्थे। ती प्राचीनहरूको उदाहरण नराम्रो भएको मुमालाई थाह थियो। त्यसैकारण, अरूले डरत्रास देखाउँदा पनि उहाँले तिनीहरूको पक्ष कहिल्यै लिनुभएन। त्यसबेला अर्थात् १९२० दशकको अन्ततिर धेरै जना मण्डलीबाट टाढिए र सत्यको मार्गमा हिंड्न छाडे। (२ पत्रुस २:२) तैपनि, मुमा संगठनसित सधैं वफादार रहनुभयो र उहाँको यही उदाहरण मेरोनिम्ति असल नमुना साबित भयो।
सत्यप्रति मेरो अडान
अन्ततः जून १९३९ मा १८ वर्षको भएपछि मैले सेभ्रन नदीमा बप्तिस्मा लिएँ। त्यही वर्ष म मण्डलीको ध्वनि विभागमा नियुक्त पनि भएँ। त्यो जमानामा हामी सार्वजनिक स्थलहरूमा “धर्म पासो र फन्दा हो” भन्ने सन्देश भरिएको एउटा ठूलो ट्रान्सक्रिप्सन मेसिन बजाउँथ्यौं। त्यतिखेर मसीहीजगत्को कपट र झूटो शिक्षाको जोडतोडले पर्दाफास गरिन्थ्यो।
एकपटक म एकापट्टि “धर्म पासो र फन्दा हो” र अर्कोपट्टि “परमेश्वर र राजा ख्रीष्टको सेवा गर” भन्ने लेखिएको संकेत पेटी बोकेर जुलुसको अघि अघि हिंडिरहेको थिएँ। यसबाहेक जनभाषणबारे गरिएको विज्ञापन टट्टूको दुइतिर झुन्ड्याएर हामीसँगसँगै लगेका थियौं। ग्लास्टरजस्तो धार्मिक शहरमा त्यो जुलुस बडो बेजोड देखिएको थियो!
हाम्रो आर्थिक अवस्था कमजोर भए तापनि मुमाले मलाई अग्रगामी गर्न प्रोत्साहन दिइरहनुहुन्थ्यो। त्यसैकारण, सेप्टेम्बर १९३९ मा दोस्रो विश्वयुद्धसँगसँगै मैले पनि वारविकशायरको लेमिङटन शहरमा प्रचार गर्ने जिम्मेवारी पहिलो पटक थालें। यो ठाउँमा थुप्रै अवकाशप्राप्त पादरीहरू बस्दा रहेछन्।
घरघरको सेवकाईमा जाँदा हामी हलुका फोनोग्राफ लैजान्थ्यौं र त्यसमा वाच टावर बाइबल एण्ड ट्राक्ट सोसाइटीका तत्कालीन अध्यक्ष जे. एफ. रदरफर्डको भाषण बजाउँथ्यौं। तर ट्रान्सक्रिप्सन मेसिन (धेरै श्रोता जम्मा भएको बेला प्रयोग गर्न सकिने) भने अलि गह्रौं थियो र हामी यो मेसिन ठेलामा वा बच्चा राख्ने क्यारेजमा राखेर गुडाउँथ्यौं। झूटो धर्मको पर्दाफास गरेको सुनेर कहिलेकाहीं पादरीहरू चिढिन्थे र हामीलाई तिनीहरूको घर छोडेर जान बाध्य पार्थे। तर हामी हतोत्साही भएनौं। यहोवाले हाम्रो काममा आशिष् दिनुभयो र आज लेमिङटनमा सय जनाभन्दा धेरै साक्षीहरूको एउटा मण्डली छ।
दोस्रो विश्वयुद्ध निकै चर्केको बेला अर्थात् १९४१ तिर म वेल्समा सरें र त्यहाँका हाभरफर्डवेस्ट, कार्मार्थन र रेक्समजस्ता शहरहरूमा अग्रगामी गरें। पूर्ण-समय सेवक भएकोले मैले सैन्य सेवामा भर्ती हुन नपर्ने छुट पाएको थिएँ, तर मानिसहरूलाई हाम्रो तटस्थताको कुनै मोल थिएन। त्यसैकारण, मानिसहरू मेरो साथी र मलाई जासुस अथवा देशद्रोही भनेर गाली गर्थे। एक रात त प्रहरीले हाम्रो ट्रेलरलाई नै घेऱ्यो। मेरो साथी कोइलाखानीमा काम गरेर भर्खरै मात्र फर्केको थियो र बाहिर को आएको रहेछ भनी हेर्न ऊ ढोकाबाट चियायो। कोइलाको धूलोले गर्दा उसको अनुहार कालै थियो र प्रहरीले उसलाई छापा मार्न तयार भएको सैनिक भन्ठान्यो। फलतः हामीले त्यसबारे स्पष्टीकरण दिनुपऱ्यो!
हामीले आफ्नो काममा प्रशस्तै आशिष्हरू पायौं। हामी कार्मार्थनमै छँदा लण्डनस्थित शाखा कार्यालयबाट जोन बार (हाल परिचालक निकायका सदस्य) हामीलाई भेट्न आउनुभयो र प्रोत्साहन दिनुभयो। त्यतिखेर कार्मार्थनमा दुइ जना मात्र प्रकाशकहरू थिए तर अहिले सयभन्दा बढी छन्। रेक्सममा अहिले तीनवटा मण्डलीहरू छन् र हालै मैले हाभरफर्डवेस्टमा एउटा राज्यभवन समर्पण भाषण दिने सुअवसर पाएँ।—१ कोरिन्थी ३:६.
सेवकाईको लागि कृतज्ञ
हामी दक्षिण वेल्सको स्वानसीमा छँदा मेरो साथी डान रेन्डेलले सैन्य सेवामा भर्ती हुनु नपर्ने छुट पाएन। अन्य मुलुकका सँगी मसीहीहरूसित लडाइँ गर्न अन्तस्करणले साथ दिंदैन भनेर बताउँदा बताउँदै पनि उसलाई जेल चलान गरियो। (यशैया २:२-४; यूहन्ना १३:३४, ३५) उसलाई प्रोत्साहन दिन र वरपरका मानिसहरूलाई साक्षी दिन मैले जेल नजीकै ट्रान्सक्रिप्सन मेसिन राखें र बाइबल भाषणहरू बजाएँ।
तर त्यही नजीकै बस्ने महिलाहरूलाई हामीले त्यसो गरेको मन परेनछ। त्यसैकारण, तिनीहरूले मेरो सहयोगी र मलाई पिटाउन पैसा उठाएर सिपाहीहरूलाई दिए। हामी दुवै राज्यभवनमा शरण लिन कुलेलम ठोक्यौं। मचाहिं ठेलामा राखिएको ट्रान्सक्रिप्सन मेसिन गुडाउँदै बेतोडले दगुर्दै थिएँ। तर त्यहाँ पुग्दा हामीलाई फसाद पऱ्यो! राज्यभवनमा ताला पो लगाएको रहेछ! धन्न, प्रहरीहरू बेलैमा आइपुगेकोले हामी पिटाइ खानुपरेन।
पछि यस घटनाबारे सबैले थाह पाए। केही दिनपछि म स्वानसी नजीकैको प्रान्तमा प्रचार गरिरहेको थिएँ। त्यतिखेर एक जना पुरुषले मलाई “मसीही धर्म भनेको त तपाईंहरूको जस्तो पो हुनुपर्छ। हेर्नुस् त, स्वानसीमा एउटा जवान ठिटोले कसरी आफ्नो विश्वासबारे निर्भयतासाथ बताउँथ्यो र त्यसै गरेकोले ज्यान जोगाउन उसलाई त्यो ठाउँबाट भाग्नुपऱ्यो” भन्दै प्रशंसा गऱ्यो। त्यो केटो अरू कोही नभएर म नै हुँ भन्दा तिनी छक्क परे।
त्यतिबेला युद्ध चर्काचर्की भइरहेकोले अग्रगामी गर्नु सजिलो थिएन। हामीसित भौतिक सर-सम्पत्ति पनि त्यति थिएनन् तर जे जत्ति थिए, त्यसैमा हामी सन्तुष्ट थियौं। हामीले सधैं नियमित रूपले आध्यात्मिक आहार अटूट पाइरह्यौं र बिरामी हुँदाबाहेक हामी अरू कुनै पनि दिन सभाहरूमा अनुपस्थित भएनौं। मैले एउटा पुरानो साइकल किनें र हामीले त्यसमा फोनोग्राफ र बाइबल साहित्यहरू राख्न एउटा ठूलो टोकरी राख्यौं। कहिलेकाहीं म साइकलमा ८० किलोमिटर लामो यात्रा गर्थें! मैले लगभग सात वर्ष जति अग्रगामी गरें र ती दिनहरू सम्झँदा मलाई बडो आनन्द लाग्छ।
सन् १९४६ मा दोस्रो विश्वयुद्ध समाप्त भएपछि मैले बेथेलमा सेवा गर्ने निम्तो पाएँ। कुनै पनि मुलुकमा यहोवाका साक्षीहरूले काम गर्ने मुख्य ठाउँलाई बेथेल भनिन्छ। हाम्रो बेथेल त्यतिबेला लण्डन टेबर्नेकलको छेउमै ३४ क्राभेन टेरेसमा थियो। बेथेलमा, एलिस हार्टजस्ता निकै वर्षदेखि सेवा गरिरहेकाहरूसित संगत गर्न पाउँदा म रमाएँ। एलिसका बुबा टम हार्ट बेलाइतका पहिलो साक्षी हुन् भन्ने विश्वास गरिन्छ।
विश्वासी सहयोगी पाउनु
इटीसित विवाह गर्न मैले १९५६ मा बेथेल छोडें। तिनी अग्रगामी थिइन् र नेदरल्याण्डस्बाट लण्डनमा बसिरहेकी आफ्नी दिदीलाई भेट्न आउँदा हाम्रो चिनापर्ची भएको थियो। दोस्रो विश्वयुद्धको अन्ततिर इटीले दक्षिणी नेदरल्याण्डस्स्थित टिल्बर्गको व्यापारिक कारोबारसम्बन्धी कलेजमा टाइपिङ र शर्टह्याण्ड सिकाउँथिन्। तिनी सकुशलै घर पुगून् भनी एक दिन एक जना शिक्षकले साइकलमा तिनीसँगसँगै घरसम्म पुऱ्याइदिउँ कि भनेर सोधेछन्। तिनी रोमन क्याथोलिक थिए। तिनीहरू घर पुगेपछि इटीका प्रोटेस्टेन्ट आमाबाबुसित तिनको छलफल भयो। तिनीहरूबीच राम्रो मित्रता कायम भयो र इटीको घरमा त्यो शिक्षकको आवतजावत हुनथाल्यो।
युद्ध सकिएपछि त्यो शिक्षक एक दिन इटीको घरमा यसो भनेर कराउँदै आए, “मैले सच्चाइ पाएँ!”
इटीका बुबाले जवाफ दिनुभयो, “तर तिमी रोमन क्याथोलिक छँदा सच्चाइ त मैसित छ भनेका थियौ जस्तो लाग्छ!”
“होइन, होइन!” उत्तेजित हुँदै तिनले जवाफ दिए। “सच्चाइ यहोवाका साक्षीहरूसित पो रहेछ!”
त्यो साँझ र त्यसपछिका साँझहरूमा बाइबलको गहिरो छलफल हुन थाल्यो। त्यसको केही समयपछि नै इटीले अग्रगामी गर्न थालिन्। तिनले पनि सेवकाईमा निकै कठिन सतावटहरू भोग्नु परेको रहेछ। नेदरल्याण्डस्मा रोमन क्याथोलिक चर्चले सताउँदो रहेछ। घरघरको सेवकाईमा कुराकानी गरिरहेको बेला पादरीहरूले उस्काएका केटाकेटीहरूले हल्लाखल्ला मच्चाएर बोल्नै दिंदैनथे। एक दिन त ती केटाकेटीहरूले तिनको साइकलै बिगारिदिएछन्। पहिले एउटा सानो पुस्तिका लिएको मिस्त्रीकहाँ तिनी साइकल बनाउन पुगिन्। “हेर्नुस्, ती बच्चाहरूले मेरो साइकलको के गति पारिदिए!” आँसु थाम्दै तिनले भनिन्।
त्यो मिस्त्रीले दया देखाउँदै भने, “दुःख नमान्नोस्। तपाईंले असाध्यै असल काम गरिरहनुभएको छ। म सित्तैमा साइकल बनाइदिन्छु।” साँच्चै तिनले ज्याला लिएनन्।
बाइबल अध्ययन थालिसकेपछि पहिले त्यति वास्ता नलागेका व्यक्तिहरूप्रति पनि पादरीहरूले अति नै ध्यान दिन थालेको इटीले याद गरिन्। पादरी तथा ननहरूले बाइबल र यहोवाप्रति मानिसहरूको विश्वासलाई कमजोर बनाउँथे। तथापि, यसको बावजूद इटीले धेरै वटा फलदायी बाइबल अध्ययनहरू गर्न सकिन्।
एकसाथ जीवन बिताउन पाएकोमा कृतज्ञ
हाम्रो विवाहपछि इटी र मलाई बेलाइतमा परिभ्रमण सेवामा खटाइयो। मण्डलीहरूलाई आध्यात्मिक तवरमा बलियो बनाउन हामीले लगभग पाँच वर्षजति भ्रमण कार्य गऱ्यौं। त्यसपछि, मैले ब्रूकलिन न्यु योर्कको यहोवाका साक्षीहरूको मुख्यालयस्थित गिलियडको ३६ औं कक्षामा भाग लिने निम्तो पाएँ। नोभेम्बर १९६१ मा पूरा हुने यो दश-महिने तालिम विशेषगरि यहोवाका साक्षीहरूको शाखा कार्यालय सञ्चालन गर्न पुरुषहरूलाई दिइन्थ्यो। म त्यहाँ छँदा इटी बेलाइतको लण्डन बेथेलमा बसिन्। स्नातक भएपछि हामी दुवैलाई लण्डन बेथेलमा खटाइयो।
त्यसपछि मैले मण्डलीसित सम्बन्धित कामकुराहरू सँभाल्दै १६ वर्षसम्म सेवा विभागमा काम गरें। अनि १९७८ मा बेथेल निरीक्षक प्रिस ह्युको मृत्यु भएपछि म उहाँको ठाउँमा नियुक्त भएँ। अहिले हाम्रो बेथेल परिवारमा २६० भन्दा बढी सदस्य छन्। यसरी त्यत्तिका वर्षदेखि यो बढ्दै गएको हाम्रो बेथेल परिवारको हेरचाह गर्ने जिम्मेवारी पाउनु मेरोनिम्ति इनामदायी कार्य साबित भएको छ।
सन् १९७१ तिर ८५ वर्षको उमेरमा मेरी मुमा बित्नुभयो। अन्त्येष्टिको लागि इटी र म ग्लास्टर गयौं। त्यहाँ एक जना भाइले मुमाले प्राप्त गर्नुभएको स्वर्गीय आशाबारे राम्ररी बताए। (फिलिप्पी ३:१४) म मेरा दिदीहरू, डोरिस र ग्रेसप्रति कृतज्ञ छु। उहाँहरूले मुमालाई वृद्धावस्थामा हेरचाह गर्नुभएकोले नै इटी र म पूर्ण-समय सेवकाईमा लागिरहनसकेका हौं।
आमाबाबुले कसरी हामीलाई मायालु र अटल भएर हुर्काउनुभयो भनेर इटी र म बारम्बार सम्झन्छौं। उहाँहरूको यो अपार तिरो हामी कहिल्यै तिर्न सक्दैनौं! विशेषगरि, मेरी मुमाले मेरा दिदीहरू र मेरोलागि असाध्यै राम्रो उदाहरण बसाल्नुभयो। उहाँले हामीलाई यहोवा र उहाँको संगठनको मूल्यांकन गर्न सिकाउनुभयो।
हरेक दिन स्वर्गमा हुनुहुने हाम्रो पिता यहोवाको सेवा गर्न पाउँदैछु भनेर विचार गर्दा साँच्चै हाम्रो हृदय कृतज्ञताले छचल्किन्छ। उहाँ साँच्चै कति उदेकको र मायालु परमेश्वर हुनुहुन्छ! बाइबलका भजनरचयिताले हाम्रो भावनालाई यी शब्दहरूमा व्यक्त गरेका छन्: “हे मेरा परमेश्वर, हे महाराजा म तपाईंको प्रशंसा गर्नेछु। र म तपाईंको नाउँलाई सदा सर्वदा धन्यको भन्नेछु। प्रतिदिन म तपाईंलाई धन्यको भन्नेछु। र म तपाईंको नाउँको स्तुति सदा सर्वदा गर्नेछु।”—भजन १४५:१, २.
[पृष्ठ २६-मा भएको चित्र]
मेरी पत्नी इटीसित