प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w97 १०/१५ पृ. २४-२७
  • ताहिटीमा प्रमोदवनको सुसमाचार

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ताहिटीमा प्रमोदवनको सुसमाचार
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • उपशीर्षकहरू
  • सानो सुरुआत
  • काम अघि बढ्यो
  • ताहिटी छुट्टै शाखा बन्छ
  • अझ धेरै गर्न बाँकी छ
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
w97 १०/१५ पृ. २४-२७

ताहिटीमा प्रमोदवनको सुसमाचार

ताहिटी! नाउँ मात्र सुन्दा पनि अत्यन्तै भव्यताको आभास हुन्छ र त्यहाँ जाऊँ जाऊँ लाग्छ। यो ठाउँलाई पल गाउगिन, रबर्ट लुइस स्टीभेन्सन र हर्मन मेल्भीलजस्ता कलाकार तथा लेखकहरूले प्रख्यात बनाएका थिए। दक्षिणी समुद्री टापुहरूको उष्णप्रदेशीय सौन्दर्य तथा सौम्यता झल्किने तिनीहरूको कलाकृतिले थुप्रैको मानसपटलमा चासो जगायो।

दक्षिण प्रशान्त महासागरमा अवस्थित फ्रेन्च पोलिनेसियाका १२० वटा टापुहरूमध्ये ताहिटी सबैभन्दा ठूलो हो। यस दक्षिणी समुद्री टापुको नाउँ सुन्‍ने बित्तिकै धेरैजसो मानिसहरूको मनमा परमसुख हुने सुन्दर ठाउँको सम्झना आउँछ। तरैपनि, ताहिटीका मानिसहरूले चाँडै आउँदै गरेको प्रमोदवनको सन्देश सुन्‍नु जरुरी छ। (लूका २३:४३) अहिले ताहिटीमा यहोवाका साक्षीहरूको संख्या जम्मा १,९१८ छ र तिनीहरूले त्यहाँका २,२०,००० मानिसहरूलाई सुसमाचार सुनाइरहेका छन्‌। त्यो सुसमाचार हो, परमेश्‍वरको राज्यले ताहिटीमा मात्र होइन तर सारा पृथ्वीमा साँच्चै प्रमोदवनजस्तो अवस्था ल्याउनेछ।—मत्ती २४:१४; प्रकाश २१:३, ४.

निकै वर्षसम्म ताहिटीको प्रचारकार्य लगभग ३,५०० किलोमिटर टाढा पर्ने फिजीस्थित वाच टावर सोसाइटीको शाखा कार्यालयको निगरानीमा थियो। यी दुइबीचको लामो दूरीले गर्दा अनेकन्‌ कठिनाइहरू हुन्थ्यो र प्रगति पनि सुस्त भयो। त्यसकारण अप्रिल १, १९७५ मा ताहिटीमा शाखा कार्यालय स्थापना भयो र यस इलाकाका साँचो मसीहीहरूको गतिविधिमा यसले एउटा नयाँ मोड प्रदान गऱ्‍यो। यो नयाँ मोड लिनुको कारण के थियो र ताहिटीमा प्रचारकार्य कसरी सुरु भयो?

सानो सुरुआत

ताहिटीमा राज्यको सुसमाचार सर्वप्रथम १९३० को दशकमा पुगेको थियो र यस टापुका अधिकांश निवासीहरूको बाइबलप्रति श्रद्धा भएको हुँदा धेरैले चासो देखाए। तथापि, सरकारी प्रतिबन्ध तथा अवरोधहरूले गर्दा १९५० दशकको अन्तसम्म यहाँ एक जना पनि साक्षी थिएन। त्यसै बेला तिरको कुरा हो, ताहिटीका आग्नीस शेन्क संयुक्‍त राज्यमा बसोबास गर्थिन्‌ र उनले आफ्नो पति र छोरासित ताहिटी फर्कने निधो गरिन्‌। यो घटनाक्रमको विवरण उनीबाटै सुनौं।

“लस एन्जलसमा सम्पन्‍न १९५७ जिल्ला अधिवेशनमा [वाच टावर सोसाइटीका तात्कालीन अध्यक्ष] भाइ नोरले ताहिटीमा राज्य प्रकाशकहरूको निकै खाँचो भएको बताए। मैले बप्तिस्मा लिएको एक वर्षजति भएको थियो। त्यसकारण मैले भनें, ‘जाऊँ हामी ताहिटी!’ मेरो यो कुरा हाम्रा घनिष्ठ मित्रहरू, निल्स र क्यारानो परिवारले सुने। तिनीहरू पनि हामीसित आउन चाहेको इच्छा व्यक्‍त गरे तर हामीसित त्यति धेरै पैसा थिएन। मेरो श्रीमान्‌ बिरामी पर्नुभएको धेरै भइसकेको थियो र छोरा पनि सानै थियो। त्यसकारण, घर छोड्‌न असाध्यै गाह्रो भयो। हाम्रो यस्तो मनसायबारे छिमेकी मण्डलीका भाइबहिनीहरूले सुइँको पाए अनि हामीलाई पैसा तथा घरायसी मालतालहरू पठाउन थाले। अतः, मे १९५८ मा हामी ताहिटीतिर लाग्यौं र त्यतिबेला हामीले लगेका कुराहरूमध्ये ३६ वटा तन्‍ना पनि थिए!

“ताहिटीमा पुग्दा मलाई असाध्यै बिरानो ठाउँमा आएको जस्तो लाग्यो किनभने म २० वर्षपछि यहाँ फर्कंदै थिएँ। हामीले प्रचार गर्न त थाल्यौं तर होशियार हुनुपर्थ्यो किनभने हाम्रो मसीही कार्यमाथि प्रतिबन्ध लगाइएको थियो। हामीले पत्रिकाहरू लुकाउनुपर्थ्यो र बाइबल मात्र चलाउन सक्थ्यौं। सुरु सुरुमा त हामीले प्रहरीधरहरा र ब्यूँझनुहोस्‌! पत्रिकाको ग्राहक बनिसकेका मानिसहरूलाई मात्र प्रचार गर्ने गऱ्‍यौं।

“न्यु योर्क शहरमा १९५८ मा सम्पन्‍न अन्तरराष्ट्रिय अधिवेशनपछि क्लाइड निल्स र डेभिड क्यारानोको परिवार पनि ताहिटी आए। हामी सँगसँगै प्रचारकार्यमा लाग्यौं र साक्षीहरूको घरमा दिइने भाषण सुन्‍न मानिसहरूलाई निमन्त्रणा दिन्थ्यौं। बिस्तारै बिस्तारै कामकुरा व्यवस्थित हुन थाल्यो र हामीले १५ जना मानिसहरूको समूहसित बाइबल अध्ययन थाल्यौं। तीन महिनापछि निल्स र क्यारानो परिवारको पर्यटक भीसाको म्याद सकेको हुँदा तिनीहरू फर्कनुपऱ्‍यो। त्यसकारण, स्थानीय भाइहरूले तिनीहरू जानुअघि योग्य ठहरिएका जिज्ञासुहरूलाई बप्तिस्मा गराउने निधो गरे। यस प्रथम बप्तिस्मा भाषणको लागि अनुवाद गर्ने विशेष सुअवसर मैले पाएँ। यस महत्त्वपूर्ण घडीमा आठ जना स्थानीय निवासीहरूले पानीको बप्तिस्माद्वारा यहोवामा समर्पण गरे। त्यसपछि, निल्स र क्यारानो परिवार संयुक्‍त राज्य फर्के।

“प्रचारकार्य चलि नै रह्‌यो। हामी सानो सानो समूहमा व्यवस्थित भयौं र साँझपख प्रचारकार्यमा लाग्थ्यौं। प्रायः, चासो देखाउने मानिसहरूसित छलफल गर्दागर्दै आधा रात बितिसक्थ्यो। कहिलेकाहीं त प्रोटेस्टेन्ट पादरीहरू पनि छलफलमा सामेल हुन्थे। सन्‌ १९५९ मा पहिलो मण्डली गठन भयो। निकै आनन्दको कुरा, १९६० मा सरकारले यहोवाका साक्षीहरूको समूहलाई आधिकारिक मान्यता दियो। ती सुरु सुरुका वर्षहरू आनन्द र आध्यात्मिक कुराहरूले भरिभराउ थिए। आवश्‍यकता बढी भएको ठाउँमा बसाइँ सर्ने हाम्रो निर्णयलाई यहोवाले साँच्चै आशिष्‌ दिनुभयो।” बहिनी शेन्क अहिले ८७ वर्ष पुगिसक्नुभयो र उहाँ मण्डलीमा अझै पनि विश्‍वासपूर्वक यहोवाको सेवा गर्दै हुनुहुन्छ।

काम अघि बढ्यो

सन्‌ १९६९ मा फ्रान्सबाट दुइ जना अग्रगामीहरू, झाँक र पोलेट इनोडी विशेष अग्रगामीहरूको हैसियतमा ताहिटी खटाइए। ती दिनहरूलाई सम्झँदै झाँक भन्छन्‌: “हामी ताहिटीमा आइपुग्दा जम्मा १२४ जना प्रकाशकहरू थिए, पापीटमा एउटा मण्डली थियो र प्रायद्वीपमा अवस्थित भाइराओमा दुइ जना विशेष अग्रगामीहरू थिए।” यो प्रायद्वीप ताहिटीसित एउटा घाटीद्वारा जोडिएको छ। “पृथ्वीमा शान्ति” अन्तरराष्ट्रिय सम्मेलन हुनै लागेको थियो। झाँक अझ यसो भन्छन्‌, “अधिवेशनको चाँजोपाँजो मिलाउने सन्दर्भमा यो मेरो पहिलो अनुभव थियो। आगन्तुकहरूका लागि अंग्रेजी कार्यक्रम, राज्य गीतहरूका लागि वादकदल तयार पार्नु र दुइटा नाटकको अभ्यास गर्नु परेको थियो। जम्मा १२६ जना प्रकाशकहरू मिलेर यी सबै काम गऱ्‍यौं। तर यहोवाको भागमा सबैभन्दा बढी काम पऱ्‍यो होला।” जम्मा ४८८ जना उपस्थित हुँदा यहाँका मानिसहरू सबै खुशीले गद्‌गद भए। तिनीहरूमध्ये धेरैजसोले अरू मुलुकका सँगी साक्षीहरूलाई भेटेको यो प्रथम अवसर थियो।

त्यसको तुरुन्तैपछि झाँक इनोडी परिभ्रमण निरीक्षकको हैसियतमा खटाइए। तिनी थुप्रै टापुहरूमा गए र त्यहाँ तिनले के देखे भने, चासो दिनेहरू थुप्रै भए तापनि चासो बढाउनको लागि राज्य प्रकाशकहरू भने थोरै मात्र थिए। झाँक भन्छन्‌, “त्यसैले आवश्‍यकता बढी भएको ठाउँमा बसाइँ सर्न मैले धेरै परिवारहरूलाई प्रोत्साहन दिएँ। यसरी बिस्तारै बिस्तारै अरू टापुहरूमा सुसमाचार फैलन थाल्यो।” भाइ इनोडीले १९६९ देखि १९७४ सम्म परिभ्रमण निरीक्षकको काम गरे। हाल तिनी ताहिटीको एउटा मण्डलीमा प्राचीनको हैसियतमा सेवारत छन्‌।

भाइ इनोडीको प्रोत्साहनअनुरूप काम गर्नेहरूमध्ये ओगेस्ट टेमानाहा पनि हुन्‌ र १९५८ मा बप्तिस्मा लिनेहरूमध्ये थिए। तिनी घटनाविवरण यसरी दिन्छन्‌। “क्षेत्रीय निरीक्षक, झाँक इनोडीले १९७२ मा मलाई सोसाइटी समूहमा पर्ने लिवर्ड टापुको वाहिनी टापुमा बसाइँ सर्न प्रोत्साहन दिनुभयो। मण्डलीमा बाइबल पढाइको भाषण मात्र दिने गरेको र त्यस्तो जिम्मेवारी स्वीकार्न अयोग्य महसुस गरेकोले अलि हिचकिचाएको थिएँ। तैपनि, भाइ इनोडीले भनिरहनुभयो, ‘धन्दा नमान्‍नुहोस्‌, तपाईं गर्न सक्नुहुन्छ!’ केही समयपछि हामीले बसाइँ सर्ने निधो गऱ्‍यौं। फलस्वरूप, १९७३ मा आफूसित भएजति सबै बेचेर तीन छोराछोरीसित वाहिनीमा बसाइँ सऱ्‍यौं।

“त्यहाँ पुगेपछि थाह भयो, प्रहरीधरहरा अध्ययन, ईश्‍वरतान्त्रिक सेवकाई पाठशाला, इत्यादी सबै सुरुदेखि थाल्नु पर्ने रहेछ। सजिलो थिएन तर हामीले यहोवाको सुरक्षा र मदत पाएको महसुस गऱ्‍यौं। धेरैचोटि उहाँले हामी बस्ने ठाउँको बन्दोबस्त मिलाउन मदत गर्नुभयो। पछि, विरोधीहरूको एक हूलले साक्षीहरूलाई खेद्‌न खोज्दा स्थानीय राजनीतिज्ञ हाम्रो पक्षमा खडा भए। साँच्चै, यहोवाले सधैं हाम्रो हेरचाह गर्नुभयो।” अहिले वाहिनीमा दुइ वटा मण्डलीहरू छन्‌। फ्रान्सिसी भाषाको मण्डलीमा २३ जना र ताहिटी भाषाको मण्डलीमा ५५ जना प्रकाशकहरू छन्‌।

प्रायद्वीपमा विशेष अग्रगामीको हैसियतमा सेवा गर्न १९६९ मा एलेन मापु खटाइयो। एलेन भन्छिन्‌, “प्रायद्वीपमा चासो देखाउने मानिसहरू थुप्रै थिए र थोरै समयभित्र मैले धेरै बाइबल अध्ययनहरू थालें।” धेरै समय नबित्दै भाइराओमा एउटा सानो मण्डली स्थापना भयो तर त्यहाँ प्राचीनहरूको खाँचो थियो। कालान्तरमा, त्यहाँबाट ३५ किलोमिटर टाढा पापारामा बस्ने कोल्सन डिनले मदत दिन सके। भाइ डिन यसो भन्छन्‌, “भाइराओमा सेवा गर्न हामी सुव्यवस्थित हुनु परेको थियो। म भाइराओको अर्को छेउमा पर्ने, ७० किलोमिटर टाढा फा शहरमा काम गर्थें। कामपछि हतार हतार घर फर्कनुपर्थ्यो र परिवारलाई लिएर भाइराओ जानुपर्थ्यो। पछि जागिरले गर्दा हामी फामा बसाइँ सर्नुपऱ्‍यो। के अब पनि भाइराओ मण्डलीलाई सहयोग गर्न सम्भव हुनेथियो? हामी त्यहाँका भाइहरूलाई साँच्चै मदत गर्न चाहन्थ्यौं। त्यसैले भाइराओ धाउन नछोड्‌ने निर्णय गऱ्‍यौं। सभाहरू हुने दिनमा त आधी रात बितेपछि मात्र घर पुग्थ्यौं किनभने गाडी नहुनेहरूलाई घर पुऱ्‍याउन हामीले राति अबेरसम्म आफ्नो मोटरले पुऱ्‍याइदिनुपर्थ्यो। हामीले पाँच वर्षसम्म यसो गऱ्‍यौं। यस टापुमा अहिले चार वटा मण्डली देख्न पाउनु साँच्चै आनन्दको कुरा हो र ती दिनहरूको हामीसित मीठो सम्झना छ।”

ताहिटी छुट्टै शाखा बन्छ

ताहिटीमा १९७४ तिर राज्य प्रकाशकहरूको संख्या १९९ पुगिसकेको थियो। तात्कालीन अध्यक्ष तथा उपाध्यक्ष, एन. एच. नोर र एफ. डब्ल्यु. फ्रान्ज फ्रेन्च पोलिनेसिया आउँदा त्यहाँको प्रचारकार्यको निगरानी ३,५०० किलोमिटर टाढा फिजीबाट नभई ताहिटीबाट गर्नु व्यवहारिक हुने महसुस गरे। तसर्थ, अप्रिल १, १९७५ मा ताहिटी शाखा गठन भयो र परिभ्रमण निरीक्षक, एलन झामा शाखा निरीक्षक नियुक्‍त भए।

केही वर्षअघिको कुरा हो, यहोवाले वर्षाउनुभएका अद्‌भुत आशिष्‌हरू भाइ झामाले सम्झन सके। “पश्‍चिमी युरोप जत्तिकै ठूलो भूभाग ओगट्‌ने हाम्रो इलाकाका टापु तथा प्रायद्वीपहरूमा सुसमाचार प्रचार गर्न १९७५ देखि निकै प्रयास गरिंदै आएको छ। परिणाम असाध्यै आनन्ददायी भएको छ। सन्‌ १९८३ सम्म प्रकाशकहरूको संख्या ५३८ पुगिसकेको थियो। त्यही वर्ष पाइयामा शाखा कार्यालय तथा बेथेल घरको लागि एउटा भवन निर्माण गरियो। अहिले सोसाइटी टापुहरूमा छरप्रष्ट ३० वटा मण्डलीमा लगभग १,९०० प्रकाशकहरू छन्‌। अस्ट्रल आइल्याण्डमा एउटा मण्डली र एउटा सानो समूह छ। मार्किससमा एउटा मण्डली र दुइटा स-सानो समूह अनि टुआमोटु तथा गाम्बीयर आइल्याण्डसमा थुप्रै स-साना समूहहरू छन्‌। सभाहरूमा आउने नयाँ व्यक्‍तिहरूको देखभाल गर्न थुप्रै नयाँ राज्य भवनहरू निर्माण भइरहेका छन्‌। मार्किससमा तीनटा र ताहिटीमा सात वटा निर्माणाधीन छन्‌। विगत २० वर्षमा ताहिटीमा प्रचार गर्ने हाम्रो प्रयासलाई यहोवाले साँच्चै आशिष्‌ दिनुभएको छ।”

अझ धेरै गर्न बाँकी छ

फ्रेन्च पोलिनेसियामा निकै वृद्धि हुने सम्भावना छ। मार्च २३, १९९७ का दिन येशू ख्रीष्टको स्मरणार्थ उत्सव मनाउन फ्रेन्च पोलिनेसियाका लगभग ५,३,७६ मानिसहरू यहोवाका साक्षीहरूसित भेला भए। यी चासो देखाउने व्यक्‍तिहरूको आध्यात्मिक आवश्‍यकता पूरा गर्न बाइबल प्रकाशनहरू थुप्रै स्थानीय भाषाहरूमा उपलब्ध गराइएको छ। ताहिटीबाहेक टुआमोटु द्वीपसमूह तथा उत्तर र दक्षिण मार्किसस टापुमा बोलिने पाउमोटु भाषामा पनि साहित्यहरू उपलब्ध छन्‌।

ताहिटीमा भइरहेको वृद्धि तथा राम्रा राम्रा अनुभवहरूले यहाँका राज्य प्रकाशकहरूलाई यहोवाको प्रेम र धीरज पूर्णतया महसुस गर्न मदत गरेको छ। किनभने दक्षिणी समुद्रको टाढ-टाढाका टापुहरूमा समेत “सबै मानिसहरूले उद्धार पाऊन्‌ र तिनीहरू सत्यको ज्ञानमा आऊन्‌ भन्‍ने इच्छा [यहोवा] गर्नुहुन्छ।” (१ तिमोथी २:४) ताहिटी तथा फ्रेन्च पोलिनेसियाका अन्य टापुहरूमा बस्ने यहोवाका साक्षीहरू यहोवाको यो प्रतिज्ञामा पूरा विश्‍वास राख्छन्‌: “समुद्रका किनारका देशहरूले मेरो बाटो हेर्नेछन्‌, र मेरो बाहुबलमा तिनीहरूले आशा राख्नेछन्‌।”—यशैया ५१:५.

[पृष्ठ २६-मा भएको नक्सा]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

ताहिटी शाखाले फ्रेन्च पोलिनेसियाको हेरचाह गर्छ

अस्ट्रेलिया

[पृष्ठ २५-मा भएको चित्र]

बायाँदेखि दायाँ: एलन झामा, मारी एन झामा, आग्नीस शेन्क, पोलेट इनोडी र झाँक इनोडी

[पृष्ठ २७-मा भएको चित्र]

ताहिटी शाखा कार्यालय

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने