हाम्रोजस्तै भावनाहरू भएको परमेश्वर—यहोवालाई चिन्नुहोस्
परमेश्वरबारे हिन्दूहरूको विचारधारा अन्य धर्महरूसित तुलना गर्दै भारतका डा. एस. राधाकृष्णनले यस्तो टिप्पणी गरे: “हिब्रूहरूको परमेश्वर भिन्नै हुनुहुन्छ। उहाँका भावनाहरू मानिसका जस्तै छन् र बितेको समयमा उहाँले सक्रिय भूमिका खेल्नुभएको थाह पाउँछौं साथै यस विकासशील संसारको प्रत्येक उथलपुथलमा पनि चासो लिनुहुन्छ। उहाँ यस्तो एक व्यक्ति हुनुहुन्छ जसले हामीसित कुरा गर्नुहुन्छ।”
बाइबलको परमेश्वरको हिब्रू नाउँ יהוה हो, जसलाई साधारणतया “जेहोभा” भनी अनुवाद गरिन्छ। उहाँ अन्य सबै देवताहरूभन्दा श्रेष्ठ हुनुहुन्छ। हामीलाई उहाँबारे के थाह छ? बाइबल समयमा उहाँले मानिसहरूसित कस्तो व्यवहार गर्नुभयो?
यहोवा मोशासित “आमने सामने”
मोशाले परमेश्वरलाई प्रत्यक्ष देख्न नसके तापनि यहोवाले आफ्नो सेवक मोशालाई “घनिष्ठसित जान्नुहुन्थ्यो।” (व्यवस्था ३४:१०; प्रस्थान ३३:२०) युवावस्थामा पनि मोशाको मन त्यतिबेला मिश्रमा दास भइरहेका इस्राएलीहरूसितै थियो। तिनले फिरऊनको घरानामा जीवन बिताउन त्यागेर “परमेश्वरका मानिसहरूका साथमा थिचोमिचोमा पर्न रोजे।” (हिब्रू ११:२५) फलस्वरूप, यहोवाले मोशालाई थुप्रै विशेषाधिकारहरू दिनुभयो।
फिरऊनको घरानाको सदस्यको रूपमा “मोशालाई मिश्रीहरूका सारा विद्यामा निपुण गरा[इयो]।” (प्रेरित ७:२२) तर इस्राएल राष्ट्रको नेतृत्व गर्न तिनले नम्रता, सहनशीलता र विनम्रताजस्ता गुणहरू पनि खेती गर्नुपर्थ्यो। मिद्यानमा ४० वर्षसम्म गोठालो हुँदा तिनले त्यस्ता गुणहरू खेती गरे। (प्रस्थान २:१५-२२; गन्ती १२:३) यहोवा अदृश्य हुनुभए तापनि उहाँले आफू र आफ्ना उद्देश्यहरू मोशालाई प्रकट गर्नुभयो र परमेश्वरले स्वर्गदूतहरू मार्फत तिनलाई दश आज्ञा सुम्पनुभयो। (प्रस्थान ३:१-१०; १९:३–२०:२०; प्रेरित ७:५३; हिब्रू ११:२७) “परमप्रभु मोशासित यसरी आमने सामने बात गर्नुहुन्थ्यो, जसरी कोही आफ्ना मित्रसित बात गर्दछन्” भनी बाइबलले हामीलाई बताउँछ। (प्रस्थान ३३:११) निस्सन्देह, यहोवा स्वयंले यसो भन्नुभयो: “त्यससँग म . . . आमने सामने प्रष्ट बात गर्छु।” अदृश्य तर हाम्रोजस्तै भावनाहरू भएको परमेश्वरसित मोशाले कस्तो बहुमूल्य तथा घनिष्ठ सम्बन्धको आनन्द उठाए!—गन्ती १२:८.
इस्राएल राष्ट्रको सुरुको इतिहासलगायत मोशाले व्यवस्थासंग्रह र यसका शाखा उपशाखाहरू सबै लिपिबद्ध गरे। तिनलाई अर्को अमूल्य सुअवसर पनि सुम्पियो। त्यो हो, उत्पत्तिको पुस्तक लेख्ने। त्यस पुस्तकको पछिल्लो भागको ऐतिहासिक विवरणहरूबारे तिनको परिवारका सदस्यहरूलाई पनि राम्ररी थाह भएकोले यो लिपिबद्ध गर्न तुलनात्मक रूपमा सजिलै थियो। तर मानिसको सुरुको इतिहासबारे मोशाले कहाँबाट थाह पाए? हुनसक्छ, मोशाले आफ्ना पितापुर्खाहरूले संग्रह गरेर राखेका पुराना लिखित अभिलेखहरू हेरे होलान्। अर्कोतर्फ, तिनलाई यहोवाले विवरणहरू मौखिक रूपमा बताउनुभएको वा सीधै ईश्वरीय प्रकटीकरण भएको हुनसक्छ। सबै श्रद्धेय मानिसहरूले यस सन्दर्भमा परमेश्वरसित मोशाको घनिष्ठ सम्बन्धलाई स्वीकारेका छन्।
एलियाले यहोवालाई व्यक्तिगत तवरमा चिनेका थिए
अगमवक्ता एलियाले पनि यहोवालाई हाम्रोजस्तै भावनाहरू भएको परमेश्वर भनी चिनेका थिए। एलिया शुद्ध उपासनाको लागि जोशिला थिए र सम्पूर्ण कनानी देवदेवीहरूका कुल देवता बालका उपासकहरूको विरोध र घृणाको तारो भए तापनि यहोवाको सेवा गरे।—१ राजा १८:१७-४०.
इस्राएलका राजा आहाब र तिनकी पत्नी ईजेबेलले एलियालाई मार्न खोजे। आफ्नो ज्यान जोगाउन एलिया भागेर मृत सागरको पश्चिमतिर बेर्शेबा पुगे। त्यहाँ तिनी उजाडस्थानमा भौंतारिरहे र मर्न पाऊँ भनेर प्रार्थना गरे। (१ राजा १९:१-४) के यहोवाले एलियालाई त्याग्नुभएको थियो? के उहाँले अब आफ्नो विश्वासी सेवकबारे चासो लिन छोड्नुभएको थियो? एलियाले त्यस्तै सोचेका हुनसक्छन् तर तिनको सोचाइ बिलकुलै गलत थियो! पछि, यहोवाले तिनलाई मधुर आवाजमा यस्तो प्रश्न गर्नुभयो: “हे एलिया, तँ किन यहाँ छस्?” अलौकिक शक्तिको अद्भुत प्रदर्शनपछि “[फेरि] यस्तो आवाज भयो, ‘हे एलिया, तँ किन यहाँ छस्?’ ” आफ्नो वफादार सेवक एलियालाई प्रोत्साहन दिन यहोवाले तिनीप्रति व्यक्तिगत चासो लिएको प्रदर्शित गर्नुभयो। परमेश्वर तिनीबाट अझ धेरै काम चाहनुहुन्थ्यो र एलियाले यस बोलावटको उत्सुकतापूर्वक सकारात्मक जवाफ दिए! आफ्नो आत्मीय परमेश्वर यहोवाको नाउँ पवित्र तुल्याउँदै तिनले आफ्नो कार्यभार वफादारीपूर्वक पूरा गरे।—१ राजा १९:९-१८.
यहोवाले इस्राएल राष्ट्रलाई त्याग्नुभएपछि आफ्ना पार्थिव सेवकहरूसित व्यक्तिगत रूपमा कहिल्यै कुरा गर्नुभएन। तर यसको अर्थ, तिनीहरूमाथि उहाँको व्यक्तिगत चासो सेलाएको थिएन। पवित्र आत्माद्वारा उहाँले अझै निर्देशनहरू दिइ नै रहनुभयो र उहाँको सेवा गर्न तिनीहरूलाई सुदृढ पारी नै रहनुभयो। उदाहरणका लागि, पहिले शावल भनेर चिनिने प्रेरित पावललाई लिनुहोस्।
पवित्र आत्माले पावललाई डोऱ्याउँछ
शावल सिलिसियाको प्रमुख शहर टार्ससमा जन्मेका थिए। तिनका आमाबाबु हिब्रू थिए तर तिनी रोमी नागरिक थिए। तथापि, शावल फरिसीहरूको कडा विधिहरूअनुरूप हुर्केका थिए। पछि, तिनले यरूशलेममा व्यवस्थाको प्रतिष्ठित शिक्षक “गमलीयलका चरणमा” शिक्षा लिने अवसर पाए।—प्रेरित २२:३, २६-२८.
यहूदी परम्पराको लागि शावलको गलत जोशले गर्दा तिनी येशू ख्रीष्टका सेवकहरू विरुद्ध क्रूर सतावट दिने समूहमा सामेल भए। शावलले स्तिफनसको हत्यालाई समेत समर्थन गरे। स्तिफनस प्रथम मसीही शहीद भए। (प्रेरित ७:५८-६०; ८:१, ३) शावल पहिला निन्दा गर्ने, खेदो गर्ने र हानि गर्ने मानिस भए तापनि “[तिनले] यो अजान र अविश्वासमा गरेको हुनाले कृपा-पात्र” भए भनी स्वीकारे।—१ तिमोथी १:१३.
परमेश्वरलाई सेवा गर्ने साँचो इच्छाले शावल उत्प्रेरित भएका थिए। दमीशकको बाटोमा शावलको धर्मपरिवर्तन भएपछि यहोवाले तिनलाई असाधारण ढंगमा चलाउनुभयो। स्वर्गारोहण हुनुभएका ख्रीष्टले शावललाई मदत गर्न प्रारम्भिक मसीही चेला हननियालाई निर्देशन दिनुभयो। त्यसपछि युरोप र एसिया माइनरका भागहरूमा विस्तृत फलदायी सेवकाई पूरा गर्न पावलले (मसीहीको रूपमा चिनिएको शावलको रोमी नाउँ) यहोवाको पवित्र आत्माको निर्देशन पाए।—प्रेरित १३:२-५; १६:९, १०.
के आज पनि पवित्र आत्माद्वारा त्यस्तै निर्देशन पाइरहेका छौं भन्नसक्छौं? अवश्य, भन्नसक्छौं।
नास्तिक हुँदैमा परमेश्वरले मानिसहरूप्रति व्यक्तिगत चासो नलिनुहुने होइन
जोसेफ एफ. रदरफर्ड वाच टावर सोसाइटीका दोस्रो अध्यक्ष थिए। तिनले १९०६ मा बाइबल स्टुडेन्ट्सको रूपमा बप्तिस्मा लिए। त्यतिबेला यहोवाका साक्षीहरू त्यस नाउँद्वारा चिनिन्थे। त्यसको एक वर्षपछि तिनी सोसाइटीको कानुनी सल्लाहकार नियुक्त भए र जनवरी १९१७ मा अध्यक्ष भए। यद्यपि, एक समय यस जवान वकिल नास्तिक थिए। तर पछि तिनी कसरी यहोवाको त्यस्तो जोशिलो मसीही सेवक बन्न पुगे?
जुलाई १९१३ मा सं.रा.अ.-स्थित स्प्रिङफिल्ड, मासाचुसेट्समा सम्पन्न अन्तरराष्ट्रिय बाइबल स्टुडेन्ट्स एसोसिएशनको अधिवेशनमा तिनी सभापति थिए। द होमस्टेड नामक स्थानीय अखबारका संवाददाताले रदरफर्डको अन्तरवार्ता लिए र सोही अन्तरवार्ताको केही अंश त्यस अधिवेशनका मुख्य बुँदाहरूसहित सानो पुस्तिकामा प्रकाशित गरेको थियो।
रदरफर्डले बताए, विवाह गर्नै लाग्दाको कुरा हो, तिनी ब्याप्टिस्ट सम्प्रदायका थिए भने, तिनले विवाह गर्न लागेका केटी प्रेस्बाइटेरियन थिइन्। रदरफर्डका पादरीले भने, “तिनले विवाह गर्न लागेका केटीले बप्तिस्मा नलिएकीले तिनी सीधै नरकमा जान्छिन् र तिनले चाहिं लिएकोले सीधै स्वर्गमा जानेछन्। यस्तो तर्क तिनलाई स्वीकार्य लागेन र तिनी नास्तिक भए।”
हाम्रोजस्तै भावनाहरू भएको परमेश्वरमा पुनः विश्वास गर्न रदरफर्डले वर्षौं लगाएर गहन अनुसन्धान गर्नुपऱ्यो। “जुन कुरा चित्त बुझ्दो छैन, त्यसलाई पटक्कै स्वीकार्न मिल्दैन” भन्ने तर्क गर्दै तिनले अनुसन्धान गरेको बताए। “आफूले विश्वास गरेको धर्मशास्त्र सत्य हो भनी” मसीहीहरू “शत प्रतिशत पक्का” हुनुपर्छ भनी रदरफर्डले बताए र अझ यसो भने: “आफ्नो विश्वासको आधार पूर्णतया थाह हुनुपर्छ।”—२ तिमोथी ३:१६, १७ हेर्नुहोस्।
हो, अहिले पनि नास्तिक वा अज्ञेयवादीले धर्मशास्त्रमा खोजीनिती र यहोवा परमेश्वरमाथि भरोसा राखेर उहाँसित बलियो घनिष्ठ सम्बन्ध विकास गर्नसक्छ। ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्याउँछ भन्ने वाच टावर प्रकाशनको सहयोगमा बाइबलको गहिरो अध्ययन गरेपछि एक युवकले यस्तो स्वीकारे: “अध्ययन सुरु गर्दा म परमेश्वरमाथि विश्वास गर्दिनँ थिएँ तर अहिले बाइबलमा पाइने ज्ञानले मेरो सम्पूर्ण सोचाइलाई नै परिवर्तन गरिदिएको छ। अब यहोवालाई चिन्न र उहाँमाथि भरोसा गर्न थालेको छु।”
“मूर्ख” र परमेश्वर
बाइबलको शब्दकोश-मा (अंग्रेजी) डा. जेम्स हेस्टिंग यसो भन्छन्, “पुरानो नियमका [हिब्रू धर्मशास्त्र] लेखकहरूले परमेश्वरको अस्तित्वबारे प्रमाण दिने वा तर्क गर्ने खाँचो कहिल्यै देखेनन्। साधारणतया, पुरातन संसारमा परमेश्वरको अस्तित्वलाई नकार्ने वा त्यसको प्रमाण दिने प्रवृत्ति नै थिएन। परमेश्वरमाथि विश्वास गर्नु स्वाभाविक कुरा थियो र सबैले विश्वास गर्थे पनि।” निस्सन्देह, यसको अर्थ त्यतिबेला सबै मानिसहरूले परमेश्वरप्रति भय राख्थे भनेको चाहिं होइन। त्यसो पटक्कै होइन। भजन १४:१ र ५३:१ दुवैमा “मूर्ख[बारे]” उल्लेख गरिएको छ अनि किंग जेम्स भर्सन-मा पनि “बेवकूफ[बारे]” बताइएको छ, जसले आफ्नो मनमा भनेको हुन्छ, “ईश्वर छैन।”
परमेश्वरको अस्तित्वलाई नै नकार्ने त्यो मूर्ख कस्तो प्रकारको व्यक्ति हो? त्यो सुद्धीबुद्धि नभएको मूर्ख होइन। बरु, हिब्रू शब्द नाभाल-ले नैतिक कमीलाई देखाउँछ। द प्यारालल साल्टर-मा प्राध्यापक एस. आर. ड्राइभरले त्यस्ता मूर्खहरूमा “तर्क शक्तिको कमी होइन तर नैतिक र धार्मिक तवरमा भावशून्य हुनुका साथै विवेकको अति कमी हुन्छ” भन्छन्।
भजनरचयिताले नैतिक पतन हुनुपछाडिको मनोवृत्तिबारे यसरी वर्णन गर्छन्: “तिनीहरू भ्रष्ट भएका छन्, तिनीहरूले घिनलाग्दा कामहरू गरेका छन्। असल गर्ने कोही छैन।” (भजन १४:१) डा. हेस्टिंग यस्तो निचोड निकाल्छन्: “परमेश्वरलाई संसारबाट यसरी अलग्याउँदा दण्ड पाउने छैन भन्ने विचार राख्दै मानिसहरू भ्रष्ट र घृणित कामहरू गर्छन्।” तिनीहरूले बिना कुनै हिचकिचाहट अभक्त सिद्धान्तहरू अँगाल्छन्, परमेश्वरको बेवास्ता गर्छन् र उहाँप्रति जवाफदेही हुन चाहँदैनन्। तर भजनरचयिताले ती शब्दहरू ३,००० वर्षभन्दा अघि लेख्दा त्यस्तो सोचाइ कत्ति मूर्ख र बेवकूफ थियो, आज पनि त्यत्तिकै छ।
हाम्रोजस्तै भावनाहरू भएको परमेश्वरबाट चेताउनी
अब सुरुको लेखमा उठाइएको प्रश्नमा जाऔं। हाम्रोजस्तै भावनाहरू भएको परमेश्वर हुनुहुन्छ भनी विश्वास गर्ने थुप्रै मानिसहरूलाई आज संसारमा व्याप्त दुःखकष्ट देख्दा यी सबै हुनुको कारण बुझ्न किन गाह्रो लाग्छ?
“पवित्र आत्माबाट उत्तेजित भएर . . . परमेश्वरका तर्फबाट बोल्ने” मानिसहरूको लिखित जानकारी बाइबलमा छ। (२ पत्रुस १:२१) यसले मात्रै हाम्रोजस्तै भावनाहरू भएको परमेश्वरबारे प्रकाश पार्छ। यसले एक जना दुष्ट व्यक्ति, शैतान अर्थात् दियाबलबारे पनि बताउँछ। त्यो अदृश्य छ तर प्रभावशाली ढंगमा मानव सोचाइलाई डोऱ्याएर आफ्नो वशमा पार्छ। अतः, हाम्रोजस्तै भावनाहरू भएको परमेश्वर हुनुहुन्छ भनी विश्वास गर्न सक्दैनौं भने हाम्रोजस्तै भावनाहरू भएको दियाबल वा शैतानको अस्तित्वबारे पनि विश्वास गर्न नसक्नु स्वाभाविक नै हो नि, होइन र?
परमेश्वरको आत्माद्वारा उत्प्रेरित भई यूहन्नाले यसो लेखे, ‘दियाबल र शैतान भनिने, सारा संसारलाई ठगेर हिंड्छ।’ (प्रकाश १२:९) पछि यूहन्नाले लेखे: “हामी जान्दछौं, कि हामी परमेश्वरका हौं, र सारा संसार त्यस दुष्टको अधीनमा परेको छ।” (१ यूहन्ना ५:१९) यी कथनहरूले येशूका शब्दहरूलाई झल्काउँछन्। येशूका शब्दहरू यूहन्ना आफैले सुसमाचारको पुस्तकमा लिपिबद्ध गरे: “संसारको शासक आउँछ, औ त्यसको मसँग केही छैन।”—यूहन्ना १४:३०.
अहिले मानिसहरूले विश्वास गर्नेभन्दा यो धर्मशास्त्रीय शिक्षा कत्ति भिन्न छ! “आजकल मानिसहरू दियाबलबारे कुरै गर्न चाहँदैनन्। हाम्रो शंकालु वैज्ञानिक युगले शैतानलाई सेवा निवृत्त पारिदिएको छ,” भनी क्याथोलिक हेरल्ड-ले बताउँछ। यद्यपि, येशूले आफ्नो हत्या गर्ने विचार भएका मानिसहरूलाई जोडदार ढंगमा यसो भन्नुभयो: “तिमीहरू ता आफ्ना पिता, शैतानका तर्फबाटका हौ, औ आफ्नै पिताका अभिलाषा गर्ने इच्छा गर्छौ।”—यूहन्ना ८:४४.
शैतानको शक्तिबारे बाइबलले जे बताउँछ, त्यो तार्किक छ। अधिकांश मानिसहरू शान्ति अनि मिलापमा बस्न चाहँदा चाहँदै पनि डनब्लेन घटनाले प्रदर्शित गरेझैं संसारमा किन घृणा, युद्ध र बिना कारण हिंसा व्याप्त छ, (पृष्ठ ३ र ४ मा उल्लिखित) प्रस्ट पार्छ। यसबाहेक, हामीले संघर्ष गर्नुपर्ने शैतानसित मात्रै होइन। बाइबलले दियाबल वा प्रेतहरूबारे पनि थप चेताउनी दिन्छ। मानिसहरूलाई बहकाउने र दुर्व्यवहार गर्ने काममा धेरै लामो समयदेखि यी दुष्टात्माहरूले शैतानको साथ दिंदै आएका छन्। (यहूदा ६) येशू ख्रीष्टले यी शक्तिहरूसित धेरै पटक संघर्ष गर्नुपऱ्यो र उहाँले तिनीहरूमाथि विजय हासिल गर्नुभयो।—मत्ती १२:२२-२४; लूका ९:३७-४३.
साँचो परमेश्वर यहोवाले यस पृथ्वीबाट दुष्टता हटाउने र अन्ततः शैतान अनि त्यसका प्रेतहरू दुवैको नामोनिशान नहुनेगरि नाश गर्ने उद्देश्य राख्नुभएको छ। यहोवाबारेको हाम्रो ज्ञानको आधारमा उहाँ र उहाँका प्रतिज्ञाहरूमा दृढ विश्वास राख्नसक्छौं। उहाँ यसो भन्नुहुन्छ: “मेरो अघि कोही परमेश्वर थिएन, नता मेरो पछि कोही हुनेछ। म, अवश्य मनै परमप्रभु हुँ। मबाहेक अरू कोही उद्धार गर्नेछैन।” यहोवालाई चिन्ने र उपासना तथा सेवा गर्ने सबैको निम्ति उहाँ साँच्चै हाम्रोजस्तै भावनाहरू भएको परमेश्वर हुनुहुन्छ। छुटकाराको निम्ति हामी उहाँमाथि मात्रै भरोसा गर्नसक्छौं।—यशैया ४३:१०, ११.
[पृष्ठ ७-मा भएका चित्र]
अठाह्रौं शताब्दीमा भेट्टाएको यस कुँदिएको अभिलेखले मोशाले प्रेरित भई उत्पत्ति १:१ लेखेको देखाउँछ
[स्रोत]
J. Baskett, Oxford को The Holy Bible बाट
[पृष्ठ ८-मा भएका चित्र]
येशू ख्रीष्टले धेरै पटक प्रेतहरूमाथि विजय हासिल गर्नुभयो