धार्मिक स्वतन्त्रता बढेकोमा टापु हर्षित हुन्छ
क्युबा, यस सुन्दर क्यारिबियन टापुले भर्खरै मात्र अपूर्व आध्यात्मिक स्फूर्ती अनुभव गरेको छ। सन् १९९८ को अन्त सँगसँगै यस वेस्ट इन्डियन राष्ट्रका साक्षीहरूले लामो समयदेखि आशा गरेको आशिष् पाए। यहोवाका साक्षीहरूको परिचालक निकायका सदस्यहरूले अरू १५ प्रतिनिधिहरूका साथ ३० वर्षपछि यस मुलुकमा पुनः पाइला टेके। यी अतिथिहरू अस्ट्रेलिया, अस्ट्रिया, बेल्जियम, बेलाइत, इटाली, न्यू जील्याण्ड र पोर्टो रिकोका नागरिकहरू थिए।
यो क्युबाका ८२,२५८ राज्य प्रकाशकहरूका साथै १९९८ को बसन्त ऋतुमा प्रभुको साँझको भोजमा भाग लिने ८७,८९० जनाको लागि पनि ऐतिहासिक क्षण थियो।
लोयड ब्यारी, जोन बार, गेरिट लोशले त्यहाँको बेथेल गृहको भ्रमण गर्नुका साथै १९९८ को डिसेम्बर १ देखि ७ सम्ममा सम्पन्न भएको “परमेश्वरले चाहनुहुने जीवनशैली” विषयको कुनै कुनै जिल्ला अधिवेशनहरूमा पनि भाग लिए। परिभ्रमण प्राचीनहरूलाई भेट्नुका साथै क्युबाका सरकारी अधिकृतहरूसित राम्ररी परिचित हुन सकेकोमा तिनीहरू आनन्दित थिए।
जोन बार भन्छन्, “यी मेरी पत्नी र मैले जीवनभर यहोवाको सेवामा बिताएको अविस्मरणीय क्षणहरूमध्ये एक हो। क्युबाका हाम्रा प्यारा भाइबहिनीहरू सच्चाइका लागि निकै जोसिला छन्! हाम्रो विश्वव्यापी भ्रातृत्व साँच्चै बहुमूल्य रहेछ भनेर मैले त्यहाँ अनुभव गरें!” यस कुरामा सहमति जनाउँदै भाइ लोयड ब्यारीले पनि भने, “यस अविस्मरणीय सातामा मैले त्यहाँका हाम्रा भाइहरूको परिस्थिति राम्ररी बुझें।”
विगत पाँच वर्षदेखि क्युबाका यहोवाका साक्षीहरूले उपासना गर्ने महान स्वतन्त्रता पाएका छन् भने त्यहाँका अख्तियारवालाहरूको टिप्पणीले यसलाई तिनीहरू कायमै राख्न चाहन्छन् भन्ने विश्वास दिलाउँछ।
सेप्टेम्बर १९९४ मा हवानाको बेथेल गृहमा छापाखाना स्थापना गरियो। फेरि एकचोटि यहोवाका साक्षीहरूले खुल्लम खुल्ला सभा गर्न र घर घर साक्षी दिनसक्ने भए। पछि, १९९८ मा अख्तियारवालाहरूले यहोवाका साक्षीहरूको परिचालक निकायका तीन सदस्यहरू लगायतको १८ अन्तरराष्ट्रिय प्रतिनिधिहरूलाई भ्रमण गर्ने अनुमति दिए।
हर्षमय पुनर्मिलन
हाम्रा प्रतिनिधिहरू हवानाको जोसे मार्टी एयरपोर्टमा ओर्लंदा त्यहाँका सरकारी अधिकृतहरू तथा बेथेल परिवारले आदरपूर्वक स्वागत गरे। ती भाइहरूमध्ये एक जनालाई १९६१ मा परिचालक निकायका सदस्य मिल्टन हेन्सेलले क्युबामा गरेको अन्तिम भ्रमणबारे सम्झना थियो। उक्त भाइ त्यसबेला १२ वर्षका थिए। अहिलेचाहिं तिनी परिभ्रमण निरीक्षकको रूपमा सेवारत छन्।
ती प्रतिनिधिहरू त्यहाँको बेथेल गृहमा पुग्दा एक जना भाइले यसै अवसरको लागि फुलाएका अफ्रिकी फूल, गुलाफ, चमेली र पहेंला अनि राता रंगका सयपत्री फूलका गुच्छाहरूद्वारा स्वागत गरे। ती प्रतिनिधिहरूलाई बेथेल परिवारले यसरी भव्य स्वागत गर्दा तिनीहरूका आँखाबाट बरर्र आँसु झर्नथाले। तिनीहरूले बेलुकी, सेकेको सुँगुरको मासुको क्युबेली परिकार भात, सिमी, सलाद, मोजो (लसुन र खजूरको तेलले बनेको सस) हालेको तरूल र ताजा फलफूल बाँडेर खाए। खाना खाइसकेपछि परिचालक निकायका सदस्यहरूले पालैसित बेथेल सेवाका इनामहरूबारे प्रोत्साहनदायी भाषण दिए। भाइ लोशले स्पेनी भाषामा दिएको टिप्पणी विशेष गरी झकझकाउने खालको थियो। यस बेथेल परिवारमा ४८ जना स्थायी स्वयंसेवक कामदारहरू छन् भने १८ जना अस्थायी सहयोगीहरू छन्।
क्युबाका भाइबहिनीहरूका लागि चाहिने पुस्तक तथा बाइबलहरू इटालीमा छापिने भए तापनि श्यामश्वेत प्रहरीधरहरा तथा ब्यूँझनुहोस्! पत्रिकाहरू आफ्नै देशमा दुइटा मिमियोग्राफ मेसिनबाट छापिन्छ। चाहिने मात्रामा पत्रिकाहरू प्रकाशित गर्न दिनहुँ एउटै काम बारम्बार लामो समयसम्म साँघुरो ठाउँमा बसेर गरिरहनु पर्ने हुन्छ। यी स्वयंसेवकहरू निकै भिन्न तरिकामा यहोवाको सेवालाई विशेष तवरले मूल्यवान् ठान्छन्।—२ कोरिन्थी ४:७.
अधिवेशनका विशेषताहरू
हाम्रा १८ सदस्यीय प्रतिनिधिहरूलाई हवाना, क्यामग्वे र होल्गुइनमा सम्पन्न भएको जिल्ला अधिवेशनहरूमा उपस्थित हुन तीन समूहमा छुट्याइयो। तीन दिनको अधिवेशनमा प्राचीन अनि अग्रगामीहरू लगायत थुप्रै भाइबहिनीहरूलाई तीनै ठाउँमा भेला हुन निम्त्याइयो। त्यहाँका स्थानीय साक्षीहरूलाई यो विशेष समारोह हुनेछ भनेर त बताइएको थियो तर त्यहाँ परिचालक निकायका सदस्यहरू पनि उपस्थित हुनेछन् भन्नेचाहिं थाह थिएन। हाम्रा प्रिय भाइहरू भाडाको बसबाट पत्नीसहित शुक्रबार बिहान ओर्लंदा तिनीहरू कत्ति आश्चर्यचकित भए होलान्!
ती अधिवेशनहरू अख्तियारवालाहरूको अनुमति लिएर तयार पारिएको खुला मैदानमा सञ्चालन भएको थियो। हवानाको त्यस अधिवेशन क्षेत्रभित्र पस्ने ठाउँको एउटा ढुंगामा “भजन १३३:१” कुँदिएको थियो। यसले भाइहरूलाई सो पदमा लेखिएका यी कुराहरू सम्झाउँथ्यो: “समाजका दाज्यू-भाइहरू आपसमा एकतामा भएर बस्नु कत्ति असल र मनोहर कुरा हुन्छ!” साँच्चै, त्यस अधिवेशनभर त्यहाँ असल र मनोहर मसीही संगती थियो।
राम्ररी प्रस्तुत गरिएको भाषण अनि अन्तरवार्ताको नवागन्तुकहरूले सराहना गर्नुका साथै दानियल ३ अध्यायको कथामा आधारित प्राचीन बेबिलोनमा भएको घटनालाई लिएर तयार पारिएको नाटकबाट साह्रै प्रभावित भए। एउटी बहिनीले यस्तो टिप्पणी गरिन्: “सबै कलाकारहरू एक से एक थिए अनि आवाज पनि यस्तो समयमै आउँथ्यो कि त्यो पहिले नै रेकर्डिङ गरिएको हो भनेर यादै भएन। . . . दुष्ट बेबिलोनीहरू साँच्चै दुष्ट देखिन्थे भने तीन हिब्रुहरू अटल।”
यस अधिवेशनको निरीक्षण गर्न आएका धार्मिक क्रियाकलापसम्बन्धी कार्यालयका प्रतिनिधिहरू तथा अन्य सरकारी कर्मचारीहरूले हाम्रा भाइहरूको संगठन र तिनीहरूको असल चालचलनको प्रशंसा गरे। भ्रमणमा आएका सम्पूर्ण प्रतिनिधिहरूलाई क्युबेली सरकारले देखाएको राम्रो सत्कारको लागि भाइ ब्यारीले हार्दिक कृतज्ञता जाहेर गरे। अधिवेशनको अन्ततिर भाषणहरूका लागि अनि अख्तियारवालाहरूले अधिवेशन सञ्चालन गर्ने अनुमति दिएकोमा पनि भाइहरूले उठेर लामो समयसम्म ताली बजाउँदै मूल्यांकन व्यक्त गरे। एउटा मसीही परिवारले यसो भन्यो: “यो त सानो अन्तरराष्ट्रिय अधिवेशनजस्तै थियो। हामीले सोचेभन्दा त कता हो कता राम्रो! यहोवाले आफ्नो प्रतिज्ञा पूरा गर्न प्रयोग गर्नुहुने महान् शक्तिको प्रमाण दिएकोले यो अधिवेशन झनै रोमाञ्चक लाग्यो।”
यस अधिवेशनले साक्षीहरूलाई राम्ररी चिनाउन पनि मदत गऱ्यो। एक जना बस चालक शनिबार र आइतबार दुई दिन अधिवेशनमा उपस्थित भए। यहोवाका साक्षीहरूबारे थुप्रै कुरा सुनेको भए पनि तिनीहरू असल र शान्तिप्रिय मानिसहरू रहेछन् भन्ने अहिले थाह पाएको कुरा तिनले बताए।
“हामीले कहिल्यै नबिर्सने कुराहरू”
क्युबाका जनताको स्नेह अनि मित्रैलोपनाले हाम्रा प्रतिनिधिहरूलाई निकै प्रभाव पाऱ्यो। क्युबावासीहरू परिश्रमी, सिद्धान्तवादी र दयालु हुन्छन्। एक प्रतिनिधि भन्छन्: “चिन्दै नचिनेका मानिसहरूले समेत हामीलाई थुप्रैपल्ट मदत गर्न आए।”
क्युबाका संगी साक्षीहरूले देखाएको विश्वास, आनन्द अनि प्रेमले हाम्रा प्रतिनिधिहरू ज्यादै प्रभावित भए। डरलाग्दो बाधा बिघ्नहरूका बावजूद तिनीहरूले यहोवालाई नै आफ्नो बलियो किल्ला बनाएका छन्। (भजन ९१:२) जोन बार भन्छन्: “क्युबाको यस पहिलो भ्रमणमा मलाई थुप्रै कुराहरूले आश्चर्यचकित पाऱ्यो। जस्तै, त्यस देशको सुन्दरता, मैले भेटेका मानिसहरूको हँसिलो अनुहार अनि सबैभन्दा धेरै त क्युबाका हाम्रा साक्षीहरूको उल्लसित स्वभावले। मैले जीवनभर कहिल्यै पनि राज्य गीतहरू त्यस्तो भावुक भई गाएको अनि आध्यात्मिक कुराहरूले हृदय छुँदा लामो समयसम्म ताली बजाएको सुनेको छैन! यी कुराहरू हामी कहिल्यै बिर्सनेछैनौं। हामी ती कुराहरू सधैं मनमा राख्नेछौं।”
भजन ९७:१ भन्छ: “द्वीप-पुञ्ज पनि खुशी होऊन्।” साँच्चै, क्युबाका यहोवाका साक्षीहरू परमेश्वरको उपासना गर्न पाएको थप स्वतन्त्रता अनि यस अन्तरराष्ट्रिय प्रतिनिधिहरूको ऐतिहासिक भ्रमणमा रमाउँछन्।
[पृष्ठ ८-मा भएका चित्रहरू]
थुप्रै परिवारहरूले क्युबामा सम्पन्न भएको “परमेश्वरले चाहनुहुने जीवनशैली” जिल्ला अधिवेशनमा भाग लिए
[पृष्ठ ८-मा भएको चित्र]
हवानाको बेथेल गृह १९९४ मा पुनः सञ्चालन भयो
[पृष्ठ ८-मा भएको चित्र]
परिचालक निकायका सदस्यहरू सरकारी अधिकारीहरूलाई उपहारस्वरूप दिएको बाइबलमा दस्तखत गर्दै