गगनचुम्बी घरदेखि उत्तरध्रुवको उजाडस्थानसम्म—मानिसहरूलाई भेट्ने
तिनीहरूको संकल्प न झरीले, न असिनाले, न ब्वाँसाहरूले, न हिमाली चितुवाले न त विरोधी मानिसहरू बस्ने इलाकाले नै ढलपलाउन सक्थ्यो। तिनीहरू पश्चिम किनारासम्म जरुरी डाँक पुऱ्याउन गडगडाउने खोलाहरू, अगाध बेंसीहरू हुँदै बेतोडले घोडा कुदाएर ३,००० किलोमिटर लामो समतल तथा उबडखाबड मैदान पार गर्थे। तिनीहरू को थिए त?
तिनीहरू पोनी एक्सप्रेसका साहसी जवान घोडसवारहरू थिए।a कुन कुराले यी जवानहरूलाई त्यस्तो बलियो संकल्प गर्न उत्प्रेरित गऱ्यो? सायद डाँक पुऱ्याउँदा सामना गर्नुपर्ने चुनौती, साहस तथा सन्तोषको कारण हुनसक्छ। चाखलाग्दो कुरा, हरेक घोडसवारले आफ्नो झोलामा महत्त्वपूर्ण डाँकसँगै एउटा बाइबल पनि लग्थे।
यसको झन्डै एक शताब्दीपछि क्यानाडाभरि १,१३,००० भन्दा बढी समर्पित राज्य उद्घोषकहरूले अझ बढी संकल्प, जोस तथा भक्ति प्रदर्शित गरेका छन्। तिनीहरू कहाँबाट प्रेरणा पाउँछन्? तिनीहरू परमेश्वर र छिमेकीप्रतिको प्रेमले गर्दा साहित्यहरू प्रयोग गरेर तथा मौखिक रूपमा परमेश्वरको राज्यबारे सच्चाइ सुनाउन प्रेरित भएका छन्। पोनी एक्सप्रेसको डाँकभन्दा यो जीवनदायी सच्चाइ कता हो कता महत्त्वपूर्ण छ। हो, यो पवित्र बाइबल अर्थात् पोनी एक्सप्रेसका घोडसवारहरूका झोलामा पाइने पुस्तकले बताउने परमेश्वरको राज्यको अनमोल सुसमाचार हो।—हितोपदेश २:२१, २२; यशैया २:२-४; ६१:२; मत्ती २२:३७-३९; २४:१४.
यहोवा र मानिसहरूप्रतिको प्रेमले उत्प्रेरित
यहोवाका साक्षीहरू मानिसहरूसँग परमेश्वरको राज्यबारे कुरा गर्न मन पराउँछन्। शहरका गगनचुम्बी घरहरूमा, उत्तरध्रुवका दुर्गम ठाउँहरूमा, विमानस्थलहरूमा, सडक र सार्वजनिक स्थानहरूमा तथा फोनमा तिनीहरूले कुरा गरिरहेको तपाईंले पाउनुहुनेछ। किन यति विविध ठाउँमा?
आर्थिक परिस्थिति र जनघनत्वले गर्दा बदलिंदै गएको जीवनशैलीको कारण मानिसहरूलाई घरमा भेट्नु ठूलो चुनौती भएको छ। परिवारका आधारभूत आवश्यकताहरू पूरा गर्न प्रायजसो पतिपत्नी दुवै काम गर्छन्। त्यसो गर्दा अक्सर आध्यात्मिक आवश्यकताको कुनै वास्ता नै हुँदैन। तिनीहरूलाई यस्तो दबाब र धपेडीको दोधारमा आशाको हृदयस्पर्शी समाचार चाहिन्छ। यहोवाका साक्षीहरू ती मानिसहरूलाई चाहिएकै समाचार सुनाउँछन्। तिनीहरू विवेकी तथा दयालु ढंगमा सबै मानिसहरूसँग घतलाग्दो तथा विचारोद्दीपक तरिकामा परमेश्वरको राज्यबारे कुरा गर्ने अवसर निकाल्छन्।—१ तिमोथी २:३, ४.
अन्य भाषाहरूमा: येशू ख्रीष्टले आफ्ना चेलाहरूलाई ‘गएर चेला बनाओ’ भन्ने आज्ञा दिनुहुँदा उहाँले सबै भाषीहरूलाई आशाको समाचार सुनाउन अग्रसर र दृढ हुने मौका दिनुभएको थियो। (मत्ती २८:१९) अन्य थुप्रै मुलुकहरूमा जस्तै क्यानाडा पनि विविध संस्कृति र भाषाहरूको केन्द्र भएको छ। थुप्रै राज्य उद्घोषकहरू नयाँ भाषा सिकेर त्यो विविधतासँग घुलमिल हुनसकेका छन्।
उदाहरणका लागि, एल्बर्टास्थित एडमन्टोनमा पूर्ण-समय सेवा गरिरहेका विवाहित दम्पतीले उक्त शहरका म्यान्डरिन चाइनिज भाषीहरूसँग सम्पर्क राख्ने आवश्यकता महसुस गरे। तथापि, उक्त दम्पतीले पहिला त भाषा सिक्नुपऱ्यो। अतः तिनीहरूले विश्वविद्यालयका म्यान्डरिनभाषी विद्यार्थीसँग सम्पर्क राखे। त्यस विद्यार्थी तिनीहरूलाई म्यान्डरिन भाषा सिकाउनुका साथै तिनीहरूसँग बाइबल सच्चाइ सिक्न पनि राजी भए। कत्ति राम्रो! दुई वर्षको समयावधिमा उक्त दुई समर्पित राज्य उद्घोषकहरू अरूलाई म्यान्डरिन भाषामा सिकाउनसक्ने भए। त्यतिञ्जेल तिनीहरूका शिक्षक एवं विद्यार्थी पनि बप्तिस्मा लिने योग्य भइसकेका थिए।
राज्य उद्घोषकहरूले अरूप्रतिको प्रेमले उत्प्रेरित भएर पोलिश, रूसी तथा भियतनामी जस्ता भाषाहरू सिक्दा अरू शहरहरूमा पनि यस्तै अनुभवहरू बटुल्न सकिएका छन्।
सडकमा: गत शताब्दीको पोनी एक्सप्रेसका घोडसवारहरूले एक्लै यात्रा गरेझैं ब्रिटिश कोलम्बियाको भित्री भागमा केही राज्य उद्घोषकहरू एक्लै ट्रक हाँक्छन्। तिनीहरूको धेरैजसो समय बडेबडे मुढाहरू लादेका ट्रक जंगलदेखि कारखानासम्म हाँक्नमा नै बित्छ। अन्य ट्रक चालकहरूसँग ट्राफिक तथा बाटोमा आइपर्ने खतराबारे सि बि (सिटिजन बेण्ड) रेडियोद्वारा सम्पर्क राख्छन्।
यी राज्य उद्घोषकहरू सृजनात्मक ढंगमा सि बि रेडियोको अनुपम प्रयोग गर्छन्। तिनीहरू वर्तमान घटनाहरू उल्लेख गर्दै सि बि रेडियोद्वारा अन्य चालकहरूसँग कुरा थाल्छन्। त्यसपछि कुरा घुमाएर बाइबलतिर ढाल्छन्। त्यस्तै एउटा घटनामा एक सँगी चालकले मृत जनहरूबारे बाइबलले बताएको आशाप्रति असल प्रतिक्रिया देखाए। (यूहन्ना ५:२८, २९; प्रेरित २४:१५) राजमार्ग दुर्घटनामा सँगी चालकको मृत्यु भएकोले उक्त चालक साह्रै विचलित थिए। तिनले कृतज्ञतासाथ बाइबल अध्ययन स्वीकारे। अनि अहिले त तिनी पनि सहकर्मी तथा साथीभाइलाई राज्य सुसमाचार सुनाउँदैछन्। यसबाहेक, आफ्नो मृत साथीको विधवा पत्नीसँग तिनले बाइबल अध्ययन सुरु गर्नसके। यस्तो अनौठो तरिकाद्वारा सच्चाइको जीवनदायी समाचार प्रस्तुत गर्न कदम चाल्दा कस्तो राम्रो प्रतिफल मिल्यो!
हवाईजहाजद्वारा: सच्चाइको अनमोल सुसमाचार प्रस्तुत गर्न उत्साही राज्य उद्घोषकहरू हवाईजहाजद्वारा ‘गाउँमा पसेर’ मानिसहरू बसोबास गर्ने हरेक ठाउँ पुग्छन्। (मत्ती १०:११, १२) केही समयअघि, सुसमाचार घोषणा गर्ने जोसले उत्प्रेरित भएका राज्य उद्घोषकहरूको दुई समूह आफ्नै खर्चमा दुइटा हवाईजहाजद्वारा उत्तरध्रुवको विशाल उजाडस्थानमा गए। दुवै हवाईजहाजका राज्य उद्घोषकहरूले सालाखाला ३,००० किलोमिटर लामो यात्रा गरेर सुमेरु क्षेत्रदेखि २५० किलोमिटर वरपरका १४ वटा विभिन्न सम्प्रदायकहाँ पुगे। यी अथक राज्य उद्घोषकहरूले दुगर्म इलाकाका मानिसहरू भेट्न सात दिनसम्म लगातार पसिना बगाए।
के त्यो परिश्रम सार्थक भयो त? बाइबल समाचारले उक्त सम्प्रदायहरूमा पारेको सकारात्मक प्रभावबारे विचार गर्नुहोस्। त्यहाँ गएका सेवकहरूले निकट भविष्यमा पार्थिव प्रमोदवन ल्याउने यहोवाको उद्देश्यबारे कुरा गरेर महत्त्वपूर्ण आध्यात्मिक खुराक दिए। (मत्ती ५:३) ती समाचारवाहकहरू फर्केपछि तिनीहरूले प्रस्तुत गरेका ५४२ वटा बाइबल तथा बाइबल अध्ययन सहायक साहित्य र ३,००० वटा पत्रिकाहरू उक्त सम्प्रदायका इमानदार हृदय भएका मानिसहरूले पढ्नसक्छन्।—प्रेरित १२:२४ तुलना गर्नुहोस्।
टेलिफोनद्वारा: शहरका हजारौं मानिसहरू अत्याधुनिक प्राविधिक सुरक्षा भएको निवासस्थानमा बस्छन्। तैपनि समर्पित राज्य उद्घोषकहरू जोस तथा बुद्धिमानीपूर्वक त्यहाँ पुग्छन्। तिनीहरू कसरी उक्त मानिसहरूकहाँ पुग्छन् त? व्यक्तिगत रूपमा कुरा गर्ने कोसिस गरेर। यद्यपि, अक्सर निवासस्थानको बरण्डामा राखिएको इन्टरकमबाट तिनीहरू कुरा गर्छन्। त्यसो गर्न सम्भव नभए, औंला नचाएर अर्थात् टेलिफोन गरेर कुरा गर्छन्।
एक बिहान एउटी वृद्ध आइमाईले फोन उठाइन्। फोन गर्ने व्यक्तिले छोटो तथा विनम्र अभिवादन गऱ्यो। त्यसपछि तिनले राति सडकमा डर नमानी हिंड्नसक्ने समय आउला जस्तो लाग्छ भनी उक्त आइमाईलाई प्रश्न गरे। तिनले उक्त आइमाईलाई भविष्यमा जताततै शान्ति नै शान्ति हुनेछ भनेर धर्मशास्त्र पढेर आश्वस्त गराए। (भजन ३७:१०, ११; दानियल २:४४; मत्ती ६:९, १०) परमेश्वरका प्रतिज्ञाहरू किन विश्वास गर्न सकिन्छ भनेर अर्को हप्ता त्यही समयमा टेलिफोनमा कुरा गर्न तिनी राजी भइन्। बाइबल अध्ययन सहायक साहित्यबाट अनुच्छेदहरू पढ्नुका साथै उपयुक्त प्रश्न गर्दै टेलिफोनद्वारा महिना दिनसम्म अध्ययन भयो। तत्पश्चात्, राज्य उद्घोषकले हरेक हप्ता विभिन्न प्रकारका धर्मोपदेश सुनाए बापत उक्त आइमाईले तिनको प्रशंसा गरिन्। उक्त आइमाईलाई बाइबल अध्ययन गर्ने पुस्तकको विषयमा बताउनुका साथै एक प्रति दिने अवसर मिल्यो। तब ती दुईले भेटघाट गर्ने प्रबन्ध मिलाए। साँच्चै, यहोवाका साक्षीहरूले मानिसहरूप्रतिको प्रेम प्रदर्शित गरेका छन्। अनि यी मसीही प्रचारकहरूका साथमा यहोवा हुनुहुन्छ भन्ने बुझेर मानिसहरूले असल प्रतिक्रिया देखाइरहेका छन्।—१ कोरिन्थी १४:२५ तुलना गर्नुहोस्।
साहित्यद्वारा: मुख्यतः फ्रान्सेलीभाषी बढी भएको क्युबेक प्रान्तका राज्य उद्घोषकहरू पनि मानिसहरू भएका ठाउँमा गइरहेछन्। एक परिभ्रमण सेवकले यस्तो अवलोकन गरे: “चर्चको घोर विरोधको कारण भाइहरूले वर्षौंसम्म प्रयास गर्दा पनि केही हात नलाग्ला भन्ठानेका थिए। तर भाइहरूले अथक परिश्रम तथा मानिसहरूसँग निरन्तर भेटघाट गरिरहेकाले धेरैले पहिले बाइबलको नाउँ नै नसुनेका र मुठीभर मानिसहरूले मात्र पढ्ने भए तापनि अहिले प्रायजसो सबैको घरमा बाइबल पढ्न थालिएको छ।”
क्युबेक समाजका चिकित्सकहरूलगायत हर स्तरका मानिसहरू नयाँ सुसमाचारक बनेका रोमाञ्चकारी परिणामहरू अनुभव गर्न सकिएको छ। एक डाक्टरको जीवनमा यस्तै भएको छ। तिनकी पत्नी राज्य उद्घोषक थिइन् र तिनीसँग बारम्बार बाइबल आशाबारे कुरा गर्थिन्। मण्डलीको एक सजग प्राचीनले रगतले तपाईंको जीवन कसरी बचाउनसक्छ? (अंग्रेजी) नामक पुस्तिका अध्ययन हुँदा उक्त डाक्टरलाई मण्डली सभामा आउने आग्रह गरे। तिनी आए अनि टिप्पणी पनि गरे। अध्ययनको आध्यात्मिक गहिराइ तथा गुणस्तरद्वारा प्रभावित भएर तिनी व्यक्तिगत बाइबल अध्ययन गर्न राजी भए। अहिले त तिनी राज्य उद्घोषक भइसकेका छन्।
बाइबलप्रति मानिसहरूको ध्यानाकर्षण गर्न पत्रिकाहरूले पनि ठूलो भूमिका निर्वाह गरेको छ। सच्चाइतर्फ आकर्षित गर्न कुन अंकले कसलाई प्रभाव पार्छ, कसैलाई थाह हुँदैन। सुसमाचार सुन्न नचाहे तापनि कीराफट्याङग्राबारे साह्रै चासो राख्ने छिमेकीलाई एक जना राज्य उद्घोषकले एउटा ब्यूँझनुहोस्! (अंग्रेजी) दिए। नोभेम्बर २२, १९९२ ब्यूँझनुहोस्! को “सागास रोग—मृत्युको चुम्बन” भन्ने लेखको चित्रले त्यस छिमेकीको चासो जगायो। उक्त लेखमा पढेका कुराहरूद्वारा प्रभावित भएर तिनले अरू पत्रिका मागिन्। तिनले बाइबल अध्ययन सुरु गरिन् र छ महिनाभित्र त अरूलाई साक्षी दिन थालिन्।
सार्वजनिक स्थानहरूमा: क्यानडाको कानुनले विमानस्थलजस्ता सार्वजनिक स्थानहरूमा बिना रोकटोक कुराकानी गर्न दिन्छ। राज्य उद्घोषकहरू हेलीफेक्स अन्तरराष्ट्रिय विमानस्थलमा विभिन्न विमानबाट आवतजावत गर्ने यात्रुहरूलाई बुद्धिमानीपूर्वक भेटेर कुरा गर्छन्। बाइबलबारे कुरा गर्न तिनीहरू समयसापेक्षिक प्रश्नहरू सोध्छन्। तिनीहरू खल्तीमा हाल्न मिल्ने बाइबल तथा साहित्यहरू लगेर आध्यात्मिक कुरा बाँडछन्। यसरी विमानस्थलमा शल्यचिकित्सक, वैज्ञानिक, अधिवक्ता, विमान चालक, पादरी, प्रहरी, ट्याक्सी चालक, इन्जिनियर, शिक्षकशिक्षिका, सैन्य कर्मचारी तथा विदेशी राजनीतिज्ञहरूले परमेश्वरको राज्यको सुसमाचार सुनेका छन्। फलतः तिनीहरूद्वारा सुदूर इलाकाहरूमा सच्चाइको बीउले जरा गाड्न पुगेको छ।—कलस्सी १:६.
एक दिन बिहान सबेरै एक जना पुरुषले प्रहरीधरहरा र ब्यूँझनुहोस्! पत्रिका स्वीकार गरे। तब तिनले शान्त र मधुर स्वरमा भने: “यहोवाको साक्षी, अहँ हुनसक्तैन!” किन यस्तो प्रतिक्रिया? तिनी मुसलमान भक्त थिए र भर्खरै मात्र विमानस्थलको प्रार्थनागृहमा प्रार्थना गरिरहेका थिए। तिनले बुद्धि, समझशक्ति र सच्चाइ देखाइ दिनुहोस् भन्दै परमेश्वरसँग बिन्ती गरेका थिए। आफ्नो प्रार्थनाको जवाफ नै यहोवाका साक्षीहरू भएको पाउँदा तिनी छक्क परे।
निस्सन्देह, परमेश्वरको राज्यको अनमोल सुसमाचार सुनाउन क्यानाडाका राज्य उद्घोषकहरूलाई कुनै कुराले पनि रोक्न सकेको छैन। तिनीहरूलाई न विदेशी भाषाले, न धुलाम्मे उजाड सडकले, न दुर्गमवर्ती सम्प्रदायले, न त कडा सुरक्षा व्यवस्था भएको शहरी निवासस्थानले नै रोकेका छन्। सच्चाइ खोज्ने इमानदार हृदय भएका मानिसहरूलाई परमेश्वरको जीवनदायी समाचार बताउन तिनीहरू कटिबद्ध छन्। तिनीहरू आफ्ना सहकर्मीहरूको विश्वव्यापी भ्रातृत्वसँससँगै ‘गएर चेला बनाओ’ भन्ने येशूको आज्ञा निष्कपटसाथ पालन गरिरहेका छन्।—मत्ती २८:१९.
[फुटनोट]
a पोनी एक्सप्रेस भनेको संयुक्त राज्यमा १८६० देखि १८६१ सम्म १८ महिना चलेको हुलाक सेवा हो।
[पृष्ठ २७-मा भएको पेटी]
सफल राज्य उद्घोषकहरू टेलिफोन सदुपयोग गर्छन्
कसै-कसैले यसरी कुरा सुरु गरेका छन्: “हेलो, मेरो नाउँ [आफ्नो नाउँ बताउनुहोस्] हो। कसरी शान्ति प्राप्त गर्न सकिएला भन्ने विषयमा म तपाईंको घरमा बस्ने मानिसहरूसँग छोटकरीमा कुरा गरिरहेछु। के तपाईंलाई विश्वव्यापी शान्ति कायम होला जस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्।] अप्ठ्यारो नमान्नुहोस्, म कुनै सर्वेक्षण या सामान बिक्री गर्ने होइन। बरु, म त परमेश्वरले पक्कै शान्ति ल्याउनुहुनेछ भनेर पवित्र धर्मशास्त्रमा पाइने कुरा पो बताउँदैछु।” त्यसपछि धर्मशास्त्र चलाउँदै छोटकरीमा कुरा गर्न सकिन्छ।
अरूले चाहिं यसरी कुरा थालेका छन्: “मेरो नाउँ [आफ्नो नाउँ बताउनुहोस्] हो। म तपाईंकै इलाकामा कार्यरत एक स्वयंसेवक हुँ। तपाईंको घरमा बस्ने मानिसहरूको विचार कस्तो रहेछ, बुझ्ने कोसिस गरिरहेछु। हाम्रो इलाकामा द्रुत गतिले बढ्दै गएको हिंसा तथा अपराधले गर्दा थुप्रै मानिसहरू आफ्नो सुरक्षाप्रति चिन्तित छन्। के तपाईं पनि यसबारे चिन्तित हुनुहुन्छ? [जवाफ दिने मौका दिनुहोस्।] के सारा संसारले सुरक्षाको मीठो सास फेर्ने समय आउला जस्तो तपाईंलाई लाग्छ? जवाफ दिने मौका दिनुहोस् र धर्मशास्त्रीय सन्देश बताउनुहोस्।