प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w99 ४/१ पृ. १४-१९
  • मृत्युपछिको जीवन—त्यसबारे बाइबलले के बताउँछ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मृत्युपछिको जीवन—त्यसबारे बाइबलले के बताउँछ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • बाइबलअनुसार प्राण वा प्राणी
  • मृत व्यक्‍तिहरू अचेत हुन्छन्‌
  • आत्मा-बारे के भन्‍न सकिन्छ नि?
  • ‘तिनी फेरि बिउँतनेछ’
  • अद्धितीय प्रत्याशा!
  • मृत्यु बिनाको जीवन
  • हाम्रा प्रिय मृतजनहरूलाई के हुन्छ?
    ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ
  • के मानिस मरेपछि उसको कुनै अंश जीवित रहन्छ?
    बाइबल प्रश्‍नहरूको जवाफ
  • के मानिससित आत्मा छ?
    बाइबलले वास्तवमा के सिकाउँछ?
  • प्राणको लागि उत्तम आशा
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
w99 ४/१ पृ. १४-१९

मृत्युपछिको जीवन—त्यसबारे बाइबलले के बताउँछ?

“तँ माटै होस्‌ र माटैमा फर्किजानेछस्‌।”—उत्पत्ति ३:१९.

१, २. (क) मृत्युपछिको जीवनबारे कस्ता भिन्‍नाभिन्‍नै धारणाहरू पाइन्छ? (ख) बाइबलले मानिस वास्तवमा के हो भनेर सिकाउँछ, सो थाह पाउन के जाँच्नुपर्छ?

“अनन्त सास्तीको सिद्धान्त र परमेश्‍वरले आफ्नो सृष्टिमाथि देखाउनु हुने प्रेम आपसमा बाझिन्छ, प्रेम पटक्कै मेल खाँदैन। . . . जीवित छँदा भएका दुई चारवटा गल्तीहरूका लागि सच्याउने मौका नै नदिई अनन्त दण्ड दिनु कुनै हालतमा तार्किक हुनसक्दैन” भनी हिन्दू दर्शनशास्त्री निखिलानन्दले टिप्पणी गरे।

२ निखिलानन्दजस्तै आज थुप्रै मानिसहरू अनन्त सास्तीको शिक्षासित सन्तुष्ट छैनन्‌। त्यस्तैगरि अरू कतिचाहिं निर्वाण प्राप्त गर्ने र प्रकृतिसित एक हुने जस्ता धारणाहरू बुझ्न सकिरहेका छैनन्‌। बाइबलमा विश्‍वास गर्छौं भनी दाबी गर्ने व्यक्‍तिहरूबीच पनि मानिस के हो तथा मरेपछि के हुन्छ भन्‍नेबारे भिन्‍नाभिन्‍नै धारणाहरू छन्‌। तर बाइबलले मानिसको सृष्टिबारे साँच्चै के सिकाउँछ? यस प्रश्‍नको उत्तर पाउन हामीले “प्राण” वा “प्राणी” भनी बाइबलमा अनुवाद गरिएको हिब्रू तथा युनानी शब्दको अर्थ बुझ्नुपर्छ।

बाइबलअनुसार प्राण वा प्राणी

३. (क) कुन हिब्रू शब्दलाई अक्सर “प्राण” वा “प्राणी” भनी अनुवाद गरिएको छ र यसको खास अर्थ के हो? (ख) “प्राणी” शब्दले सिंगो व्यक्‍तिलाई पनि बुझाउँछ भनी उत्पत्ति २:७ बाट कसरी पुष्टि हुन्छ?

३ “प्राण” वा “प्राणी” भनी अनुवाद गरिएको हिब्रू शब्द नेफेस हो र यो हिब्रू धर्मशास्त्रमा ७५४ चोटि प्रयोग गरिएको छ। नेफेस-को अर्थ के हो? बाइबल तथा धर्मको शब्दकोश-अनुसार (अंग्रेजी) यसले “अक्सर सिंगो जीवित मानिस अर्थात्‌ व्यक्‍तिलाई बुझाउँछ।” मानिसको सृष्टि कसरी गरियो भन्‍ने बाइबलको सरल वर्णनले यसको पुष्टि दिन्छ। बाइबलको प्रथम पुस्तक उत्पत्ति २:७ मा यसो भनिएको छ: “परमप्रभु परमेश्‍वरले भूमिको माटोबाट मानिस बनाउनुभयो, र तिनको नाकमा जीवनको सास फुकिदिनुभयो, र मानिस जीवित प्राणी भयो।” याद गर्नुहोस्‌, प्रथम मानिस जीवित प्राणी “भयो।” यसरी “प्राणीले” सिंगो मानिसलाई बुझाउनसक्छ।

४. मसीही युनानी धर्मशास्त्रमा कुन शब्दलाई “प्राण” वा “प्राणी” भनी अनुवाद गरिएको छ र यस शब्दको वास्तविक अर्थ के हो?

४ मसीही युनानी धर्मशास्त्रमा थुप्रै चोटि साइकी-लाई “प्राणी” वा “प्राण” भनी अनुवाद गरिएको छ। नेफेस जस्तै यस शब्दले पनि अक्सर सिंगो व्यक्‍तिलाई बुझाउँछ। यस शब्दको अर्थ बुझ्न कृपया निम्न भनाइहरूलाई विचार गर्नुहोस्‌: “मेरो प्राण दुःखित भएको छ।” (यूहन्‍ना १२:२७) “हरेक प्राणीलाई डर भयो।” (प्रेरित २:४३) “हरेक प्राणी उच्च अख्तियारवालाहरूका अधीनमा रहोस्‌।” (रोमी १३:१) “थोरै प्राणी, अर्थात्‌ आठ जना पानीद्वारा बाँचेको थिए।” (१ पत्रुस ३:२०) स्पष्टतः नेफेस जस्तै साइकी शब्दले पनि सिंगो व्यक्‍तिलाई बुझाउँछ। शास्त्रज्ञ निजेल टर्नरका अनुसार यस शब्दले “विशेषतः परमेश्‍वरले सास रूवाक [सक्रिय शक्‍ति] फुकिदिनुभएको भौतिक शरीर, व्यक्‍ति वा मानिसलाई संकेत गर्छ। . . . यो शब्दले सिंगो व्यक्‍तिमाथि जोड दिन्छ।”

५. अरू के बुझाउन पनि हिब्रू तथा युनानी शब्दहरूलाई “प्राण” वा “प्राणी” भनी अनुवाद गरिन्छ? व्याख्या गर्नुहोस्‌।

५ चाखलाग्दो कुरा बाइबलमा “प्राण” वा “प्राणी” भनी अनुवाद गरिएका हिब्रू तथा युनानी शब्दले मानिसहरूलाई मात्र नभई तर जनावरहरूलाई पनि बुझाउँछ। उदाहरणका लागि, जलचरहरूको सृष्टिबारे वर्णन गर्दै उत्पत्ति १:२० मा परमेश्‍वरले यस्तो आज्ञा दिनुभएको उल्लेख गर्छ: “पानी जीवित जन्तुहरूले [हिब्रू, नेफेस] प्रशस्त गरी भरिऊन्‌।” अनि अर्को सृजनशील दिनमा परमेश्‍वरले भन्‍नुभयो: “पृथ्वीले जात-जातका जीवित प्राणीहरू [हिब्रू, नेफेस], अर्थात्‌ जात-जातका पाल्तु-पशुहरू, घस्रने जन्तुहरू र जात जातका वन-पशुहरू उत्पन्‍न गरोस्‌।”—उत्पत्ति १:२४.

६. बाइबलमा “प्राणी” भनी अनुवाद गरिएको शब्दको अर्थबारे के भन्‍नसक्छौं?

६ अतः बाइबलले मानिसलाई “प्राणी” भनी वर्णन गरेको छ र मानिस, पशु र मानिस अथवा पशुले आनन्द उठाउने जीवनलाई संकेत गर्न पनि मूल भाषाहरूमा ठीक त्यही शब्द चलाएको छ। (माथिको पेटी हेर्नुहोस्‌।) बाइबलमा मानिस के हो भनेर गरिएको वर्णन सरल अनि एकनासे छ। मानिसहरूको जटिल दर्शन तथा अन्धविश्‍वासले त्यसलाई प्रभावित गरेको छैन। यस्तो हो भने, सोध्नु महत्त्वपूर्ण हुन आउँछ कि बाइबलअनुसार मान्छे मरेपछि के हुन्छ?

मृत व्यक्‍तिहरू अचेत हुन्छन्‌

७, ८. (क) मृत व्यक्‍तिहरूको अवस्थाबारे धर्मशास्त्रले के भन्छ? (ख) मृत्युपछि प्राणीको कुनै अंश बाँचिरहन्छ भनेर के बाइबलले सिकाउँछ?

७ उपदेशक ९:५, १० मा मृत व्यक्‍तिहरूको अवस्थाबारे स्पष्ट पारिएको छ। त्यहाँ यसो भनिएको छ: “मरेकाहरूले ता केही पनि जान्दैनन्‌। . . . त्यहाँ नता केही गर्ने, न विचार गर्ने, न समझ-शक्‍ति, न बुद्धिनै हुन्छ।” अतः मृत्यु हुनु भनेको अस्तित्वविहीन हुनु हो। मानिस मरेपछि “त्यो माटैमा मिलिहाल्छ। त्यही दिन त्यसका युक्‍तिहरू नष्ट भइहाल्छन्‌” भनी भजनरचयिताले लेखे। (भजन १४६:४) मृतहरू अचेत अनि निष्क्रिय हुन्छन्‌।

८ आदमलाई दण्ड सुनाउनुहुँदा परमेश्‍वरले भन्‍नुभयो: “तँ माटै होस्‌ र माटैमा फर्किजानेछस्‌।” (उत्पत्ति ३:१९) परमेश्‍वरले जमिनको माटोबाट आदमको सृष्टि गर्नुभएर जीवनको सास नफुक्नु भएसम्म तिनको कुनै अस्तित्व थिएन। तिनको मृत्युपछि तिनी फेरि त्यही अवस्थामै फर्के। तिनको सजाय थियो, मृत्यु। अर्को कुनै लोकमा जाने होइन। त्यसोभए, तिनको मृत्युपछि बाँचिरहने कुनै अमर तत्त्व थियो त? थिएन, किनभने बाइबलले मान्छे मरेपछि केही पनि भाग बाँच्दैन भनी बताउँछ। हरेक प्राणी-सित मृत्युपछि बाँचिरहने कुनै अमर हुन्छ भनी त्यसले सिकाउँदैन। अमर आत्मा-मा विश्‍वास गर्ने व्यक्‍तिलाई यो कुरा अनौठो लाग्ला। तर कसैको मृत्यु हुँदा सिंगो प्राणी वा व्यक्‍ति मर्छ र त्यसको कुनै पनि भाग जीवित रहँदैन।

९. बाइबलले राहेलको “प्राण जाने बेलामा” भन्‍नुको अर्थ के थियो?

९ त्यसोभए, कान्छो छोरालाई जन्म दिंदा मर्ने राहेलको सन्दर्भमा उत्पत्ति ३५:१८ मा भनिएको कुराबारे चाहिं के भन्‍न सकिन्छ नि? त्यहाँ यसो भनिएको छ: “तिनको प्राण जाने बेलामा (किनभने तिनी मरिहालिन्‌) तिनले त्यस बालकको नाउँ बेनोनी राखिन्‌। तर बाबु चाहिंले त्यसको नाउँ बिन्यामीन राखे।” के यस विवरणले तिनीभित्र कुनै जीवितवस्तु छ जुन तिनको मृत्यु हुने बेला शरीरबाट निस्केर गयो भनेर बुझाउँछ? अहँ। नबिर्सनुहोस्‌, “प्राण” शब्दले जीवनलाई पनि संकेत गर्छ। अतः यहाँ “प्राण” शब्दले केवल राहेलको “जीवनलाई” बुझाउँछ। त्यसैकारण अन्य बाइबल अनुवादहरूले “तिनको प्राण जाने बेलामा” वाक्यांशलाई “तिनको जीवन टुंगिनै लागेको बेलामा” (नक्स), “तिनले अन्तिम सास लिए” (जेबी) र “तिनको जीवन अन्त भयो” भनी अनुवाद गरेका छन्‌। राहेलको मृत्युपछि कुनै रहस्यमयी भाग बाँचिरह्‍यो भन्‍ने कुनै संकेत छैन।

१०. विधवाको छोराको प्राण तिनीसितै कसरी फर्केर आयो?

१० यो कुरा पहिलो राजा अध्याय १७ मा लिपिबद्ध विधवाको छोराको पुनरुत्थानको विवरणसित पनि मिल्दो छ। पद २२ मा त्यस केटोको निम्ति एलियाले यसो भन्दै प्रार्थना गरेको हामी पढ्‌छौं “परमप्रभुले एलियाको बिन्ती सुन्‍नुभयो, र जीवनको सास त्यस बालकको शरीरमा फर्क्यो, र त्यो पुनर्जीवित भयो।” यहाँ पनि “सास[ले]” जीवनलाई बुझाउँछ। अतः न्यु अमेरिकन स्ट्याण्डर्ड बाइबल यसो भन्छ: “बालकको जीवन फर्क्यो र त्यो पुनर्जीवित भयो।” हो, त्यो केटोले फेरि जीवन पाएका थिए। कुनै छायाँ जस्तो रहस्यमयी कुरा तिनमा फर्केको होइन। यो एलियाले केटोको आमालाई भनेको कुराअनुरूप छ: “हेर त, तिम्रो छोरो [सिंगो व्यक्‍ति] जीवित भयो।”—१ राजा १७:२३.

आत्मा-बारे के भन्‍न सकिन्छ नि?

११. बाइबलमा “आत्मा” भनी चलाइएको शब्दले मृत्युपछि पनि जीवित रहने भागलाई किन संकेत गर्न सक्दैन?

११ बाइबलमा कहिलेकाहीं “आत्मा” (हिब्रू, रूवाक; युनानी, न्युमा) भनी अनुवाद गरिएको शब्दको अर्थ मुख्यतः “सास” हो अनि बाइबलका थुप्रै पदहरूमा त्यसलाई सास या निसवास भनी अनुवाद गरिएको छ। अतः थुप्रै अनुवादहरूमा भजन १४६:४ मा मानिसको मृत्यु भएपछि “त्यसको सास निस्किहाल्छ, त्यो माटैमा मिलिहाल्छ” भनी लेखिएको हामी पाउँछौं। यसको अर्थ “आत्मा निस्किहाल्छ” अर्थात्‌ देहत्याग गरेर अर्को अदृश्‍य संसारमा जान कुनै अमर तत्त्व निस्कन्छ भनेको होइन। त्यसो हुन सक्दैन किनभने भजनरचयिताले त्यसपछि यसो भने: “त्यही दिन त्यसका युक्‍तिहरू नष्ट भइहाल्छन्‌।”

१२. बाइबलमा “आत्मा” वा “सास” भनी अनुवाद गरिएको हिब्रू तथा युनानी शब्दले के संकेत गर्छ?

१२ तर यी हिब्रू र युनानी शब्द सधैं सास भनेर मात्र अनुवाद गरिंदैन किनभने ती शब्दहरूले सास फेर्ने प्रक्रियालाई मात्र बुझाउँदैन। उदाहरणका लागि, विश्‍वव्यापी जलप्रलयको समयमा मानिस तथा पशुहरूको विनाशबारे वर्णन गर्दै उत्पत्ति ७:२२ ले भन्छ: “ओबानो भूमिमा भएका सास हुने सबै प्राणी [वा, आत्मा; हिब्रू, रूवाक] मरे।” अतः कहिलेकाहीं रूवाक-लाई “आत्मा” भनेर पनि अनुवाद गरिन्छ अनि बाइबलमा त्यसले सबै जिवित प्राणीहरू अर्थात्‌ मानिस तथा पशु दुवैको जीवन शक्‍तिलाई बुझाउँछ जुन शक्‍ति चलाइरहन सास फेर्नुपर्छ।

१३. बाइबलअनुसार मानिसको मृत्युपछि तिनको आत्मा कसरी परमेश्‍वरकहाँ फर्कन्छ?

१३ उपदेशक १२:७ ले मान्छे मरेपछि “आत्मा दिने परमेश्‍वरकहाँ” जान्छ भन्छ। यसले चाहिं के बुझाउँछ नि? के आत्मा साँच्चै अन्तरिक्ष हुँदै परमेश्‍वर कहाँ जान्छ भनेको हो त? त्यस्तो अवश्‍य होइन। बाइबलमा आत्मा-ले जीवनशक्‍ति बुझाउने भएकोले त्यो ‘परमेश्‍वरकहाँ फर्कन्छ’ भन्‍नुको अर्थ अब भविष्यमा जीवन पाउने हो या होइन पूर्णतया परमेश्‍वरमा निर्भर हुन्छ भनेको हो। परमेश्‍वरले मात्र फेरि आत्मा वा जीवनशक्‍ति दिन सक्नुहुन्छ। (भजन १०४:३०) तर के परमेश्‍वरको त्यस्तो गर्ने उद्देश्‍य छ?

‘तिनी फेरि बिउँतनेछ’

१४. लाजरसको मृत्यु हुँदा तिनका दिदीहरूलाई सान्त्वना दिन येशूले के भन्‍नु र गर्नुभयो?

१४ यरूशलेमभन्दा झन्डै तीन किलोमिटर टाढा सानो शहर बेथानीमा मरियम र मार्था अकालमै मर्ने भाइ लाजरसको शोक मनाइरहेका थिए। येशूले तिनीहरूसँगै शोक मनाउनुभयो किनभने उहाँ लाजरस र तिनका दिदीहरूलाई माया गर्नुहुन्थ्यो। येशूले तिनका दिदीहरूलाई कसरी सान्त्वना दिन सक्नुहुन्थ्यो? कुनै बुझ्नै गाह्रो कथाहरू सुनाएर त होइन तर सत्य कुरा बताएर। येशूले सीधै यसो भन्‍नुभयो: “तिम्रो भाइ फेरि बिउँतनेछ।” तब येशू चिहानमा जानुभयो र लाजरसलाई ब्यूँताउनुभयो अर्थात्‌ मरेको चार दिन भइसकेका मानिसलाई पुनर्जीवित गर्नुभयो!—यूहन्‍ना ११:१८-२३, ३८-४४.

१५. येशूले भन्‍नुभएको र गर्नुभएको कुराप्रति मार्थाको कस्तो प्रतिक्रिया थियो?

१५ लाजरस “बिउँतनेछ” भनी येशूले भन्‍नुहुँदा के मार्था छक्क परिन्‌? तिनी छक्क परिनन्‌ किनभने तिनले जवाफमा यसो भनेकी थिइन्‌: “म जान्दछु, कि त्यो पछिल्लो दिनको पुनरुत्थानमा फेरि बिउँतनेछ।” तिनी पुनरुत्थानको प्रतिज्ञामा विश्‍वास गर्थिन्‌। तब येशूले तिनलाई यसो भन्‍नुभयो: “पुनरुत्थान र जीवन मै हुँ, मलाई विश्‍वास गर्ने मऱ्‍यो भने पनि बाँच्नेछ।” (यूहन्‍ना ११:२३-२५) चमत्कारपूर्ण ढंगमा लाजरस फेरि जीवित हुँदा तिनको विश्‍वास झन्‌ बलियो भयो र अरू मानिसहरूले पनि विश्‍वास गर्न थाले। (यूहन्‍ना ११:४५) तर “पुनरुत्थान” को अर्थ के हो?

१६. “पुनरुत्थान” को अर्थ के हो?

१६ युनानी शब्द आनास्तासिस-बाट “पुनरुत्थान” शब्द अनुवाद गरिएको हो र यसको शाब्दिक अर्थ “पुनः खडा हुनु” हो। युनानी भाषाका हिब्रू अनुवादकहरूले आनास्तासिस-लाई “मरेको मान्छे फेरि जीवित हुनु” भनी (हिब्रूमा टेचियाथ ह्‍यामेथिम)a अनुवाद गरेका छन्‌। अतः पुनरुत्थान मृत व्यक्‍तिलाई निर्जीव अवस्थबाट फर्काउनु अर्थात्‌ कुनै व्यक्‍तिविशेषको जीवन पुनः क्रियाशील वा पुनर्जिवित पार्नु हो।

१७. (क) यहोवा परमेश्‍वर तथा येशू ख्रीष्टलाई मानिसहरूको पुनरुत्थान गर्न किन गाह्रो पर्नेछैन? (ख) सम्झनाको चिहानमा हुनेहरूबारे येशूले कस्ता प्रतिज्ञाहरू गर्नुभयो?

१७ असीमित बुद्धि तथा सिद्ध स्मरण शक्‍ति भएको यहोवा परमेश्‍वरले मानिसको सजिलै पुनरुत्थान गर्न सक्नुहुन्छ। मृत व्यक्‍तिको जीवनपद्धति अर्थात्‌ व्यक्‍तित्व, तिनको पृष्ठभूमि तथा अन्य पहिचानहरू सम्झनु उहाँको लागि कुनै गाह्रो कुरा होइन। (अय्यूब १२:१३; तुलना गर्नुहोस्‌ यशैया ४०:२६) यसबाहेक लाजरसको पुनरुत्थानले मरिसकेकाहरूलाई पुनरुत्थान गर्न येशू ख्रीष्ट इच्छुक मात्र होइन तर सक्नु पनि हुन्छ भनी संकेत गर्छ। (लूका ७:११-१७; ८:४०-५६ तुलना गर्नुहोस्‌) वास्तवमा येशू ख्रीष्टले भन्‍नुभयो: “बेला आउँछ, जब [ “सम्झनाको,” NW] चिहानमा हुनेहरू सबैले उसको [येशूको] सोर सुन्‍नेछन्‌। औ . . . निस्किआउनेछन्‌।” (यूहन्‍ना ५:२८, २९) हो, येशू ख्रीष्टले यहोवाको सम्झनामा हुनेजति सबैको पुनरुत्थान गर्ने प्रतिज्ञा गर्नुभएको थियो। स्पष्टतः बाइबलअनुसार मृत्युपछि रहिरहने कुनै अमर भाग छैन, बरु मृत्यु हटाउने एक मात्र उपाय पुनरुत्थान हो। तर अरबौं मानिसहरू जन्मिए अनि मरे। तिनीहरूमध्ये यहोवाको सम्झनामा हुनेहरू र पुनरुत्थान हुने समयमा पर्खनेहरू को को हुन्‌?

१८. कस कसको पुनरुत्थान हुनेछ?

१८ यहोवाको सेवा गर्दै धार्मिक मार्गमा चल्ने व्यक्‍तिहरूको पुनरुत्थान हुनेछ। तर त्यस्ता करोडौं मानिसहरू पनि छन्‌ जो यहोवाको धार्मिक स्तरहरूअनुसार चल्ने हो या होइन देखाउन नपाई मरे। तिनीहरू या त यहोवाले चाहनुभएका कुराहरू जान्‍नै पाएनन्‌ वा जाने पनि आवश्‍यक परिवर्तनहरू गर्नै नपाई मरे। यी अरूहरू पनि परमेश्‍वरको सम्झनामा छन्‌ र तिनीहरूको पनि पुनरुत्थान हुनेछ। किनकि बाइबलले यस्तो प्रतिज्ञा गरेको छ: “धर्मी र अधर्मीहरू समेतको पुनरुत्थान हुन्छ।”—प्रेरित २४:१५.

१९. (क) प्रेरित यूहन्‍नाले पुनरुत्थानको कस्तो दर्शन देखे? (ख) “अग्नि-कुण्ड[मा]” के फालिनेछ र त्यस वाक्यांशको अर्थ के हो?

१९ प्रेरित यूहन्‍नाले पुनरुत्थान हुने मानिसहरू परमेश्‍वरको सिंहासनअघि उभिरहेको रोमाञ्चकारी दर्शन देखे। यसको व्याख्या गर्दै तिनले लेखे: “समुद्रले त्यसमा भएका मुर्दाहरूलाई दिइहाल्यो, औ मृत्यु र पातालले पनि तिनीहरूमा भएका मुर्दाहरूलाई दिइहाले। औ तिनीहरू प्रत्येकको आफ्नो आफ्नो कामअनुसार इन्साफ भयो। औ मृत्यु र पाताल अग्नि-कुण्डमा फालिए। योचाहिं, अर्थात्‌ अग्नि-कुण्ड, दोस्रो मृत्यु हो।” (प्रकाश २०:१२-१४) यसको अर्थ के होला, यसो सोच्नुहोस्‌ त! परमेश्‍वरको सम्झनामा भएका सबै मृत व्यक्‍तिहरू हेडिस वा शिओल अर्थात्‌ मानिसजातिको चिहानबाट उठ्‌नेछन्‌। (भजन १६:१०; प्रेरित २:३१) “मृत्यु र पाताल अग्नि-कुण्ड[मा]” फालिनेछ जसले अनन्त विनाशलाई संकेत गर्छ। मानिसजातिको चिहानको अस्तित्वै रहनेछैन।

अद्धितीय प्रत्याशा!

२०. अहिले मरिसकेका लाखौंको कस्तो वातावरणमा पुनरुत्थान हुनेछ?

२० लाखौं मानिसहरूलाई पुनरुत्थानमा ब्यूँताइदा पृथ्वी शून्य हुनेछैन। (यशैया ४५:१८) तिनीहरूले आफूलाई अत्यन्तै सुन्दर वातावरणमा पाउनेछन्‌ र तिनीहरूको निम्ति बस्ने ठाउँ, लत्ताकपडा तथा प्रशस्त खाना हुनेछ। (भजन ६७:६; ७२:१६; यशैया ६५:२१, २२) यी सबै तयारीहरू कसले गर्नेछ? स्पष्टतः पार्थिव पुनरुत्थान सुरु हुनुअघि नयाँ संसारमा पक्कै पनि कोही न कोही हुनैपर्छ। तर  को?

२१, २२. “आखिरी दिनमा” बाँचिरहेकाहरूसामु कस्तो अनुपम प्रत्याशा छ?

२१ बाइबल भविष्यवाणीको पूर्तिले हामी यस रीतिरिवाजको “आखिरी दिनमा” छौं भनी देखाउँछ।b (२ तिमोथी ३:१) अब चाँडै परमेश्‍वरले मानव मामिलामा हस्तक्षेप गर्नुहुनेछ र पृथ्वीबाट दुष्टतालाई हटाउनुहुनेछ। (भजन ३७:१०, ११; हितोपदेश २:२१, २२) त्यतिबेला विश्‍वासी भएर परमेश्‍वरको सेवा गर्नेहरूलाई के हुनेछ?

२२ यहोवाले दुष्टहरूसँगसँगै धर्मीहरूलाई पनि नाश गर्नु हुनेछैन। (भजन १४५:२०) उहाँले त्यस्तो कहिल्यै गर्नुभएको छैन र पृथ्वीबाट दुष्टहरूलाई हटाउनुहुँदा पनि त्यस्तो गर्नुहुने छैन। (उत्पत्ति १८:२२, २३, २६ तुलना गर्नुहोस्‌) वास्तवमा बाइबलको अन्तिम पुस्तकले “कसैले गन्‍न नसक्ने हरेक जातिबाटको र सबै कुलको र मानिसको, र भाषा भाषाहरूको एक ठूलो भीड़ . . . महा संकष्टबाट आएका छन्‌” भनी बताउँछ। (प्रकाश ७:९-१४) हो, यस वर्तमान दुष्ट रीतिरिवाजको विनाश हुँदा त्यस ठूलो भीड महा संकष्टबाट बच्नेछ र परमेश्‍वरको नयाँ संसारमा प्रवेश गर्नेछ। आज्ञाकारी मानिसहरूले त्यहाँ मानिसजातिलाई पाप तथा मृत्युबाट मुक्‍त गर्ने परमेश्‍वरको अद्‌भुत प्रबन्धको पूर्णतया लाभ उठाउनसक्छन्‌। (प्रकाश २२:१, २) अतः “ठूलो भीड़[ले]” कहिल्यै मृत्युको अनुभव गर्नु नपर्ने पनि हुनसक्छ। कस्तो अनुपम प्रत्याशा!

मृत्यु बिनाको जीवन

२३, २४. प्रमोदवनरूपी पृथ्वीमा अनन्त जीवनको आनन्द उठाउन के गर्नुपर्छ?

२३ के यस आश्‍चर्यजनक आशामाथि हामीले भरोसा गर्नसक्छौं? अवश्‍य! येशू ख्रीष्ट स्वयंले मानिसहरू कहिल्यै नमर्ने समय पनि आउनेछ भनी संकेत गर्नुभयो। आफ्नो साथी लाजरसलाई ब्यूँताउनुअघि येशूले मार्थालाई भन्‍नुभयो: “मलाई विश्‍वास गर्ने प्रत्येक कहिल्यै पनि मर्नेछैन।”—यूहन्‍ना ११:२६.

२४ के तपाईं प्रमोदवनमा सधैंभरि बाच्न चाहनुहुन्छ? के तपाईं आफ्नो प्रिय जनलाई फेरि भेट्‌ने इच्छा गर्नुहुन्छ? प्रेरित यूहन्‍ना भन्छन्‌, “संसार बितिजान्छ, र त्यसको अभिलाषा पनि बितेर जान्छ, तर परमेश्‍वरको इच्छाबमोजिम गर्ने चाहिं सधैंभरि रहिरहन्छ।” (१ यूहन्‍ना २:१७) परमेश्‍वरको इच्छा के हो सो जान्‍ने र त्यसैअनुसार जीवन बिताउने निर्णय गर्ने समय अहिल्यै हो। अनि परमेश्‍वरको इच्छा गरिरहेका अन्य लाखौं व्यक्‍तिहरूसँगै तपाईं पनि प्रमोदवनरूपी पृथ्वीमा सधैंभरि बाँच्न सक्नुहुनेछ।

[फुटनोटहरू]

a तर चाखलाग्दो कुरा, हिब्रू धर्मशास्त्रमा “पुनरुत्थान” शब्द प्रयोग नगरिए तापनि अय्यूब १४:१३, दानियल १२:१३ र होशे १३:१४ मा पुनरुत्थानको आशा स्पष्टसँग प्रकट गरिएको पाइन्छ।

b वाच टावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ पुस्तकको पृष्ठ ९८-१०७ हेर्नुहोस्‌।

के तपाईंले सम्झनुभएको छ?

◻ “प्राण” वा “प्राणी” भनी अनुवाद गरिएको मूल शब्दहरूको खास अर्थ के हो?

◻ मानिस मरेपछि के हुन्छ?

◻ बाइबलअनुसार मृत्यु हटाउने एक मात्र उपाय के हो?

◻ विश्‍वासी व्यक्‍तिहरूसामु आज कस्तो अनुपम प्रत्याशा छ?

[पृष्ठ १५-मा भएको पेटी]

प्राणीको जीवन, “प्राण”

कहिलेकाहीं “प्राण” शब्दले मानिस वा पशुहरूले आनन्द उठाउने जीवनलाई संकेत गर्छ। प्राण वा प्राणी शब्दले बाइबल लेखकहरूले चलाएको मूल शब्दको अर्थमा कुनै फरक पार्दैन। सिंगो जीवित व्यक्‍तिलाई बुझाउन बाइबल लेखकहरूले नेफेस र साइकी प्रयोग गरे जसलाई प्राणी अनुवाद गरिन्छ र सिंगो जीवित व्यक्‍तिलाई प्राणी भन्‍नसक्छन्‌। तर जीवित अवस्थामा व्यक्‍तिविशेषको जीवनलाई संकेत गर्न पनि नेफेस वा साइकी शब्द चलाउन सकिन्छ र यस अवस्थामा साधारणतया ती शब्दहरूलाई प्राण भनी अनुवाद गरिन्छ।

उदाहरणका लागि, परमेश्‍वरले मोशालाई भन्‍नुभयो: “तेरो ज्यान [अथवा प्राण] लिन खोज्नेहरू सबै मरिसके।” ती मानिसहरू तिनको ज्यान लिन खोजिरहेका थिए। (प्रस्थान ४:१९; तुलना गर्नुहोस्‌ यहोशू ९:२४; हितोपदेश १२:१०) येशूले पनि सोही अर्थलाई ध्यानमा राख्दै यसो भन्‍नु भएको थियो: “मानिसको पुत्र . . . धेरैको उद्धारको निम्ति आफ्नो प्राण दिनालाई आयो।” (मत्ती २०:२८; तुलना गर्नुहोस्‌ १०:२८) यी सबै अवसरमा “प्राण” शब्दले “प्राणीको जीवन” बुझाउँछ।

[पृष्ठ १५-मा भएका चित्रहरू]

यी सबैलाई बुझाउन बाइबलमा एउटै शब्द प्रयोग गरिएको छ

[स्रोत]

हमिंगबर्ड: U.S. Fish and Wildlife Service, Washington, D.C./Dean Biggins

[पृष्ठ १७-मा भएको चित्र]

मृत्यु हटाउने एक मात्र उपाय पुनरुत्थान हो भनी येशूले प्रदर्शित गर्नुभयो

[पृष्ठ १८-मा भएको चित्र]

“बाँच्ने र मलाई विश्‍वास गर्ने प्रत्येक कहिल्यै पनि मर्नेछैन”—यूहन्‍ना ११:२६.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने