“जेहोभा” कि “याहवे”?
“खच्चड,” “विदेशी भाषा,” “कुरूप।” कुन कुराले गर्दा बाइबलका हिब्रू शास्त्रविद्हरूले यस्ता तीखा वचन प्रयोग गरे? यहाँ विवादमा परेको विषय हो, अंग्रेजीमा परमेश्वरको नाउँको सही उच्चारण “जेहोभा” हो कि होइन। सय वर्षभन्दा अघिदेखि यो विवाद चल्दै आएको छ। आज अधिकांश शास्त्रविद्हरू दुई स्वरान्तर भएको “याहवे” प्रयोग गर्न रुचाउँछन्। तर के “जेहोभा” भन्ने उच्चारण साँच्चै “कुरूप” छ त?
विवादको जरा
बाइबलअनुसार, परमेश्वर आफैले मानवजातिलाई आफ्नो नाउँ बताउनुभयो। (प्रस्थान ३:१५) परमेश्वरका पुरातन सेवकहरूले उक्त नाउँ निसंकोच प्रयोग गर्थे भनी धर्मशास्त्रीय प्रमाणले औंल्याउँछ। (उत्पत्ति १२:८; रूथ २:४) अन्य राष्ट्रका मानिसहरूलाई पनि परमेश्वरको नाउँ थाह थियो। (यहोशू २:९) विशेषगरि, यहूदीहरू बाबेलको निर्वासनबाट फर्केर थुप्रै राष्ट्रका मानिसहरूसँग घुलमेल हुन थालेपछि ती मानिसहरूले परमेश्वरको नाउँ थाह पाए। (भजन ९६:२-१०; यशैया १२:४; मलाकी १:११) दि इन्टरप्रेटर्स डिक्शनरी अफ द बाइबल यसो भन्छ: “बाबेलको निर्वासनपछि थुप्रै विदेशीहरू यहूदीहरूको धर्मप्रति आकर्षित भए भन्ने यथेष्ट प्रमाणहरू पाइन्छन्।” तथापि, सा.यु. प्रथम शताब्दीतिर परमेश्वरको नाउँबारे अन्धविश्वास फैलियो। अन्ततः यहूदीहरूले परमेश्वरको नाउँ प्रयोग गर्न मात्र होइन तर उच्चारण गर्न समेत निषेध गरे। यसप्रकार, त्यसको सही उच्चारण हरायो—कि हराएन?
नाउँको के अर्थ हुनसक्छ?
हिब्रू भाषामा लेख्नुपर्दा परमेश्वरको नाउँ יהוח हुन्छ। दायाँबाट बायाँतिर पढ्नुपर्ने यी चार व्यञ्जन वर्णलाई साधारणतया टेट्राग्रामाटन भनिन्छ। बाइबलमा उल्लिखित थुप्रै व्यक्ति तथा ठाउँको नाउँमा परमेश्वरको नाउँको संक्षिप्त रूप पाइन्छ। के ती नाउँहरूले परमेश्वरको नाउँ कसरी उच्चारण गरिन्थ्यो भनेर जान्न मदत गर्छ?
सं.रा.अ., वाशिंटन डि.सि.-को वेस्ली थियोलजिकल सेमिनरीका अवकाशप्राप्त प्राध्यापक जर्ज बुकेनानअनुसार, मदत गर्छ। प्राध्यापक बुकेनान भन्छन्: “पुरातन समयमा आमाबाबुहरू आफ्ना छोराछोरीको नाउँ देवदेवताको नाउँमा राख्थे। यसको मतलब, तिनीहरूले जसरी देवदेवताको नाउँ उच्चारण गर्थे त्यसरी नै आफ्ना छोराछोरीको नाउँ पनि उच्चारण गरे होलान्। मानिसहरूको नाउँमा टेट्राग्रामाटन प्रयोग गरिन्थ्यो। अनि तिनीहरूले जहिले पनि बीचको स्वर वर्ण प्रयोग गर्थे।”
बाइबलमा उल्लिखित परमेश्वरको नाउँको संक्षिप्त रूप भएको केही व्यक्तिहरूको नाउँ विचार गर्नुहोस्। जस्तै, हिब्रू बाइबलमा जोनाथान भन्ने नाउँलाई योहनाथान वा येहोनाथान भनी लेखिएको पाउँछौं। प्राध्यापक बुकेनानअनुसार यसको अर्थ हुन्थ्यो, “यहोले वा यहोवाले दिनुभएको छ।” अगमवक्ता एलाइजाको हिब्रू नाउँ एलियह वा एलियहु हो। प्राध्यापक बुकेनानअनुसार, यो नाउँको अर्थ हो: “मेरो परमेश्वर यहु वा यहोवा हुनुहुन्छ।” त्यसैगरि, जोहोशापातको हिब्रू नाउँ येहोशापात हो जसको अर्थ “याहोले न्याय गर्नुभएको छ” हो।
दुई स्वरान्तर भएको “याहवे” जस्तो टेट्राग्रामाटनमा परमेश्वरको नाउँमा ओ स्वर वर्ण थप्न दिइँदैन थियो। तर ईश्वरीय नाउँअनुसार राखिएका दर्जनौं बाइबल पात्रहरूको नाउँको बीचमा उक्त स्वर वर्ण पूरा नाउँका साथै संक्षिप्त नाउँमा पनि राखिन्थ्यो। जस्तै, जेहोनाथान अनि जोनाथान। अतः ईश्वरीय नाउँबारे प्राध्यापक बुकेनान यसो भन्छन्: ‘तसर्थ, अ वा ओ स्वर वर्ण हटाइएका छैनन्। यसलाई कहिलेकाहीं छोटकरीमा ‘य’ भनिन्छ तर कहिल्यै पनि ‘यहवे’ भनिंदैन . . . एउटा स्वरान्तरमा टेट्राग्रामाटन उच्चारण गर्दा ‘यह’ वा ‘यो’ हुन्थ्यो। यसलाई तीन स्वरान्तरमा उच्चारण गर्दा ‘यहोवा’ वा ‘यहुवा’ हुने थियो। अनि दुई स्वरान्तरमा उच्चारण गरेको भए ‘यहो’ हुने थियो।”—बाइबलीय पुरातत्त्वको पुनरावृत्ति (अंग्रेजी)।
उक्त टिप्पणीहरूले १९ औं शताब्दीका हिब्रू शास्त्रविद् गेजेनियसले आफ्नो पुस्तक पुरानो धर्मशास्त्रको हिब्रू तथा कल्दी शब्दकोश-मा (अंग्रेजी) भनेका कुरा बुझ्न मदत दिन्छ: “[परमेश्वरको नाउँको] सही उच्चारण הוָֹהיְ [यहोवा] हो भन्नेहरूले कुनै आधारैबिना त्यसो भनेका होइनन्। यसप्रकार परमेश्वरको नाउँको וֹהיְ [यहो] अनि וֹי [यो] गरेर संक्षिप्त रूप बनाउन सकिन्छ, जुन शब्दबाट थुप्रै व्यक्तिहरूको नाउँ पनि सुरु हुन्छ।”
यद्यपि, एभ्रेट फक्सले आफ्नो हालैको मोशाका पाँच पुस्तक-को (अंग्रेजी) अनुवादको प्रस्तावनामा यसो लेखेका छन्: “[परमेश्वरको] हिब्रू नाउँको ‘सही’ उच्चारण पत्ता लगाउने नयाँ तथा पुराना सबै प्रयासहरू विफल भएका छन्। न ता कहिलेकाहीं प्रयोग गरिने ‘जेहोभा’ न शास्त्रविद्हरूले निर्धारित गरेको ‘याहवे’ नै ठीक उच्चारण हो भनेर प्रमाणित गर्न सकिएको छ।”
निस्सन्देह, शास्त्रविद्हरूको विवाद जारी नै रहनेछन्। मेसोरेट्सले स्वर वर्ण उच्चारण गर्ने विधि थाल्नुअघि नै यहूदीहरूले साँचो परमेश्वरको नाउँ उच्चारण गर्न छाडिसकेका थिए। अतः YHWH (יהוה)। व्यञ्जन वर्णसित कुन स्वर वर्ण जोडिएको छ भनेर प्रमाणित गर्ने ठोस तरिका नै छैन। तैपनि, बाइबल पात्रहरूको नाउँको सही उच्चारणमा कहिल्यै हेरफेर नभएको हुँदा ती नाउँहरूले पुरातन समयमा परमेश्वरको नाउँ कसरी उच्चारण गरिन्थ्यो भनी ठोस सुराक दिन्छ। यसैकारण, केही शास्त्रविद्हरू “जेहोभा” उच्चारण त्यति “कुरूप” होइन भनेर मानिलिन्छन्।
[पृष्ठ ३१-मा भएका चित्रहरू]
परमेश्वरको नाउँको सर्वाधिक लोकप्रिय उच्चारण “जेहोभा” भएको छ