विश्व एकता—के यो कहिल्यै सम्भव होला?
“यदि आउँदा केही पुस्ताभित्रै हामी बसिरहेका स्वतन्त्र राष्ट्रहरूको संसारलाई असल अन्तरराष्ट्रिय समाजजस्तै केही बनाउन सफल हुनसक्यौं भने, . . . परापूर्वकालदेखि चलिआएका युद्धलाई प्रभावकारी ढंगमा खतम गर्न सक्नेछौं . . . तर सकेनौं भने, शायद यहाँ . . . सभ्यता नै रहनेछैन।” सेनासम्बन्धी इतिहासकार, ग्विन डायर आफ्नो पुस्तक युद्ध-मा (अंग्रेजी) त्यसै भन्छन्।
डायरको भनाइअनुसार राष्ट्र तथा शक्तिशाली समूहहरूले आफूबीचको भिन्नता टुंग्याउन लडेका युद्धका विवरणहरूले इतिहासको पाना भरिएका छन्। तिनीहरूको बेमेलले गर्दा लाखौं व्यक्तिहरू अकालमै मरे। रक्तपात र बेमेलले आफ्नो जनतालाई कसरी असर गऱ्यो, त्यसबारे राजा सुलेमानले गरेको व्याख्या आज पनि सुहाउँदो छ। तिनले लेखे: “फेरि मैले संसारमा अत्याचारका सबै कामहरू देखें र विचार गरें। अत्याचारमा परेकाहरूको आँसु मैले देखें, औ मैले के देखें भने तिनीहरूलाई सान्त्वना दिने कोही हुँदैन रहेछ। अत्याचारीहरूको पक्षमा शक्ति थियो, तर अत्याचारमा परेकाहरूको पक्षमा भएर साटो लिने कोही थिए[न]।”—उपदेशक ४:१.
माथि उल्लिखित इतिहासकारले देखाएजस्तै आजकाल “अत्याचारमा परेकाहरूको आँसु” पुछिदिनुबाहेक यी स्वतन्त्र राष्ट्रहरूको संसारलाई असल अन्तरराष्ट्रिय समाजजस्तै केही बनाउन कुनै न कुनै तरिका निकाल्नुपर्ने अर्को कारण हो: सभ्यता नै खतरामा पर्नु! आधुनिक युद्ध यत्ति खतरनाक भइसकेको छ, युद्ध जित्ने र हार्ने दुवै पक्षको अस्तित्व लोप हुनेगरि विध्वंस हुनसक्छ।
विश्व एकता नजीकै?
विश्व एकता हुनसक्ने सम्भावना कत्तिको छ? पृथ्वीको अस्तित्व नै नामेट हुनसक्ने विभाजक तत्त्वमाथि के मानव समाज विजयी हुनसक्छ? सक्छ भन्ने विचार कसै कसैले राखेका छन्। बेलाइतको डेलि टेलिग्राफ समाचारपत्रका रक्षासम्बन्धी लेखहरूका सम्पादक, जोन किगन लेख्छन्: “गोलमाल तथा अनिश्चितताको बावजूद युद्धरहित संसार बिस्तारै देखा पर्नसक्छ जस्तो देखिएको छ।”
तिनी के कारणले गर्दा आशावादी हुनसके? मानिसजातिले लडेका युद्धहरूको यत्ति लामो इतिहास र आफैमाथि शासन गर्न मानिस असफल भए तापनि किन धेरै जना आशावादी देखिएका छन्? (यर्मिया १०:२३) ‘मानिसजाति अघि बढीरहेको छ। निरन्तर प्रगति भएको उदाहरण इतिहासले दिन्छ,’ भन्दै कसै कसैले कहिलेकाहीं तर्क गरेका छन्। मानिसजातिका जन्मजात गुणहरूले कुनै न कुनै दिन अनिष्टकर कुराहरूमाथि विजय प्राप्त गर्नेछन् भन्ने विश्वास आज धेरैले राखेका छन्। के यो आशा वास्तविक हो वा त्यो अझ निराश तुल्याउने भ्रान्ति मात्र हुने हो कि? विश्वको संक्षिप्त इतिहास (अंग्रेजी) पुस्तकमा इतिहासकार, जे. एम. रोबट्र्सले वास्तविकतालाई औंल्याउँदै यसरी लेखे: “विश्वको भविष्य सुरक्षित हुनसक्छ भनेर बताउनु कठिन थियो। त्यसबाहेक, अहिले मानव दुःखको कुनै अन्त पनि देखिएको छैन नता अन्त हुन्छ भनेर विश्वास गर्ने आधारै देखा परेको छ।”
मानिस तथा राष्ट्रहरू आपसी अविश्वास तथा मतभिन्नताहरूमाथि विजयी हुनेछन् भनेर विश्वास गर्ने ठोस कारणहरू छन्? अथवा मानिसको प्रयासलाई मात गर्ने अरू नै माध्यम चाहिएको छ कि? यसपछिको लेखले यी प्रश्नहरू छलफल गर्नेछ।