यहोवालाई खुसी तुल्याउनु नै मेरो प्रमुख चाहना
थिओडोरोस निरोसको वृत्तान्तमा आधारित
म बसेको जेलको कोठाको ढोका एक्कासि खोलियो र एक अफिसरले हप्काएर सोधे: “निरोस भन्ने को हो?” मैले मै हुँ भन्दा तिनले मलाई आदेश दिए: “उठ्। हामी तँलाई मृत्युदण्ड दिंदैछौं।” सन् १९५२ मा ग्रीसको शहर कोरिन्थको सैनिक शिविरमा त्यो घटना भएको थियो। म कसरी जीवन र मृत्युको दोसाँधमा पुगें? यसबारे केही भन्नुअघि आउनुहोस्, तपाईंहरूलाई मेरो पृष्ठभूमिबारे केही बताउँछु।
मेरो बुबा करिब १९२५ तिर बाइबल विद्यार्थीहरूको (त्यतिखेर यहोवाका साक्षीहरू त्यही नाउँले चिनिन्थे) सम्पर्कमा आउनुभयो। चाँडै नै उहाँ पनि बाइबल विद्यार्थी हुनुभयो र आफ्ना आठ भाइबहिनीहरूसित त्यसबारे कुरा गर्नुभयो। उहाँका आमाबाबुका साथै भाइबहिनी सबैले नै सच्चाइ स्वीकार्नुभयो। पछि, उहाँले विवाह गर्नुभयो र १९२९ मा, ग्रीसको अग्रीनीयो शहरमा म जन्में।
त्यसताक ग्रीस अत्यन्तै कठिन समयबाट गुज्रिरहेको थियो! प्रथमतः त्यहाँ जनरल लोआनिस मेटाक्ससको निरंकुश शासन चलिरहेको थियो। अनि १९३९ मा दोस्रो विश्वयुद्ध सुरु भएको केही समयभित्रै नाजीहरूले देशलाई कब्जा गरे। रोग र भोकमरी व्याप्त भयो। टुन्न परेर सुन्निएका लाशहरू एकपांग्रे ठेलागाडामा राखेर लगिन्थ्यो। संसारमा व्याप्त दुष्टता, संसारभरि कसैको नजरबाट लुकेको थिएन भने अर्कोतिर त्यसले परमेश्वरको राज्य नजिकै आएको प्रस्ट पारेको थियो।
समर्पित सेवामा बिताएको जीवन
अगस्त २०, १९४२ मा थिस्सलोनिकाको सिमानामा भेला भएर हामी सभा सुरु गर्न मात्र के लागेका थियौं, शहरमा बम खसालिरहेका बेलायती युद्धपोतहरूतिर संकेत गर्दै हाम्रा मण्डलीका अध्यक्ष भाइले, ‘हामी एक ठाउँमा भेला हुनालाई नछोड़ौं’ भन्ने बाइबलको आग्रह मानेकोले हामी कसरी सुरक्षित भएका छौं भनेर जोड दिनुभयो। (हिब्रू १०:२५) यसै अवसरमा, हामी समुद्र किनारमा थियौं र म पनि बप्तिस्मा लिनेहरूमध्ये एक थिएँ। बप्तिस्मा लिएर बाहिर निस्केपछि हामी लहरै बस्यौं अनि हाम्रा मसीही भाइबहिनीहरूले हाम्रो निर्णयको, प्रशंसा गर्दै गीत गाए। कस्तो अविस्मरणीय दिन थियो त्यो!
त्यसको केही समयपछि, म र अर्को ठिटो घर-घरको सेवकाईमा मानिसहरूसित भेट्दै गर्दा प्रहरीले हामीलाई पक्रेर थानामा लग्यो। हामी कम्युनिष्टहरू हौं र हाम्रो प्रचारकार्य प्रतिबन्धित छ भनेर जोड दिन तिनीहरूले हामीलाई पिटे र भने: “ए मूर्ख हो, यहोवा पनि स्टालिनजस्तै त हो नि!”
