इजरायलमा ईश्वरीय नाउँ उच्चारण गरियो
शताब्दीयौंसम्म परम्परागत यहूदीधर्मले आफ्ना अनुयायीहरूलाई ईश्वरीय नाउँ, यहोवा उच्चारण गर्न सख्त मनाही गरेको थियो। मिश्नाहअनुसार परमेश्वरको नाउँ उच्चारण गर्नेले “अब आउने संसारमा जीवन पाउने छैनन्।”—सन्हेद्रिन १०:१.a
जनवरी ३०, १९९५ मा इजरायलको सेपार्डिम्को पूर्व मुख्य रब्बीले जानाजानी ईश्वरीय नाउँ उच्चारण गरे। टीकुन अर्थात् सुधारको निम्ति गरिने काबालिस्ट प्रार्थना पाठ गर्दा तिनले सो नाउँ उच्चारण गरे। उपासकहरू अनुसार दुष्ट शक्तिहरूले ब्रह्माण्डमा गोलमाल मच्चाइरहेको हुँदा परमेश्वरले त्यस गोलमाललाई केही हदसम्म सुधारून् भनेर निवेदन गर्न उक्त प्रार्थना गरिएको हो। फेब्रुअरी ६, १९९५ को येडिओथ अहारोनोथ समाचारपत्रले यसो भन्यो: “यो यत्ति शक्तिशाली प्रार्थना हो कि विशेष पुस्तिकामा मात्र यसका शब्दहरू पाइन्छन् जुन जनसाधारणलाई कहिल्यै बेचिंदैन।” यसरी परमेश्वरको नाउँ लिएर पुकार्नाले उहाँलाई गरिने निवेदन अझ प्रभावशाली हुन्छ भन्ठानिन्छ।
उल्लेखनीय कुरा, बाइबलले परमेश्वरका सेवकहरूलाई ईश्वरीय नाउँ, यहोवाको प्रयोग गर्नु भनेर आज्ञा गर्छ। (प्रस्थान ३:१५; हितोपदेश १८:१०; यशैया १२:४; सपन्याह ३:९) बाइबलको मौलिक हिब्रूभाषी पदमा उक्त नाउँ लगभग ७,००० पटक लेखिएको छ। तथापि, बाइबलले परमेश्वरको नाउँ दुरुपयोग गर्नदेखि होसियार गराउँछ। दस आज्ञाहरूमध्ये तेस्रोले भन्छ: “तैंले परमप्रभु आफ्ना परमेश्वरको नाउँ व्यर्थैमा नलिनू, किनकि उहाँको नाउँ व्यर्थैमा लिनेलाई परमप्रभुले निरपराध ठहराउनुहुनेछैन।” (प्रस्थान २०:७) परमेश्वरको नाउँ कसरी व्यर्थैमा लिन सकिन्छ? हिब्रू शब्द “व्यर्थैमा”-ले ईश्वरीय नाउँलाई “तुच्छ ढंगमा लिनु[का]” साथै “अनावश्यक आशिष्को पाठ गर्नु[लाई]” पनि समावेश गर्छ भनेर जुविस पब्लिकेशन सोसाइटीद्वारा गरिएको टिप्पणीले बताउँछ।
त्यसोभए, सुधारको लागि गरिने काबालिस्ट टीकुन प्रार्थनाप्रति हाम्रो दृष्टिकोण कस्तो हुनुपर्छ? त्यस्तो प्रार्थना कहाँबाट आयो? सा.यु. १२ औं र १३ औं शताब्दीमा काबाला भनिने यहूदीधर्ममा मन्त्र तन्त्र गर्ने पक्ष लोकप्रिय हुन थाल्यो। आइज्याक लुरिया नाउँ गरेको रब्बीले १६ औं शताब्दीमा काबालिस्ट पाठ गर्दा “टीकुनीयम”-को प्रयोग गरे। परमेश्वरको नाउँलाई विशेष शक्ति निहित मन्त्र-तन्त्रको रूपमा चलाइयो र यो नै काबालिस्ट रीतिथितिको भाग हुन गयो। के तपाईंलाई परमेश्वरको नाउँ यसरी प्रयोग गर्नु उचित लाग्छ?—व्यवस्था १८:१०-१२.
तपाईंको उत्तर जस्तोसुकै किन नहोस्, वर्तमान इजरायलमा परमेश्वरको नाउँ खुल्ला रूपमा उच्चारण गर्नु अनौठो कुरा हो भनेर पक्कै पनि मानिलिनुहुन्छ। तथापि, परमेश्वर आफैले यसो भन्नुभएको छ: “त्यस दिन तिमीहरूले भन्नेछौ, ‘परमप्रभुलाई धन्यवाद देऊ। उहाँको नाउँको पुकारा गर। जाति जातिहरूका बीचमा उहाँका कार्यहरूको प्रचार गर, उहाँको नाउँ उच्च पारिएको छ भनी चर्चा गर। परमप्रभुको भजन गाऊ, किनकि उहाँले महिमित कामहरू गर्नुभएको छ। सारा पृथ्वीमा यो कुराको प्रचार होस्।’ ”—यशैया १२:४, ५
खुसीको कुरा, विश्वभरि अन्य २३० मुलुकहरूमा जस्तै इजरायलमा पनि आफ्ना छिमेकीहरूले यहोवाको सही ज्ञान पाउन् भन्ने हेतुले यहोवाका साक्षीहरू तिनीहरूलाई मदत गर्न हर कोसिस गरिरहेका छन्। भजन ९१:१४ जस्तो धर्मशास्त्रको अर्थको मूल्यांकन गर्न अझ थुप्रै मानिसहरू आउनेछन् भन्ने तिनीहरूको आशा छ, जहाँ यसो भनिएको छ: उनले [यहोवा] मसित प्रेम गरेको हुनाले, म उनलाई छुटाउनेछु, उनले मेरो नाउँ जानेको कारण म उनलाई उच्च स्थानमा राख्नेछु।”
[फुटनोट]
a टानियम (शिक्षकहरू) भनिने रब्बीहरूको स्पष्टीकरणमा आधारित धर्मशास्त्रीय नियमबारे थप टिप्पणीहरूको सँगालोलाई मिश्नाह भनिन्छ। यसलाई सा.यु. दोस्रो शताब्दीको अन्ततिर र सा.यु. तेस्रो शताब्दीको सुरुतिर लिखित रूपमा राख्न थालियो।
[पृष्ठ २८-मा भएको चित्र]
यहाँ नेगेबमा यहोवाका जनले उहाँको नाउँ र वचनलाई चिनाउँदैछन्
[पृष्ठ २९-मा भएको चित्र]
ईश्वरीय नाउँ देखाउने पोष्टर