तपाईं आशावादी हुनुहुन्छ कि निराशावादी?
“यो सबैभन्दा उत्तम समय थियो, यो सबैभन्दा खत्तम समय थियो, . . . यो आशाको हरियाली थियो, यो निराशाको खडेरी थियो, हाम्रोअघि सब थोक थियो, हाम्रोअघि केही पनि थिएन।” कुनै घटनाले हाम्रो सोचविचार, भावना तथा दृष्टिकोणमा कसरी भिन्नाभिन्नै छाप पार्छ भनेर चार्ल्स डिकेन्सको उत्कृष्ट कृति दुई शहरको कथा-का (अंग्रेजी) उक्त प्रारम्भिक शब्दहरूले देखाउँछन्।
माथि उल्लिखित दुई शहरहरू फ्रान्सेली क्रान्तिको गोलमालमा मुछिएका लन्डन र पेरिस हुन्। उक्त क्रान्तिले मानव अधिकारको घोषणा गर्नु अठाह्रौं शताब्दीका दलित फ्रान्सेली नागरिकहरूका लागि साँच्चै “आशाको हरियाली थियो।” तर क्रान्तिपूर्वका राजनैतिक तथा सामाजिक प्रणाली वा सत्ता पल्टनै लागेका राजनैतिक प्रणालीको लागि भने त्यो “निराशाको खडेरी थियो।” त्यसले तिनीहरूलाई मृत्यु र सर्वनाशको मुखमा पुऱ्यायो।
आशावाद कि निराशावाद? त्यो त तिनीहरूले अडान लिने पक्षमा भर पर्थ्यो। अनि अहिले पनि त्यस्तै हो।
आत्म-परीक्षण गर्ने समय
के तपाईं आशावादी हुनुहुन्छ? के तपाईं सधैं असल कुराको प्रत्याशा गरेर जीवनको सकारात्मक पक्ष हेर्नुहुन्छ? वा भावी प्रत्याशाहरूप्रति नकारात्मक दृष्टिकोण अपनाएर अर्थात् असल कुरा चाहे पनि खराबै होला भन्ठानेर निराशावादी हुनुहुन्छ?
अमेरिकी उपन्यासकार जेम्स ब्रान्च काबेलले ६० वर्षअघि उक्त दुई विरोधाभासपूर्ण दर्शनको सार यसरी दिए: “हामी यथासम्भव सबैभन्दा उत्कृष्ट समाजमा बाँचिरहेका छौं भनी आशावादीहरू भन्छन् भने निराशावादीहरू सो कुरा कतै सत्य पो हो कि भनी डराउँछन्।” यो कुरा ठट्टाजस्तो लाग्छ भने वर्तमान संसारका निम्न तीन पक्षका सकारात्मक तथा नकारात्मक कुराहरू केलाएर हेर्नुहोस्। तत्पश्चात् तपाईंलाई कस्तो लाग्छ, जाँच्नुहोस्। अनि आफैलाई सोध्नुहोस्, ‘म आशावादी हुँ कि निराशावादी?’
चिरकालीन शान्ति: तपाईं कतिवटा संकटग्रस्त ठाउँहरूको नाउँ बताउन सक्नुहुन्छ? आयरल्याण्ड, पहिलेको युगोस्लाभिया, मध्यपूर्व, बुरुण्डी र रूवाण्डाको नाउँ त मनमा झट्ट आइहाल्छ। के उक्त देशका संकट र अन्य संघर्षहरू सुल्झिएमा स्थायी तथा विश्वव्यापी शान्ति कायम हुन सक्ला? के संसार शान्तितर्फ लम्किरहेको छ?
आर्थिक स्थिरता: सन् १९९९ सम्म आर्थिक समानता ल्याउने आशामा युरोपेली राष्ट्रहरूले अहिले नै मुद्रास्फीति र जनसाधारणबाट लिइएका ऋणले गर्दा निकै जटिल समस्या सामना गर्नु परिरहेका छन्। अन्य देशहरू जस्तै उत्तर र दक्षिण अमेरिका तथा अफ्रिकी देशहरूको आर्थिक अवस्था भ्रष्टाचारले गर्दा खस्कँदो छ। ती देशहरूमा मुद्रास्फीतिले अचाक्ली बोझ थुपारेको छ अनि जातीय मतभेदले गर्दा मानिसहरूबीच अझै फाटो छ। विश्वको आर्थिक अस्थिरता के अब छिट्टै सुल्झेला त?
बेरोजगारी: सन् १९९७ को राष्ट्रिय चुनाउमा सम्पूर्ण राजनैतिक दलहरूको घोषणापत्रको प्रमुख कुरा मजदूरहरूलाई रोजगार दिलाउने हुनुपर्छ भनी बेलाइती चर्चहरूले संयुक्त रूपमा आह्वान गरे। तर संसारका झन्डै ३० प्रतिशत व्यक्तिहरू बेरोजगार वा आंशिक जागिरे भएको अवस्थामा छन्। के तिनीहरूले र विशेषगरि युवावर्गले स्थायी जागिर पाउलान् त?
निराशावादी हुने कति यथेष्ट कारणहरू! यद्यपि, आशावादी हुने आधार पनि छ। अनि कसरी आशावादी दृष्टिकोण अपनाउन सकिन्छ, त्यसबारे विचार गर्न हामी तपाईंलाई आमन्त्रित गर्छौं।
[पृष्ठ ३-मा भएको चित्र]
फ्रान्सेली क्रान्ति
[स्रोत]
Pictorial History of the World पुस्तकबाट