त्यतिखेर ग्रीसमा गृहयुद्ध चर्कंदै थियो भने कम्युनिष्ट विरोधी अभियान पनि अचाक्ली बढदै थियो। त्यसको भोलिपल्टै अपराधीहरूलाई झैं हतकडी लगाएर हामीलाई आ-आफ्नो घरमुनिबाट हिंडाए। तर मैले अरू पनि थुप्रै परीक्षाहरूको सामना गरें।
स्कूलमा विश्वासको जाँच
सन् १९४४ को सुरुतिर विद्यार्थी जीवन बिताइरहेको बेला पनि थिस्सलोनिकामा नाजीहरूले नै शासन गरिरहेका थिए। एक दिन स्कूलमा धर्म विषयका प्राध्यापक, ग्रीक अर्थोडक्सका पादरीले मसित त्यस दिनको पाठको जाँच लिने कुरा बताए। अरू केटाहरूले तिनलाई भने “ऊ त कहाँ अर्थडक्स मसीही हो र।”
“ऊ कोहो त?” तिनले सोधे।
“म यहोवाको साक्षी हुँ,” मैले जवाफ दिएँ।
मलाई समातेर गालामा थप्पड हान्दै, “भेडाहरूको बीचमा ब्वाँसो,” भन्दै तिनी कराए।
‘भेडाद्वारा ब्वाँसोको पिटाइ, यो कसरी हुनसक्छ र?’ मैले मनमनै सोचें।
त्यसको केही दिनपछि, हामी करिब ३५० जना दिउँसोको भोजनको लागि टेबल अगाडि बसिरहेको बेला सुपरिवेक्षकले भने: “निरोसले हाम्रोतर्फबाट खानाको लागि धन्यवाद चढाउनेछन्।” मैले मत्ती ६:९-१३ मा उल्लिखित, ‘हाम्रा पिता’ भनिने प्रार्थना दोहोऱ्याएँ। त्यो येशूले आफ्ना चेलाहरूलाई सिकाउनु भएको प्रार्थना थियो। यो कुरा सुपरिवेक्षकलाई मन परेन त्यसैले तिनी रिसाएर बम्के: “तैंले किन त्यसरी प्रार्थना गरिस्?”
“किनकि म एक यहोवाको साक्षी हुँ,” मैले भनें। यो कुरा सुनेर तिनले पनि मेरो कठालो समातेर गालामा चड्काए। त्यसको भोलिपल्ट अर्को शिक्षकले मलाई अफिसमा बोलाएर भने: “श्याबास्, निरोस, तिमी जे विश्वास गर्छौ त्यसैमा लागिरह र त्यसलाई नत्याग।” त्यसै रात बुबाले पनि मलाई प्रेरित पावलका यी शब्दहरू चलाएर प्रोत्साहन दिनुभयो: “ख्रीष्ट येशूमा भक्तिसँग जीवन बिताउन इच्छा गर्नेहरू ता सबै जना खेदोमा पर्नेछन्।”—२ तिमोथी ३:१२.
हाई स्कूलको पढाई सिध्याएपछि मैले पेशा छनौट गर्नुपऱ्यो। ग्रीसको गृह कलहको कारण मैले मसीही तटस्थता सम्बन्धी प्रश्न पनि सामना गर्नुपऱ्यो। (यशैया २:४; मत्ती २६:५२) अन्ततः १९५२ सालको सुरुतिर मलाई ग्रीक इतिहासको सबैभन्दा कठिन समयमा समेत हतियार उठाउन अस्वीकार गरेको अभियोगमा २० वर्ष जेल सजाय तोकियो।
मेरो मसीही तटस्थता जाँचियो
मेसोलंगियन र कोरिन्थको सैनिक शिविरहरूमा थुनिएको बेला सैनिक कमान्डरहरू केरकार गर्न आए। मैले मेरो बाइबल प्रशिक्षित अन्तस्करणले मलाई राजनैतिक उद्देश्य हासिल गर्न लडिने युद्धहरूमा भाग लिन अनुमति दिंदैन भनी बताउने मौका पाएँ। २ तिमोथी २:३ लाई औंल्याउँदै “म पहिले नै येशूका सिपाही भइसकें” पनि भनें। मलाई यस कुरामा पुनर्विचार गर भन्दा मैले यो निर्णय, भावनामा बहेर होइन बरु गहन सोचविचार र यहोवाको इच्छाअनुसार गर्ने मेरो समर्पणको आधारमा गरेको हुँ, भनी स्पष्ट पारें।
फलस्वरुप, मलाई बेगारी गर्न बाध्य पारियो। एक एक दिन बिराएर २० दिनसम्म भोकै बस्नुपऱ्यो र एक मिटर चौडा, दुई मिटर लामो सानो कोठामा, सिमेन्टको भुइँमा सुत्नुपऱ्यो। त्यसमाथि पनि अरू दुई साक्षीहरूका साथ! कोरिन्थको यसै शिविरमा हुँदा मलाई मृत्युदण्डको लागि बोलाइएको थियो।
हामीलाई मृत्युदण्ड दिने ठाउँमा लैजाँदै गर्दा अफिसरले सोधे, “तिमीहरू केही भन्दैनौ?”
“अहँ,” मैले जवाफ दिएँ।
“तिमी आफ्नो परिवारलाई केही लेख्दैनौ?”
मैले फेरि जवाफ दिएँ, “अहँ, मलाई यहाँ मृत्युदण्ड दिनसक्छ भनेर तिनीहरूलाई थाह छ।”
हामी मृत्युदण्ड दिइने प्रांगणमा पुग्यौं र मलाई भित्ता अगाडि उभिन आदेश दिइयो। त्यसपछि, अफिसरले सिपाहीहरूलाई गोली चलाउने आदेश दिनुको साटो यो आदेश दिए, “उसलाई भित्र लैजाऊ।” यो त मेरो दृढ संकल्पको जाँच गर्न बनाएको देखावटी मृत्युदण्डको योजना पो रहेछ।
पछि, मलाई माक्रोनिससको टापुमा पठाइयो जहाँ मलाई बाइबलबाहेक अरू कुनै साहित्य राख्न दिइएन। हामी तेह्र जना साक्षीहरूलाई करिब ५०० अपराधीहरू राखिएको जेलभन्दा छुट्टै एउटा सानो घरमा राखियो। तथापि, साहित्यहरू कुनै न कुनै तरिकामा हामीसम्म पुऱ्याइन्थ्यो। उदाहरणका लागि, एक दिन लुकुम्याको (पुष्टकारीको) बट्टा मकहाँ पठाइयो। त्यहाँका इन्स्पेक्टरहरू लुकुम्या चाख्न यति उत्सुक थिए कि तिनीहरूले बाकसमा लुकाइएको प्रहरीधरहरा पत्रिकालाई यादै गरेनन्। एक साक्षी भाइले भने, “सिपाहीहरूले लुकुम्या खाए, हामीले प्रहरीधरहरा! ‘खायौं’।”
त्यसबेला भर्खरै विमोचन भएको मानिसजातिको लागि धर्मले के गरेको छ? (अंग्रेजी) पुस्तकको एक प्रति हामीकहाँ पुग्यो र त्यसलाई अंग्रेजी बुझ्ने कैदी भाइले अनुवाद गरे। हामी गुप्त रूपमा सभाहरू सञ्चालन गरेर प्रहरीधरहरा अध्ययन पनि गर्थ्यौं। हामी जेललाई आध्यात्मिकता बलियो पार्ने स्कूलको रूपमा हेर्थ्यौं। सबैभन्दा बढी त यसरी निष्ठावान हुँदा यहोवा खुसी हुनुहुन्छ भन्ने थाह पाएर आनन्दित थियौं।
म अन्तमा थुनिएको जेल पूर्वी पिलोपोनिससको तिरिन्था शहरमा हो। त्यहाँ मैले सहकैदीसित बाइबल अध्ययन गर्दा एक जना गार्डले ध्यान दिएर हेरिरहेको याद गरेको थिएँ। त्यसै गार्डलाई वर्षौं पछि मैले थिस्सलोनिकामा भेट्न पाउँदा कस्तो अचम्म लाग्यो होला तपाईं कल्पना गर्न सक्नुहुन्न! त्यतिबेलासम्म त तिनी साक्षी भइसकेका थिए। पछि, तिनको एक जना छोरालाई जेलमा लगियो गार्डको काम गर्न होइन तर कैदीको रूपमा। तिनी पनि मेरो जस्तै कारणले जेलमा परेका थिए।
छुटकारा पछिको क्रियाकलाप
मलाई २० वर्षको सजाय तोकिएको भए तापनि तीन वर्ष मात्र सजाय भोगें। छुटकारा पाएपछि मैले एथेन्समा बस्ने निधो गरें। तथापि, मलाई त्यहाँ फोक्सो सुनिने रोगले चाप्यो जसले गर्दा म थिस्सलोनिका फर्कन बाध्य भएँ। म दुई महिनासम्म ओछ्यानमा परें। पछि मैले कुला नामकी राम्री केटी भेटें र डिसेम्बर १९५९ मा हामीले विवाह गऱ्यौं। सन् १९६२ मा तिनले अग्रगामीको काम अर्थात् यहोवाका साक्षीहरूको पूर्ण-समय सेवा गर्न थालिन्। त्यसको तीन वर्षपछि म पनि तिनीसितै अग्रगामीको काममा लागें।
