शान्तिपूर्ण ढंगमा समस्याहरू कसरी समाधान गर्ने
मानव हिंसा मानिस जत्तिनै पुरानो छ। बाइबलले हाबिलको दाजु अनि प्रथम मानव दम्पतीको पहिलो छोरो कयिनको समयदेखि नै हिंसा भएको संकेत दिन्छ। यहोवाले आफ्नो सट्टा हाबिलको बलिदान स्वीकार्नु भएको देखेपछि कयिन “ज्यादै रिसाए।” त्यस परिस्थितिसित तिनी कसरी जुझे? “आफ्नो भाइ हाबिलको विरुद्धमा उठेर कयिनले तिनलाई मारे।” त्यसपछि, परमेश्वर र तिनीबीच गम्भीर समस्या उत्पन्न भयो। (उत्पत्ति ४:५, ८-१२) रक्तपात गरेर तिनले परमेश्वरको अगाडि राम्रो नाम कमाउन सकेनन्।
हामीले कयिनले जस्तो हिंसा नगरी समस्या कसरी सुल्झाउनसक्छौं?
हिंसादेखि सहनशीलतासम्म
प्रथम मसीही शहीद स्तिफनसको हत्या आनन्द मानेर हेर्ने मानिसलाई विचार गर्नुहोस्। (प्रेरित ७:५८; ८:१) टार्ससका शावल, स्तिफनसको धार्मिक विश्वाससित सहमत थिएनन् अनि तिनको क्रियाकलापलाई रोक्न निर्मम हत्या गर्नु नै तिनले ठीक ठाने। हो, पावलले हर कुरामा हिंसाकै सहारा लिएनन् होला। तथापि, तिनी समस्या सुल्झाउनको लागि हिंसा गर्न इच्छुक थिए। स्तिफनसको मृत्युपछि तिनी, “घर घरमा पसी पसीकन [मसीही] मण्डलीलाई संहार गरिरहेका थिए। औ पुरुष र स्त्रीहरूलाई घिस्याई घिस्याईकन झ्यालखानमा हालिदिन्थे।”—प्रेरित ८:३.
बाइबलविद् अल्बर्ट बार्न्सअनुसार यहाँ चलाइएको “संहार” युनानी शब्दले, सिंह र ब्वाँसोजस्ता जंगली जनावरहरूले गर्ने संहारलाई बुझाउँछ। उनी भन्छन्, “शावल, मसीही मण्डलीको विरुद्ध जंगली जनावरजस्तै जाइलागे। यो अभिव्यक्तिले तिनले कत्ति जोस र प्रचण्ड क्रोधका साथ सताए भनेर बुझाउँछ।” ख्रीष्टका अझ धेरै चेलाहरू फेला पार्न दमीशक जाँदा शावल “अझै पनि [ख्रीष्ट] प्रभुका चेलाहरूका विरुद्धमा धम्की र हत्याको धुनमा सास फुलाउँदै” थिए। पुनरुत्थान गरिएका येशू बाटोमा तिनीसित बोल्नुभयो। फलतः तिनी मसीही भए।—प्रेरित ९:१-१९.
त्यसरी मसीही भएपछि, तिनको व्यवहारमा परिवर्तन आयो। त्यसको १६ वर्षपछि भएको घटनाले यो कुरा स्पष्ट पाऱ्यो। केही मानिसहरू तिनको घर एन्टिओकको मण्डलीमा आएर मोशाको व्यवस्था मान्न दबाउ दिन थाले। फलस्वरूप “बहस भयो।” शावल जसलाई पावल भनिन थालिसकेको थियो तिनले पनि बहसमा भाग लिए। फलतः बहस चर्कियो। तर पावलले हिंसा रुचाएनन्। बरु, तिनले यस विषयमा यरूशलेम मण्डलीका प्रेरितहरू र धर्मगुरुहरूको परामर्श लिने मण्डलीको निर्णयलाई समर्थन गरे।—प्रेरित १५:१, २.
यरूशलेममा धर्मगुरुहरूको सभामा पनि “निक्कै सवाल” भयो। पावल “सबै चुप” नहोउञ्जेल पर्खिरहे र त्यसपछि खतना नभएको विश्वासी जनबीच परमेश्वरको आत्माले गरेका आश्चर्यजनक कामहरूको बेलीबिस्तार लाए। धर्मशास्त्रीय छलफलपछि प्रेरितहरू र यरूशलेमका धर्मगुरुहरू “एकै मनका भएर” खतना नगरेका जनहरूलाई अनावश्यक बोझ नबोकाउने बरु “मूर्ति-पूजाका अशुद्धि, व्यभिचार, घोक्रो अँठ्याएर मारेको मासु र रगतबाट अलग रहन” सतर्क गराउने निर्णयमा पुगे। (प्रेरित १५:३-२९) निस्सन्देह, पावल परिवर्तित भइसकेका थिए। तिनले विवादहरू हिंसाबिना नै सुल्झाउन सिकिसकेका थिए।
हिंस्रक झुकाउहरूको सामना गर्ने
पावलले पछि यसरी सल्लाह दिए, “प्रभुका सेवकले झगड़ा गर्नुहुँदैन, तर सबैप्रति भला, सिकाउनसक्ने, सहनशील, आपसमा विरोध गर्नेहरूलाई नम्रसँग सच्याउने हुनुपर्छ।” (२ तिमोथी २:२४, २५) पावलले जवान निरीक्षक तिमोथीलाई अप्ठ्यारो परिस्थितिहरू शान्तिसित सम्हाल्न जोड दिए। पावल यथार्थवादी थिए। मसीहीहरू पनि आवेगमा आउनसक्छन् भनी तिनलाई थाह थियो। (प्रेरित १५:३७-४१) त्यसैकारण, तिनले यो सल्लाह दिए: “क्रोध गर, तर पाप नगर, घाम अस्ताउन अघिनै तिमीहरूको रीस मरोस।” (एफिसी ४:२६) त्यस्ता भावनाहरूको सामना गर्ने उचित तरिका, रिस अनियन्त्रित हुन नदिइकनै शान्त पार्नु हो। तर यो कसरी गर्न सकिन्छ?
आज रिस नियन्त्रणमा राख्न सजिलो छैन। हार्वड स्कूल अफ पब्लिक हेल्थको सहायक डीन डेबोरा प्रोथ्रो-स्टिथले भनिन्, “छुच्चो हुनु लोकप्रिय कुरा हो। वास्तवमा कुरा मिलाउनु, सम्झौता गर्नु, समानुभूति, क्षमा देखाउनु प्रायः कातरले मात्र गर्ने कुरा सम्झन्छन्।” तथापि, ती मानवीय गुनहरू नै हामी भित्र बढ्नसक्ने हिंसात्मक झुकाउ नियन्त्रण गर्न आवश्यक कुञ्जी हुन्।
मसीही भइसकेपछि, पावलले बाइबलको शिक्षाको आधारमा मतभेद सुल्झाउने उत्तम उपाय सिके। यहूदी धर्मका विद्वान भएकाले हिब्रू धर्मशास्त्रसित तिनी परिचित थिए। तिनलाई निश्चय “उपद्रव गर्ने मानिसको अनुसरण नगर्। त्यसकै चालमा चल्ने इच्छा नगर्।” “झगड़ालु हुनुभन्दा रीसमा धीमा हुनु असल हो, शहरलाई कब्जा गर्नुभन्दा आफ्नो क्रोधलाई दमन गर्नु असल हो।” “जुन मानिसले आफ्नो रीस थाम्नसक्तैन त्यो मानिस शत्रुको आक्रमणको निम्ति पर्खाल विनाको शहरजस्तै हो” भन्नेजस्ता शास्त्रपदहरू थाह थियो। (हितोपदेश ३:३१; १६:३२; २५:२८) तथापि, त्यस्तो शिक्षाले पहिले पहिले तिनलाई मसीहीहरू विरुद्ध रक्तपात गर्न रोकेन। (गलाती १:१३, १४) उसोभए मसीही भएपछि, हिंसाको सट्टा सहमतिको आधारमा तर्क र आग्रह गरेर विवादास्पद कुराहरू सुल्झाउन तिनलाई केले मदत गऱ्यो?
पावलले त्यसको संकेत यसरी दिए: “म ख्रीष्टमा भएझैं तिमीहरू पनि मेरो देखा-सिकी गर्ने होओ।” (१ कोरिन्थी ११:१) येशू ख्रीष्टले तिनको लागि गर्नुभएको कृपादृष्टिको तिनले धेरै मूल्यांकन गरे। (१ तिमोथी १:१३, १४) ख्रीष्ट नै तिनको आदर्श भए। येशूले पापी मानिसजातिको लागि कस्तो दुःख भोग्नुभयो तिनलाई थाह थियो। (हिब्रू २:१८; ५:८-१०) पावलले यशैयाको निम्न भविष्यवाणी येशूमा पूर्ति भयो भन्नसक्थे: “उ थिचोमिचोमा पऱ्यो, र उसलाई कष्ट थियो, तापनि उसले आफूलाई नम्र तुल्याएर आफ्नो मुख खोलेन। मारिनलाई लगेको थुमा र आफ्नो ऊन कत्रनेको सामु भेड़ा लाटो भएझैं उसले आफ्नो मुख खोलेन।” (यशैया ५३:७) प्रेरित पत्रुसले लेखे: “जसले [येशूले] गाली खाएर आफूले फेरि गाली गर्नुभएन। दुःख भोगेर धम्काउनुभएन, तर धर्मसँग इन्साफ गर्नेकहाँ आफैलाई सुम्पिदिनुभयो।”—१ पत्रुस २:२३, २४.
येशू ख्रीष्टले तनाउपूर्ण स्थितिको सामना कसरी गर्नुभयो, त्यसको मूल्यांकनले नै पावललाई परिवर्तित हुन प्रेरित गऱ्यो। त्यसैकारण, तिनले आफ्ना सहकर्मीहरूलाई यस्तो सल्लाह दिन सके: “एउटाले अर्कोलाई सहेर, कुनै मानिसको विरुद्धमा केही दोषको कारण छ भने, एउटाले अर्कोलाई क्षमा गर, जसरी प्रभुले पनि तिमीहरूलाई क्षमा गर्नुभयो, त्यसरी तिमीहरूले पनि क्षमा गर।” (कलस्सी ३:१३) हिंस्रक हुनु हुँदैन भनेर थाह पाउनु मात्र पर्याप्त छैन। यहोवा र येशूले हाम्रोलागि के गर्नुभयो त्यसप्रतिको मूल्यांकनले हामीलाई हिंस्रक झुकाउहरूमाथि विजयी हुन उत्प्रेरित गर्छ।
के यो सम्भव छ?
जापानको एक जना मानिसलाई त्यस्तै उत्प्रेरणाको आवश्यकता पऱ्यो। तिनको बुबा रिसाहा सिपाही भएकाले आफ्नो परिवारका सदस्यहरूलाई कुटपिट गर्थे। आफू र आफ्नी आमा हिंसाको शिकार भएको देखेर तिनको पनि मिजास गरम हुन थाल्यो। आफ्नो समस्या समाधान गर्न र मानिसहरूलाई तर्साउन फरक फरक लम्बाइको दुइटा सामुराई तरवार भिरेर हिंड्थे।
आफ्नी पत्नीले बाइबल अध्ययन गर्न थाल्दा तिनी बस्न त बस्थे तर कुनै चासो लिंदैनथे। तथापि, राज्यको यो सुसमाचारa (अंग्रेजी) भन्ने पुस्तिका पढेपछि चाहिं तिनी परिवर्तित भए। किन? तिनले भने “जब मैले, ‘येशू ख्रीष्ट’ र ‘बलिदान’, उपशीर्षकअन्तर्गत दिइएका कुराहरू पढें मैले लज्जित महसुस गरें। मैले मनपरी जीवन बिताएको भए पनि, आफ्ना साथीहरूसित दयालु हुन चाहन्थें। आफ्नो जीवनलाई असर नगरुञ्जेल साथीहरूलाई खुसी तुल्याएर म आनन्द लिन्थें। तर परमेश्वरको पुत्र येशू, मानिसजातिको लागि अझ मजस्तो मानिसको लागि समेत आफ्नो जीवन दिन इच्छुक हुनुहुन्थ्यो। म त छक्क परें। मलाई त मुङ्ग्रोले हाने जस्तो लाग्यो।”
आफ्ना पुराना साथीहरूको संगत छाडेर तिनी चाँडै नै यहोवाका साक्षीहरूको ईश्वरतान्त्रिक सेवकाई स्कूलमा भर्ना भए। उक्त स्कूलले आफ्ना विद्यार्थीहरूलाई बाइबलको शिक्षा सिकाउने कुशलता प्राप्त गर्न मदत गर्छ। यसले तिनलाई अरू फाइदा पनि भयो। उनी सम्झन्छन्: “जवान छँदा आफ्ना भावनाहरू अरूलाई बुझाउन नजानेकोले नै म धम्की र हिंसाको सहारा लिन्थें। आफ्नो विचारहरू अरूसँग बाँड्न सिकेपछि मैले हिंसाको सट्टा तिनीहरूसित तर्क गर्न थालें।”
के तिनले पनि पावलले जस्तै ख्रीष्टको मार्ग अपनाए? मितेरी लगाएको पुरानो साथीले मसीही हुनदेखि रोक्न खोज्दा तिनको विश्वास जाँचियो। त्यस “साथीले” तिनलाई मुक्काले हिर्काए र तिनको परमेश्वर, यहोवाको निन्दा गरे। पहिले पहिले हिंसाको सहारा लिने मानिसले आफैलाई नियन्त्रणमा राखेर वचन पूरा गर्न नसकेकोमा माफी मागे। फलतः तिनको “मीत” निराश भएर तिनलाई एक्लै छाडेर गए।
आफ्नो हिंस्रक झुकाउमाथि विजयी भएपछि पहिलेको रिसाहा मानिसले परमेश्वर र छिमेकीप्रतिको प्रेमले एकताबद्ध धेरै आध्यात्मिक भाइबहिनीहरू पाए। (कलस्सी ३:१४) साँच्चै, समर्पित मसीही भएको २० वर्षपछि, अहिले तिनी यहोवाका साक्षीहरूको परिभ्रमण निरीक्षकको रूपमा सेवा गर्दैछन्। बाइबलबाट, आफूजस्तै, जंगली मानिसहरूले पनि हिंसाबिना नै मतभेदहरू सुल्झाउन सिक्नसक्छन् भन्ने कुरा देखाउन पाउनु तिनको लागि साँच्चै आनन्दको कुरा भएको छ! अनि भविष्यवाणीका यी शब्दहरूको ठूलो पूर्ति हुने समयबारे बताउन पाउनु पनि तिनको लागि ठूलो सुअवसरको कुरा भएको छ: “तिनीहरूले मेरा सबै पवित्र पर्वतमा नता केही हानि न नोक्सानी गर्नेछन्, किनकि समुद्र पानीले भरिएझैं पृथ्वी परमप्रभुको ज्ञानले भरिपूर्ण हुनेछ”!—यशैया ११:९.
प्रेरित पावल र यो भर्खरको हिंस्रक मानिसले जस्तै, तपाईं पनि उत्तेजक परिस्थितिहरू शान्तिपूर्ण ढंगमा समाधान गर्न सिक्न सक्नुहुन्छ। तपाईंको इलाकाका यहोवाका साक्षीहरू तपाईंलाई मदत गर्न खुसी हुनेछन्।
[फुटनोट]
a वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित।
[पृष्ठ ५-मा भएको चित्र]
पावल यथार्थवादी थिए। मसीहीहरू पनि आवेगमा आउनसक्छन् भनी तिनलाई थाह थियो
[पृष्ठ ७-मा भएको चित्र]
परमेश्वरले हाम्रालागि गर्नुभएका कामहरूप्रतिको मूल्यांकनले शान्तिपूर्ण सम्बन्ध बनाउँछ