“शीतको थोपालाई जन्माउने बाबु को हो?”
उन्नाइसौं शताब्दीका एक पत्रकारले शीतलाई “हावाद्वारा बनिएको पृथ्वीको तरल गहना” भने। हाम्रा सृष्टिकर्ताले प्राचीन कुलपिता अय्यूबलाई सोध्नुभयो: “शीतको थोपालाई जन्माउने बाबु को हो?” (अय्यूब ३८:२८) परमेश्वरले अय्यूबलाई मूल्यवान् शीतको ईश्वरीय स्रोतबारे सम्झाउँदै हुनुहुन्थ्यो।
शीत चमचम चम्कने र रत्नजस्तै सुन्दर हुने मात्र होइन। यसलाई बाइबलमा आशिष्, उर्वरता, प्रशस्तता र जीवनरक्षासँग गाँसिएको छ। (उत्पत्ति २७:२८; व्यवस्था ३३:१३, २८; जकरिया ८:१२) इस्राएलमा गर्मी हुँदा र वृष्टि नहुँदा “हर्मोनको शीत[ले]” त्यहाँको वनस्पति जोगाउँथ्यो। फलतः मानिसहरू पनि जोगिन्थे। अहिले पनि हर्मोनका घना जंगल अनि हिउँले डम्म ढाकिएका अग्ला ठाउँहरूमा राति वाफ निस्कन्छ र त्यसबाट पर्याप्त मात्रामा शीत द्रवीकरण हुन्छ। भजनरचयिता दाऊदले शीतबाट प्राप्त हुने स्फूर्तिलाई यहोवाका सँगी उपासकहरूसँग एकतामा बस्दा पाइने मीठो अनुभवसित तुलना गरे।—भजन १३३:३.
अगमवक्ता मोशाले इस्राएलीहरूलाई दिएका शिक्षा शीतजस्तै कोमल र स्फूर्तिदायी थियो। तिनले यसो भने: “मेरो बोली शीतझैं टप्कनेछ, कलिलो घाँसमाथि सिमसिमे पानीझैं, औ झारपातमाथि दर्कने पानीझैं!” (व्यवस्था ३२:२) आज यहोवाका साक्षीहरूले संसारको कुनाकाप्चासम्म परमेश्वरको राज्यको जीवनदायी सुसमाचार उद्घोषणा गरिरहेका छन्। (मत्ती २४:१४) परमेश्वरले निमन्त्रणा दिइरहनुभएको छ: “ ‘आउनुहोस्।’ औ जसले सुन्छ, त्यसले ‘आउनुहोस्’ भनोस्।” (प्रकाश २२:१७) परमेश्वरबाट प्राप्त हुने आध्यात्मिक स्फूर्ति लिन सबै जातिका लाखौं मानिसहरूले उक्त निमन्त्रणा स्वीकारिरहेका छन्। यसले अनन्त जीवन दिनसक्छ।