परीक्षाहरूका बावजूद यहोवामा आनन्द गर्दै
जर्ज स्कीपीओको वृत्तान्तमा आधारित
हातखुट्टा बाहेक पूरै शरीर पक्षाघात भएकोले डिसेम्बर १९४५ मा मलाई अस्पतालको वार्डमा राखियो। मैले यो केही समयसम्म मात्र होला भन्ठानेको भए तापनि अरूचाहिं म फेरी कहिल्यै हिंडडुल गर्न सक्नेछैन कि भन्ने निष्कर्षमा पुगिसकेका थिए। मजस्तो भर्खर १७ वर्षको लक्का जवानलाई त्यस्तो हुनु अति दुःखलाग्दो कुरा थियो! यस्तो कटु सम्भावनालाई मैले स्वीकार्नै सकिनँ। मेरो हाकिमसित अर्को साल बेलायतको यात्रामा जाने योजनालगायत मेरा अरू थुप्रै योजनाहरू थिए।
सेन्ट हेलेनाको टापुमा त्यसबेला फैलिएको पोलियोमाइलाइटिस महामारीले मलाई पनि सिकार बनाएको थियो। यो रोग लागेर ११ जना मर्नुका साथै थुप्रै अपांग भए। रोगले थला परेको बेला मैले आफ्नो छोटो जीवन अनि भविष्यबारे विचार गर्ने प्रशस्त समय पाएँ। त्यसैबेला पीडाको बावजूद पनि मैले आनन्द गर्ने कारण रहेछ भन्ने थाह पाएँ।
सानो सुरुआत
सन् १९३३ मा मेरो बुबा टम, प्रहरीमा जागिरे हुनुहुन्थ्यो। त्यतिबेला म पाँच वर्षको मात्र थिएँ। उहाँ र ब्याप्टिस्ट चर्चको डिकन मिलेर यहोवाका दुई साक्षीहरूसित केही सजिल्द पुस्तकहरू लिनुभयो। ती दुई साक्षीहरू टापुमा केही समय प्रचार गर्न आएका पूर्णसमय प्रचारकहरू अर्थात् अग्रगामीहरू थिए।
त्यसमध्ये एउटा पुस्तक परमेश्वरको वीणा थियो। यो पुस्तक, परिवारसित अनि केही इच्छुक व्यक्तिहरूसित बाइबल अध्ययन गर्न उहाँ चलाउनुहुन्थ्यो। ती किताबहरूमा गहिरा गहिरा विषयहरू भएकोले अलिअलि कुरा मात्र बुझें। तर हामीले अध्ययन गर्दा छलफल गरेका हरेक शास्त्रपदहरूलाई मेरो बाइबलमा कच लगाएको मलाई अझ पनि याद छ। हामीले अध्ययन गरिरहेका कुराहरू आफूले चर्चमा प्रवचन दिने गरेको कुराहरूभन्दा भिन्न र सही थिए भनी उहाँले चाँडै बुझ्नुभयो। उहाँले यसबारे अरूलाई बताउन थाल्नुभयो र पादरीको भाषण दिने मञ्चबाटै त्रिएक, अग्निकुण्ड र अमर आत्मा हुँदैन भनेर सिकाउन थाल्नुभयो। यसले गर्दा चर्चमा खैलाबैला मच्चिनथाल्यो।
अन्ततः यो विवाद टुंग्याउने प्रयास गर्दै चर्चले सभा बोलायो। “को को ब्याप्टिस्टको पक्षमा हुनुहुन्छ?” भन्ने प्रश्न गर्दा थुप्रैले समर्थन जनाए। तर “यहोवाको पक्षमाचाहिं को को हुनुहुन्छ?” भन्ने प्रश्न गर्दा भने करिब १०/१२ जनाले मात्र समर्थन जनाए। तिनीहरूलाई चर्च छाड्न अनुरोध गरियो।
यो सेन्ट हेलेनामा एउटा नौलो धर्मको सानो सुरुआत थियो। बुबाले संयुक्त राज्यको वाचटावर सोसाइटीको मुख्यालयमा सम्पर्क गरेर बाइबलसित सम्बन्धित भाषणहरू जन समुदायमा बजाउनका लागि ट्रान्सक्रिप्सन मेसिन माग्नुभयो। तर त्यो मेशिन निकै ठूलो भएकोले त्यहाँसम्म पठाउन गाह्रो हुन्छ भन्ने जवाफ पाउनुभयो। त्यसको सट्टा सानो फोनोग्राफ पठाइयो र पछि भाइहरूले थप दुइटा फोनोग्राफ मगाए। तिनीहरू हिंडेर अनि गधा चढेर सबै मानिसहरूसम्म समाचार पुऱ्याउँथे।
जसै सुसमाचार फैलिन थाल्यो, विरोध पनि चर्कंदै गयो। मेरा स्कूलमा केटाकेटीहरू यसरी खिसी गर्दै गीत गाउँथे: “आउनुहोस्, आउनुहोस्, टम्मी स्कीपीओ ग्रामोफोन ब्याण्डका कुराहरू सुन्नुहोस्!” आफ्नो साथीहरूको लहैलहैमा लाग्न चाहने म जस्तो स्कूले केटोको लागि यो निकै कठिन परीक्षा थियो। मलाई स्थिर रहन केले मदत गऱ्यो त?
हाम्रो छ जनाको परिवारमा नियमित तवरमा पारिवारिक बाइबल अध्ययन हुन्थ्यो। हरेक बिहान चमेना खानुअघि हामी सँगै बसेर बाइबल पढ्थ्यौं। हाम्रो परिवारलाई वर्षौंसम्म सच्चाइमा विश्वासी भई लागिरहन पक्कै पनि यो बलियो औजार साबित भयो। मैले कलिलो उमेरमै बाइबललाई प्रेम गर्न सिकें र वर्षौंपछि मेरो यो प्रेम झन् झन् बढ्दै गयो। (भजन १:१-३) चौध वर्षको उमेरमा स्कूल जान छोडूञ्जेल म सच्चाइमा दह्रो भैसकेको थिएँ र मेरो हृदयमा यहोवाको प्रेम राम्ररी गडिसकेको थियो। यसले गर्दा परीक्षाहरूको बावजूद यहोवाको सेवामा आनन्दित भइरहन सकें।
अझ सतावट अनि आनन्द
विरामीले थला परिरहेको बेला आफ्नो विगत अनि भविष्यबारे विचार गरिरहेको बेला यस्तो रोग परमेश्वरबाट परीक्षा वा सजाय होइन भन्ने कुरा मैले आफ्नो बाइबल अध्ययनबाट बुझिसकेको थिएँ। (याकूब १:१२, १३) तथापि, पोलियो निकै दुःखदायी परीक्षा सरह थियो र मेरो बाँकी जीवनमा यसको असर रहने थियो।
निको भइसकेपछि फेरि हिंड्न सिक्नु परेको थियो। मेरा हातका केही मांशपेशीहरू पनि काम नलाग्ने भइसकेका थिए। हरेक दिन म यति पल्ट लडें कि गनेर साध्य छैन। तथापि, परमेश्वरसित निष्कपट प्रार्थना गर्दै लगनशील भई प्रयत्न गरेकोले १९४७ सम्ममा म लौरोको सहारा लिएर हिंड्न सक्ने भएँ।
यसै समयताक, डोरेस नामकी युवतीसित माया बस्न गयो र तिनले पनि मेरो विश्वासलाई स्वीकारिन्। त्यसबेला हाम्रो विवाहबारे सोच्ने उमेर भई नसकेको भए तापनि मलाई अझ राम्ररी हिंड्न सक्ने हुन त्यसबाट प्रेरणा मिल्यो। विवाह गरेपछि आफ्नी पत्नीलाई पाल्न तलब अपर्याप्त देखिएकोले मैले जागिर छोडी आफ्नै दन्त चिकित्सालय खोलेर दुई वर्षसम्म काम गरें। हामीले १९५० मा विवाह गऱ्यौं। त्यसबेलासम्ममा मैले कार किन्न पुग्ने पैसा कमाइसकेको थिएँ। त्यसपछि भाइहरूलाई सभाहरू अनि क्षेत्र सेवामा जाँदा सहयोग गर्न सकें।
टापुमा ईश्वरतान्त्रिक उन्नति
सन् १९५१ मा सोसाइटीबाट आफ्नो प्रथम प्रतिनिधि हामीकहाँ पठाइयो। तिनी दक्षिण अफ्रिकाका युवक याकोब्युस भान स्टाडन थिए। हामी भर्खरै ठूलो घरमा सरेकाले तिनलाई वर्षदिनसम्म हामीसँगै राख्न सक्थ्यौं। त्यसबेला आफ्नै व्यवसाय भएकाले थुप्रै समय तिनीसित प्रचारमा बिताएर बहुमूल्य प्रशिक्षण पाउन सकें।
याकोब्युसलाई हामी कुस भनेर पनि बोलाउने गर्थ्यौं। तिनले मण्डलीका सभाहरू नियमित रूपमा सञ्चालन गर्ने प्रबन्ध गरे र ती सभाहरूमा हामी आनन्दित भएर भाग लिन्थ्यौं। हामी सबै जिज्ञासुहरूबीच जम्मा दुइटा मात्र कार भएकोले हामीलाई यातायातको समस्या थियो। त्यहाँका प्रायःजसो भू-भाग खाल्डाखुल्डी परेको हुनाले राम्रो बाटो कमै थियो। त्यसैले सबैलाई सभामा ल्याउनु एक किसिमले कठिनै थियो। कोहीकोही बिहान सबेरै सभाको लागि हिंड्थे। पहिला तीन जनालाई म आफ्नो कारमा राखेर परसम्म पुऱ्याइदिन्थें। अनि कारबाट ओर्लेर तिनीहरू हिंडेर जान्थे। त्यसपछि कार फर्काएर अरू तीन जनालाई चढाउँथें र त्यहींसम्म लगेर छोड्थें, अनि फेरि फर्कंन्थें। अन्ततः, यसरी नै सबै जना सभामा भेला हुन्थे। फेरि सभा पछि पनि त्यसैगरी सबैलाई घर फर्काउँथ्यौं।
कुसले हामीलाई कसरी प्रभावकारी रूपमा ढोका ढोकामा प्रचार गर्ने, त्यो पनि सिकाए। हामीले राम्रा, नराम्रा थुप्रै अनुभव बटुल्यौं। तर प्रचार कार्यमा पाएको आनन्दको अगाडि यसका विरोधीहरूले ल्याएको सतावट केही पनि थिएन। एकदिन बिहान म, कुससित प्रचार गर्दै थिएँ। हामी ढोकाको नजिक पुग्दा भित्रबाट केही आवाज सुन्यौं। एक जना मानिस ठूलो स्वरले बाइबल पढ्दै थिए। यशैया दोस्रो अध्यायका पदहरू पढिरहेको हामीले स्पष्टसित सुन्यौं। तिनले चौथो पद पढ्नै लाग्दा हामीले ढोका ढकढक्यायौं। एक बृद्धले हामीलाई मित्रैलो भावले भित्र बोलाए र हामीले तिनलाई परमेश्वरको राज्यको सुसमाचार बताउन यशैया २:४ पद चलायौं। अति दुर्गम ठाउँमा बस्ने मानिस भए तापनि हामीले तिनीसित बाइबल अध्ययन थाल्यौं। हाम्रो घर रहेको पहाडबाट ओर्लिएर ढुंगाहरू टेक्दै खोला तरेर, त्यहाँबाट पनि पहाड चढेर फेरि ओर्लेपछि मात्र तिनको घर पुग्न सक्थ्यौं। तर यो मेहनत खेर गएन। यस नम्र मानिसले सच्चाइ स्वीकारेर बप्तिस्मा लिए। भाइहरूलाई सभामा पुऱ्याउन, कार रोक्ने ठाउँसम्म तिनी दुई लौरोको सहाराले आइपुग्थे र बाँकी बाटो म कारबाट पुऱ्याइदिन्थें। पछि तिनी विश्वासी साक्षी भएरै मरे।
पुलिस कमिस्नर हाम्रो कामको विरोध गर्थे र कुसलाई निकालेर पठाउने धम्की दिन्थे। तिनी हरेक महिना कुसलाई थानामा बोलाएर केरकार गर्थे। तिनको हर प्रश्नको जवाफ कुसले सिधै बाइबलबाट दिने हुनाले झन् रिसले चूर हुन्थे। जति नै पल्ट प्रचार नगर्ने चेताउनी दिए पनि अन्तमा तिनलाई उल्टै साक्षी दिइरहेकै हुन्थे। कुसले सेन्ट हेलेना छोडेपछि पनि तिनले विरोध गरिनै रहे। पछि अचानक त्यो हट्टाकट्टा कमिस्नर एकाएक विरामी भएर दुब्लोपातलो भए। डाक्टरहरूले तिनको रोग पत्ता लगाउनै सकेनन्। फलतः तिनी टापु छाडेर गए।
बप्तिस्मापछि पनि लगातार बृद्धि
टापुमा तीन महिना बिताइसकेपछि कुसले बप्तिस्मा दिनु बेस ठाने। तर उपयुक्त पोखरी भेट्टाउनु नै ठूलो समस्या थियो। हामीले ठूलो खाल्डो खन्ने, सिमेन्ट लगाउने अनि पानी ओसारेर भर्ने निर्णय गऱ्यौं। बप्तिस्माको अघिल्लो रात पानी पऱ्यो भोलिपल्ट बिहान खाल्डोको मुखसम्म टन्न पानी भरिएको देख्दा हामी सबै असाध्यै खुसी भयौं।
त्यस आइतबार, कुसले बप्तिस्मासम्बन्धी भाषण दिए। तिनले बप्तिस्मा लिनुअघि सोधिने प्रश्नहरूको जवाफ दिन बप्तिस्मा लिन चाहने उम्मेदवारहरूलाई उठ्न आग्रह गर्दा हामी २६ जना उठ्यौं। त्यस टापुमा बप्तिस्मा लिने प्रथम साक्षीहरू मध्येको हुन पाउनु हाम्रो लागि ठूलो सुअवसर थियो। म बप्तिस्मा लिनुअघि नै आरमागेडोन आउने पो हो कि, भनी सधैं चिन्तित हुन्थें। त्यसैले, त्यो मेरो लागि निकै खुसीको दिन थियो।
अन्ततः लेभलउड र जेम्सटाउनमा गरेर दुइटा मण्डली स्थापित भयो। हरेक हप्ता हामीमध्ये तीन/चार जना अर्को मण्डलीमा शनिवार साँझ ईश्वरतान्त्रिक सेवकाई स्कूल अनि सेवा सभा सञ्चालन गर्न १३ किलोमिटर यात्रा गर्थ्यौं। त्यसपछि आइतबार बिहान क्षेत्र सेवामा गएर फर्कन्थ्यौं र यता आफ्नै मण्डलीमा दिउँसो र साँझ ती सबै सभाहरूका साथसाथै प्रहरीधरहरा अध्ययन पनि सञ्चालन गर्थ्यौं। त्यसैले, हाम्रो सप्ताहन्त आनन्दै आनन्दले भरिएका ईश्वरतान्त्रिक क्रियाकलापहरूमा बित्थ्यो। मैले पूर्णसमय सेवकाई गर्ने विचार गरेको थिएँ तर परिवारलाई पनि पाल्नु पर्थ्यो। त्यसैले १९५२ मा म फेरि पूर्णसमय काम गर्ने दन्त चिकित्सक भएर पुरानै सरकारी जागिरमा फर्कें।
सन् १९५५ देखि सोसाइटीका परिभ्रमण प्रतिनिधिहरू, क्षेत्रीय निरिक्षकहरू आएर वर्षैपिच्छे टापुमा भ्रमण गर्न थाले र तिनीहरू भ्रमणको दौडान केही दिन मात्र भए पनि हाम्रो घरमा बस्थे। हाम्रो परिवारमा तिनीहरूले निकै राम्रो प्रभाव पारे। त्यसै समयतिर टापुमा सोसाइटीका तीनवटा चलचित्र देखाउने सुअवसरमा पनि भाग लिने मौका पाएँ।
रोमाञ्चक ईश्वरीय इच्छा सम्मेलन
सन् १९५८ मा न्यू योर्कमा हुने ईश्वरीय इच्छा, अन्तरराष्ट्रिय सम्मेलनमा भेला हुन सरकारी जागिरबाट फेरि एकचोटि राजीनामा दिएँ। मलाई यहोवामा आनन्द गर्ने अझ थुप्रै कारणहरू दिएको हुनाले मेरो जीवनमा त्यो सम्मेलनले अमिट छाप पारेको छ। हाम्रो टापुमा नियमित आवागमनको अभाव भएकोले हामी साढे पाँच महिनासम्म घरमा थिएनौं। बिहान नौ बजेदेखि बेलुकी नौ बजेसम्म सञ्चालन हुने यो सम्मेलन जम्मा आठ दिनको थियो। तर म कहिल्यै थाकिनँ र प्रत्येक दिन नयाँ कुराहरू सुन्न उत्सुक हुन्थें। त्यहाँ मैले दुई मिनेटको लागि भएपनि सेन्ट हेलेनाको तर्फबाट प्रतिनिधिको रूपमा बोल्ने मौका पाएँ। यान्की स्टेडियम र पोलो ग्राउण्डमा जम्मा भएको ठूलो जन समुदायलाई सम्बोधन गर्दा म असाध्यै हडबडाएको थिएँ।
यस सम्मेलनले मेरो अग्रगामी गर्ने अठोटलाई अझ दह्रो बनायो। “परमेश्वरको राज्यले शासन गर्छ—के यस संसारको अन्त नजीकै छ?” भन्ने जन भाषण विशेषगरि प्रोत्साहनदायी थियो। सम्मेलन सिद्धयाएर हामीले ब्रूकलिनस्थित सोसाइटीको मुख्य कार्यालय अनि कारखानाको भ्रमण गऱ्यौं। मैले वाचटावर सोसाइटीका तत्कालीन अध्यक्ष भाइ नोरसित सेन्ट हेलेनामा भइरहेको वृद्धिबारे कुरा गरें। उहाँले कुनै दिन टापुमा भ्रमण गर्न आउने इच्छा व्यक्त गर्नुभयो। हामीले त्यहाँबाट परिवार अनि साथी भाइहरूसित बसेर सुन्न अनि हेर्न सम्पूर्ण भाषणको टेप रेकर्डिंगहरूका साथसाथै सम्मेलनका थुप्रै चलचित्रहरू ल्यायौं।
पूर्णसमय सेवा गर्ने उद्देश्य पूरा गरें
टापुमा फर्केपछि, त्यतिबेला त्यहाँ म बाहेक कोही पनि दन्तचिकित्सक नभएकोले फेरि जागिर खान प्रस्ताव राखियो। तथापि, मैले पूर्णसमय सेवकाई सुरु गर्ने लक्ष्य राखेको कुरा बताएँ। निकै कुरा गरिसकेपछि, मलाई हप्ताको तीन दिन काम गर्न लगाउने र पहिला छ दिन काम गर्दा दिने तलबभन्दा पनि धेरै दिने तिनीहरूले प्रस्ताव राखे र मैले स्वीकारें। यसरी, येशूका यी शब्दहरू सत्य साबित भए: “पहिले उहाँको राज्य र उहाँको धार्मिकता खोजी गर, र यी सबै थोक तिमीहरूलाई थपिनेछन्।” (मत्ती ६:३३) मेरा कमजोर खुट्टाहरूको भरमा टापुको उकाली ओराली चढ्नु त्यति सजिलो थिएन। त्यसो भए तापनि मैले १४ वर्षसम्म अग्रगामीको काम गरें र आफ्ना टापुवासीहरूलाई सच्चाइ सिक्न मदत गर्न सकें जुन मेरो लागि आनन्द गर्ने खास कारण हो।
स्थानीय सरकारले १९६१ मा अझ योग्य दन्त चिकित्सक बनाउन मलाई सरकारी खर्चमा फिजीको टापुमा दुईवर्षे तालिम लिन पठाउन चाहन्थ्यो। तिनीहरूले मेरो परिवारलाई समेत सँगै पठाउने प्रस्ताव राखे। यो निकै लोभलाग्दो प्रस्ताव थियो तर निकै सोच विचार गरेपछि, भाइहरूलाई त्यत्रो लामो समय छाडेर अनि तिनीहरूसित मिलेर गर्न पाएको सेवाको सुअवसरलाई त्यागेर नजाने निर्णय गरें। यस यात्राका प्रबन्धक सिनीयर मेडिकल अफिसर मेरो निर्णय सुनेर अति खिन्न भए। तिनले भने: “तिमीलाई अन्त त्यस्तो नजिक छ जस्तो लाग्छ भने पनि त्यतिञ्जेल तिमीले कमाएको पैसा त प्रयोग गर्न सक्छौ।” तर म अफ्नो निर्णयमा अडिग रहें।
अर्को वर्ष मलाई दक्षिण अफ्रिकामा राज्य सेवकाई स्कूलमा, मण्डलीका निरीक्षकहरूको लागि तयार पारिएको एक महिने प्रशिक्षणको लागि निम्तो दिइयो। हामीलाई त्यहाँ मण्डलीका जिम्मेवारीहरू निकै प्रभावकारी रूपमा पूरा गर्न बहुमूल्य निर्देशनहरू दिइयो। स्कूल सकिएपछि मैले परिभ्रमण निरीक्षकसित काम गरेर अझ धेरै प्रशिक्षण पाएँ। त्यसपछि मैले दस वर्षसम्म कार्यकारिणी क्षेत्रिय निरिक्षक भएर सेन्ट हेलेनाको दुइटा मण्डलीमा सेवा गरें। केहीसमय पछि अरू योग्य भाइहरू पनि यस काममा लागेपछि हामी पालैपालो गरेर जान थाल्यौं।
यतिञ्जेलसम्म हामी जेम्सटाउनबाट अझ बढी खाँचो परेको ठाउँ, लेभलउडमा सरिसकेका थियौं र त्यहाँ दस वर्ष बस्यौं। यतिबेला म निकै परिश्रम गर्दै थिएँ। एकातिर अग्रगामीको काम, अर्कोतिर हप्ताको तीन दिन सरकारी काम र साथै सानो किराना पसल पनि चलाउँदै थिएँ। त्यसबाहेक मण्डलीका कामकुराहरू, मेरी पत्नी अनि हुर्कंदै गरेका चार छोराहरूको हेरविचार गर्नु पर्थ्यो। यस्तो समस्याको सामना गर्न मैले आफ्नो तीन दिने जागिर छोडें, पसल बेचें र पूरै परिवारलाई तीन महिनाको बिदामा दक्षिण अफ्रिकाको केप टाउन घुमाउन लगें। त्यसपछि हामी एसेन्चेन टापुमा सऱ्यौं र वर्षदिन सम्म त्यहीं बस्यौं। त्यहाँ बसुञ्जेल हामीले थुप्रैलाई बाइबलको सही ज्ञान लिन मदत गऱ्यौं।
हामी सेन्ट हेलेना फर्केपछि जेम्स टाउनमा सऱ्यौं। हाम्रो राज्य भवनसँगै टाँसिएको घरलाई चिटिक्क पाऱ्यौं। घरखर्च टार्न मेरो छोरा जोन र मैले फर्द ट्रकलाई आइसक्रिम भ्यान बनायौं र पाँच वर्षसम्म आइसक्रिम बेच्यौं। हामीले व्यापार सुरु गरेको केही समय नबित्दै भ्यान दुर्घटनामा परें। गाडी पल्टेर लड्दा मेरो खुट्टा थिचियो। जसले गर्दा मेरा घुँडा मुनिका स्नायुहरू मरे र निको हुनै तीन महिना लाग्यो।
विगत अनि भविष्यका प्रचुर आशिष्हरू
वर्षौंको दौडान हामीले थुप्रै आशिष्हरू अर्थात् आनन्द गर्ने थुप्रै कारणहरू पाएका छौं। तीमध्य एउटा हो १९८५ मा दक्षिण अफ्रिकामा भएको राष्ट्रिय अधिवेशनको लागि गरिएको यात्रा अनि निर्माणाधीन अवस्थामा रहेको नयाँ बेथेलघरको भ्रमण। अर्कोचाहिं छोरो जोनसित जेम्स टाउन नजिकै एउटा राम्रो सम्मेलन भवन खडा गर्ने काममा अलिकति भए पनि भाग लिन पाउनु हो। हाम्रा तीन छोराहरू अहिले प्राचीनहरूको हैसियतमा अनि एक जना नातिचाहिं दक्षिण अफ्रिकाको बेथेलमा काम गरिरहेकोले पनि हामी आनन्दित छौं। अनि अरू थुप्रैलाई बाइबलको सही ज्ञान सिक्न मदत गरेर पनि धेरै आनन्द अनि सन्तुष्टि प्राप्त गर्न सकेका छौं।
यहाँको जनसंख्या जम्मा ५,००० मात्र भएकोले हाम्रो क्षेत्र निकै सिमित छ। एउटै क्षेत्रमा बारम्बार प्रचार गर्नुपरे तापनि यसले राम्रै परिणामहरू ल्याएको छ। हामीसित अशिष्ट व्यवहार गर्नेहरू कमै छन्। सेन्ट हेलेना, मित्रैलोपनाको लागि प्रशिद्ध छ। तपाईं चाहे पैदल, चाहे गाडीमा यात्रा गरिरहनुभएकै किन नहोस्, मानिसहरू अभिवादन गर्छन्। मेरो अनुभवचाहिं के छ भने मानिसहरूलाई जति राम्ररी चिन्नुभयो साक्षी दिन पनि त्यति नै सजिलो हुन्छ। थुप्रै प्रकाशकहरू सात समुद्र पारी देशहरूमा गइसकेका भए तापनि हामीकहाँ अहिले १५० जना प्रकाशकहरू छन्।
मेरा सबै सन्तानहरू हुर्किसकेका हुनाले टाढाटाढा गइसके जसले गर्दा विवाह भएको ४७ वर्षपछि हामी अहिले दुई पतिपत्नी मात्र छौं। तिनकै वफादार प्रेम अनि सहायताले गर्दा सतावटहरूको बावजूद वर्षौंदेखि आनन्दपूर्वक यहोवाको सेवामा लागिरहन मदत मिलेको छ। हाम्रो शारीरिक बल घटिरहेको भए तापनि आध्यात्मिक बलचाहिं हरेक दिन झन् झन् बढिरहेको छ। (२ कोरिन्थी ४:१६) म १७ वर्षको हुँदा जति तन्दुरुस्त थिएँ त्यो भन्दा पनि तन्दुरुस्त हुने अद्भुत भविष्यलाई म, मेरो परिवार, अनि मेरा भाइबन्धु पर्खिरहेका छौं। पूर्णतया सिद्ध अवस्थाको आनन्द उठाउनु र त्योभन्दा महत्त्वपूर्ण कुरा त हाम्रा मायालु रखवाला, परमेश्वर यहोवा अनि उहाँको शासनारूढ राजा, येशू ख्रीष्टको सदा सर्वदा सेवा गर्नु मेरो हार्दिक चाहना हो।—नहेम्याह ८:१०.
[पृष्ठ २६-मा भएको चित्र]
जर्ज स्कीपीओ, आफ्ना तीन प्राचीन छोराहरूका साथमा
[पृष्ठ २९-मा भएको चित्र]
आफ्नी पत्नी डोरेससित जर्ज स्कीपीओ