‘विश्वासको घरानातर्फ’ प्रेम
साँचो मसीहीहरूको आपसमा पारिवारिक बन्धन हुन्छ। सा.यु. प्रथम शताब्दीदेखि नै तिनीहरूले एकअर्कालाई “भाइ” र “बहिनी” भन्ने गर्थे। (मर्कूस ३:३१-३५; फिलेमोन १, २) तिनीहरू शब्दमा मात्र होइन तर परमेश्वरको उपासकहरू एकअर्काप्रति साँच्चै कस्तो भावना राख्छन् भनेर पनि देखाउँछन्। (१ यूहन्ना ४:७, ८ तुलना गर्नुहोस्।) येशूले भन्नुभयो: “यदि तिमीहरूले आपसमा प्रेम गऱ्यो भने, तिमीहरू मेरा चेलाहरू हौ भनी यसैबाट सबैले जान्नेछन्।”—यूहन्ना १३:३५.
चिलीमा लामो अवधिसम्म खडेरी परेपछि परेको मुसलधारे पानीको कारण ठूलो बाढी आउँदा त्यहाँ यस्तो प्रेमको प्रमाण प्रस्ट देखियो। अचानक थुप्रै मानिसहरूलाई खाद्यान्न, लत्ताकपडा र अन्य थोकहरूको आवश्यकता परेको थियो। यस्तो विपत्को अवस्थामा यहोवाका साक्षीहरू पावलले गलातीहरूलाई दिएको यो सल्लाह पालन गर्ने कोसिस गर्छन्: “अब मौका हुँदानै सबै मानिसतर्फ, खास गरेर विश्वासका घरानातर्फ, भलाइको काम गरौं।”—गलाती ६:१०.
अतः सहायताको निम्ति यहोवाका साक्षीहरूले तुरुन्तै बन्दोबस्त गरे। खाद्यान्न, लत्ताकपडा र अन्य थोकहरू जम्मा गरेर, अलग अलग पोका बनाए अनि क्षतिग्रस्त क्षेत्रमा ढुवानी गरे। केटाकेटीहरूसमेतले खेलौनाहरू दिए। एक जना बहिनी राहत सामाग्रीले राज्यभवन टन्न भरिएको देखेर आश्चर्यचकित भइन्। तिनले भनिन्, “हामीलाई जे चाहिएको थियो त्यही थोक देख्दा त म अवाक् भएँ, म नत हाँस्न, नत रुनै सकें।”
त्यसैबखत बाढीले प्रभावित एक भागमा अचानक भूकम्प गयो। थुप्रै घरहरू भताभुंग भए। यस्तो अवस्थामा सहायताको खाँचो देखेर अरू थप राहत समितिहरू गठन गरिए। यहोवाका साक्षीहरूको आवश्यकताबमोजिम निर्माण कार्यहरूको रेखदेख गर्ने प्रान्तीय निर्माण समितिहरू सबैले एकसाथ जुटेर सहयोग गरे। नतिजा के भयो? भाइहरूले आफ्नै सीपले बनाएका साधारण घरहरू ती घरबारविहीनहरूलाई दिए। यी घरहरू साधारण भए तापनि सरकारले ऋण चुकाउनुपर्ने आधारमा बनाइदिएको भुइँ, झ्याल नभएको र रंग पनि नलगाएको घरहरूसँग अलग्गै छुटिन्थ्यो।
सहायताको निम्ति केही भाइहरू टाढा-टाढाबाट आए। अशक्त भएर पनि प्रान्तीय निर्माण समितिका अध्यक्ष व्हीलचेयरमै बसेर दुई दिनसम्म त्यस क्षेत्रको विस्तृत भ्रमण गरे। एक जना अन्धो भाइले काठ-पात सिकर्मीले चाहेको आकारमा चिर्न उनीसम्म पुऱ्याएर सहयोग गरे भने अर्को बहिरो भाइले चाहिं काठहरू जम्मा गरेर ठाउँ ठाउँमा पठाउन सहयोग गरे।
भाइहरूले यसरी सहयोग गरेको देख्नेहरूमध्ये धेरै जना प्रभावित भए। एउटा शहरमा एक जना बहिनीको मर्मत गरिरहेको घर नजिकै प्रहरीको गाडी रोकियो। ती प्रहरीहरूलाई त्यहाँ के भइरहेछ जान्ने उत्सुकता जाग्यो। ती मध्ये एक जनाले भाइलाई सोध्यो: “यी खुसीसाथ खटिरहने कामदारहरू को हुन्, यिनीहरूले कति पैसा पाउँछन्?” भाइले जवाफ दिए, यिनीहरू त सबै जना स्वयम्सेवकहरू हुन्। एक जना प्रहरीले चर्चमा आफूले मासिक चन्दा दिइरहेको तैपनि उनको पास्टर भूकम्पपछि उनलाई भेट्न अझसम्म नआएको कुरा बताए। भोलिपल्ट एक जना प्रहरीले बहिनीलाई फोन गऱ्यो। तिनले पनि ती कामदारहरूलाई देखेका थिए। तिनी कामदारहरूको उत्साहपूर्ण मनोभावले प्रभावित भएको र आफू पनि त्यस काममा सघाउन सुरिएको कुरा बतायो।
साँच्चै, चिलीमा राहतको काम गर्दा स्वयम्सेवकहरूलाई रमाइलो अनुभव भयो भने देख्ने व्यक्तिहरूलाई अत्युत्तम साक्षी भयो।