राज्य उद्घोषकहरूका रिपोर्ट
“अप्रत्याशित कुराहरूको देशमा” चुनौतीहरूको सामना गर्ने
प्रेरित पावलले कोरिन्थमा प्रथम शताब्दीका मसीहीहरूलाई यस्तो प्रश्न गरे: “यदि तुरहीले नबुझ्ने सोर दियो भनेता लड़ाइँको निम्ति को तयार होला र? त्यसैगरी तिमीहरूले पनि सजिलैसँग बुझ्नसकिने विभिन्न भाषामा बोलेनौ भनेता, के बोलेको हो, कसरी बुझ्ने?”—१ कोरिन्थी १४:८, ९.
कहिलेकाहीं अप्रत्याशित कुराहरूको देश भनिने पापुआ न्यु गिनीमा यहोवाका साक्षीहरूले बाइबलको सन्देश सुनाउन निकै ठूलठूला अवरोधहरूको सामना गर्नुपर्छ। तिनीहरूले ७०० भन्दा धेरै भाषा बोल्ने तथा विभिन्न परम्परा मान्ने मानिसहरूलाई प्रचार गर्नुपर्छ। साथसाथै साक्षीहरूले पहाडी भूमि, बाटोघाटो नभएको ठाउँ हुँदो हिंड्नुपर्ने र बढ्दो अपराध पनि सहनुपर्छ। यी सबै कठिनाइहरूको अलावा केही खास धार्मिक समूहहरू र कहिलेकाहीं स्कूलका अधिकारीहरूको विरोधसमेत सहनुपर्छ।
तर जे होस्, असल आध्यात्मिक निर्देशन र स्थानीय भाषाहरूमा बाइबल अध्ययन सहायक प्रशस्त उपलब्ध भएको हुँदा यहाँका साक्षीहरूले मानिसहरूले सजिलैसँग बुझ्न सकिने भाषामा प्रचार गर्न सकिरहेका छन्। निम्न रिपोर्टले देखाएझैं अक्सर प्रतिक्रिया सकारात्मक नै हुन्छ:
• नयाँ शैक्षिक वर्षको थालनीमा एक जना शिक्षकले यहोवाका साक्षीहरूका बच्चाहरूले झण्डा सलामी नगर्नु र राष्ट्रिय गान नगाउनुको कारण जान्न चाहे। तिनले १३ वर्षीया बप्तिस्माप्राप्त छात्रा मियोलालाई यो प्रश्न सोधे। मियोलाले धर्मशास्त्रमा आधारित सुस्पष्ट जवाफ दिइन्। शिक्षकले तिनको तर्क स्वीकारे किनभने त्यो बाइबलमा आधारित थियो। तिनको स्पष्टीकरण स्कूलका अन्य कर्मचारीहरूलाई पनि बताइयो।
पछि, विद्यार्थीहरूलाई निबन्ध लेख्ने काम दिंदा मियोलाले त्रिएकबारे लेख्ने निधो गरिन्। तिनले कक्षामा सबैभन्दा धेरै अंक प्राप्त गरिन् र तिनले यी जानकारीहरू कहाँबाट प्राप्त गरिन् भनी शिक्षकले सोधे। मियोलाले अंग्रेजी भाषाको पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तक देखाइन्। शिक्षकले यो पुस्तक सम्पूर्ण कक्षालाई देखाए र कति जनाले त त्यो पुस्तक लिन चाहे। भोलिपल्ट मियोलाले स्कूलका साथीहरूलाई १४ वटा पुस्तक र ७ वटा पत्रिका दिइन् र तिनीहरूमध्ये तीन जनासित बाइबल अध्ययन पनि सुरु गरिन्। मियोलाको भविष्यमा पूर्ण-समय सेवक हुने लक्ष्य छ।
• पोर्ट मोरेस्बीको तटवर्ती गाउँमा यहोवाका साक्षीहरूको सानो समूहले १९७० दशकको सुरुदेखि नै सतावटहरू भोग्दै आएका छन्। तथापि, हालै तिनीहरूले अप्रत्याशित स्रोतबाट मदत पाए। पापुआ न्यु गिनीकै निवासी तर विदेशमा पढेर आएका युनाइटेड चर्चका विशपले एक दिन चर्चमा श्रोतागणलाई प्रश्नहरू सोध्न आमन्त्रित गरे। एक जना मानिसले यस्तो जिज्ञासा राखे: “हाम्रो गाउँमा दुइटा धर्म छ—युनाइटेड चर्च र यहोवाका साक्षीहरू। यहोवाका साक्षीहरू हाम्रो घरमा आउँदा के गर्ने?” एक छिन चुप लागेपछि विशपले यस्तो जवाफ दिए: “साँच्चै भनौं भने मसित त्यसको जवाफ छैन। हालै दुइ जवान साक्षीहरू मेरो घरमा पनि आएका थिए। तिनीहरूले मलाई एउटा प्रश्न गरे र मसित विश्वविद्यालयको उपाधि भए तापनि जवाफ दिन सकिनँ। तर तिनीहरूले मलाई सजिलै बाइबलबाट जवाफ दिए। त्यसैले के गर्ने भनेर म तपाईंहरूलाई भन्दिनँ। त्यो तपाईंहरूकै हातमा छोडिदिन्छु। सुन्न मन छैन भने सुन्नैपर्छ भन्ने छैन तर तिनीहरूप्रति मनपरी व्यवहार चाहिं नगर्नुहोस्।”
साक्षीहरूको यस समूहलाई भेट्न गएका वाच टावर सोसाइटीका परिभ्रमण प्रतिनिधिले यस्तो रिपोर्ट दिए: “साक्षीहरूले प्रचार गर्दा गाउँका सबैजसोले सुने। कसै कसैले त घरभित्र बोलाए। प्रचार गर्न यो जस्तो रमाइलो ठाउँ त अहिले अरू कुनै छैन होला।”