प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w98 ६/१५ पृ. २६-२९
  • साँचो इन्साफ—कहिले र कसरी?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • साँचो इन्साफ—कहिले र कसरी?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • त्रुटिपूर्ण इन्साफ
  • मानव कमजोरीहरू भएको मानव न्याय प्रणाली
  • “म, परमप्रभु चाहिं, न्यायलाई प्रेम गर्दछु”
  • के न्यायको लागि गरिएको पुकाराको सुनुवाइ हुनेछ?
    थप लेखहरू
  • “उहाँका सबै काम न्यायसङ्‌गत छन्‌”
    यहोवासित नजिक हुनुहोस्‌
  • यहोवाको अनुकरण गर्नुहोस्‌—न्याय र धार्मिकता व्यवहारमा उतार्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • यहोवा—साँचो न्याय र धार्मिकताका स्रोत
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
w98 ६/१५ पृ. २६-२९

साँचो इन्साफ—कहिले र कसरी?

साँचो इन्साफदेखि निर्दोषहरू डराउनुपर्ने कुनै कारण छैन। निस्सन्देह, इन्साफ दिन हरदम प्रयास गर्ने कानुनी व्यवस्था भएको देशका नागरिकहरू कृतज्ञ हुनुपर्ने थुप्रै कारणहरू छन्‌। त्यस्तो व्यवस्थामा नियमकानुन कार्यान्वयन गर्न प्रहरी अनि इन्साफ दिन अदालत हुन्छ। “उच्च अख्तियारवालाहरूका अधीनमा” बस्नू भन्‍ने बाइबलीय सल्लाहलाई ध्यानमा राख्दै साँचो मसीहीहरूले आफ्नो देशको न्याय प्रणालीको आदर गर्छन्‌।—रोमी १३:१-७.

तथापि, कतिपय मुलुकका न्याय प्रणालीका त्रुटिहरू हानिकारक हुनुका साथै आफैलाई अप्ठ्यारोमा पारेका छन्‌।a दोषीलाई सजाय र निर्दोषलाई सुरक्षा दिनुको साटो कहिलेकाहीं निर्दोषहरूले आफूले गर्दै नगरेको अपराधको सजाय भोग्नुपरेका छन्‌। अरू कसै कसैले दण्ड सजाय समाप्त हुनुअगावै तिनी दोषी हुन्‌ या होइनन्‌ र तिनीमाथि लगाइएको अभियोग सही हो या होइन भन्‍ने गम्भीर शंकाहरूबीच वर्षौं कारागारमा बिताइसकेपछि रिहा भएका छन्‌। तसर्थ, थुप्रैले यस्तो प्रश्‍न गर्दैछन्‌, के सबैले साँचो इन्साफ पाउने दिन कहिल्यै आउला? आउँछ भने, कहिले र कसरी? निर्दोषहरूका सुरक्षाको निम्ति कसमाथि भरोसा गर्ने? अन्यायका शिकार भएकाहरूका निम्ति के आशा छ?

त्रुटिपूर्ण इन्साफ

सन्‌ १९८० को दशकमा जर्मनीमा “युद्धपछिको सबैभन्दा सनसनीपूर्ण कानुनी प्रक्रिया” भयो जब एउटी आमालाई आफ्ना दुई छोरीहरूको हत्या गरेको अभियोगमा जन्मकैद दिइयो। तथापि, तिनीमाथि लगाइएका अभियोगहरू वर्षौंपछि फेरि छानबिन गरियो र नयाँ मुद्दा नहोञ्जेल तिनलाई मुक्‍त गरियो। पहिला सुनाइएको फैसला “न्यायिक गल्ती पनि हुनसक्छ” भनी  दि जाइट-ले १९९५ मा रिपोर्ट गऱ्‍यो। यस लेख तयार पारुञ्जेल उक्‍त स्त्रीले तिनी वास्तवमा दोषी हुन्‌ या निर्दोष भन्‍ने शंका उपशंकाबीच नौ वर्ष झ्यालखानामा बिताइसकेकी थिइन्‌।

सन्‌ १९७४ नोभेम्बरको एक साँझ इंगल्याण्ड, बर्मिङह्‍याममा दुइटा ठूलो बम विष्फोट भयो जसले २१ जनाको ज्यान लियो। सांसद क्रिस म्युलेनले यसो लेखे: “बर्मिङह्‍यामवासी कोहीले पनि यो घटना बिर्सिनेछैनन्‌।” पछि, “बेलायतको इतिहासमै सबैभन्दा ठूलो हत्याकाण्डमा छ जना निर्दोष व्यक्‍तिहरूलाई दोषी ठहराइयो।” तिनीहरूमाथि लगाइएको अभियोग पछि बदर त गरियो तर त्यतिञ्जेल ती मानिसहरूले कारागारमा १६ वर्ष बिताइसकेका थिए!

“अष्ट्रेलियाली कानुनी इतिहासको रेकर्डमै अद्वितीय रूपमा जनसाधारणको ध्यान खिच्न सफल” भएको मुद्दाबारे कानुनी सल्लाहकार केन क्रिसपेनले बताए। आयर्स रकसँगै पाल टाँगेर बसेका एउटा परिवारको बच्चा हरायो र कहिल्यै फेला परेन। आमामाथि हत्याको मुद्दा लगाइयो, दोषी ठहराइयो र आजीवन कैद दिइयो। तीन वर्ष कैदमा बिताएपछि १९८७ मा गरिएको सरकारी जाँचबूझबाट तिनीमाथि लगाइएको अभियोग न्यायोचित नभएको प्रमाणहरू पाइयो। तिनलाई रिहा गर्नुका साथै दोषमुक्‍त गरियो।

सन्‌ १९८६ मा संयुक्‍त राज्यको दक्षिणी भागकी १८ वर्षीया युवतीको हत्या भयो। एक अधबैंसे मानिसमाथि हत्याको अभियोग लगाइयो, दोषी ठहराइयो र ज्यान सजाय सुनाइयो। मृत्युदण्ड पाएकाहरूलाई राख्ने झ्यालखानामा छ वर्ष बिताइसकेपछि तिनी त्यस अपराधमा कुनै तरिकाले पनि संलग्न नभएको पत्ता लाग्यो।

के यस्ता न्यायिक गल्तीहरू कहिलेकाहीं फाट्टफुट्ट मात्र हुने गर्छन्‌? युनिभर्सिटी अफ पेन्सिलभेनिया ल स्कूलका डेभिड रुडोफ्स्की भन्छन्‌: “म कानुन व्यवसायमा लागेको २५ वर्ष भइसक्यो र थुप्रै मुद्दाहरू देखेको पनि छु। मेरो अनुमानमा दोषी ठहराइएका पाँच देखि १०% मानिसहरू . . . वास्तवमा निर्दोष हुन्छन्‌।” क्रिसपेन यस्तो खल्बल्याउँदो प्रश्‍न गर्छन्‌: “दिक्क भएर जेलका कोठरीहरूमा बसिरहेका अरू निर्दोष मानिसहरू पनि छन्‌ कि?” त्यस्ता दुःखलाग्दा गल्तीहरू कसरी हुनसक्छन्‌?

मानव कमजोरीहरू भएको मानव न्याय प्रणाली

सन्‌ १९९१ मा बेलायती पुनरावेदन अदालतले “कुनै मानव व्यवस्थाबाट सिद्धता आशा गर्न सकिंदैन,” भन्‍ने तथ्यलाई जोड दियो। कुनै पनि न्याय प्रणाली यसलाई रचना तथा लागू गर्ने व्यक्‍ति जत्तिको मात्रै न्यायी र भरपर्दो हुनसक्छ। मानिसहरूबाट गल्ती, बेइमानी र पूर्वाग्रह त हुन्छ नै। तसर्थ, मानव न्याय प्रणालीले ठीक यस्तै गल्ती गर्दा छक्क मान्‍नुपर्ने कुनै कारण छैन। निम्न कुरालाई विचार गर्नुहोस्‌।

जर्मनीका न्यायाधीश रोल्फ बेन्डरअनुसार ९५ प्रतिशत अपराध मुद्दाहरूमा प्रमाणको रूपमा गवाहीहरूले दिएको बयानले निर्णायक भूमिका खेल्छ। तर के त्यस्ता साक्षीहरू सधैं भरपर्दा हुन्छन्‌ त? न्यायाधीश बेन्डरको विचारमा सबै भरपर्दा नहुन पनि सक्छन्‌। तिनको अनुमानमा अदालतमा हाजिर हुने आधाभन्दा बढी मानिसहरूले झूटा बयान दिन्छन्‌। जर्मनीको म्युनिक विश्‍वविद्यालयमा अपराधशास्त्रका प्राध्यापक बर्न्ट शुनेमानले पनि त्यस्तै अवलोकन गरे। दि जाइट-लाई दिएको अन्तरवार्तामा शुनेमानले कुनै पनि अपराध मुद्दामा साक्षीको बयान अत्यन्तै महत्त्वपूर्ण हुने तर त्यो सधैं भरपर्दो नहुने कुरा स्वीकारेका छन्‌। “मेरो विचारमा इन्साफ दिंदा गल्ती हुने प्रमुख कारण नै न्यायाधीशले साक्षीहरूको झूटा बयानमा बढी भर परेर हो।”

