प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w98 ८/१५ पृ. २१-२४
  • ज्वालामुखीको आसपासमा जीवन यापन र प्रचारकार्य

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ज्वालामुखीको आसपासमा जीवन यापन र प्रचारकार्य
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • उपशीर्षकहरू
  • ज्वालामुखीको खतरा
  • यहोवाका साक्षीहरू सक्रिय छन्‌
  • तपाईं कसरी तयार हुन सक्नुहुन्छ?
  • विस्तृत तवरमा चेताउनी
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
w98 ८/१५ पृ. २१-२४

ज्वालामुखीको आसपासमा जीवन यापन र प्रचारकार्य

“यो असाध्यै डरलाग्दो अनुभव हो। यो अनुभव त बाइबलले बताएको संसारको अन्त भएजस्तै हो। हामी सचेत हुनैपर्छ अनि यहोवा परमेश्‍वरसँग सधैं राम्रो सम्बन्ध हुनुपर्छ।” मेक्सिकोस्थित साधारणतया पोपो भनिने पोपोकाटेपेटल ज्वालामुखी नजिकै जीवन यापन गर्नुपर्ने अनुभव बिक्टर नामक यहोवाको साक्षी त्यसरी बताउँछन्‌।

गडगडाउने यो ज्वालामुखी १९९४ देखि अन्तरराष्ट्रिय समाचार बनेको छ।a सम्बन्धित अधिकारीहरूको निष्कर्षअनुसार ज्वालामुखीको मुखदेखि ३० किलोमिटर वरिपरिका सबै कुराहरू अत्यन्तै खतरापूर्ण क्षेत्रमा पर्छन्‌। विशेषगरि, ज्वालामुखीको दक्षिणी मोहडा खतरापूर्ण छ किनकि ज्वालामुखीको मुख त्यतैतिर ढल्किनुका साथै अनेकन्‌ गहिरा खोंचहरू छन्‌ जहाँबाट लाभा र हिलो बग्नसक्छ।

यो ज्वालामुखीको भयानक विस्फोट भयो भने मेक्सिको शहरको हालत के होला भनी थुप्रैले सोच्नु स्वाभाविकै हो। के यो शहर खतरामा छ त? ज्वालामुखीको दक्षिणपट्टि अवस्थित मोरेलस प्रान्तमा पनि मानिसहरू छन्‌। के यस इलाकाका मानिसहरू पनि खतरामा छन्‌? अनि जुनसुकै दिन जे पनि हुनसक्ने खतरा भएको ज्वालामुखीको आसपासमा जीवन यापन गर्नु कस्तो होला?

ज्वालामुखीको खतरा

मेक्सिको शहर पोपोकाटेपेटलको उत्तर-पश्‍चिमपट्टि करिब ७० किलोमिटर पर अवस्थित छ। तैपनि, केही उपनगरहरू भने पोपोकाटेपेटलभन्दा ४० किलोमिटर मात्र टाढा छन्‌। दुई करोड जनसंख्या रहेको यो महानगर प्राविधिक दृष्टिकोणअनुसार खतरापूर्ण क्षेत्रमा पर्दैन। तथापि, ज्वालामुखीबाट निकै धेरै खरानी निस्क्यो र हावा पनि महानगरतिरै बह्‍यो भने असर गर्नसक्छ।

साधारणतया, ज्वालामुखीबाट निस्केको खरानीको असर ज्वालामुखीको पूर्वपट्टि सबैभन्दा बढी देखिन्छ। यो खतरापूर्ण क्षेत्रमा पुब्ला शहर र अन्य थुप्रै ठूलासाना शहरहरू पर्छन्‌ जहाँ लगभग २,००,००० मानिसहरू बसोबास गर्छन्‌। मे ११, १९९७ आइतबारको दिन ज्वालामुखीले टनका टन खरानी हावामा फ्याँक्यो अनि ती ठाउँहरूमा र ज्वालामुखीदेखि ३०० किलोमिटरभन्दा टाढा पूर्वपट्टि अवस्थित भेराक्रुज प्रान्तसम्म छरियो। ज्वालामुखीको दक्षिणपट्टि अवस्थित मोरेलस प्रान्तमा थुप्रै ठूलासाना शहरहरू छन्‌ जहाँ करिब ४०,००० जनसंख्या छ। यी शहरहरू पनि अति खतरापूर्ण क्षेत्रभित्रै पर्नसक्छन्‌।

यस्तो परिस्थितिमाझ यहोवाका साक्षीहरू जीवन बिताइरहेका छन्‌ र काम पनि गरिरहेका छन्‌। तिनीहरूमध्ये ९०,००० भन्दा बढी साक्षीहरू मेक्सिको शहरका लगभग १,७०० मण्डलीमा छन्‌। वाच टावर सोसाइटीको शाखा कार्यालय मेक्सिको शहरबाहिर उत्तर-पूर्वपट्टि ज्वालामुखीदेखि करिब १०० किलोमिटर टाढामा अवस्थित छ। विशाल निर्माण कार्यमा संलग्न करिब ५०० स्वयंसेवकहरूका अलावा ८०० भन्दा बढी स्वयंसेवकहरू शाखा कार्यालयमा सेवारत छन्‌। तिनीहरू खतरामुक्‍त क्षेत्रमा छन्‌।

मोरेलस प्रान्तमा यहोवाका साक्षीहरूका लगभग ५० मण्डली छन्‌ र त्यहाँ परमेश्‍वरका २,००० भन्दा बढी राज्य प्रचारकहरू छन्‌। तीमध्ये कुनै कुनै मण्डली त ज्वालामुखीको मुखदेखि मात्र २० किलोमिटर टाढा पर्ने टेट्‌ला डेल बोल्केन र वेयापनमा छन्‌। यसबाहेक, ज्वालामुखीको पूर्वपट्टि पर्ने पुब्ला प्रान्तमा पनि मण्डली र लगभग ६०० प्रकाशकहरू छन्‌। तिनीहरू ज्वालामुखीदेखि २०-३० किलोमिटर टाढा पर्छन्‌। निस्सन्देह, यी ठाउँहरू अति खतरापूर्ण हुनसक्छन्‌।

यहोवाका साक्षीहरू सक्रिय छन्‌

सधैं डरैडरमा जीवन बिताउनुपरे तापनि यहोवाका साक्षीहरूले उक्‍त इलाकाहरूमा प्रचार गर्न छाडेका छैनन्‌। तिनीहरूले मसीही सभाहरू पनि कायमै राखेका छन्‌। यी सभाहरूले तिनीहरूलाई प्रतिकूल परिस्थितिमा पनि एकताबद्ध हुन र विश्‍वासमा अघि बढ्‌न मदत गरेको छ। (हिब्रू १०:२४, २५) एउटा मण्डलीको रिपोर्ट यसो भन्छ: “परमेश्‍वरको राज्य सुसमाचारप्रति मानिसहरूको मनोवृत्तिमा उल्लेखनीय परिवर्तन आएको छ। उदाहरणका लागि, हालै एउटा सानो गाउँमा १८ जना गृह बाइबल अध्ययन गर्न राजी भएका छन्‌।”

ज्वालामुखीदेखि २० किलोमिटर टाढामा रहेको अर्को मण्डलीको रिपोर्ट यस्तो छ: “उल्लेखनीय प्रगति भइरहेको छ। नोभेम्बर १९९६ मा मण्डली स्थापना भएको थियो। त्यसपछि छ महिनाभित्रमै १० जना क्षेत्र सेवकाईमा भाग लिन योग्यका भए। कोही कोही प्रकाशकहरू त ज्वालामुखीको मुखदेखि मात्र २० किलोमिटर टाढामा बस्छन्‌। त्यहाँ मसीही सभाहरू सञ्चालन भइरहेका छन्‌ र ४० जना जति उपस्थित हुन्छन्‌।”

ज्वालामुखीदेखि मात्र २५ किलोमिटर टाढा पुब्लास्थित सान अगस्टिन एक्सटविक्सलामा बस्ने मग्दलाना बाइबल अध्ययन सञ्चालन गर्न अति सक्रिय छिन्‌। एकचोटि ठूलो ज्वालामुखी विस्फोट भएपछि के भयो, तिनी यसरी बताउँछिन्‌।

“हामीलाई घरबाट भाग्ने सूचना दिइयो, भाग्दा खरानीको मुस्लो झरिरहेको थियो। यस्तो संकटकालीन परिस्थितिमा पनि मसँग बाइबल अध्ययन गरिरहेका डराडो परिवारलाई सम्झें। डराडो परिवारलाई सुरक्षित स्थानमा लग्न अन्य केही भाइहरूसँग तिनको घर गएँ। पुब्ला नजिकै शहरमा यहोवाका साक्षीहरूको उद्धार टोलीले उद्धारकार्य सुरु गरिसकेको थियो। त्यहाँ हामीहरूप्रति देखाएको व्यवहारले गर्दा डराडो परिवार साह्रै प्रभावित भयो। हाम्रा मसीही भाइहरूले पहिल्यै प्रबन्ध मिलाएका विभिन्‍न ठाउँमा हामी बसोबास गऱ्‍यौं। घरदेखि कोशौं टाढा भए तापनि हामीलाई कुनै कुराको अभाव भएन। यो परिवार राज्यभवनमा केही सभाहरूमा उपस्थित भएको थियो तर कहिल्यै भेटघाटै नभएका भाइहरूको प्रेम देखेर तिनीहरू आश्‍चर्यचकित भए। हामी आ-आफ्नो घर फर्केको केही हप्तापछि त यो परिवार सबै सभाहरूमा नियमित तवरमा उपस्थित हुनथाल्यो। थोरै समयभित्रै तिनीहरू सुसमाचार प्रचार गर्ने प्रकाशक बन्‍न योग्यका भए। तिनीहरूमध्ये दुई जनाले त बप्तिस्मा पनि लिइसकेका छन्‌। तिनीहरूले सहायक अग्रगामी गरेको केही महिना भइसक्यो अनि अब नियमित अग्रगामी गर्ने योजना बनाइरहेका छन्‌।”

ज्वालामुखीको मुखदेखि २१ किलोमिटर टाढा बस्ने २० वर्षीया मार्थालाई प्रचार गर्ने मौकाको फाइदा उठाउन शारीरिक कमजोरीले रोकेको छैन। उनले तीन वर्षअघि ज्वालामुखी पुनः क्रियाशील हुँदा सच्चाइ सिकेकी थिइन्‌। उनी बसोबास गर्ने भिरालो इलाकामा ह्वीलचेर गुडाउनु गाह्रो भएकोले गधा चढेर प्रचारकार्यमा जान्छिन्‌। उनी सभाहरू पनि गधा चढेर जान्छिन्‌। मायालु भ्रातृत्वको भाग हुन पाएकीमा मार्था यहोवाप्रति अत्यन्तै कृतज्ञ छिन्‌ किनकि उनी मण्डलीका बहिनीहरूको मदतद्वारा मात्र गधा चढ्‌न र झर्न सक्छिन्‌। उनी क्षेत्र सेवकाईमा हरेक महिना १५ घण्टाभन्दा बढी समय बिताउँछिन्‌।

यो पृथक्‌ इलाकाका यहोवाका साक्षीहरूलाई अक्सर छिमेकीहरूले धार्मिक दिवसमा भाग लिने दबाब दिन्छन्‌। ज्वालामुखीदेखि २० किलोमिटर टाढा टुल्सिन्गो नाउँ भएको सानो गाउँमा उत्सवहरू मनाउनका लागि यहोवाका साक्षीहरूबाट चन्दा संकलन गर्न एक व्यक्‍ति खटाइएको थियो। भाइहरूले ती धार्मिक दिवसहरूमा भाग नलिनुको कारण शान्तसित बताए। उक्‍त व्यक्‍ति भाइहरूबाट पैसा खुस्काउन यत्ति प्रयत्नशील थिए कि तिनी भाइहरूसँग संगतसमेत गर्नथाले र उनीहरूको विश्‍वासबारे केही बुझे पनि। तिनका प्रश्‍नहरूका जवाफ आफ्नै क्याथोलिक बाइबलमा पाउँदा तिनी खुसी भए। तिनी आफ्नी पत्नी र छोरीसँग नियमित तवरमा सभाहरूमा उपस्थित हुनथालेको वर्ष दिन भइसक्यो। अनि तिनले सुसमाचार प्रचार गर्न प्रकाशक बन्‍ने इच्छा पनि जाहेर गरेका छन्‌।

तपाईं कसरी तयार हुन सक्नुहुन्छ?

उक्‍त खतरनाक पोपोकाटेपेटलबारे अध्ययन गरेर ज्वालामुखीविद्‌हरू आधिकारिक रिपोर्ट पेस गर्छन्‌। तर कहिले के हुने हो, कसैलाई पनि पक्का थाह छैन। सञ्चारमाध्यम र पोपोकाटेपेटल नजिकका मानिसहरूअनुसार कुनै पनि समय ज्वालामुखी विस्फोट हुनसक्छ। त्यहाँ साँच्चै खतरा छ। निस्सन्देह, सम्बन्धित अधिकारीहरू निकै सतर्क छन्‌ र आपत्‌विपत्‌ आइपरेको खण्डमा तिनीहरूले सकेजति गर्न तम्तयार छन्‌। तर चेताउनी दिंदा तिनीहरू अति नै होसियार हुनुपर्छ किनकि तिनीहरू खतरा नआइकनै असंख्य मानिसहरूलाई भागाभाग गराउन चाहँदैनन्‌। त्यसोभए, कस्तो कदम चाल्नुपर्छ त?

बाइबलको हितोपदेश भन्छ, “चतुर मानिस दुःख आएको देखेर जोगिन्छ, तर सीधा-साधा त्यसमा पर्छ र दण्ड भोग्छ।” (हितोपदेश २२:३) अतः केही हुँदैन भन्दै यस्ता डरलाग्दा प्राकृतिक प्रकोपहरूलाई ‘बेवास्ता गर्नुको’ साटो मौका छँदै सुरक्षाको कदम चाल्नु नै बुद्धिमत्तापूर्ण कार्य हो। यस इलाकाका यहोवाका साक्षीहरू यस्तै दृष्टिकोण राख्छन्‌।

हालै वाच टावर सोसाइटी शाखा कार्यालयका प्रतिनिधिहरूले खतरापूर्ण क्षेत्रका मण्डलीहरूसित नियमित तवरमा भेटघाट गरिरहने परिभ्रमण निरीक्षकहरूसँग पुब्ला प्रान्तमा भेटघाट गरे। परिभ्रमण निरीक्षक र उद्धार समितिका सदस्यहरूले ज्वालामुखीको मुखदेखि २५ किलोमिटर वरपर बसोबास गर्ने प्रत्येक परिवारसँग भेटघाट गर्ने योजना मिलाइयो। ती परिवारहरूलाई ज्वालामुखी विस्फोट हुनुअगावै खतरापूर्ण क्षेत्रबाट भाग्न सम्झाइयो। पुब्ला शहरमा १,५०० जना अटाउने यातायात र डेराको प्रबन्ध मिलाइयो। केही परिवारहरू चाहिं आफन्तहरूकहाँ बस्न अन्य शहरहरू गए।

विस्तृत तवरमा चेताउनी

पोपोकाटेपेटलबाट निस्केको धूँवा, आगो र गडगडाहटपूर्ण आवाज ज्वालामुखी विस्फोट हुनै लागेको स्पष्ट संकेत हो। ज्यान जोगाउन चाहनेहरूले सम्बन्धित अधिकारीहरूले दिएको चेताउनी पालन गरेर उचित कदम चाल्नैपर्छ। ज्वालामुखी नजिकै बसोबास गर्ने यहोवाका साक्षीहरू आफ्नो सुरक्षा साथै खतरामा पर्नेहरूलाई अबेर हुनुअगावै मदत गर्न दिनरात सचेत रहन्छन्‌।

बाइबलमा भविष्यवाणी गरिएका संसारका विस्तृत घटनाहरूप्रति पनि यहोवाका साक्षीहरू सतर्क छन्‌। युद्ध, भुइँचालो, अनिकाल, रोगबिमार र अपराध पनि ज्वालामुखी जत्तिकै उल्लेखनीय छन्‌। यी सब येशू ख्रीष्टले “जगत्‌को अन्तको चिह्न[बारे]” भन्‍नुभएका भविष्यवाणीको मिश्रित चिह्नहरू हुन्‌। अन्त कहिले हुन्छ भनी कसैलाई थाह नभए तापनि त्यो आउँदैछ र संघारमै आइसकेको छ। यसमा कुनै शंकै छैन।—मत्ती २४:३, ७-१४, ३२-३९.

आज हरेक ठाउँका मानिसहरूले येशूको यो चेताउनी गम्भीरतासाथ लिनु अत्यावश्‍यक छ: “तिमीहरू आफ्नो विषयमा होशियार रहो, नत्रता तिमीहरूका मन वाक्क-ब्याक्क, नशा र जीवनको फिक्रीले लट्टिएका हुनेछन्‌, औ त्यो दिन तिमीहरूमाथि एक्कासि पासोझैं आइपर्ला।” (लूका २१:३४) स्पष्टतः यो आज्ञा पालन गर्नु बुद्धिमानी हो। ज्वालामुखीका संकेतहरूलाई हल्कासँग लिनु हुँदैन। त्यसैगरि, हामीले मानिसका पुत्र अर्थात्‌ येशू ख्रीष्टको आगमनलाई पनि बेवास्ता गर्नु हुँदैन। उहाँले यस्तो आग्रह गर्नुभएको छ: “तयार रहो किनकि मानिसको पुत्र तिमीहरूले नचिताएको बेलामा आउँछ।”—मत्ती २४:४४.

[फुटनोट]

a मार्च ८, १९९७ को ब्यूँझनुहोस्‌!-ले (अंग्रेजी) यो भयावह ज्वालामुखीबारे वर्णन गरेको छ।

[पृष्ठ २३-मा भएको चित्र]

पोपोकाटेपेटल नजिकै अन्य साक्षीहरूको साथमा मार्था (गधामा चढिरहेकी)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने