प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w99 ३/१५ पृ. २६-२८
  • राशी—प्रभावकारी बाइबल टिप्पणीकार

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • राशी—प्रभावकारी बाइबल टिप्पणीकार
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • राशी को थिए?
  • टिप्पणीको आवश्‍यकता किन पऱ्‍यो?
  • राशीको लक्ष्य र तरिकाहरू
  • तत्कालीन परिस्थितिको प्रभाव
  • बाइबल अनुवादलाई तिनले कसरी प्रभाव पारे?
  • रब्बी कहलिन को योग्य छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • मेसोरेट पद भनेको के हो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • विश्‍व परिवर्तन गर्ने बाइबल अनुवाद
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
w99 ३/१५ पृ. २६-२८

राशी—प्रभावकारी बाइबल टिप्पणीकार

हिब्रू भाषामा छापिएका पुस्तकहरूमध्ये पहिलो कुन थियो? मोशाले लेखेका पाँचवटा पुस्तकहरूमा गरिएको टिप्पणीको पुस्तक। सन्‌ १४७५ मा रेजिओ कालाब्रिया, इटालीमा यो प्रकाशित भएको थियो। यसको लेखक? राशी नाउँ गरेको मानिस।

टिप्पणीको पुस्तकले किन यस्तो विशेष सम्मान पाएको? एज्रा शेरेशेभ्सकीले राशी—द म्यान्‌ एण्ड हिज वर्ल्ड नामक आफ्नो पुस्तकमा यसो भनेर वर्णन गरे, “यहूदीहरूको निम्ति र तिनीहरूले अध्ययन गर्ने सार्वजनिक ठाउँमा राशीको टिप्पणी मुख्य पुस्तक भएको छ। अरू कुनै यहूदी साहित्यले यस्तो मूल्यांकन पाएको छैन . . . मोशाले लेखेका पाँचवटा पुस्तकहरूमा गरिएको राशीको टिप्पणीको आधारमा अरू २०० भन्दा बढी टिप्पणीहरू गरिएका छन्‌।”

के यहूदीहरूलाई मात्र राशीको टिप्पणीले प्रभावित गरेको हो त? धेरैले नबुझे तापनि हिब्रू धर्मशास्त्रमा राशीको टिप्पणीले बाइबल अनुवादमा शताब्दीऔंदेखि प्रभाव पार्दै आएको छ। तर राशी को थिए र कसरी तिनले यति बिघ्न प्रभाव पार्न सके?

राशी को थिए?

राशी फ्रान्सको ट्‌वामा १०४० मा जन्मेका थिए।a तिनी जवान छँदा राइन्ल्याण्डस्थित वर्म्स र मेन्जका यहूदी धार्मिक प्रतिष्ठानहरूमा पढ्‌न गए। त्यहाँ तिनी युरोपका नामी यहूदी विद्वान्‌हरूसित पढे। व्यक्‍तिगत परिस्थितिले गर्दा तिनी २५ वर्षको उमेरमा ट्‌वा फर्कनु पऱ्‍यो। तिनलाई विशिष्ट विद्वान्‌को रूपमा मानिन्थ्यो। अतः तिनी थोरै समयभित्रै स्थानीय यहूदी सम्प्रदायको धार्मिक नेता बने र आफ्नै धार्मिक प्रतिष्ठान स्थापना गरे। समयको दौडान, यहूदी विद्याको यो नयाँ केन्द्र, जर्मनीमा राशीका शिक्षकहरूको भन्दा पनि प्रभावशाली हुन गयो।

त्यस समयमा फ्रान्सका यहूदीहरू आफ्ना मसीही भनौदाहरूसँग शान्ति र मेलमिलापमा नै बस्थे। यसले गर्दा राशीले आफ्नो अध्ययनलाई बढाउने मौका पाए। तर पनि तिनी समाजमा मिलेर नै बस्थे। शिक्षक र प्रतिष्ठानको प्रमुख व्यक्‍तिको रूपमा तिनको निकै इज्जत भए तापनि राशी र अन्य यहूदीहरूले एकै प्रकारको काम गरेको हुनाले तिनले धेरैजसो यहूदीहरूसँग सम्पर्क राख्न सके। साथै, यसले ती यहूदीहरूको परिस्थितिलाई बुझ्न र त्यहीअनुसार तिनीहरूसँग व्यवहार गर्नमा पनि तिनलाई मदत गऱ्‍यो। ट्‌वा शहर यस्तो ठाउँमा अवस्थित थियो कि त्यसले पनि राशीको अध्ययनमा योगदान पुऱ्‍यायो। मुख्य व्यापार मार्गमा अवस्थित भएकोले यो शहर एउटा महानगरपालिका थियो र यसले गर्दा राशीलाई विभिन्‍न जातिको रहनसहन र रीतिथितिबारे राम्ररी जान्‍न सजिलो भयो।

टिप्पणीको आवश्‍यकता किन पऱ्‍यो?

यहूदीहरूले पुस्तकमा जे भनिएको छ त्यही गर्थे। तर “पुस्तक”—बाइबल—हिब्रू भाषामा थियो र अब “मानिसहरू” अरबी, जर्मन, फ्रान्सेली, स्पेनी र अन्य थुप्रै भाषाहरू बोल्थे। बाल्यकालदेखि नै अधिकांश यहूदीहरूलाई हिब्रू सिकाइएको भए तापनि तिनीहरूले धेरैजसो बाइबलका पदहरू स्पष्टसित बुझ्न सक्दैनथे। यसबाहेक, बाइबल पदको शाब्दिक अर्थ नजाँच्नु भन्‍ने रब्बीहरूको यहूदी धर्ममा शताब्दीऔंदेखि चल्दै आएको धारणाले गर्दा पनि तिनीहरूले बाइबलका पदहरू स्पष्टसित बुझ्न सक्दैनथे। बाइबलका शब्द र पदहरूसँग सम्बन्धित दृष्टान्त र दन्त्यकथाहरू पनि प्रचुर मात्रामा थियो। यस्ता धेरै टिप्पणी र कथाहरू मिद्राशb भनिने थुप्रै लेखहरूमा रेकर्ड गरिएको थियो।

राशीको नाति, रब्बी शमूएल बेन मेइर (राशबम) पनि बाइबल विद्वान्‌ थिए। उत्पत्ति ३७:२ मा टिप्पणी गर्दै तिनले भने “[राशीभन्दा पहिलेका] टिप्पणीकारहरूले प्रवचनहरू (डेरशोट) गर्थे। यसलाई नै तिनीहरू सबैभन्दा महत्त्वपूर्ण लक्ष्य ठान्थे [तर] बाइबलका पदहरूको शाब्दिक अर्थको गहिराइलाई भने खोतल्दैन थिए।” यस धारणाबारे टिप्पणी गर्दै डाक्टर ए. कोहेन (सोन्सीनो बुक्स अफ द बाइबल-को मुख्य सम्पादक) लेख्छन्‌: “यो साँचो हो कि रब्बीहरूले पेशट अर्थात्‌ पदसँग नमिल्ने अर्थ ननिकाल्नु भन्‍ने नियम लागू गरे तापनि तिनीहरू आफै चाहिं यी नियमहरूमा त्यति ध्यान दिंदैनथे।” यस्तो धार्मिक वातावरणमा ती साधारण यहूदीहरूले बाइबलका पदहरू जाँच्नु पर्दा अलमल्ल परे र स्पष्टीकरण दिने साधनको आवश्‍यकता महसुस गरे।

राशीको लक्ष्य र तरिकाहरू

हिब्रू धर्मशास्त्रका पदहरू सबै यहूदीहरूले बुझ्न सक्ने बनाउनु नै राशीको जीवनको लक्ष्य थियो। सो लक्ष्य पूरा गर्न, तिनले पाठकहरूलाई बुझ्न गाह्रो पर्ने विशेष शब्द र पदहरूमा गरिएको टिप्पणीको पुस्तकहरू जम्मा गर्न थाले। राशीको टिप्पणीमा तिनका शिक्षकहरूले गरेका व्याख्याहरू र सम्पूर्ण रब्बी साहित्यबारे आफूले जानेका कुराहरूका टिपोट पनि छन्‌। भाषाबारे अनुसन्धान गर्दा राशीले प्राप्त सबै साधनहरूको प्रयोग गरे। मेसोरेटहरूका सांकेतिक र बलाघातहरूले पद्यांश बुझ्न कसरी सजिलो वा गाह्रो बनाउँछ भनेर पनि तिनले ध्यान दिए। कुनै शब्दको अर्थ बुझाउन मोशाले लेखेका पाँचवटा पुस्तकहरूमा तिनको टिप्पणीले प्रायजसो अरामी अनुवादलाई (टार्गम अफ अंकलस) संकेत गर्दछ। नामयोगी, संयोजक, क्रियापद अनि व्याकरण र वाक्य रचनाका अन्य रूपहरू बुझाउन पहिला ध्यानै नदिएका कुराहरू जाँच्दा राशी एकोहोरो नभई छाँटकाँट गरे। हिब्रू भाषाको वाक्य रचना र व्याकरण बुझ्न यस्ता टिप्पणीहरूले बहुमूल्य योगदान पुऱ्‍याए।

रब्बीहरूको यहूदी धर्मका मुख्य धारणाको विपरीत राशीले सधैं नै पदको सरल अनि शाब्दिक अर्थमा जोड दिन खोजे। तर यहूदीहरूले राम्ररी जानेका बृहत्‌ मिद्राश साहित्यलाई बेवास्ता गर्न सकिंदैन। बाइबल पदको शाब्दिक अर्थलाई अस्पष्ट पार्ने मिद्राशको लिपिहरूलाई राशीले जुन तरिकामा स्पष्ट पारेका छन्‌, त्यही नै तिनको टिप्पणीको एउटा प्रभावशाली विशेषता हो।

उत्पत्ति ३:८ बारे टिप्पणी गर्दै राशी व्याख्या गर्छन्‌: “बेरेशिट रब्बा र अन्य मिद्राश साहित्यिक संकलनमा हाम्रा ज्ञानी व्यक्‍तिहरूले राम्ररी मिलाएर राखेका धेरै अग्गडाc मिद्राशिम छन्‌। तापनि पदको शाब्दिक अर्थ (पेशट) र धर्मशास्त्रीय विवरणलाई त्यसको सन्दर्भअनुसार अग्गडोट-ले कसरी बुझाउँछ, त्यही नै मेरो चासोको विषय हो।” तिनले पदका अर्थ र प्रसंगलाई स्पष्ट पार्ने मिद्राशिमलाई छानेर सम्पादन गरे अनि अमिल्दो र गोलमाल पार्ने मिद्राशिमलाई हटाए। यस सम्पादनको फलस्वरूप, भावी यहूदी पुस्ताहरूलाई राशीले छानेका उत्तम मिद्राश राम्ररी थाह भयो।

राशीले आफ्ना शिक्षकहरूको आदर गरे तापनि पदबारे तिनीहरूका अस्पष्ट व्याख्यालाई अस्वीकार गर्न तिनी हिचकिचाएनन्‌। तिनले कुनै पद बुझेनन्‌ वा त्यसलाई गलत ढंगमा व्याख्या गरे जस्तो लागेमा त्यसको कबुल गर्थे र ती पदहरू बुझ्न तिनका विद्यार्थीहरूले तिनलाई मदत गरेको पनि उल्लेख गर्थे।

तत्कालीन परिस्थितिको प्रभाव

राशी त्यतिबेलाका परिस्थितिसित मिल्न सक्ने मानिस थिए। यस सम्बन्धमा एक लेखकले सारांशमा यसरी भने: “राशीले मूल विषयसम्बन्धित पदहरूलाई त्यतिबेलाका भाषामा पुनःव्याख्या गरे। त्यो प्रस्ट र स्तरीय भाषा थियो। तिनले गरेका व्याख्यामा स्नेह र मानवता झल्कन्थ्यो र यसलाई तिनले सिपालु र बुद्धिमानी ढंगमा व्याख्या गरेका हुनाले तिनका टिप्पणीहरू धर्मशास्त्रझैं सम्मानित र साहित्यझैं प्रिय भए। यही नै [राशीले] यहूदीहरूलाई दिएको ठूलो योगदान थियो। राशीले फ्रान्सेली लेखे जस्तै गरेर बुद्धिमानीसित हिब्रू लेखे। हिब्रू शब्दको अर्थ बुझाउनु पर्दा तिनले जहिले पनि हिब्रू उच्चारणको लागि फ्रान्सेली शब्द चलाए।” राशीले चलाएका ३,५०० भन्दा बढी यी फ्रान्सेली अक्षरमा लेखिएका हिब्रू शब्दहरू, पुरानो फ्रान्सेली भाषा र उच्चारण अध्ययन गर्ने विद्यार्थीहरूको लागि बहुमूल्य साधन हुन गएको छ।

राशीको जीवन शान्तिमय अवस्थामा बिते तापनि तिनको जीवनका पछिल्ला वर्षहरूमा यहूदी र मसीही भनौंदाहरूबीच बढ्‌दो तनाउ महसुस गरे। सन्‌ १०९६ मा पहिलो धर्मयुद्धले राशी पढेका ठाउँ, राइन्ल्याण्डका यहूदी सम्प्रदायमा विध्वंस ल्यायो। हजारौं यहूदीहरूको हत्या गरियो। यो हत्याको समाचारले राशीको स्वास्थ्यमा असर गरेको हुनुपर्छ। (दिनदिनै तिनको स्वास्थ्य बिग्रँदै गयो र ११०५ मा तिनको मृत्यु भयो।) त्यस समयदेखि तिनका शास्त्रीय टिप्पणीहरूमा महत्त्वपूर्ण परिवर्तन भयो। एउटा मुख्य उदाहरण यशैयाको ५३ अध्याय हो, जसले यहोवाका पीडित सेवकहरूबारे बताउँछ। ताल्मुदले गरेझैं, पहिले राशीले यी पदहरू मसीहको लागि हो भन्ठानेका थिए। तर धर्मयुद्धपछि यी पदहरू मसीहको लागि नभएर अन्याय भोगिरहेका यहूदीहरूको लागि रहेछ भन्‍ने तिनले बुझे। यसपछि यहूदीहरूले यी पदहरूको अर्कै अर्थ दिन थाले।d तसर्थ, मसीहीजगत्‌का गैरमसीही व्यवहारले यहूदीलगायत धेरैलाई येशूको सत्यदेखि तर्काइरहेको थियो।—मत्ती ७:१६-२०; २ पत्रुस २:१, २.

बाइबल अनुवादलाई तिनले कसरी प्रभाव पारे?

यहूदी धर्मको भन्दा राशीको प्रभाव ज्यादा थियो भनेर महसुस गर्न धेरै समय लागेन। लाइराको (१२७०-१३४९) निकोलस नामक फ्रान्सेली बाइबल टिप्पणीकारले “रब्बी सुलेमान [राशी]”-को विचारलाई बारम्बार संकेत गरिरहन्थे। यसकारण तिनलाई “सुलेमानको प्रतिरूप” भन्‍ने उपनाम दिइयो। फलतः थुप्रै टिप्पणीकार तथा अनुवादकहरूलगायत अंग्रेजी किङ जेम्स भर्सन-का अनुवादकहरूका अगुवाहरू र जर्मनमा बाइबल अनुवादमा परिवर्तन ल्याउने सुधारक मार्टिन लुथर लाइराद्वारा प्रभावित भएका थिए। लुथर लाइरामा यति बिघ्न भर परे कि एउटा यस्तो लोकप्रिय कविता नै बन्यो: “लाइराले वीणा नबजाएको भए लुथर नाच्ने थिएनन्‌।”

मसीही सत्यअनुरूप नभएको रब्बी विचारले राशीलाई धेरै प्रभाव पारेको थियो। तापनि तिनको बाइबलका पद, वाक्य रचना र व्याकरणको गहिरो ज्ञान अनि शास्त्रको सरल र शाब्दिक अर्थ स्पष्ट पार्न तिनको निरन्तर प्रयत्नद्वारा राशीले बाइबल अनुसन्धानकर्ता र अनुवादकहरूको निम्ति अरू टिप्पणीहरूसँग तुलना गर्न उपयोगी साधन उपलब्ध गराइदिएका छन्‌।

[फुटनोटहरू]

a “राशी” नाउँ तीन हिब्रू शब्दहरूको प्रथम अक्षरबाट लिइएको हो। यो नाउँ “राब्बी शलोमो ईत्सकी [रब्बी सलोमन बेन इजाक]” शब्दहरूका प्रथम अक्षरहरूबाट बनेको हो।

b हिब्रूको मूल अर्थबाट आएको “मिद्राश” भन्‍ने शब्दले “बुझ्नु, अध्ययन गर्नु, जाँच्नु,” र साथै “प्रचार गर्नु” बुझाउँछ।

c अग्गडोट-को (बहुवचनमा अग्गडा) शाब्दिक अर्थ “वृतान्त” हो। यसले बाइबलीय पात्रका गैरबाइबलीय कथा अथवा रब्बीहरूबारे दन्त्यकथाहरू समावेश गर्दै गैरकानुनी तत्त्वहरूलाई देखाउँछ।

d यस धर्मशास्त्रीय अंशबारे थप जानकारीको लागि वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित, के युद्धरहित संसार हुनेछ? (अंग्रेजी) पुस्तिकाको पृष्ठ २८ मा “मेरो दास”—तिनी को हुन्‌? पेटी हेर्नुहोस्‌।

[पृष्ठ २६-मा भएको चित्रको स्रोत]

अक्षर: Per gentile concessione del Ministero dei Beni Culturali e Ambientali

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने