प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w97 १२/१ पृ. २५-२८
  • पवित्र सेवा गरे बापत उत्कृष्ट इनाम

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पवित्र सेवा गरे बापत उत्कृष्ट इनाम
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • मैले बाइबल सत्य सिकें
  • आध्यात्मिक आशिष्‌हरू
  • विस्तारको लागि आधार
  • युद्धको दौडान ठूलो अधिवेशन
  • लेस्टरको अनुपम वार्षिक सभा
  • १९९८ “परमेश्‍वरले चाहनुहुने जीवनशैली” जिल्ला अधिवेशन
    हाम्रो राज्य सेवकाई—१९९८
  • १९९५ “आनन्दित प्रशंसकहरू” जिल्ला अधिवेशन
    हाम्रो राज्य सेवकाई—१९९५
  • सन्‌ १९९३-को “ईश्‍वरीय शिक्षा” जिल्ला सम्मेलनबाट पूर्ण लाभ उठाउनु होस्‌
    हाम्रो राज्य सेवकाई—१९९३
  • “ज्योति वाहकहरूका” १९९२-को जिल्ला सम्मेलन
    हाम्रो राज्य सेवकाई—१९९२
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
w97 १२/१ पृ. २५-२८

पवित्र सेवा गरे बापत उत्कृष्ट इनाम

ह्‍यारी ब्लरको वृत्तान्तमा आधारित

लगभग सय वर्षअघिको कुरा हो, मेरो हजुरबुबा मेथोडिस्ट चर्चका कट्टर सदस्य हुनुहुन्थ्यो। साथै उहाँ इंग्ल्याण्डको कुमाले गाउँ, स्टोक-अन-ट्रेन्टका थुप्रै चर्चहरूलाई निकै आर्थिक सहयोग गर्ने सम्माननीय जनप्रचारक पनि हुनुहुन्थ्यो। पछि गएर उहाँले आर्थिक संकट झेल्नुपऱ्‍यो। हजुरबुबालाई मदत गर्न बुबाले गाउँमा एउटा सानो पसलको बन्दोबस्त मिलाइदिनुभयो। त्यो पसलसित बियर बेच्ने अनुमतिपत्र थियो। तर मेथोडिस्टहरूले यो कुरा थाह पाएपछि हजुरबुबालाई चर्चबाट निकालिहाले।

यो थाह पाएपछि बुबा असाध्यै रीसाउनुभयो र त्यसउपरान्त धर्मसित कुनै प्रकारको सरोकार नराख्ने कसम खानुभयो। अनि त्यो कसम कहिल्यै तोड्‌नुभएन पनि। उहाँ प्रहरी हुनुहुन्थ्यो तर पछि गएर एउटा सानो भट्‌टीको मालिक हुनुभयो। अतः म भट्टीको गन्ध र धूवाँमा हुर्कें। मेरो जीवनमा धर्मको कुनै महत्त्व थिएन तैपनि मैले चर्चमा खेलाइने जुवाहरू भने खेल्न सिकें। तथापि, बाइबलबारे खास ज्ञान नभए तापनि सानो छँदा हजुरबुबाको सरसंगतले गर्दा त्यसको आदर गर्थें।

मैले बाइबल सत्य सिकें

सन्‌ १९२३ मा म २४ वर्षको हुँदा पूर्वतिर नटिंगहाममा बसाइँ सरें। म बसेको ठाउँभन्दा ४० किलोमिटर टाढा लेस्टरको दक्षिणपश्‍चिममा अवस्थित ह्वेटस्टोन गाउँकी मेरीसित मायाप्रीती बस्यो। उनको बुबा, आर्थर रेस्ट स्थानीय चर्चमा मुखले बजाउने बाजा बजाउँथे। तर यतिञ्जेल तिनी जोसिलो बाइबल स्टुडेन्ट भइसकेका थिए। यहोवाका साक्षीहरू त्यतिबेला यही नाउँले चिनिन्थे। यस नयाँ विश्‍वासबारे आर्थर मसित सधैं कुरा गर्ने गर्थे तर मलाई भने खास चासो लागेको थिएन। तथापि, आइतबार दिउँसो, जुलाई १३, १९२४ का दिन मेरो चासो जाग्यो। त्यस दिन म आर्थरसित स्थानीय ब्याप्टिस्ट चर्चमा एक संसद सदस्यको भाषण सुन्‍न गएको थिएँ र तिनी एक प्रतिष्ठित ब्याप्टिस्ट पनि थिए। तिनको भाषणको विषय थियो, “धर्मशास्त्रीय आधारमा पास्टर रसलको शिक्षाको जाँचपड्‌ताल।” त्यो भाषण सुनेपछि मेरो मनमा खुल्दुली हुन थाल्यो। त्यतिबेला लिएका टिपोटहरू मसित अझै छ।

बाइबल स्टुडेन्टस्‌का विश्‍वासहरूबारे ब्याप्टिस्टहरूले नानाभाँतिका कुरा गरे तर बाइबल स्टुडेन्टस्‌ले सफाइ दिन खोज्दा भने पटक्कै सुन्‍न चाहेनन्‌। म रीसले चूर भएँ र त्यस्तै सभा गर्न अर्को ठाउँको बन्दोबस्त मिलाउने संकल्प गरें। यसको लागि नजीकैको खलो उपयुक्‍त थियो। हामीले त्यसलाई बढार्यौं, माकुराका जालोहरू झाऱ्‍यौं र खलेलाई अलि कुनातिर पन्छाएपछि ठाउँ तयार भयो। हामीले ७० वटा मेच जम्मा गऱ्‍यौं र हातेपर्चीहरू छाप्यौं।

भाषण दिन लेस्टरबाट फ्रांक फ्रिर आउँदा एउटै मेच पनि खाली थिएन बरु अरू ७० जना मानिसहरू उभिरहेका थिए! धर्मशास्त्रबाट फ्रांकको सुस्पष्ट तर्क मलाई मात्र होइन त्यहाँ उपस्थित अरू थुप्रैलाई पनि चित्त बुझ्यो। त्यो बेलादेखि लेस्टर नजीकै ब्लाबीका बाइबल स्टुडेन्टस्‌को सानो मण्डलीमा निकै वृद्धि हुन थाल्यो। यति नै बेला मेरो तथा मेरीको जीवनले पनि नयाँ मोड लियो। हामी दुवैले १९२५ मा यहोवालाई समर्पण गरेर बप्तिस्मा लियौं अनि त्यही साल विवाह पनि गऱ्‍यौं।

आध्यात्मिक आशिष्‌हरू

त्यसपछिको सालमा म ब्लाबी मण्डलीको सेवकाई निर्देशक नियुक्‍त भएँ। मेरी पत्नी र म कल्पोर्टर भएर पूर्ण-समय सुसमाचारक हुन चाहन्थ्यौं तर मेरीको स्वास्थ्यले गर्दा त्यस्तो व्यस्त तालिकाअनुसार काम गर्न नसकिने देखियो। सन्‌ १९८७ मा उनको मृत्यु होउञ्जेलसम्म त्यति राम्रो स्वास्थ्य नभए तापनि उनी मेरो असल जीवनसाथी हुनुका साथै अनौपचारिक साक्षी दिएर बाइबल अध्ययनहरू थाल्न सिपालु प्रचारक थिइन्‌। प्रायजसो साँझ, सभाहरू धाउँदै वा छिमेकीहरूसित बाइबलबारे कुरा गर्दैमा बित्थ्यो।

म इन्जिनियर भएको हुँदा काठ चिर्ने औजार बनाउने कारखानामा काम गर्थें। कामको सिलसिलामा बेलाइतका साथै फ्रान्सको व्यापक भ्रमण गर्नुपर्थ्यो र प्रायजसो मेरी पनि सँगै हुन्थिन्‌। यी यात्राहरूको दौडान हामीले विस्तृत साक्षी दिने मौका पायौं।

विस्तारको लागि आधार

ब्लाबीमा सभाहरूका लागि १९२५ मा एउटा राम्रो भवन बनायौं र त्यहींबाट प्रभावशाली साक्षी कार्यक्रमको व्यवस्था मिलायौं। प्रत्येक आइतबार बिहान हामी भाडामा बस लिएर छरप्रष्टिएका टाढा टाढा गाउँ तथा स-साना शहरहरूमा जान्थ्यौं। बाटोमा पर्ने इलाकाहरूहुँदो प्रचार गर्न केही प्रकाशकहरूलाई छोड्‌थ्यौं र पछि हामी सबै त्यही बसमा चढेर सँगै फर्कन्थ्यौं। गर्मी महिनाहरूमा हामी आइतबार साँझपख प्रहरीधरहरा-को नयाँ अंक छलफल गरेर बाइबल अध्ययन गर्थ्यौं। त्यसपछि आठ बजे लेस्टर बजारस्थित खुला मञ्चमा जनभाषणको लागि भेला हुन्थ्यौं। एक रात त २०० जना मानिस सुन्‍न आएका थिए। यस क्रियाकलापले गर्दा अहिले लेस्टर वरपरका थुप्रै मण्डलीहरू स्थापना गर्न सजिलो भयो।

सन्‌ १९२६ मा लण्डनको एलेक्जान्ड्रा पालेस र रोयल अल्बर्ट हलमा संयुक्‍त रूपमा एउटा अविस्मरणीय अधिवेशनको आयोजना गरियो। त्यस अवसरमा वाच टावर सोसाइटीका तत्कालीन अध्यक्ष जोसेफ एफ. रदरफोर्डले छुटकारा (अंग्रेजी) नामक पुस्तक विमोचन गरे। त्यसको भोलिपल्ट, “संसारका शासकहरूलाई प्रमाण” भन्‍ने प्रस्तावना तथा भाइ रदरफोर्डको जोडदार जनभाषण “विश्‍व शक्‍तिहरू किन धरमराउँदैछन्‌—त्यसको समाधान” विषयको पूर्ण विवरण एउटा प्रमुख अखबारमा छापियो। उक्‍त जनभाषण १०,००० भन्दा बढीले सुने र विश्‍वभरि त्यो प्रस्तावनाको ५,००,००,००० प्रति वितरण गरियो। उक्‍त अधिवेशनले बेलाइतमा प्रचारकार्यलाई तीव्र गतिमा अघि बढाउन मदत गऱ्‍यो।

युद्धको दौडान ठूलो अधिवेशन

सेप्टेम्बर १९३९ मा दोस्रो विश्‍वयुद्ध सुरु भयो र १९४१ तिर त युद्ध असाध्यै चर्किसकेको थियो। जर्मनहरूले दिनरात बम बर्षाउँथे र गोलाबारीबाट बच्न चारैतिर जानाजानी अँध्यारो पारिएको थियो। खानाको अभाव थियो र जे जति थियो, त्यो पनि कडिकडाउका साथ भाग लगाइन्थ्यो। रेललगायत अन्य सबै यातायात सीमित थियो। पार नलाग्नेजस्ता यी अवरोधहरूको बावजूद हामीले १९४१ मा सेप्टेम्बर ३-७ सम्म पाँच दिने राष्ट्रिय अधिवेशनको आयोजना गऱ्‍यौं।

अधिवेशनको लागि लेस्टरको डे मन्टफर्ट हल रोजिएको थियो किनभने लेस्टर बेलाइतको बीच भागमा पर्छ। म काठको व्यापारमा संलग्न भएको हुँदा विज्ञापन पाटीहरू बनाउन मदत गर्नसकें। मैले अधिवेशनमा आउनेहरूका लागि स्थानीय यातायातको पनि प्रबन्ध मिलाएँ। हामीले सधैंको भन्दा अलि बढी पैसा तिरेर पहिल्यै टिकट किनेको हुँदा आइतबारको दिन पनि लेस्टरमा ट्रामहरू बन्द भएनन्‌।

आवागमनमा प्रतिबन्धहरू लगाइएको हुँदा हामीले लगभग ३,००० जति साक्षीहरू आउलान्‌ भन्‍ने आशा गरेका थियौं। त्यहाँ १०,००० भन्दा बढी हुनेछन्‌ भनी प्रतिनिधिहरूले बताउँदा हामी कति रोमाञ्चित भयौं होला, कल्पना गर्नुहोस्‌ त! तर तिनीहरू बस्ने कहाँ? लेस्टरवासीहरूले माया गरेर थुप्रैलाई तिनीहरूको घरमा बस्ने निमन्त्रणा दिए। यसबाहेक, एक हजार जतिलाई अधिवेशन केन्द्रभन्दा तीन किलोमिटर पर खेतमा पालहरू टाँगेर बस्ने बन्दोबस्त मिलाइयो। त्यसलाई हामी क्याम्प गिडियोन भन्थ्यौं र त्यसले त्यहाँ टोलछिमेकमा निकै हलचल मचायो।

अधिवेशनका विभाग तथा मानिसहरूका भीडका लागि ठूलठूला सेता पालहरू टाँगिएका थिए। तर चकमन्‍न जुनेली रातमा यी पालहरू नाजीहरूको तारो हुनसक्ने सम्भावना देखिएपछि ती हतार हतार छोपछाप गरियो। त्यतिबेला चर्किरहेको युद्ध र विशेषगरि साक्षीहरूको तटस्थताले जनचासो जगाएको थियो। सयौं साक्षीहरू बाइबल आधारित तटस्थताको कारण झ्यालखानामा थिए।—यशैया २:४; यूहन्‍ना १७:१६.

सेप्टेम्बर ७, १९४१ को सन्डे पिक्टोरियल-ले यस्तो रिपोर्ट दियो: “कुरै कुरामा आयो भने मात्र, होइन भने, एक हप्तासम्म युद्धको नाउँसमेत नलिई धर्मबारे कुरा गर्ने लगभग १०,००० मानिसहरू र त्यसमध्ये प्रायजसो जवानहरू देख्न पाउनु साँच्चै आनन्दको कुरा हो।

“जर्मनीमा पनि साक्षीहरू छन्‌ कि भनेर मैले सोधें। छन्‌ भन्‍ने जवाफ पाएँ तर प्रायः सबै जना अर्थात्‌ सालाखाला ६,००० जति यातना शिविरहरूमा थिए।”

त्यस संवाददाताले यसो पनि भने: “नाजीहरू त शत्रु हुन्‌ तर साक्षीहरूले पर्चा बेच्नु र भाषण सुन्‍नुबाहेक शत्रुहरूको विरोध गर्न खास केही गरिरहेका छैनन्‌।”

अखबारमा हाम्रो विषयमा प्राय नकारात्मक टिप्पणीहरू छापिन्थे र अधिवेशन भंग गर्न विरोधीहरूले हिंसात्मक कार्यहरू पनि गर्न खोजे तर तिनीहरू सफल हुन सकेनन्‌। यद्यपि, लण्डनको डेली मेल-ले आनाकानी गरेर भए पनि यो कुरा भने स्वीकाऱ्‍यो: “अधिवेशन कुनै अवरोधबिना सुचारुरूपले सम्पन्‍न भयो।”

शहरमा चुरोटको अभाव हुनुको दोष हामीलाई लगाइयो। तर द डेली मेल-ले यसो भन्यो: “लेस्टर र सुर्ती नियन्त्रक दुवैले चुरोटको अभावको दोष साक्षीहरूलाई दिन मिल्दैन। किनभने तिनीहरू चुरोटै खाँदैनन्‌।” साथै, साक्षीहरूको आवागमनले गर्दा स्थानीय बासिन्दाहरूलाई खाद्यान्‍नको अभाव भयो भन्‍ने गुनासो पनि फासफुस भयो किनभने तिनीहरूले आ-आफ्नो खाना ल्याएका थिए। वास्तवमा भनौं भने, अधिवेशनको अन्ततिर १.८ किलोग्रामको १५० वटा पाउरोटी लेस्टर रोयल इन्फरमरीलाई चन्दास्वरूप दिइएको थियो। त्यस्तो अनिकालको बेला यो निकै ठूलो चन्दा थियो।

बेलाइतका लगभग ११,००० साक्षीहरूलाई त्यस अधिवेशनले निकै आध्यात्मिक स्फूर्ति प्रदान गऱ्‍यो। लगभग १२,००० जति उपस्थित भएको देखेर तिनीहरू मक्ख परे! प्रतिनिधिहरूले लेस्टरमा यति धेरै सडक साक्षी पहिले कहिल्यै दिएका थिएनन्‌ र फोनोग्राफको माध्यमद्वारा छेउछाउका गाउँहरूमा पनि प्रचार गरियो।

