परिवारलाई साँचो सहायता
“अमेरिकामा पारिवारिक स्थिति संकटग्रस्त छ भन्नु अत्युक्ति नहोला। द्रुत गतिले बढिरहेको पारपाचुके, अवैध सम्बन्धबाट जन्मने बच्चाहरू र किशोरकिशोरीको विवाह जस्ता कुराहरूबाट यो सहजै अनुमान लगाउन सकिन्छ।”
संयुक्त राज्यका टेलिभिजन टिप्पणीकार टम ब्रोकको भनाइ मुताबिक प्रायजसो देशहरूमा यस्तै स्थिति आइसकेको छ। यस्तो संकटको अर्थ के हो?
थुप्रै ढंगमा परिवार समाज निर्माणको आधारशिला हो। अतः परिवार संकटमा हुनु नै समाज संकटमा हुनु हो। अझ बढी त, परिवार छोराछोरीको भावनात्मक र भौतिक सहाराको स्रोत पनि हो। त्यहाँ उनीहरूले जीवनको प्रथम र अति महत्त्वपूर्ण पाठहरू सिक्छन्। यदि परिवार नै संकटमा छ भने छोराछोरीले के नै सिक्लान् र? उनीहरूले पाउनुपर्ने सुरक्षा खोइ त? अनि उनीहरू हुर्केपछि कस्तो खाले मानिस बन्लान्?
यस्तो संकटग्रस्त स्थितिमा के परिवारले पाउनसक्ने कुनै सहायता छ? छ। परिवार, परमेश्वर स्वयम्ले स्थापना गर्नुभएको एउटा संगठन हो। (उत्पत्ति १:२७, २८) साथै उहाँले परिवारका लागि आफ्नो वचन, बाइबलमा अपरिहार्य निर्देशन दिनुभएको छ। (कलस्सी ३:१८-२१) हो, हामीले समाजलाई सम्पूर्णरूपले परिवर्तन गर्न त पटक्कै सक्दैनौं, तर बाइबलको सल्लाह लागू गरेर परिवारभित्र भने अवश्य पनि परिवर्तन ल्याउनसक्छौं। बाइबलको सल्लाह प्रयोगमा ल्याएर राम्रो परिणाम हासिल गर्ने केही व्यक्तिहरूको विषयमा हामी तपाईंलाई बताउन चाहन्छौं।
पारपाचुके हुनदेखि रोकथाम
केही देशहरूमा गरिएका विवाहरूमध्ये लगभग ५० प्रतिशत पारपाचुकेमा अन्त हुँदैछ। यो मानवसम्बन्धको ठूलो हार हो। यस्तै कारणहरूले एक्लो भएका कतिपय आमाबाबुले छोराछोरीको पालनपोषण गरेर साँच्चै बहादुरी देखाएका छन्। तर दम्पतीले मिलेर समस्याहरू समाधान गर्नसके अनि सँगै बस्नसके झनै असल हुन्थ्यो भन्ने कुरामा प्रायः सबै सहमत छन्।
सोलोमन टापुहरूमा बस्ने एक दम्पतीको विवाह टुक्रिनै लागेको थियो। लोग्ने अर्थात् मुखियाको छोरो, हिंस्रक हुनुका साथै साह्रै खराब स्वभावका थिए। पतिको यस्तो स्वभावले गर्दा वाक्कदिक्क भएर पत्नीले आत्महत्या गर्ने प्रयाससमेत गरिन्। त्यति नै खेर पति यहोवाका साक्षीहरूसँग बाइबल अध्ययन गर्न मन्जुर भए। परमेश्वरलाई प्रसन्न तुल्याउन चाहने व्यक्तिले गलत के हो थाह पाएर मात्र पुग्दैन तर “खराबीलाई घृणा” गर्न सिक्नु पनि आवश्यक छ भनेर तिनले सिके। (भजन ९७:१०) त्यसरी घृणा गर्नुपर्ने खराबीमा झूट बोल्नु, चोरी गर्नु, हिंसा तथा मतवालापन समावेश हुन्छ। तिनले यी सल्लाहलाई हृदयमा लिए र तुरुन्तै आफ्नो खराब स्वभाव र हिंसात्मक मिजास त्यागे। पतिको स्वभावमा यति ठूलो परिवर्तन आएको देखेर पत्नी आश्चर्यचकित भइन्। त्यसपछि परमेश्वरको वचनको प्रभावले गर्दा उनीहरूको दाम्पत्य जीवनमा ठूलो सुधार आयो।
