के कसैलाई कसैको चासो छ?
“अत्याचारमा परेकाहरूको आँसु[को]” भल बगिरहेको छ। संसारभरि “अत्याचारका” मारमा परेका असंख्य व्यक्तिहरूले आँसुको भल बगाउँछन्। ती अत्याचारमा परेका व्यक्तिहरूले “तिनीहरूलाई सान्त्वना दिने कोही” छैन अर्थात् कसैले तिनीहरूको चासो राख्दैन भन्ठान्छन्।—उपदेशक ४:१.
कोही कोही मानिसहरूलाई आफ्ना सँगी मानवहरूले दुःखको आँसुको बलिन्द्र धारा बगाइरहे तापनि कुनै फरक पार्दैन। येशू ख्रीष्टको दृष्टान्तमा लुटिएर पिटिएका अनि अधमरो पारी बाटो छेउमा छोडिएका मानिसलाई पूजाहारी र लेवीले देखे तापनि वास्तै नगरी हिंडेजस्तै आज पनि मानिसहरूले अरूको पीडा देखे नदेखेझैं गर्छन्। (लूका १०:३०-३२) आफू र आफ्नो घरपरिवारमा सबै कुरा राम्रै चलुञ्जेल तिनीहरूले अरूको वास्ता राख्दैनन्। साँच्चै भन्ने हो भने, तिनीहरूले “मलाई के मतलब?” भनिरहेका हुन्छन्।
हामी यस्तो परिस्थिति देखेर छक्क पर्नु पर्दैन। “आखिरी दिनमा” थुप्रै मानिसहरू “स्वाभाविक प्रेम रहितका” हुनेछन् भनी प्रेरित पावलले भविष्यवाणी गरेका थिए। (२ तिमोथी ३:१, ३) एक अवलोकनकर्ताले आजकल व्याप्त निर्दयी मनोभावबारे दुःख व्यक्त गरे। तिनी भन्छन्, “अरूको ख्याल राख्ने र बाँडचुँड गर्ने आइरल्याण्डबासीहरूको परम्परागत विचारधाराको ठाउँ अब सबै आफ्नोलागि मात्र गर्ने स्वार्थी विचारधाराले लिइसक्यो।” अरूको दुःखको पटक्कै वास्ता नराखी संसारभरि अधिकांश मानिसहरू आफ्नै स्वार्थ मात्र खोज्छन्।
कसैले आफ्नो चासो राखोस् भन्ने चाहना
कसैले आफ्नो चासो राखोस् भन्ने चाहना सबैको हुन्छ। उदाहरणका लागि, जर्मनीमा एक जना एक्लो व्यक्तिको अनुभवलाई लिनुहोस्। “क्रिसमसको बेला टेलिभिजन हेर्दाहेर्दै तिनको मृत्यु भएको पाँच वर्ष भइसकेको थियो र तिनको लाश अझै त्यहीं थियो।” जीवनको दुःखदायी अनुभवबाट वाक्क भएका यी “सम्बन्ध विच्छेद भएका एक्लो अपांग” व्यक्तिको कमी घरभाडा तिर्ने बैंकको खातामा तिनको पैसा नसकुञ्जेल कसैलाई महसुस भएन। साँच्चै तिनको चासो राख्ने कोही थिएन।
शक्तिशाली तथा लोभी अधिपतिहरूको हातबाट दुःख भोग्नुपर्ने निस्सहाय मानिसहरूलाई पनि सम्झनुहोस्। एउटा इलाकामा झन्डै २,००,००० मानिसहरू (एक चौथाइ जनसंख्या) तिनीहरूको जग्गा जबरजस्ती कब्जा गरेपछि “दमन तथा भोकमरीको कारण मरे।” वा ती केटाकेटीलाई सम्झनुहोस् जसले अकल्पनीय अत्याचार देखेका छन्। एउटा रिपोर्टले यसो भन्यो: “अरू किशोरकिशोरीहरूद्वारा गरिएको हत्या, कुटपिट, बलात्कार जस्ता घोर अत्याचारहरू देख्ने [त्यस राष्ट्रको] केटाकेटीको संख्या अत्यन्तै धेरै छ।” यस्ता अन्यायका सिकार भएका व्यक्तिहरूले आँसु बगाउँदै यस्तो प्रश्न गर्नुको कारण तपाईं बुझ्न सक्नुहुन्छ, “के मेरो चासो राख्ने कोही छ?”
संयुक्त राष्ट्रको रिपोर्टअनुसार अल्पविकसित राष्ट्रका १.३ अरब मानिसहरूले प्रति दिन एक अमेरिकी डलर बराबरको पैसाले आफ्नो जीवन धान्नुपर्छ। तिनीहरूको के कसैले चासो राख्छ र, भनी तिनीहरूले पक्कै सोच्छन्। त्यस्तै गरी हजारौं शरणार्थीहरूले “दुःख झेल्दै शिविर वा आफूलाई हेप्ने देशमा बस्ने वा अझै युद्ध वा जातीय विभाजनले ग्रस्त जन्मभूमिमा फर्कने हो भन्ने कठिन छनौट गर्नुपर्छ” भनी दी आइरिस टाइम्स-ले रिपोर्ट गर्छ। सोही रिपोर्टमा यस दर्दनाक कुरा पनि बताइएको थियो: “आँखा चिम्लेर तपाईंले एक दुई तीन गनुञ्जेल एक जना बच्चा मरिसक्छ। आज मर्ने ३५,००० केटाकेटीमध्ये एक जना कुपोषण वा रोकथाम गर्न सकिने रोगको कारण मर्छ।” तसर्थ थुप्रै मानिसहरू पीर र व्याकुलताको कारण रुनु कराउनु कुनै छक्कलाग्दो कुरा होइन!—अय्यूब ७:११ तुलना गर्नुहोस्।
के मानिसले यस्तै दुःख भोगोस् भन्ने उद्देश्य राखिएको थियो? हाम्रो चासो राख्ने मात्र होइन तर मानिसहरूले अनुभव गरिरहेको सबै दुःखकष्ट रोक्ने र पीडा निवारण गर्नसक्ने के कोही छ?
[पृष्ठ २-मा भएको चित्रको स्रोत]
Cover and page 32: Reuters/Nikola Solic/Archive Photos
[पृष्ठ ३-मा भएको चित्रको स्रोत]
A. Boulat/Sipa Press