के मरियमको स्वाभाविक मृत्यु भएको थियो?
भ्याटिकन अखबार लोसारभाटोरा रोमानो-अनुसार मरियमको स्वर्गारोहणबारे क्याथोलिक सिद्धान्त यसो भन्छ: “सुरुको पापको कुनै खोट नलागेकी निष्खोट कुमारीको पार्थिव जीवन अन्त भएपछि उनको शरीर र आत्मा स्वर्गीय महिमामा लगियो।” यो शिक्षाले गर्दा कोही कोही क्याथोलिक धर्मविज्ञानीहरू “मरियमको मृत्यु भएन र पार्थिव जीवनबाट तुरुन्तै स्वर्गीय महिमामा लगियो” भन्ने दाबी गर्छन् भनी उक्त पत्रिकाले बताउँछ।a
हालै, पोप जोन पल द्वितीयले यस विषयमा बेग्लै जानकारी प्रदान गरे। जून २५, १९९७ मा भ्याटिकनको साधारण सभामा तिनले यसो भने: “मरियमको मृत्युबारे नयाँ नियमले कुनै जानकारी प्रदान गरेको छैन। यससम्बन्धी विशेष जानकारीको अभावले गर्दा मरियमको मृत्यु स्वाभाविक कारणले भयो र त्यस्तो कुनै उल्लेखनीय घटना पनि भएको थिएन भन्ने अनुमान लगाउँछौं। . . . तिनको मृत्यु स्वाभाविक कारणले गर्दा भएको होइन भन्ने धारणा निराधार देखिन्छ।”
पोप जोन पलको भनाइले निष्खोट गर्भाधारणको सिद्धान्तमा फाटो ल्याउँछ। येशूकी आमालाई “सुरुको पापबाट अलग पारिएको थियो” भने पापी आदमको पापबाट हुने “स्वाभाविक कारणहरूबाट” मरियमको मृत्यु भएको होला र? (रोमी ५:१२) येशूकी आमाबारे क्याथोलिक चर्चको विकृत दृष्टिकोणले गर्दा यो धर्मसैद्धान्तिक संकट आइपरेको हो। यसबारे क्याथोलिक चर्चभित्रै विभाजन र अन्योल आइपर्नु कुनै अचम्मको कुरा होइन।
बाइबलले मरियमलाई नम्र, विश्वासी र भक्त स्त्रीको रूपमा चित्रण गरे तापनि ती गुणहरू “निष्खोट गर्भाधारण”-सित गाभिएको छैन। (लूका १:३८; प्रेरित १:१३, १४) बाइबलले केवल यसो भन्छ: “सबैले पाप गरेका छन्, र परमेश्वरको महिमारहित हुनगएका छन्।” (रोमी ३:२३) हो, आम मानवजातिजस्तै मरियम पनि पापी र असिद्ध थिइन् र तिनी स्वाभाविक कारणले नभई अन्य कारणले मरिन् भन्ने कुनै प्रमाण पाइँदैन।—१ यूहन्ना १:८-१० तुलना गर्नुहोस्।
[फुटनोट]
a फेब्रुअरी १५, १९९४ प्रहरीधरहरा (अंग्रेजी), पृष्ठ २६-९ मा “मरियमको स्वर्गारोहण—परमेश्वरले प्रकट गर्नुभएको सिद्धान्त?” लेख हेर्नुहोस्।