“बालकलाई . . . तालिम देऊ”
जमीनमा बीउ छरेर, केही महिनापछि कटनी गर्न जाँदैमा बागवानीको काम पूरा हुँदैन। फल राम्ररी पाकोस् भन्नाका लागि माटो खनखान गरेर मिलाउन, बीउ छर्न, पानी हाल्न अनि बिरुवाको पालनपोषण गर्न निकै परिश्रम गर्नुपर्छ।
यी कार्यहरूले हितोपदेश २२:६ (संशोधित संस्करण) मा भनिएका कुराहरूलाई सत्य साबित गर्छ, जसले भन्छ: “बालकलाई ऊ हिंड्नुपर्ने बाटोमा तालिम देऊ, र वृद्धावस्थासम्म ऊ त्यसबाट तर्किएर जाँदैन।” बालकलाई सफलतासाथ हुर्काउन निस्सन्देह, आमाबाबुको प्रशिक्षणको अति आवश्यकता पर्दछ।
तथापि, आजको छाडा संसारमा थुप्रै आमाबाबुले यो सल्लाह पालन गरेका छैनन्। केटाकेटीहरूले आफ्नो समस्या आफैले सुल्झाउन सिक्नुपर्छ भन्ने संसारको पुराना विचारधारा अपनाएको हुँदा केटाकेटीहरू कसैको डोऱ्याइबिना आफै हुर्किनु पर्ने भयो। त्यस्तो धारणा अपनाउँदा केटाकेटीहरू सिद्धान्त विहीन अनि धूर्त व्यक्तिहरूको घातक प्रभावमा पर्न सक्छन्।—हितोपदेश १३:२०.
कलिलै उमेरमा ईश्वरीय प्रशिक्षणद्वारा मसीही सिद्धान्तहरू बिस्तारै छोराछोरीको मनमा घुसाउनसक्नु साँच्चै राम्रो कुरा हो! तर कति कलिलो उमेरमा? [“शैशवकालदेखि,” NW] भनेर पावल भन्छन्। यसको उदाहरणस्वरूप जवान तिमोथीलाई लिन सकिन्छ। तिनकी आमा युनिस र बज्यै लोइसले सिकाएका “पवित्र लेखोटहरू” तिनले “सिके” अनि निश्चय भएर ती ‘कुराहरूमा लागिरहे।’ परिणाम? त्यस्तो प्रशिक्षणले तिनलाई ‘मुक्तिको निम्ति बुद्धिमान तुल्याउन’ महत्त्वपूर्ण भूमिका खेल्यो।—२ तिमोथी १:५; ३:१४, १५.
त्यस्तैगरि, आज पनि आमाबाबुले ‘भलाइ गर्नमा हरेस खाएनन्’ अनि ‘थाकेनन्’ भने राम्रा इनामहरू कटनी गर्नेछन्। (गलाती ६:९) बुद्धिमान राजा सुलेमान भन्छन्: “असल मानिसको बाबु रमाउनेछन्।”—हितोपदेश २३:२४.