छनौट गर्ने अधिकारको निम्ति फैसला
यस ब्रह्माण्डको सबैभन्दा महिमित व्यक्तिलाई जति अरू कसैलाई जानकारीहरू छैन। उहाँ हाम्रो सृष्टिकर्ता हुनुहुन्छ। मानिसका आवश्यकताहरूबारे असीमित ज्ञान भएकोले कृपालु ढंगमा सबैभन्दा बुद्धिमान् मार्ग अपनाउन निर्देशन, चेताउनी र डोऱ्याइ दिनुहुन्छ। तैपनि उहाँले आफ्ना बुद्धिमान् सृष्टिहरूलाई छनौट गर्न दिनुभएको अधिकारको बेवास्ता गर्नुहुन्न। उहाँका अगमवक्ता मोशाले परमेश्वरको दृष्टिकोण यसरी व्यक्त गरे: “मैले तिमीहरूका अगि जीवन र मृत्यु, आशिष र सराप राखेको छु। यसकारण जीवननै रोज र तिमीहरू र तिमीहरूका भावी पुस्ता जिउनेछौ।”—व्यवस्था ३०:१९.
यस सिद्धान्तले चिकित्सा क्षेत्रलाई पनि असर गर्छ। सूचित छनौट वा सूचित सम्मतिको अधिकारबारे धारणा विगतमा त्यति प्रचलित नभएको जापान तथा अन्य देशहरूमा पनि बिस्तार बिस्तारै स्वीकार्न थालिएको छ। डा. मिचिटारो नाकामुराले पर्याप्त जानकारीपछि गरिएको छनौटबारे यसो भने: “सूचित छनौट भनेको डाक्टरले बिरामीलाई तिनले बुझ्ने भाषामा रोग, आवश्यक उपचार र सम्भाव्य प्रतिकूल असरबारे बताएपछि बिरामीले छनौट गरेको उपचारविधिलाई कदर गर्नु हो।”—जापान मेडिकल जर्नल।
जापानमा डाक्टरहरूले बिरामीहरूलाई यसप्रकार उपचार गर्ने शैलीको विभिन्न कारणहरू प्रस्तुत गरेर प्रतिरोध गरेको वर्षौं भइसक्यो र अदालतले पनि उक्त चिकित्सा उपचारको हतपति विरोध गर्दैन। अतः फेब्रुअरी ९, १९९८ मा टोक्यो उच्च अदालतका प्रधान न्यायाधीश टाकियो इनाबाले सूचित छनौटको पक्षमा फैसला गर्नु उल्लेखनीय थियो। त्यो फैसला के थियो र अदालतसम्म पुगेको त्यो मुद्दा के थियो?
जुलाई १९९२ मा ६३ वर्षीया यहोवाको साक्षी मिसाइ टाकिडा टोक्यो विश्वविद्यालयको इन्स्टिच्युट अफ मेडिकल साइन्स अस्पतालमा गइन्। उनको कलेजोमा घातक ट्युमर भएको पत्ता लागेको थियो र शल्यचिकित्सा गर्नुपर्थ्यो। रगतको दुरुपयोग नगर्नू भन्ने बाइबलीय आज्ञा पालन गर्न कटिबद्ध बहिनी टाकिडाले रगतबिना उपचार गर्ने इच्छाबारे डाक्टरहरूलाई स्पष्ट पारिन्। (उत्पत्ति ९:३, ४; प्रेरित १५:२९) उनको निर्णयको कारण बिरामीलाई कथंकदाचित् केही भएको खण्डमा चिकित्सकहरूलाई कुनै दोष नलाग्ने कागजपत्र गरे। तिनीहरूले उनको इच्छाको कदर गर्ने आश्वासन दिए।
तथापि, शल्यक्रियापछि उनी बेहोसी अवस्थामा हुँदा रक्तक्षेपण गरियो र यो सरासर उनको इच्छा विपरीत थियो। यसरी गैरकानुनी रूपमा गरिएको रक्तक्षेपण गोप्य नै राख्ने प्रयास गरिएको थियो तर अस्पतालको एक जना कर्मचारीले अखबारवालाहरूलाई कुरा फुस्काइ दिए। आफ्नो इच्छा विपरीत यसरी रक्तक्षेपण गरेको कुरा थाह पाउँदा उनको हालत कस्तो भयो होला तपाईं कल्पना गर्नुहोस्। उनले त्यहाँका चिकित्साकर्मीहरूले आफ्नो इच्छा अनि धार्मिक विश्वासको कदर गर्नेछन् भन्ने विश्वास गरेकी थिइन्। डाक्टर/बिरामीबीचको सम्बन्ध उल्लंघन भएको कारण सहनु परेको भावनात्मक वेदना र अरूले पनि यस्तै चिकित्साकर्मीहरूबाट दुर्व्यवहार नभोगोस् भन्ने हेतुले यस विषयलाई अदालतसम्म पुऱ्याउने निधो गरिन्।
सार्वजनिक आदेश र नैतिकता
टोक्यो जिल्ला अदालतका तीन न्यायाधीशहरूले मुद्दा सुने र चिकित्सकहरूको पक्षमा फैसला गरे र यो सूचित सम्मतिको अधिकार विपरीत थियो। मार्च १२, १९९७ मा तिनीहरूले गरेको फैसलाअनुसार उपचारमा रगतको प्रयोग पटक्कै नगर्नू भन्ने कुरा अत्यन्तै अमिल्दो छ भनी उल्लेख गरे। गम्भीर अवस्थामा पनि रगत नदिने भनी चिकित्सकले विशेष मञ्जूरनामा गरेपछि कोजो ऱ्योजोकुa वा सामाजिक स्तर उल्लंघन हुन्छ भन्ने तिनीहरूको तर्क थियो। तिनीहरूको विचारमा डाक्टरको प्रमुख काम जसो गरेर भए पनि जीवन बचाउनु हो। त्यसैकारण बिरामीको धार्मिक विश्वास जस्तोसुकै भए पनि त्यस्तो मञ्जुरीनामा अस्वीकार्य हुनेछ। बिरामीले जस्तोसुकै उपचारविधि छनौट गरे तापनि आखिरमा चिकित्सकको रायलाई नै सबैभन्दा महत्त्व दिनुपर्ने तिनीहरूले निर्णय गरे।
यसबाहेक, चिकित्सकले शल्यक्रियाको आधारभूत प्रक्रिया, यसको असर तथा खतरा बताउनुपर्छ तर “रक्तक्षेपण गर्ने विचार गरेको छ या छैन भन्नु आवश्यक छैन” भनी न्यायाधीशले उल्लेख गरे। तिनीहरूको फैसला यस्तो थियो: “प्रतिवादीको रूपमा खडा हुने डाक्टरहरूले जस्तोसुकै अवस्थामा पनि रक्तक्षेपण नगर्ने कुरामा सहमति जनाएर बिरामीलाई तिनको इच्छाको कदर गरेको आभास दिनु गैरकानुनी र अनुचित भन्न मिल्दैन।” तिनीहरूको विचारमा चिकित्सकहरूले अर्कै तरिका अपनाएको खण्डमा बिरामीले शल्यक्रिया गर्न इन्कार गरेर अस्पताल छोडेर जानसक्छ।
सूचित छनौट अधिकारका अधिवक्ताहरू अदालतको फैसला सुनेर तीन छक परे। टाकिडाको मुद्दाबारे छलफल गर्दै जापानमा सूचित छनौट अधिकारबारे नागरिक कानुनका प्रमुख अधिकारी प्राध्यापक टाकाओ यामाडाले यसो भने: “यो फैसला लागू गऱ्यो भने त रक्तक्षेपण गर्न अस्वीकार गर्ने र सूचित छनौटको अधिकारबारे कानुन त निभ्न लागेको बत्तीजस्तै हुनेछ।” (कानुनी पत्रिका होगाकु क्योशीट्सु) तिनले त्यसरी जबरजस्ती रक्तक्षेपण गर्नु “ठूलो धोका दिनु वा लुकीछिपी आक्रमण गर्नु बराबर हो” भन्ने कडा शब्दहरूमा आफ्नो विचार व्यक्त गरे। त्यस्तो विश्वास तोड्ने काम “कहिल्यै गर्न दिनु हुँदैन” भनी प्राध्यापक यामादाले बताए।
मिसाइको विनीत स्वभावले गर्दा उनलाई जनसमक्ष आएर केही बोल्न अप्ठ्यारो महसुस भयो। तर यहोवाको नाउँको रक्षा गर्न र रगतको पवित्रताबारे धार्मिक स्तर कायम गर्न उनले केही योगदान गर्नसक्ने बुझेर उनी आफ्नो भूमिका निर्वाह गर्न कटिबद्ध भइन्। तिनले कानुनी समितिलाई लेखिन्: “म माटो भन्दा पनि तुच्छ भइसकें। यस मामिलामा म जस्तो अयोग्य मानिसलाई किन चलाएको होला भनी सोच्छु। तर ढुंगाहरू पनि कराउन लगाउन सक्नुहुने परमेश्वर यहोवाले जो भन्नुहुन्छ त्यही गर्दा उहाँले मलाई शक्ति दिनुहुनेछ।” (मत्ती १०:१८; लूका १९:४०) त्यस्तो धोकाको कारण आफूले भोग्नु परेको भावनात्मक पीडाबारे उनले पुर्पक्षको समयमा कठघरामा उभिएर थरथर काँप्ने स्वरमा बताइन्। “बलात्कृत भएको महिलाले जस्तै मैले महसुस गरें।” उनको बयान सुनेर अदालतमा आँसु नझार्ने मानिसहरू कमै थिए होलान्।
आश्चर्यमय प्रोत्साहन
जिल्ला अदालतको फैसलाको कारण तुरुन्तै सर्वोच्च अदालतमा अपील गरियो। जुलाई १९९७ देखि पुनरावेदन अदालतमा बहस सुरु भयो र कमजोर भइसकेका कटिबद्ध मिसाइ ह्विलच्येरमा हाजिर भइन्। क्यान्सर फेरि बल्झिएको थियो र तिनी झन् झनै कमजोर हुँदै थिइन्। प्रधान न्यायाधीशले अदालतले चाल्न लागेको असाधारण कदमहरूबारे बताउँदा मिसाइ अत्यन्तै प्रोत्साहित भइन्। बाहिर चाहिं बिरामीको इच्छाको कदर गर्न राजी भएजस्तो देखाउने तर गुप्तमा अर्कै निर्णय गर्ने चिकित्सकहरूको पक्षमा गरिएको निर्णयमा तिनी पटक्कै सहमत नभएको बताए। प्रधान न्यायाधीशले पहिलेदेखि चल्दै आएको “शिरासिमु बेकाराजु योराशिमु बेशी”b अर्थात् उपचारबारे “तिनीहरूलाई अनभिज्ञ र औषधीहरूको अधीनमा” राख्ने नीतिलाई अदालतले समर्थन गर्दैन भने। मिसाइले पछि यसो भनिन्: “न्यायाधीशको निष्पक्ष टिप्पणी सुन्न पाएकोमा औधी खुशी छु, यो पहिलाको जिल्ला अदालतको फैसलाभन्दा पूर्णतया भिन्न छ।” तिनले भनिन्: “मैले यसैको लागि यहोवालाई प्रार्थना गरिरहेकी थिएँ।”
अर्को महिना आफ्ना मायालु परिवार र चिकित्साकर्मीहरूको माझमा अर्कै अस्पतालमा उनको मृत्यु भयो। यस अस्पतालले उनको इच्छा बुझे र त्यसको कदर गरियो। उनको मृत्युबाट अत्यन्तै दुःखित भए तापनि उनका छोरा मासामि र परिवारका अन्य सदस्यहरू उनको इच्छाअनुरूप त्यो मुद्दाको टुंगो लागेको हेर्न चाहन्थे।
फैसला
अन्ततः फेब्रुअरी ९, १९९८ मा सर्वोच्च अदालतका तीन न्यायाधीशहरूले तल्लो अदालतको फैसलालाई बदर गरिदिए। अदालतको त्यस सानो कोठामा रिपोर्टर, प्राज्ञ तथा अरू टन्नै थिए जसले पहिलेदेखि यस मुद्दाको सबै कुरा बुझिरहेका थिए। प्रमुख अखबार तथा टेलिभिजन स्टेसनहरूले यस फैसलाबारे रिपोर्ट गरे। केही शीर्षसमाचारहरू यसप्रकार थिए: “अदालतमा बिरामीहरूले उपचार इन्कार गर्नसक्छन्”; “उच्च अदालत: रक्तक्षेपण अधिकारको हनन”; “बिरामीलाई जबरजस्ती रक्तक्षेपण गरेका डाक्टरले अदालतमा मुद्दा हारे”; “रक्तक्षेपणको निम्ति यहोवाको साक्षीले क्षतिपूर्ति पाउँछिन्।”
त्यस फैसलासम्बन्धी रिपोर्टहरू सही हुनुका साथै अत्यन्तै सकारात्मक थियो। द डेली योमुरी-ले यस्तो रिपोर्ट गऱ्यो: “बिरामीले अस्वीकार गरेको उपचारविधि जबरजस्ती प्रयोग गर्नु अनुपयुक्त हो भनी न्यायाधीश टाकियो इनाबाले भने।” स्पष्टसित अझ यसो पनि भन्यो: “[रक्तक्षेपण] गर्ने डाक्टरहरूले तिनको उपचारविधि छनौट गर्ने अधिकार हनन गरे।”
आशाही शिम्बुन-ले यस मुद्दामा जीवनै खतरामा भएको स्थितिमा पनि रगत प्रयोग नगर्ने भनी मञ्जूरीनामा भएको प्रमाण यथेष्ट नभए तापनि न्यायाधीश, तल्लो अदालतको वैधताबारे सहमत नभएको कुरा औंल्याउँदै यसो भने: “दुवै पक्षबीच कुनै पनि परिस्थितिमा रक्तक्षेपण नगर्नू भन्ने स्पष्ट मञ्जूरीनामा छ भने यस अदालतले सार्वजनिक आज्ञाको विरुद्धमा निर्णय गर्दैन।” यसबाहेक त्यस अखबारले “प्रत्येक मानिस एक दिन मर्नैपर्छ र कुन तरिकामा मर्ने हो भनी हरेक व्यक्तिविशेषको अधिकारको कुरा भन्ने” न्यायाधीशको विचार पनि औंल्याए।
वास्तवमा, यहोवाका साक्षीहरूले यस विषयमा अनुसन्धान गरेका छन् र यही नै उत्तम मार्ग हो भनी पक्का छन्। यसमा हानिकारक रक्तक्षेपणलाई इन्कार गर्ने र आज थुप्रै मुलुकहरूमा व्यापक तवरमा प्रयोग गरिने रगतबिना गरिने अन्य उपचारहरू स्वीकार्नु परमेश्वरको व्यवस्थाअनुरूप पनि छ। (प्रेरित २१:२५) संवैधानिक नियमसम्बन्धी प्रख्यात जापानी प्राध्यापकले यसो भने: “यथार्थ नबिर्सने हो भने [रक्तक्षेपण] अस्वीकार गर्नु भनेको “कसरी मर्नु” भनी छनौट गर्ने नभई कसरी बाँच्ने भनी छनौट गर्नु हो।”
उच्च अदालतको यस फैसलाले अन्य चिकित्सकहरूलाई पनि विवेकशील अधिकारको कुरा कसै कसैले सोचेजस्तो बृहत् छैन भनी सचेत गराउनुपर्छ। यसले अन्य अस्पतालहरूलाई पनि नीतिगत् निर्देशनहरू तय गर्न प्रेरित गर्नुपर्छ। यस अदालतको निर्णय साधारणतया सबैले स्वीकार्नुका साथै उपचार छनौटबारे आवाज उठाउन नपाउने बिरामीहरूको निम्ति प्रोत्सहानदायी भए तापनि सबैले यस निर्णयलाई खुला हृदयले स्वीकारेका छैनन्। सरकारी अस्पताल साथै माथि उल्लिखित तीन चिकित्सकहरूले सर्वोच्च अदालतमा अपील गरेका छन्। अतः यस ब्रह्माण्डको सर्वोच्चले जस्तै जापानको सर्वोच्च अदालतले पनि बिरामीको अधिकारको कदर गर्छ कि गर्दैन, हेर्नु बाँकी नै छ।
[फुटनोटहरू]
a कानुनी तवरमा यसको व्याख्या गरिएको छैन, न्यायाधीशहरू आफैले यसको अर्थ लगाउनुपर्छ।
b जनतालाई कसरी शासन गर्ने भन्ने सन्दर्भमा टोकुगावा समयमा जातीय शासकहरूले त्यस्तो नीति पालन गर्थे।