सबै जना स्वतन्त्र हुन चाहन्छन्
“स्वतन्त्र भएर जन्मेको मानिस चारैतिर बन्धनमा परेको छ” भनी फ्रान्सेली दार्शनिक जाँ ज्याक रूसोले सन् १७६२ मा लेखे। स्वतन्त्र भएर जन्मनु। कस्तो अद्भुत विचार! तर इतिहासलाई नियाँल्दा, रूसोले बताएझैं करोडौं मानिसहरूले कहिले पनि स्वतन्त्रता अनुभव गरेनन्। बरु, तिनीहरूले आफ्नो जीवन त्यस्तो परम्पराको “बन्दी” भएर गुजारे जसले तिनीहरूको अनन्त आनन्द र सन्तुष्टि लुट्यो।
आज पनि “एउटा मानिसले अर्को मानिसलाई दुःख” दिएको करोडौंले देखेका छन्। (उपदेशक ८:९) महत्त्वाकांक्षी पुरुष तथा स्त्रीहरू सत्ता हत्याउने होडबाजीमा अर्काको स्वतन्त्रता कुल्चिमिल्ची गर्न रत्तीभर हिचकिचाउँदैनन्। “बन्दुकधारी सैनिकहरूले २१ जनाको हत्या गरे” भन्ने विशेष रिपोर्ट प्राप्त भयो। अर्को एउटा रिपोर्टले चाहिं सुरक्षा सैनिकहरूले नै ‘असहाय तथा निहत्था आइमाई, केटाकेटी र बृद्ध मानिसहरूलाई घाँटी रेटेर मार्नुका साथै सरकारी युद्ध बन्दीहरूलाई टाउकोमा गोली हानी हत्या गरिरहेका अनि गाउँहरू ध्वस्त गर्न कसैलाई नछाड्ने नीति अपनाउँदै डढेलो लागेजस्तै अघि बढेर मनपरी गोलाबारूद पड्काउँदै’ गरेको “रक्तपातबारे” बताउँछ।
मानिसहरू कसैको दमन सहन चाहँदैनन् र साँच्चै स्वतन्त्रताको लागि लड्छन् पनि! तथापि, एक जना मानिसले आफ्नो स्वतन्त्रताको लागि लड्दा अर्को पक्षको अधिकार र स्वतन्त्रतालाई कुल्चिमिल्ची गरिरहेको हुन्छ भन्ने तीतो सत्य पत्याउन करै लाग्छ। यस्ता कार्यहरूले गर्दा सोझा पुरुष, स्त्री तथा केटाकेटीहरूले प्रायः आफ्नो ज्यान गुमाइरहेका हुन्छन्। अनि तिनीहरूको मृत्युलाई मूल्यवान् र नैतिक कार्य घोषणा गरी “वैध” बनाइन्छ। उदाहरणका लागि, गत वर्ष मात्र आयरल्याण्डस्थित, ओमाको सानो शहरमा “स्वतन्त्रताका योद्धाहरूले” राखेको कार बम पड्कँदा त्यस वरपर बसिरहेका २९ जना निर्दोष मानिसहरूले ज्यान गुमाए भने अरू सैयौं घाइते भए।
अझै “बन्धनमा”
त्यस्तो युद्ध सिद्धिएपछि चाहिं कस्तो उपलब्धी पाइन्छ? “स्वतन्त्रताका योद्धाहरूले” युद्ध जितेपछि पनि केही हदसम्म मात्र स्वतन्त्रता प्राप्त हुनसक्छ। तर त्यसपछि पनि के तिनीहरू साँच्चै स्वतन्त्र हुन्छन् र? स्वतन्त्र समाज भनौंदा ठाउँहरूमा समेत मानिसहरू अझै पनि गरिबी, असिद्धता, रोगबिमार र मृत्युको “बन्धनमा” छैनन् र? उसोभए, यी कुराहरूको दासत्वमा परुञ्जेल कुनै पनि मानिसले आफू स्वतन्त्र छु भनी कसरी भन्नसक्छ र?
प्राचीन समयका बाइबल लेखक मोशाले जीवनबारे व्याख्या गरेझैं विगतमा थुप्रैले अनुभव गरेका छन् र आज पनि गरिरहेका छन्। तिनले भनेअनुसार हामी ७०/८० वर्ष बाँचौंला “तापनि तिनीहरूको घमण्ड ता केवल दुःख र मेहनत मात्र हुन्छन्।” (भजन ९०:१०) के यो परिस्थिति कहिल्यै बदलिनेछ? आज थुप्रैले भोगिरहेको पीडा तथा त्रासबाट स्वतन्त्र भएर जीवनको पूर्ण सन्तुष्टि प्राप्त गर्न सम्भव हुनसक्ला र?
बाइबल भन्छ सम्भव छ! यसले “परमेश्वरको सन्तानको महिमाको स्वतन्त्रता[बारे]” बताउँछ। (रोमी ८:२१) आउनुहोस्, हामी पनि प्रेरित पावलले प्रथम शताब्दीमा रोमका मसीहीहरूलाई लेखेको त्यस स्वतन्त्रताबारे राम्ररी बुझौं। यस पत्रमा पावलले हामी हरेकले त्यो वास्तविक अनि अनन्त “महिमाको स्वतन्त्रता” कसरी प्राप्त गर्नसक्छौं भनी स्पष्ट पारेका छन्।
[पृष्ठ ३-मा भएको चित्रको स्रोत]
Beacon Lights of History, Vol. XIII पुस्तकबाट