दक्षिण अफ्रिकाकी एउटी साक्षी महिलाले उनकी हाकिम र हाकिमका पतिले पारपाचुके गर्ने विचार गरिरहेका छन् भनेर खबर सुनिन्। ती साक्षी महिलाले आफ्नो हाकिमलाई पारिवारिक आनन्दको रहस्य, नामक पुस्तक देखाउँदै वैवाहिक जीवनबारे परमेश्वरको दृष्टिकोण बताइदिइन्। यहोवाका साक्षीहरूद्वारा प्रकाशित यो पुस्तकले वैवाहिक जीवनमा लागू हुने बाइबलका सिद्धान्तमाथि ध्यान खिच्दै, विशेषगरि दाम्पत्य जीवनको समस्या समाधान गर्न बाइबलले कसरी सहायता दिन्छ भन्ने विषयमा जोड दिन्छ। हाकिम र उनका पति दुवैले यो पुस्तक पढे अनि त्यहाँ दिइएको बाइबलको सल्लाह इमानदार भई प्रयोगमा ल्याए। फलस्वरूप, उनीहरूले पारपाचुके नगर्ने निर्णय गरे। यसरी बाइबलका सिद्धान्तहरू प्रयोगमा ल्याउँदा अर्को दाम्पत्य जीवन टुट्नबाट बच्यो।
अलग-अलग धर्म
पति र पत्नीको बेग्लाबेग्लै धर्म भएमा के गर्ने? मसीहीले “प्रभुमा मात्र” विवाह गर्नुपर्छ भनेर बाइबलले व्यवहारिक सल्लाह दिन्छ। (१ कोरिन्थी ७:३९) यद्यपि रहँदा बस्दा लोग्ने वा स्वास्नीमध्ये कुनै एकले आफ्नो धर्म परिवर्तन गर्नसक्छ। के त्यही नै दाम्पत्य जीवनको अन्त हुने कारण हुनसक्छ त? हुनैसक्दैन।
बोत्सवानामा भर्खरै मात्र यहोवाको साक्षी भएकी एउटी महिलालाई उनको नयाँ धर्मले जीवनमा कसरी यत्रो ठूलो परिवर्तन ल्यायो भन्ने प्रश्न गरिएको थियो। तिनले आफ्नो पतिलाई जवाफ दिन बिन्ती गरिन्, उनले यसरी बताए: “मेरी पत्नी यहोवाको साक्षी भएदेखि उसो, उनमा धेरै व्यवहारिक परिवर्तनहरू आएका छन्। अहिले उनी शान्त स्वभावकी र धेरै बुद्धिमानी भएकी छिन्। उसको दृढ विश्वास र सामर्थ्यले गर्दा धूम्रपान पनि छोड्नसकिन्, मैले भने अझै छोड्नसकेको छैन। मेरी पत्नी मेरा छोराछोरी र मसँग मात्र नभएर अरू सबैसँग मायालु र स्नेही भएकी छिन्। छोराछोरीको कुरामा त उनी झन् साह्रै सहनशील भएकी छिन्। आजकाल उनी, अरूको जीवनमा पनि सुधार आओस् भनेर सधैं सेवकाईको काममा व्यस्त रहन्छिन्। म आफैमा पनि थुप्रै परिवर्तनहरू भएको देख्छु। यी सबै उनकै असल उदाहरणको प्रतिफल हो भनेर मलाई पूरा विश्वास छ।” यी दुईको दाम्पत्य जीवनमा बाइबल सिद्धान्तहरू अपनाउँदा साँच्चै कत्ति असल परिणाम भयो। अन्य थुप्रै मानिसहरूले पनि यी साक्षीको दाम्पत्य जीवनको विषयमा त्यस्तै टिप्पणी गरेका छन्।
बुबाले आफ्ना जिम्मेवारीहरू वेवास्ता गर्दा
बुबा र छोराछोरीबीचको राम्रो सम्बन्ध परिवारलाई बलियो बनाउने कुञ्जी हो। प्रेरित पावलले यसरी सल्लाह दिए: “ए बाबु हो, तिमीहरूका बालकहरूलाई रिस नउठाओ, तर तिनीहरूलाई प्रभुको शिक्षा र चेताउनीमा पालन-पोषण गर।” (एफिसी ६:४) अतः द वील्सन् क्वाटर्ली को एउटा अंकले स्पष्टतः आज सामाजिक समस्याहरू हुनुनै पितृत्वको भूमिका निर्वाह नगर्ने बुबाहरूको कारणले हो भनेर दोषारोपण गर्दा हामी छक्क पर्दैनौं। त्यो अंक भन्छ: “१९६० र १९९० को बीचमा आ-आफ्ना बुबाहरूदेखि अलग हुने छोराछोरी दुगुणा बढे . . . आज अमेरिकी समाजमा उत्पात मच्चिरहनुको कारण पितृत्वको जिम्मेवारी पूरा गर्न नचाहने बुबाहरूको संख्यामा भएको वृद्धिले हो।”
त्यसोभए के आफ्नो बुबाबाट हेरचाह नपाउने छोराछोरी बिग्रन्छन् नै भन्ने छ त? कदापि छैन। पुरातन समयका भजनरचयिताले भने: “मेरा बाबु र मेरी आमाले मलाई त्यागेका छन्, तर परमप्रभुले मलाई सह्माल्नुहुनेछ।” (भजन २७:१०) थाइल्याण्डको नौ वर्षको एउटा केटोको अवस्था त्यस्तै थियो। ऊ बालक छँदा नै उसकी आमा बितिन् अनि बुबाचाहिंले छोरालाई पटक्कै मन नपराउने हुँदा बज्यैलाई जिम्मा लगाएर एकातिर लाग्यो। उसलाई कसैले वास्तै नगरेको र माया पनि नगरेको जस्तो लाग्यो। यिनै कारणहरूले गर्दा पछि ऊ विद्रोही र दादागिरी गर्ने व्यक्ति हुनपुग्यो। ऊ आफ्नै बज्यैलाई पनि धम्काउने भयो। यहोवाका साक्षीहरूका दुइटी पूर्ण-समय प्रचारकहरूले उसलाई स्थानीय राज्यभवनको बाहिरपट्टि उभिरहेको धेरैचोटी देखिसकेका थिए। त्यसैले एकदिन उसलाई आफ्नो घरमा बोलाएर लगे।
उनीहरूले उसलाई परमेश्वरको विषयमा बताउँदै उहाँले हामीलाई बुबाले जस्तैगरि माया गर्नुहुन्छ भने। परमेश्वरले आफ्ना विश्वासी जनहरूसित राख्ने प्रतिज्ञा गर्नुभएको पार्थिव प्रमोदवनको विषयमा पनि उनीहरूले बताए। (प्रकाश २१:३, ४) यी कुराहरू उसलाई मनपऱ्यो अनि ऊ अझ धेरै कुराहरू सिक्ने इच्छाले दिनहुँ आउनथाल्यो। ती साक्षीहरूले उसलाई यदि परमेश्वरलाई आफ्नै बुबाजस्तो भएको चाहने हो भने दादागिरी गर्न त्याग्नुपर्छ भने। यो सल्लाह पावलले रोमीहरूलाई भनेका शब्दहरूसँग मेल खान्छन्: “हुनसक्छ भने, सक्दोभर सबै मानिसहरूसँग शान्तिमा रहो।” (रोमी १२:१८) त्यस्तैगरि आफ्नी बज्यैसँग पनि दयालु व्यवहार गर्नुपर्ने आवश्यकता उसले बुझ्यो। (१ तिमोथी ५:१, २) तुरुन्तै, उसले बाइबलका सिद्धान्तहरूलाई व्यवहारमा उतार्न थाल्यो। निस्सन्देह यसले गर्दा बज्यैसँगको पारिवारिक जीवनमा ठूलो सुधार आउन थाल्यो। (गलाती ५:२२, २३) उसमा यस्ता परिवर्तनहरू भएको देखेर छरछिमेकीहरू यति विघ्न प्रभावित भए कि उनीहरूले आफ्ना छोराछोरीलाई समेत यहोवाका साक्षीहरूसँग बाइबल अध्ययन गराउने इच्छा प्रकट गरे!
शान्त आत्मा
प्रेरित पावलले कलस्सीहरूलाई यसरी लेखे: “प्रेम धारण गर, जो सिद्धताको गाँठो हो। औ ख्रीष्टको शान्तिले तिमीहरूका हृदयमा राज्य गरोस्।” (कलस्सी ३:१४, १५) निश्चय पनि शान्त आत्मा र निष्कपट प्रेमले परिवारलाई एकतामा बाँध्छ। तिनीहरूले एकदमै पुरानो पारिवारिक अमेललाई पनि हटाउनसक्छ। अल्बेनियाकी रूकीय नाम गरेकी एक बहिनी पारिवारिक झगडाको कारण आफ्नै भाइसँग १७ वर्षसम्म बोलिनन्। तर यहोवाको साक्षीहरूसँग बाइबल अध्ययन गर्न थालेपछि तिनले परमेश्वरको हरेक सेवक सबैसँग मेलमिलापमा बस्नुपर्छ अर्थात् ‘शान्ति खोजेर त्यसको पछि लाग्नुपर्छ’ भनेर बुझिन्।—१ पत्रुस ३:११ नयाँ संशोधित संस्करण।
रूकीयले त्यति नै खेर आफ्नो भाइसँग मिलाप गरिहाल्नुपर्छ भन्ने कुरा बुझिन्। तिनले रातभर प्रार्थना गरिन्, भोलि बिहान उठ्दा तिनको हृदय जोडले धड्किरहेको थियो। तैपनि त्यही दिन तिनी आफ्नो भाइको घर गइन्। रूकीयकी भदैले ढोका खोलीदिई र आश्चर्य मान्दै सोधी: “तपाईं पो? शान्तभावमा रूकीयले भनिन्, म मेरो भाइलाई भेटेर ऊसँग मिलाप गर्न चाहान्छु। किन? किनभने त्यसो गर्नु परमेश्वरको इच्छा हो भनेर तिनले बुझिन्। तिनका भाइ पनि खुसी भए। त्यसपछि आलिंगन र हर्षको आँसुसहित उनीहरूको पुनर्मिलन भयो। यसरी बाइबलको सिद्धान्तहरू प्रयोगमा ल्याउँदा एउटा परिवारको पुनर्मिलन हुनगयो।
खराब संगत
“आजभोलि, अधिकांश बच्चाले दिनमा सात घण्टा टेलिभिजन हेर्छ। प्राथमिक शिक्षा पूरा हुँदा नहुँदै उसले लगभग ८,००० हत्या र १,००,००० जति हिंसात्मक फिल्म हेरिसकेको हुन्छ।” सफल परिवारहरूको सात आचरणहरू नामक अंग्रेजी पुस्तकले त्यसो भन्छ। यस्ता प्रभावहरूमा पर्ने यो बच्चा पछि कस्तो हुन्छ होला? “विशेषज्ञहरू” यस विषयमा एकअर्कासित सहमत हुन नसके तापनि बाइबलले चाहिं खराबसंगतहरूको विरुद्ध कडा चेताउनी दिन्छ। जस्तै, बाइबल यसरी भन्छ: “मूर्खहरूसित लागे बरालिन्छ।” (हितोपदेश १३:२०) अझै यसो पनि भन्छ: “खराब संगतले भला चाल-चलनलाई बिगार्दछ।” (१ कोरिन्थी १५:३३) व्यक्तिविशेष होस् वा टेलिभिजन कार्यक्रमसित यदि उक्त सिद्धान्तलाई सत्य ठान्दै बुद्धिमानी भई अपनायौं भने पारिवारिक जीवनमा अवश्य सुधार आउनेछ।
लक्जमवर्गमा बसोबास गर्ने एउटी आमा यहोवाको साक्षीसँग बाइबल अध्ययन गरिरहेकी थिइन्। एकदिन तिनले ती साक्षी बहिनीलाई हरेक साँझ तिनका सात र आठ वर्ष पुगेकी दुई छोरीहरू झगडा गर्न निहुँ खोजिरहन्छन् भनेर बताइन्। छोरीहरूले साँझपख के-के गर्छन् भनेर साक्षी बहिनीले सोधिन्। ती आमाले भनिन्, साँझ मैले भान्छाघर सफा गरिरहेको बेला तिनीहरू टेलिभिजन हेरिरहेका हुन्छन्। बहिनीले कस्तो कार्यक्रम हेर्छन् भनेर सोधिन्? “अँ, यस्तै कार्टुनहरू,” आमाले जवाफ दिइन्। यस्ता कार्यक्रमहरू अक्सर हिंसाले भरिएको हुनसक्छ भनेर जब साक्षी बहिनीले बताइन्, तब ती आमाले अबदेखि म छोरीहरूमाथि निगरानी गर्नेछु भनिन्।
त्यसको भोलिपल्टै, तिनका छोरीहरूले हेर्ने कार्टुन देखेर आफू अक्क न बक्क भएको तिनले बताइन्। ती कार्टुन चलचित्रमा कुनै वाह्य अन्तरिक्षबाट आएका कल्पित दैत्यहरूले आफ्नो अगाडि परेका कुनै पनि कुराहरूलाई निर्ममतासाथ नष्ट गर्दै जान्थे। उनले आफ्ना छोरीहरूलाई यहोवाले हिंसालाई घृणा गर्नुहुन्छ र हामीले यस्तो कार्यक्रम हेर्दा उहाँ प्रसन्न हुनुहुन्न भनेर बताइन्। (भजन ११:५) तिनका छोरीहरूले यहोवालाई नै प्रसन्न तुल्याउने इच्छा प्रकट गर्दै टेलिभिजन हेर्न बन्द गरेर त्यस समयमा चित्रहरू बनाउने इच्छा देखाए। तत्कालै उनीहरूको झगडालु व्यवहार हरायो र त्यसपछि पारिवारिक वातावरणमा सुधार आयो।
यी भए पारिवारिक जीवनमा बाइबलका सिद्धान्तहरू अपनाउँदा के कस्ता सुधारहरू आउन सक्छन् त्यसका केही उदाहरणहरू। बाइबलको सल्लाह जीवनको जुनसुकै क्षेत्रमा पनि प्रयोग हुन्छ। बाइबल विश्वसनीय र प्रभावशाली पनि छ। (हिब्रू ४:१२) मानिसहरू जब बाइबल अध्ययन सुरु गर्छन् र त्यहीबमोजिम गर्छन्, तब परिवार सुदृढ हुन्छ, व्यक्तित्वमा सुधार आउँछ र गल्तीहरू गर्नदेखि होसियार हुन्छन्। परिवारमा एकै जना मात्रले भए पनि परमेश्वरको सल्लाह मुताबिक चलेमा स्थिति धेरै राम्रो हुन्छ। साँच्चै, जीवनको हरेक क्षेत्रमा हामीले पनि परमेश्वरको वचनप्रति भजनरचयिताको जस्तै दृष्टिकोण राख्नुपर्छ तिनले यसरी लेखे: “तपाईंको वचन मेरो खुट्टाको निम्ति बत्ती र मेरो बाटोको निम्ति उज्यालो छ।”—भजन ११९:१०५.
[पृष्ठ ५-मा भएको चित्र]
बाइबलका सिद्धान्तहरूलाई प्रयोगमा ल्याएर पारिवारिक समस्याहरू समाधान भएका छन्