साक्षीहरूले गल्ती गर्नसक्छन्‌ र प्रहरी पनि त्यस्तै हुन्‌। विशेषगरि, जनता आक्रोशित भएको मुद्दाहरूमा प्रहरीहरूले छिट्टै कसैलाई पक्रनुपर्ने दबाब महसुस गर्छन्‌। त्यस्तो परिस्थितिमा प्रमाणहरू रच्न वा अभियुक्‍तलाई जबरजस्ती अपराध स्वीकार्न लाउने जस्ता कार्य प्रहरीहरूले नगरेका होइनन्‌। बर्मिङह्‍याम बम काण्डका छ जना अभियुक्‍तलाई मुक्‍त गर्दा बेलायती अखबार दि इन्डिपेनडेन्ट-ले आफ्नो शीर्षसमाचारमा यस्तो बतायो: “छ अभियुक्‍तलाई दोषी ठहऱ्‍याउनुपछाडि भ्रष्ट प्रहरीको हात।” द टाइम्स्‌ अनुसार: “प्रहरीले झूट बोले, षड्यन्त्र रचे र झुक्काए।”

कुनै कुनै मुद्दामा पूर्वाग्रहले गर्दा बेग्लै जात, धर्म वा राष्ट्रका व्यक्‍तिहरूमाथि प्रहरी र जनताले शंकाको दृष्टिले हेर्छन्‌। यु. एस. न्युज एण्ड वर्ल्ड रिपोर्ट-ले बताएझैं अपराध मुद्दा छिनफान हुनुको साटो “निराधार जातीय विवाद” हुन जान्छ।

मुद्दा अदालतमा पुगेपछि गवाहीहरूको बयानमा मात्र नभई वैज्ञानिक प्रमाणहरूमा पनि फैसलाहरू आधारित हुन्छन्‌। झन्‌ झनै गहन हुँदै गएको फोरेनसिक क्षेत्रमा प्रापेक्षिक वा अँगुठाको छाप, हस्तलिपि, रगत समूह, केशको रंग, कपडाको प्रकार वा डि एन ए नमुनाहरूका आधारमा दोषी वा निर्दोष ठहराउन न्यायाधीश वा न्यायिक समितिलाई बोलाइन्छ। एक वकिलले बताएअनुसार अदालतमा “वैज्ञानिकहरूले थोपरेका बुझ्नै नसकिने जटिल विवरणहरूका आधारमा निर्णय गर्नुपर्ने हुन्छ।”

यसबाहेक, सबै वैज्ञानिकहरू फोरेनसिक प्रमाणहरूमा सहमत हुँदैनन्‌ भनी नेचर पत्रिका टिप्पणी गर्छ। “फोरेनसिक वैज्ञानिकहरूबीच निष्कपट भतभेद पनि हुनसक्छ।” दुःखको कुरा, “त्रुटिपूर्ण फोरेनसिक प्रमाणहरू थुप्रै त्रुटिपूर्ण अभियोगका निम्ति दोषी भइसके।”

हामी जहाँसुकै बसे तापनि सबै न्याय प्रणालीहरूले मानव कमजोरी प्रदर्शित गर्छन्‌। त्यसोभए, निर्दोषहरूका सुरक्षाको निम्ति हामीले कसमाथि भरोसा गर्ने त? के हामीले कहिल्यै साँचो इन्साफ पाउने आशा गर्नसक्छौं? न्यायिक गल्तीका शिकार भएकाहरूलाई के आशा छ?

“म, परमप्रभु चाहिं, न्यायलाई प्रेम गर्दछु”

तपाईं वा तपाईंको परिवारको सदस्य त्रुटिपूर्ण इन्साफको शिकार भएको छ भने यहोवा परमेश्‍वर अनि उहाँका पुत्र येशूले तपाईंको मर्का बुझ्नुहुन्छ। ख्रीष्टलाई शूलीमा झुन्ड्याएर मारिंदा इतिहासमै सबैभन्दा ठूलो अन्याय भएको थियो। येशूले “नता कुनै पाप गर्नुभयो” भनी प्रेरित पत्रुस बताउँछन्‌। तैपनि, उहाँलाई झूटा गवाहीहरूको आधारमा दोषी ठहऱ्‍याइयो र ज्यान सजाय दिइयो।—१ पत्रुस २:२२; मत्ती २६:३, ४, ५९-६२.

आफ्ना पुत्रमाथि यस्तो दुर्व्यवहार गरिंदा यहोवाले कस्तो महसुस गर्नुभयो होला कल्पना गर्नुहोस्‌ त! यहोवाका प्रमुख गुनहरूमध्ये एउटा न्याय पनि हो। बाइबल यसो भन्छ: “उहाँका सबै काम न्यायसँगत छन्‌।”—व्यवस्था ३२:४; भजन ३३:५.

यहोवाले इस्राएललाई उल्लेखनीय न्याय प्रणाली दिनुभएको थियो। कुनै ज्यान मुद्दाको छिनफान हुन नसकेको खण्डमा बलि चढाएर मृत्युको प्रायश्‍चित गरिन्थ्यो। अपराध मुद्दा छिनफान गर्न निर्दोष व्यक्‍तिमाथि अभियोग लगाउनुपर्ने दबाब थिएन। अप्रत्यक्ष वा वैज्ञानिक प्रमाणहरूका आधारमा मात्रै दोषी ठहऱ्‍याउन पाइँदैनथ्यो, कम्तीमा पनि दुई प्रत्यक्षदर्शीहरू हुनुपर्थ्यो। (व्यवस्था १७:६; २१:१-९) यी उदाहरणबाट यहोवाका स्तरहरू उच्च छन्‌ र उहाँ उचित इन्साफ चाहनुहुन्छ भनी स्पष्ट हुन्छ। हो, उहाँ यसो भन्‍नुहुन्छ: “म, परमप्रभु चाहिं, न्यायलाई प्रेम गर्दछु।”—यशैया ६१:८.

निस्सन्देह, इस्राएलको न्याय प्रणाली हाम्राजस्तै कमजोरीहरू भएका मानिसहरूकै हातमा थियो। त्रुटिपूर्ण इन्साफ पनि दिइएका थिए। राजा सुलेमानले यसरी लेखे: “यदि तैंले कुनै प्रान्तमा गरीबको अत्याचार भएको औ त्यसको अधिकारी र न्याय इन्कार भएको देखिस्‌ भने जे भइरहेको छ त्यसमा अचम्म नमान्‌।”—उपदेशक ५:८.

यहोवाले आफ्ना पुत्रमाथि भएको अन्यायलाई सच्याउन सक्नुभयो। यसबारे पूर्णतया विश्‍वस्त भएको कारण येशूले “उहाँको सामने राखिदिएको आनन्दको निम्ति शर्मलाई घिन गरेर क्रूसको शासना भोग्नुभयो।” त्यस्तैगरि, साँचो न्याय प्रबल हुने मसीही राज्य अन्तर्गत प्रमोदवनमा आनन्दसाथ बस्न पाउने आशाले पनि हामीलाई यस दुष्ट रीतिरिवाजमा अन्याय सहन मदत दिनसक्छ। यहोवाले आफ्नो तोकिएको समयमा जस्तोसुकै हानि वा नोक्सानीलाई पनि सच्याउन सक्नुहुन्छ। न्यायिक गल्तीको कारण ज्यान गुमाउन परेकाहरूका निम्ति समेत पुनरुत्थानको आशा छ।—हिब्रू १२:२; प्रेरित २४:१५.

हामी त्यस्तै कुनै बेइन्साफको शिकार भएका खण्डमा थुप्रै न्याय प्रणालीहरूमा त्यस्ता गल्तीलाई स्वीकार्ने कानुनी प्रावधानहरू भएकोमा हामी कृतज्ञ हुनसक्छौं। मसीहीहरूले त्यस्ता प्रावधानहरूको प्रयोग गर्नसक्छन्‌। तथापि, तिनीहरू यस यथार्थलाई पनि बिर्संदैनन्‌: असिद्ध न्याय प्रणाली आमूल परिवर्तनको खाँचोमा परेको सम्पूर्ण मानव समाजको सानो नमुना मात्र हो। त्यो परिवर्तन परमेश्‍वरले चाँडै ल्याउँदै हुनुहुन्छ।

यहोवाले चाँडै यस अन्यायी दुष्ट रीतिरिवाजलाई नाश गर्नुहुनेछ अनि “धार्मिकताले बास” गर्ने नयाँ संसार स्थापना गर्नुहुनेछ। अनि त्यतिबेला हाम्रा सृष्टिकर्ताले मसीही राजा येशू ख्रीष्ट मार्फत इन्साफ गर्नुहुनेछ भनी निर्धक्क हुनसक्छौं। सबैले साँचो इन्साफ पाउने समय आउनै लागेको छ! यस आशाको निम्ति हामी अत्यन्तै कृतज्ञ हुनसक्छौं।—२ पत्रुस ३:१३.

[फुटनोट]

a यस लेखमा उल्लिखित परिस्थितिहरूमा प्रहरीधरहरा-ले कुनै व्यक्‍ति दोषी वा निर्दोष छ भनी बताउन खोजेको होइन नता यस पत्रिकाले कुनै देशको न्याय प्रणाली अर्को देशको भन्दा उत्तम छ भनी देखाउन खोजेको नै हो। यसबाहेक, यस पत्रिकाले कुनै पनि प्रकारको सजायको पक्ष लिंदैन। यसले केवल यो लेख तयार पारुञ्जेल थाह हुन आएका तथ्यहरू प्रस्तुत गरेको छ।

[पृष्ठ २७-मा भएको चित्र]

असिद्ध न्याय प्रणालीलगायत भ्रष्ट सरकार, पतित धर्म तथा नीतिच्युत अर्थतन्त्रले मानव समाजलाई आमूल परिवर्तनको खाँचो परेको संकेत गर्छ

[पृष्ठ २८-मा भएको पेटी]

नोभेम्बर १९५२ मा डेरेक बेन्टले र क्रिस्टोफर क्रेग इंगल्याण्ड लन्डन नजिकै क्रोइडनको गोदाम लुट्‌न गए। बेन्टले १९ वर्ष र क्रेग १६ वर्षका थिए। प्रहरीलाई बोलाइयो र क्रेगले एक जना प्रहरीलाई गोली हानेर मारे। क्रेगले नौ वर्ष कारागारमा बिताए भने बेन्टलेलाई जनवरी १९५३ मा उक्‍त हत्याको लागि झुन्ड्याइयो।

बेन्टलेकी दिदी आइरिसले आफ्नो भाइलाई निर्दोष साबित गर्न ४० वर्षसम्म हर प्रयास गरिन्‌। डेरेक बन्टलेलाई झुन्डाउनुपर्ने नै थिएन भनी स्वीकार्दै सन्‌ १९९३ मा सरकारले दोष फिर्ता लियो। आइरिस बेन्टलेले तिनले इन्साफ पाऊन्‌ नामक (अंग्रेजी) पुस्तकमा त्यस मुद्दाबारे लेखिन्‌:

“त्यस गोली काण्डको झन्डै एक वर्षअघि तिनले बाटोमा यहोवाका साक्षीहरू भेटेका थिए। . . . बहिनी लेन हाम्रो घरसँगै फेरभ्यु रोडमा बस्नुहुन्थ्यो र डेरेकलाई समय समयमा बाइबल कथाहरू सुन्‍न बोलाउनुहुन्थ्यो। . . . [डेरेकले राम्ररी पढ्‌न नसक्ने हुँदा] बहिनी लेनले बाइबल कथाहरूको क्यासेट डेरेकलाई दिनुभएको थियो। . . . अनि आफूले सुनेको कुरा मलाई बताउँथे, जस्तै पुनरुत्थानबारे पनि तिनले मलाई भनेका थिए।”

झुन्ड्याइनुअघि आइरिस बेन्टलेले आफ्नो भाइलाई भेटेकी थिइन्‌। तिनले कस्तो महसुस गरे? “बहिनी लेनले भनेका कुराहरूबाट मर्नअघिका दुई चार दिन बिताउन तिनले मदत पाए।”—तेर्सो अक्षर हाम्रो।

त्रुटिपूर्ण इन्साफको कारण तपाईंले दुःख भोग्नुभएको छ भने बाइबल सत्यहरू पढ्‌नु र त्यसबारे मनन गर्नु बेस हुनेछ। यसबाट हामीले सान्त्वना पाउनेछौं किनभने यहोवा परमेश्‍वर “कृपाका पिता, र सबै सान्त्वनाका परमेश्‍वर धन्यका हुनुहुन्छ। परमेश्‍वरबाट जुन सान्त्वना हामीले पाएका छौं, त्यही सान्त्वनाले कुनै पनि सङ्‌कष्टमा हुनेहरूलाई सान्त्वना दिनसकौं भनेर हो। उहाँले हाम्रा सबै सङ्‌कष्टमा सान्त्वना दिनुभएको छ।”—२ कोरिन्थी १:३, ४.

[पृष्ठ २९-मा भएको पेटी]

ख्रीष्टलाई शूलीमा झुन्ड्याएर मारिंदा इतिहासमै सबैभन्दा ठूलो अन्याय भएको थियो

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने