गैरमसीही धर्ममा आधारित भवन
पर्यटकहरूले हेर्न आउने इटालीको रोमस्थित प्रभावशाली स्मारकहरूमध्ये प्यान्थियन पनि हो। रोमी भवननिर्माण कलाको यो उत्कृष्ट कृति, पुरातन समयदेखि अहिलेसम्म जस्ताको तस्तै रहने भवनहरूमध्ये एक हो। लगभग सा.यु.पू. २७ मा अग्रिपाले यो निर्माण गर्न थाले र हेड्रिअनले सा.यु. १२० तिर पुनर्निर्माण गरे। यो भवनको एउटा खास विशेषता यसको ४३ मिटरको व्यास भएको गुम्बज हो। अहिले योभन्दा ठूलठूला भवनहरू थुप्रै भए तापनि त्यतिबेला भने त्यो नै सबैभन्दा ठूलो थियो। प्यान्थियन सुरुमा गैरमसीही मन्दिर थियो र यसले मौलिक युनानी शब्दको अर्थ लाग्ने “सम्पूर्ण देवदेवीहरूलाई अर्पित ठाउँ”-लाई बुझाउँछ। अहिलो यसले रोमन क्याथोलिक चर्चको ठाउँ लिएको छ। मन्दिरलाई यस्तो आश्चर्य ढंगमा चर्चमा परिवर्तन गर्न, कसरी सम्भव भयो?
धेरै समयदेखि नचलाइएको यो मन्दिरलाई सा.यु. ६०९ मा पोप बोनिफेसले “मसीही” चर्चको रूपमा पुनःसमर्पित गरे। त्यतिखेर यसलाई सान्ता मरिया रोटुन्दा चर्च भनिन्थ्यो। सन् १९०० मा इटालीको ला सिभिल्टा क्याटोलिका नामक जेसुइट पत्रिकामा प्रकाशित एउटा लेखअनुसार, यो मन्दिर “मसीही धर्मसित सम्बन्धित शहीदहरू वा सम्पूर्ण सन्तहरूका महिमा गर्न, तर यीमध्ये पनि मुख्य गरेर परमेश्वरको कुमारी आमा”-को उपासना गर्न प्रयोग गरियोस् भन्ने बोनिफेसको इच्छा थियो। अहिले रोमन क्याथोलिक चर्चले प्यान्थियनलाई दिएका नाउँहरू—सान्ता मरिया अड मार्टिरिस वा अर्कोतिर, सान्ता मरिया रोटुन्दाले अशास्त्रीय मनसाय झल्काउँछ।—प्रेरित १४:८-१५ तुलना गर्नुहोस्।
प्यान्थियनलाई चर्चमा परिवर्तन गर्न “धेरै परिश्रम गर्नु परेन” भनेर त्यही लेखले बताउँछ। बोनिफेसअघिको महान् सन्त ग्रिगोरी [पोप ग्रिगोरी] मसीही उपासनाको लागि गैरमसीही मन्दिरहरू चलाउनमा दक्ष र सिपालु व्यक्ति थिए। तिनले अघिबाटै लागू गरेका सरल र दयालु नियमहरू नै बोनिफेसले पनि लागू गरे। ती कस्ता नियमहरू थिए?
गैरमसीही बेलाइतमा जानलागेका पादरीलाई ग्रिगोरीले सा.यु. ६०१ मा पत्र मार्फत यो आदेश दिए: “बेलाइतका मन्दिरहरू नभत्काउनू तर त्यहाँ भएका मूर्तिहरू चाहिं भत्काउनू . . . यदि ती मन्दिरहरू राम्रै अवस्थामा छन् भने त्यसलाई शैतानको उपासनाको सट्टा साँचो परमेश्वरको उपासनाको लागि प्रयोग गर्नू।” यदि गैरमसीही मानिसहरूका पहिलेका मन्दिरहरू भत्केका छैनन् भने तिनीहरूले त्यसलाई नै परमेश्वरको उपासनाको लागि प्रयोग गरून् भन्ने ग्रिगोरीको विचार थियो। अर्कोतिर झूटा धर्म मान्नेहरूले “शैतानलाई बलिदान चढाउन धेरै गोरुहरू बलिदान चढाउने गर्थे।” तर अब भने “तिनीहरूले शैतानलाई बलिदान चढाउन होइन तर परमेश्वरको महिमा गरेर आनन्दित हुन पशुहरू बलि चढाऊन्” भनेर पोपले लेखे।
रोमन क्याथोलिक धर्मले ती पुरातन मन्दिरहरूसित मिल्दाजुल्दा चर्चहरू “मसीही” ढाँचामा स्थापना गरेपछि त्यसले गैरमसीही धर्मको ठाउँ लियो। तिनीहरूले पहिलेदेखि नै मनाउँदै आएका उत्सवहरू मनाए तापनि त्यसलाई “मसीही” ढंगमा मनाइन्थ्यो। ला सिभिल्टा क्याटोलिका-अनुसार: “प्रारम्भिक मसीहीहरूले मनाउँदै आएका रीतिथिति र धार्मिक विधिहरू गैरमसीही प्रचलन र रीतिथितिसित छ्यासमिस थिए भनेर अहिलेका सबै शास्त्रज्ञहरूलाई थाह छ। तिनीहरूले मनाउँदै आएका ती रीतिथितिहरू मानिसहरूले अति नै मन पराउँथे। ती रीतिथितिहरू त्यतिबेलाका मानिसहरूको सामाजिक र व्यक्तिगत जीवनको भाग जस्तै भएकाले त्यसलाई छोड्नै सक्दैनथे। प्रमुख भूमिका निर्वाह गर्दै आएको, दयालु र ज्ञानी रोमन क्याथोलिक चर्चले ती रीतिथिति र प्रचलनहरू नहटाएर बरु त्यसलाई नयाँ दर्जा र जीवन दिएर मसीही ढंगमा ढाल्न खोजे। जनसाधारण र शिक्षितवर्गले विरोध नगरून् भनेर तिनीहरूले चालै नपाउने ढंगमा चर्चले प्रभावकारी तरिका अपनाए। यसरी तिनीहरूको हृदय जित्न रोमन क्याथोलिक चर्च सफल भयो।”
गैरमसीही उत्सवलाई मसीही उत्सवमा ढालिएको एउटा सुप्रसिद्ध उदाहरण क्रिसमस हो। वास्तवमा रोमीहरूले डीस नाटालिस सोलिस इन्विक्टी अर्थात् “अजय सूर्यको जन्मदिवस” डिसेम्बर २५ मा मनाउथे।
गैरमसीहीहरूको अनुमोदन पाउने इच्छा गरेर चर्चले सत्यलाई तिरस्कार गरे। विभिन्न धर्मको प्रचलन, बेग्लै धर्मको विश्वास र “जनसाधारणले मन पराउने” प्रचलनहरूको त्यसले समर्थन गऱ्यो। फलस्वरूप, साँचो मसीही धर्मको शिक्षाभन्दा धेरै भिन्न, गोलमाल धर्मत्यागी चर्च स्थापित भयो। यी सबै कुरालाई विचार गर्दा, प्यान्थियन भनिने सम्पूर्ण देवदेवीलाई समर्पित प्रारम्भिक रोमी मन्दिर, मरियम र अन्य सबै “सन्तहरू”-लाई समर्पित रोमन क्याथोलिक चर्चमा परिवर्तन हुनु कुनै आश्चर्यको कुरा होइन।
तापनि ‘शैतानको उपासनालाई साँचो परमेश्वरको उपासनामा परिवर्तन गर्न’ मन्दिरको समर्पण अथवा उत्सवको नाउँ परिवर्तन गरेर मात्र पुग्दैन भनेर स्पष्ट हुनुपर्ने हो। “मूर्तिहरूसित परमेश्वरको मन्दिरको के सम्बन्ध?” प्रेरित पावलले सोधे। “ ‘तिनीहरूका बीचबाट निस्केर आओ, र तिमीहरू अलग होओ।’ परमप्रभु भन्नुहुन्छ, ‘औ अशुद्ध कुरो नछोओ, र म तिमीहरूलाई ग्रहण गर्नेछु, औ तिमीहरूका पिता हुनेछु, र तिमीहरू मेरा छोरा-छोरीहरू हुनेछौ,’ सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ।”—२ कोरिन्थी ६:१६-१८.