नैतिकवान् छोराछोरीहरू हुर्काउनु के अझै सम्भव छ?
“हामी अहिले असाध्यै जटिल समाजमा बाँचिरहेका छौं, विविध संस्कृतिहरू छन् र नैतिकतासम्बन्धी कुनै एकरूप आचारसंहिता छैन,” भनी ओटावा, क्यानाडास्थित परिवारसम्बन्धी भान्या संस्थानका रबर्ट ग्लसेप टिप्पणी गर्छन्। परिणाम के भएको छ? द टोरन्टो स्टार अखबारको एउटा प्रतिवेदन यसो भन्छ: “किशोरीहरूको गर्भाधारण, युवा हिंसा र किशोरकिशोरीहरूको आत्महत्या दर बढ्दो छ।”
यो उत्तर अमेरिकाको मात्र समस्या होइन। रोड आइल्याण्ड, सं.रा.अ.-को ब्राउन विश्वविद्यालयको मानव विकास केन्द्रका निर्देशक, बिल डामनले उक्त समस्याहरूबारे बेलाइत, अन्य युरोपेली मुलुकहरू तथा अस्ट्रेलिया, इजरायल तथा जापानमा पनि अध्ययन गरेका छन्। तिनी स-साना केटाकेटीहरूलाई डोऱ्याउन चर्च, स्कूल तथा अन्य संस्थानहरूको अप्रभावकारिता औंल्याउँछन्। तिनको विचारमा, “हाम्रा केटाकेटीहरूलाई असल आचरण र सद्गुण सिकाउनु खाँचो छ भनेर” हाम्रो संस्कारलाई “होसै छैन जस्तो देखिन्छ।” असल आमाबाबु बन्न सल्लाह दिने कतिपय विशेषज्ञहरू “अनुशासन दिनु केटाकेटीहरूको स्वास्थ्य तथा बालहितको लागि हानिकारक हो” भन्छन्। तर डामनको विचार अर्कै छ। तिनी यसो भन्छन्, “यस्तै धारणाले गर्दा समाजमा जानाजानी अनाज्ञाकारी हुने केटाकेटीहरू देखा परिरहेका छन्।”
आजको युवापिंढीलाई वास्तवमा चाहिएको के हो? मन अनि हृदयलाई निरन्तर सही बाटोमा डोऱ्याउने मायालु तालिम। सबै युवाहरूलाई एकैनासे अनुशासन चाहिएको हुँदैन। प्रेमद्वारा प्रेरित हो भने, तर्क गरेर मात्र पनि अनुशासन दिन सकिन्छ। त्यसैकारण, हामीलाई हितोपदेश ८:३३ मा “अर्ती सुन” भनिएको छ। तर कोही कोही “कुराले मात्र . . . सुधारिंदैन।” त्यस्ताहरूलाई अचाक्ली होइन तर ठीक्कको उचित अनुशासन दिनुपर्ने हुन्छ। (हितोपदेश १७:१०; २३:१३, १४; २९:१९) यस्तो सुझाउ दिएर बाइबलले पक्कै पनि रीसको झोंकमा बच्चालाई नील डाम हुने वा घाइते बनाउने किसिमले कोर्रा लाउनु वा निर्ममतापूर्वक कुट्नु भनेको होइन। (हितोपदेश १६:३२) बरु, आमाबाबुले सच्याउनुको कारण बच्चाले बुझ्नुपर्छ र कामकुरामा साँच्चै चासो लिन्छन् भनेर महसुस गर्नुपर्छ।—हिब्रू १२:६, ११ तुलना गर्नुहोस्।
बाइबलमा आधारित त्यस्तो व्यवहारिक तथा उपयोगी सल्लाह पारिवारिक आनन्दको रहस्य पुस्तकमा प्रकाश पारिएको छ।