नामिबियामा जीवित रत्नहरू छन्!
नामिबिया, दक्षिणपश्चिम अफ्रिकाको समुद्री तटमा लगभग १,५०० किलोमिटरसम्म फैलिएको छ। यस देशको सम्पूर्ण समुद्रीतट बालुवाका ढिस्का, चट्टाने पहाड अनि रोडे समतल भूमिहरूले ढाकिएका छन्। नामिबियाको रोडे किनारमा मिसिएका पत्थरहरूमा विभिन्न रंगका रत्नहरू पनि पाइन्छन्। कहिलेकाहीं त हीराहरू पनि पाइन्छन्। तर यस देशमा यी पत्थरहरूभन्दा अन्य मूल्यवान् वस्तु पनि छन्। नामिबियामा जीवित रत्नहरू छन् अर्थात् त्यहाँ बसोबास गर्ने विभिन्न जातजातिका मानिसहरू।
नामिबियाका रैथानेहरूले कोइसन भाषा बोल्थे र यसका थुप्रै उपभाषाहरू थिए। तिनीहरूको बोली छोटो अनि तीखो हुन्थ्यो। अहिले कालो वर्णका डमारा, सानो कदका गहुँ गोरा वर्णका नामा अनि बुशम्यान भनेर चिनिने प्रख्यात सिकारीहरू कोइसन भाषा बोल्छन्। हालैका शताब्दीहरूमा कालो वर्णका अरू थुप्रै मानिसहरू पनि नामिबिया आएका छन्। तिनीहरूको तीन मुख्य जातिय समूह छन्: ओभाम्बो (नामिबियाको सबैभन्दा ठूलो जनजातीय समूह), हिरेरो अनि कभांगो। युरोपेलीहरू १९ औं शताब्दीदेखि नामिबियामा बसोबास गर्न थाले। मरुभूमिमा हीरा पाउन थालेपछि अन्य थुप्रै आप्रवासीहरू नामिबियामा ओइरिन थाले।
नामिबियाका मानिसहरू बहुमूल्य छन् किनकि तिनीहरू पनि ती मानिसजातिकै भाग हुन् जसका लागि यहोवाले आफ्नो पुत्र दिनुभएर अनन्त जीवनको बाटो खोल्नुभयो। (यूहन्ना ३:१६) थुप्रै जातिका सयौं नामिबियालीहरूले छुटकाराको सन्देशप्रति सकारात्मक प्रतिक्रिया देखाइसकेका छन्। तिनीहरूलाई जीवित रत्नहरू भन्न सकिन्छ किनकि तिनीहरू अहिले यहोवाको उपासनाको भवनमा जम्मा गरिंदै गरेका “जाति जातिका धन-सम्पत्तिहरू” हुन्।—हाग्गै २:७.
आध्यात्मिक खानी खन्ने काम सुरु हुन्छ
सन् १९२८ मा नामिबियामा आध्यात्मिक रत्नहरू खन्ने काम सुरु भयो। त्यस वर्ष दक्षिण अफ्रिकास्थित वाच टावर सोसाइटीका शाखा कार्यालयले देशभरि छरिएका मानिसहरूका लागि ५०,००० बाइबल साहित्यहरू हुलाक मार्फत पठाए। अर्को वर्ष दक्षिण अफ्रिकाकी अभिषिक्त मसीही लेनी टेरोनले चासो देखाएकाहरूलाई भेट्न गइन्। चार महिनामा तिनी एक्लैले देशका विभिन्न भागहरूमा यात्रा गरेर अफ्रिकान्स, अंग्रेजी र जर्मन भाषामा ६,००० भन्दा बढी बाइबल अध्ययन सहायक साहित्यहरू वितरण गरिन्। तिनको मेहनत खेर गएन।
उदाहरणका लागि, जर्मनीबाट आएका खानी मजदूर बर्नहार्ट बेडलाई विचार गर्नुहोस्। सन् १९२९ मा तिनले एक जना किसानबाट अण्डा लिने गर्थे। त्यस किसानले वाच टावरका साहित्यका पानामा एउटा एउटा गरेर अण्डा पोका पारेको हुन्थ्यो। यो पुस्तक कसले लेखेको होला भनेर सोच्दै बर्नहार्टले प्रत्येक पाना उत्सुकता साथ पढे। अन्ततः तिनले पुस्तकको अन्तिम पृष्ठ पाए। त्यस पृष्ठमा जर्मनीका वाच टावर सोसाइटीको ठेगाना दिइएको थियो। बर्नहार्टले थप साहित्यहरूका लागि पत्राचार गरे अनि तिनी सच्चाइ अंगाल्ने पहिलो नामिबियाली भए।
पूर्ण-समय सेवकहरूको आगमन
वाचटावर बाइबल स्कूल अफ गिलियडबाट प्रशिक्षण प्राप्त गरेका चार जना मिसनरीहरूले १९५० मा नामिबियामा पाइला टेके। मिसनरीहरूको संख्या वृद्धि भएर १९५३ मा आठ पुग्यो। तिनीहरूमध्ये अष्ट्रेलियाका दम्पती डिक र कार्ली वल्ड्रन पनि हुन् जो अहिलेसम्म विश्वासी भएर यहीं सेवा गरिरहेका छन्। दक्षिण अफ्रिका तथा अन्य मुलुकबाट आएका अरू थुप्रै पूर्ण-समय राज्य उद्घोषकहरूले पनि नामिबियामा आध्यात्मिक खानी खन्ने काम गरिरहेका छन्। अन्य मिसनरीहरूका साथसाथै मिनिस्टेरियल ट्रेनिङ स्कूलका स्नातकहरू पनि नामिबियामा पठाइएका छन्।
नामिबियामा आध्यात्मिक उन्नति हुनुको अर्को कारणचाहिं हिरेरो, क्वान्गाली, क्वान्यामा, नामा/दमारा र डोंगाजस्ता स्थानीय प्रमुख भाषाहरूमा बाइबल साहित्यहरू अनुवाद तथा प्रकाशित गरिनु हो। सन् १९९० देखि राजधानी भिन्टहुकमा एउटा आकर्षक अनुवाद कार्यालय र पूर्ण-समय स्वयम् सेवकहरूका लागि आवास गृहको व्यवस्था गरिएको छ। नामिबियाका विभिन्न भागमा आफ्नो पतिसँग पूर्ण-समय प्रचारकार्य गर्ने करेन डिपिच यसो भन्छिन्: “तिनीहरूको आफ्नै भाषामा साहित्य दिंदा थुप्रै मानिसहरू तीन छक पर्छन् किनकि त्यस भाषामा फाट्टफुट्ट मात्र पुस्तकहरू छन्।”
रत्नहरूलाई टल्काउने
नामिबियाका केही शाब्दिक रत्नहरू छाल र बालुवासँग हजारौंपल्ट रगडिएर टल्कन्छन्। तर यस्तो प्राकृतिक प्रक्रियाद्वारा जीवित रत्नहरू टल्कँदैनन्। असिद्ध मानिसहरूले ‘पुरानो मानिसलाई त्याग्न’ अनि ख्रीष्टको जस्तो नयाँ व्यक्तित्व धारण गर्न परिश्रम गर्नुपर्छ। (एफिसी ४:२०-२४) उदाहरणका लागि, नामिबियाका थुप्रै जातिहरूमा पितृ उपासना गर्ने परम्पराले बलियो जरा गाडेको छ। पितृ उपासना नगर्नेहरूलाई अक्सर परिवारका सदस्य तथा छिमेकीहरूले सतावट दिन्छन्। “मरेकाहरूले ता केही पनि जान्दैनन्” भनेर बाइबलबाट सिकेपछि मानिसहरूले परीक्षा सामना गर्छन्। (उपदेशक ९:५) कसरी?
एक जना हिरेरो साक्षी यसो भन्छ्न: “सत्यप्रति आज्ञाकारी हुनु चुनौती नै थियो। म यहोवाका साक्षीहरूसँग बाइबल अध्ययन गर्न राजी त भएँ तर आफूले सिकेका कुराहरू व्यवहारमा उतार्न मलाई निकै समय लाग्यो। प्रथमतः परम्परागत विश्वासहरू नमान्दा कुनै खतरा छ कि छैन भनेर निश्चित गर्नुपरेको थियो। उदाहरणका लागि, नामिबियाका कुनै कुनै ठाउँका चिहानमा ढुंगा चढाउने वा मृत व्यक्तिलाई अभिवादन गर्न टोपी फुकाल्ने जस्ता चलनहरू गर्न छाडें। पितृ उपासना नगर्दा मलाई केही नहुने रहेछ भनेर बिस्तारै विश्वस्त हुँदै गएँ। आफ्नो परिवार तथा अरू जिज्ञासु व्यक्तिहरूलाई सत्य सिक्ने मदत दिन मैले गरेका प्रायसलाई यहोवाले आशिष् दिनुभएकोमा म साह्रै खुसी छु!”
आध्यात्मिक खानी मजदूरहरूको आवश्यकता
सन् १९५० मा मिसनरीहरू आउनुअघि नामिबियामा एक जना मात्र प्रकाशक थिए। बिस्तारै प्रकाशकहरूको संख्या वृद्धि भएर अहिले शिखर संख्या ९९५ पुगेको छ। यद्यपि, अझ धेरै काम गर्नु बाँकी छ। साँच्चै भन्ने हो भने, कुनै कुनै इलाकामा त एकपल्ट पनि प्रचार गरिएको छैन। के तपाईं जोसिला राज्य उद्घोषकहरूको बढी आवश्यकता भएको ठाउँमा सेवा गर्नसक्ने स्थितिमा हुनुहुन्छ? त्यसोभए, कृपया नामिबिया आउनुहोस् अनि अझ बढी आध्यात्मिक रत्नहरू खोज्न र टल्काउन हामीलाई मदत गर्नुहोस्।—प्रेरित १६:९ तुलना गर्नुहोस्।
[पृष्ठ २६-मा भएको नक्सा/चित्रहरू]
अफ्रिका
नामिबिया
[चित्रहरू]
नामिबिया, मनमोहक रत्नहरूको देश हो
[स्रोत]
मानचित्र: Mountain High Maps® Copyright © 1997 Digital Wisdom, Inc.; हीरा: साभार, Namdek Diamond Corporation
[पृष्ठ २६-मा भएका चित्रहरू]
नामिबियाका सबै जनजातिय समूहहरूलाई सुसमाचार सुनाइँदैछ
[पृष्ठ २८-मा भएको चित्र]
के तपाईं राज्य उद्घोषकहरूको बढी आवश्यकता भएको ठाउँमा सेवा गर्न सक्नुहुन्छ?