सन् १९६५ को जनवरी महिनामा, भाइहरूलाई आध्यात्मिक रूपमा बलियो पार्न हामीलाई मण्डलीहरूमा भ्रमण गर्ने क्षेत्रीय कार्य सुम्पियो। त्यसै सालको गर्मी महिनामा अस्ट्रियाको भियनामा हामीले पहिलो पटक ठूलो जिल्ला अधिवेशनमा उपस्थित हुने मौका पायौं। हामीले ग्रीसमा गर्ने गरेको अधिवेशन भन्दा यो निकै भिन्न थियो। किनभने त्यहाँ हाम्रो कार्यमाथि प्रतिबन्ध लागेको हुँदा हामी गोप्य रूपमा जंगलहरूमा भेला हुने गर्थ्यौं। सन् १९६५ को अन्ततिर हामीलाई एथेन्समा यहोवाका साक्षीहरूको शाखा कार्यालयमा काम गर्न निमन्त्रणा दिइयो। तथापि, १९६७ मा हाम्रा केही आफन्तहरू अस्वस्थ भएकोले थिस्सलोनिकामा नै फर्कनुपऱ्यो।
पारिवारिक जिम्मेवारीहरू पूरा गर्दै हामी प्रचारको काममा पनि निरन्तर व्यस्त भइरह्यौं। एकपल्ट काकाको छोरा कोस्ताससित कुरा गर्दा मैले तिनलाई परमेश्वरको संगठनको सुन्दरता, त्यहाँ पाइने प्रेम, एकता र त्यस संगठनका जीवित परमेश्वरप्रतिको आज्ञाकारिताबारे चर्चा गरें। उनले भने, “परमेश्वर हुनुहुन्छ भने मात्रै यी सबै राम्रो हुन्छ।” परमेश्वरको अस्तित्वबारे जाँच्ने मेरो निमन्त्रणालाई तिनले स्वीकारे। मैले तिनलाई अगस्त १९६९ मा जर्मनीको नुरेमबर्गमा एउटा अन्तरराष्ट्रिय अधिवेशनमा भेला हुँदैछौं भनेर बताएँ। तिनले हामीसितै जाने इच्छा व्यक्त गरे र हामीसित बाइबल अध्ययन गरिरहेका तिनका साथी अलेकोस पनि हामीसितै आउन चाहन्थे।
नुरेमवर्गमा हुन लागेको यो अधिवेशनको बेग्लै महत्त्व थियो! त्यो अधिवेशन हुन लागेको रंगशालामा हिटलरले आफ्ना सैन्य विजय उत्सवहरू मनाएका थिए। हाम्रो उपस्थिति १,५०,००० को शिखर संख्यामा पुग्यो र सबै कार्यक्रमहरूमा यहोवाको आत्मा झल्किन्थ्यो। त्यसको केही समयपछि कोस्टास र अलेकोस दुवैले बप्तिस्मा लिए। अहिले तिनीहरू दुवै मसीही प्राचीनहरूको हैसियतमा सेवा गर्दैछन् र तिनीहरूका परिवारका सबै जना साक्षीहरू भइसकेका छन्।
एक जिज्ञासु स्त्री पनि मसित अध्ययन गर्न थालिन्। तिनको पतिले हाम्रो विश्वास जाँचेर हेर्छु भने र केही समय नबित्दै बहसको लागि ग्रीक अर्थोडक्सका धर्मविज्ञानी श्रीमान् साकोसलाई निम्त्याएको जानकारी मलाई दिए। तिनी हामी दुवैको अगाडि केही प्रश्नहरू राख्न चाहन्थे। श्रीमान् साकोस एक जना पादरीलाई लिएर आए। हामीले भेट्ने गरेको उक्त मानिसले यसरी कुरा सुरु गरे, “प्रथमतः, श्रीमान् साकोसको अगाडि म तीनवटा प्रश्नहरू राख्न चाहन्छु।”
छलफलको दौडान हामीले चलाउने गरेको बाइबलको अनुवाद लिंदै तिनले सोधे, “प्रश्न नम्बर एक: के यो साँचो बाइबल हो अथवा मात्र साक्षीहरूको बाइबल?” श्रीमान् साकोसले यो आधिकारिक अनुवाद हो र यहोवाका साक्षीहरू “बाइबल प्रेमीहरू” हुन् भनी वर्णन गरे।
फेरि तिनले अर्को प्रश्न राखे र सोधे, “प्रश्न नम्बर दुई: के यहोवाका साक्षीहरू नैतिकवान् मानिसहरू हुन्?” वास्तवमा, तिनकी पत्नी कस्ता मानिसहरूसित संगत गर्दै थिइन् भनी तिनी जान्न चाहन्थे। ती धर्मविज्ञानीले तिनीहरू निस्सन्देह नैतिकवान् छन् भने।
“तेस्रो प्रश्न,” तिनी भन्दै गए, “के यहोवाका साक्षीहरूलाई तलब दिइन्छ?” “अहँ,” तिनले जवाफ दिए।
“मैले आफ्ना प्रश्नहरूको जवाफ पाएँ र मैले फैसला गरिसकें,” भन्दै तिनले कुरा टुंग्याए। त्यसपछि तिनले बाइबल अध्ययन सुरु गरे र चाँडै यहोवाका साक्षीको रूपमा बप्तिस्मा लिए।
मूल्यवान् अनि इनामदायी जीवन
सन् १९७६, जनवरीदेखि मैले फेरि क्षेत्रीय निरीक्षकको रूपमा सेवा गर्न थालें। लगभग छ वर्षपछि मैले फेरि ग्रीसमा एउटा नयाँ किसिमको प्रचारकार्य अर्थात् सडक साक्षीको काममा नेतृत्व लिन पाएँ। त्यसपछि १९९१, अक्टोबरदेखि म र मेरी पत्नी विशेष अग्रगामीको रूपमा सेवा गर्न थाल्यौं। केही महिनापछि, मेरो मुटुको ठूलो शल्यक्रिया गर्नुपऱ्यो जुन धन्न सफल भयो। अहिले मेरो स्वास्थ्यमा केही सुधार आएको छ, जसले गर्दा मैले पूर्ण-समय प्रचार कार्यलाई पुनः सुरु गर्न सकेको छु। म थिस्सलोनिकाकै एउटा मण्डलीमा प्राचीनको रूपमा सेवा गर्दै र चिकित्सा सम्बन्धी सहयोग गर्ने, स्थानीय अस्पताल सम्पर्क समितिमा पनि काम गर्दैछु।
विगतका दिनहरू सम्झेर हेर्दा, हाम्रा स्वर्गमा हुनुहुने पितालाई खुसी तुल्याउने काम गर्नु निकै सन्तोषजनक हुँदो रहेछ भन्ने कुरा बुझेको छुँ। म निकै हर्षित छु कि मैले धेरै अघि नै उहाँको यो हृदयस्पर्शी निमन्त्रणा स्वीकारें: “हे मेरो छोरो, बुद्धिमान हो, र त्यसले मेरो हृदयलाई आनन्दित तुल्याउँछ, र मेरो आलोचना गर्नेहरूलाई म मुखभरिको जवाफ दिनसक्छु।” (हितोपदेश २७:११) संसारभरि निष्कपट हृदय भएका मानिसहरू यहोवाको संगठनमा बढ्दै गरेको हेर्न पाउँदा मेरो हृदय साँच्चै हर्षित भएको छ। बाइबल सच्चाइद्वारा मानिसहरूलाई स्वतन्त्रता बाँड्न पाउनु र धार्मिक नयाँ संसारमा अनन्त जीवनको प्रत्याशा तिनीहरूलाई दिन पाउनु साँच्चै विशेषाधिकार हो!—यूहन्ना ८:३२; २ पत्रुस ३:१३.
हामी सधैं यहोवाका जवान सेवकहरूलाई पूर्ण-समय सेवकाईलाई आफ्नो लक्ष्य बनाउन र आफ्नो समय अनि बल उहाँलाई समर्पण गर्न प्रोत्साहन दिने प्रयास गर्छौं। यहोवामाथि भरोसा गर्नु र उहाँको हृदयलाई आनन्दित तुल्याएर खुसी प्राप्त गर्नसक्नु नै मानिसले आफ्नो जीवनमा हासिल गर्नसक्ने विशिष्ट उपलब्धि हो!—हितोपदेश ३:५; उपदेशक १२:१.
[पृष्ठ २१-मा भएको ठूलो अक्षरको क्याप्सन]
(बायाँदेखि दायाँतर्फ)
सन् १९६५ मा बेथेलको भान्छाघरमा सेवा गर्दै
प्रचारकार्य प्रतिबन्धित भएको बेला १९७० मा भाषण दिंदै
सन् १९५९ मा मेरी पत्नीसित
[पृष्ठ २३-मा भएको ठूलो अक्षरको क्याप्सन]
मेरी पत्नी कुलासित