अघिल्लो महिना सेन्ट लुइस, मिसोरी, सं.रा.अ.-मा सम्पन्‍न यहोवाका साक्षीहरूको पाँच दिने अधिवेशनमा रेकर्ड गरिएका भाषणहरू नै यहाँ लेस्टरको अधिवेशनका प्रमुख भाषणहरू थिए। “राजाका सन्तानहरू” विषयक भाइ रदरफोर्डको भाषणको रेकर्डिङ नै अधिवेशनको मुख्य आकर्षण थियो। सेन्ट लुइसमा विमोचन गरिएको केटाकेटी (अंग्रेजी) पुस्तक आयात गर्न सम्भव नभएको हुँदा पछि बेलाइतमै पातलो जिल्द लगाएर उक्‍त पुस्तक छापियो। अधिवेशनमा उपस्थित सबै केटाकेटीलाई त्यो पुस्तक बाँडियो।

लेस्टरको अनुपम वार्षिक सभा

युद्धपश्‍चात्‌ बेलाइतमा राज्य उद्‌घोषकहरूको संख्यामा अत्यन्तै वृद्धि भयो! सन्‌ १९८० दशकको सुरुसुरुतिर लेस्टरमा दशवटा मण्डली भइसकेका थिए। त्यसपछि यहोवाका साक्षीहरूका परिचालक निकायले १९८३ मा लेस्टरमा वाच टावर बाइबल एण्ड ट्राक्ट सोसाइटीको वार्षिक सभा आयोजना गर्ने निर्णय गरेको छ भन्‍ने खबर पायौं। लेस्टरको नगर निरीक्षकको हैसियतमा म तयारीको लागि दौडधूप गर्न थालें। फेरि एक चोटि डे मन्टफर्ट हल भाडामा लिनुपर्ने भयो।

यस अवसरको लागि सोसाइटीको ब्रुक्लिन मुख्य कार्यालयबाट परिचालक निकायका तेह्र जना सदस्यहरू आए। संसारभरिबाट जम्मा ३,६७१ जना प्रतिनिधिहरू भेला भए। तीमध्ये धेरैजसो पुराना साक्षीहरू थिए र हल टन्‍न भरियो। नजीकैको सम्मेलन भवनबाट थप १,५०० व्यक्‍तिहरूले कार्यक्रम सुने।

यस वार्षिक सभाको सभापतित्व अल्बर्ट डी. श्रोडरले गरे। युद्धको दौडान लण्डनस्थित वाच टावर शाखा कार्यालय तिनैको निगरानीमा थियो र लेस्टरमा अधिवेशन पनि यही बेला आयोजना गरिएको थियो। भाइ श्रोडरले १९४१ को अधिवेशनलाई सम्झँदै सोधे: “यहाँ उपस्थितमध्ये त्यतिबेला को को हुनुहुन्थ्यो?” श्रोतागणमध्ये आधाभन्दा बढीले हात उठाए। तिनले उद्‌गार व्यक्‍त गर्दै भने, “बाफ रे बाफ! तपाईं विश्‍वासी, भक्‍त जनहरूका लागि कस्तो आनन्दमय पुनर्मिलन!” निस्सन्देह, यो एउटा अविस्मरणीय अनुभव थियो।

अहिले म ९८ वर्ष पुगें र हाम्रो मण्डलीमा अझै पनि सचिवको हैसियतमा सेवारत छु। जनभाषण पनि दिइरहेकै छु तर उठी उठी भने दिन नसक्ने भएँ। सन्‌ १९८७ मा मेरीको मृत्युपछि मैले बेटिनासित विवाह गरें। उनी विधवा थिइन्‌ अनि मेरी र मैले उनलाई धेरै पहिलेदेखि चिनेका थियौं। शारीरिक तथा आध्यात्मिक तवरमा राम्रो हेरचाह पाएकोमा म कृतज्ञ छु। मेरीको अस्वस्थता र अहिले मेरो आफ्नै बुढेसकालले गर्दा अनेकन्‌ बाधाबिघ्न सहनु परे तापनि पवित्र सेवामा लागिरहनु साँच्चै इनामदायी हुँदो रहेछ भन्‍ने मैले महसुस गरेको छु।—१ कोरिन्थी १५:५८.

[पृष्ठ २६-मा भएको चित्र]

सन्‌ १९२० को दशकमा सेवकाईमा जान तयार

[पृष्ठ २६-मा भएको चित्र]

लेस्टर अधिवेशनका दृश्‍यहरू

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने