वाचटावर शैक्षिक केन्द्रको समर्पण—यहोवाको निम्ति एउटा चाड
पुरातन समयदेखि नै आनन्दमय चाडहरू साँचो उपासनाको एउटा भागको रूपमा मनाइँदै आएका छन्। पुरातन इस्राएलमा मनाइने कुनै कुनै चाडहरू धेरै दिनसम्म हुन्थ्यो अनि यहोवाका हजारौं उपासकहरू भेला हुन्थे। सुलेमानले बनाएको मन्दिरको उद्घाटन समारोह सात दिनसम्म चल्यो अनि त्यसपछि हप्ता दिनसम्म झुप्रोबासको चाड मनाइयो। यसरी चाड मनाउँदा इस्राएलीहरूले यहोवाले तिनीहरूसँग गर्नुभएको राम्रा राम्रा व्यवहारहरू सम्झने मौका पाए। “परमप्रभु[ले] . . . दिनुभएका सबै उन्नतिको निम्ति खुशी र मनमा हर्षित हुँदै” तिनीहरू घर फर्के।—१ राजा ८:६६.
मे १७-२२, १९९९ का दिन सं.रा.अ.-को न्यु योर्कस्थित प्याटर्सनको वाचटावर शैक्षिक केन्द्रमा आयोजित समारोहले उपस्थित आगन्तुकहरूलाई पुरातन समयका ती रमाइला चाडहरूको सम्झना गरायो। विश्वव्यापी रूपमा बाइबल शिक्षा फैलाउन टेवा पुऱ्याउन बनाइएका यी २८ वटा भवन समर्पण समारोहको यो विशेष हप्ता थियो। यस अविस्मरणीय हप्तामा मुख्यालय अर्थात् ब्रूक्लिन, वल्कील र प्याटर्सनका ५,४०० सदस्यहरूका लागि प्याटर्सन कार्यालयहरूको विस्तृत भ्रमण गर्ने प्रबन्ध मिलाइएको थियो। यस कार्यक्रममा उपस्थित अतिथिहरू शैक्षिक केन्द्र निर्माण कार्यमा भाग लिने मुख्यालयका ५०० जना पूर्व सदस्य, वाचटावर सोसाइटीका २३ शाखाका प्रतिनिधिहरू र नजिकैका मण्डलीहरूका व्यक्तिहरू गरेर जम्मा ८,१०० जना थिए।
भ्रमणको दौडान हेरेका थुप्रै कुराहरूले शिक्षा प्रदान गऱ्यो
आगन्तुकहरूलाई शैक्षिक केन्द्रबारे बताउन विशेष प्रदर्शनी, शैक्षिक भिडियो प्रस्तुति र आफैले विभिन्न ठाउँहरू हेर्ने प्रबन्धहरू मिलाइएको थियो। मुख्य लबीमा येशूको पार्थिव सेवकाईको समयको यरूशलेमको नमुना मन्दिरतिर आगन्तुकहरूको ध्यान गइहाल्थ्यो। अन्य प्रदर्शनीहरूले वाचटावर बाइबल स्कूल अफ गिलियडको प्रारम्भिक इतिहास, ऐतिहासिक अधिवेशन, मण्डलीका सभा, अहिले हरेक हप्ता सञ्चालन भइरहेका लाखौं गृह बाइबल अध्ययनको सुरुआत र यस्ता कार्यहरू कायमै रहोस् भनेर कानुन विभागले गरेका कामबारे प्रकाश पारे। यी सबै कार्यहरू येशूका आज्ञाअनुरूप छन्।—मत्ती २८:१९, २०
सजिलैसँग १,७०० जना मानिसहरू अटाउने सँगैको सभागृहमा समर्पण उत्सवमा आएका आगन्तुकहरूलाई “शक्तिले होइन—तर मेरो आत्माले!” शीर्षक भएको ३३ मिनेट लामो भिडियो देखाइयो। यो भिडियोमा वाचटावर शैक्षिक केन्द्र कसरी निर्माण भयो भनेर देखाइयो। यो १५ वर्षे योजना पूरा गर्न हरेक कामकुरा तथा प्रयासहरूमा यहोवाले निर्देशन र आशिष् दिनुभयो भनी प्रस्ट पार्ने घटनाहरू अन्तरवार्ताहरूमा समावेश थिए। निर्माण कार्यमा हजारौंले भाग लिए। सन् १९९४ को कुरा हो, एक चोटि त ३५० जना पूर्ण-समय स्वयम्सेवक, ११३ जना अस्थायी कामदार र दिनहुँ आ-आफ्नै घरबाट धाउने ६३ जना व्यक्तिहरू गरेर जम्मा ५२६ जना निर्माण कार्यमा लागेका थिए। अरू थुप्रैले चाहिं चन्दा दिएर यस कार्यमा सहयोग गरे। यहोवाको आत्माको मदतबिना यो कार्य असम्भव थियो भनी तिनीहरू सबैले बुझे।—जकरिया ४:६.
शैक्षिक केन्द्रमा सञ्चालन भइरहेको कामकाजको उद्देश्य ईश्वरीय शिक्षालाई विस्तार गर्नु हो भनेर भ्रमण गर्नेहरूले थाह पाउनसके। स्कूल भवनको पहिलो तल्लाको गिलियड स्कूलको प्रवेशद्वारमा राखिएको प्रदर्शनीले बहुमूल्य आध्यात्मिक सम्पदा र स्कूलको इतिहासबारे प्रकाश पाऱ्यो। सन् १९४३ मा साउथ लान्सिङ, न्यु योर्कमा अवस्थित स्कूलको पुरानो हातामा पहिलो कक्षा सुरु भएदेखि गिलियड स्कूलले ७,००० भन्दा बढी विद्यार्थीहरूलाई मिसनरी सेवाको लागि तालिम दिएको छ। स्कूल भवनको दोस्रो तल्लामा शाखा समितिका सदस्य र परिभ्रमण निरीक्षकहरूको स्कूलका दृश्यहरू प्रदर्शित गरिएको थियो। यहाँ यी दुवै स्कूलका कक्षाहरू सञ्चालन हुन्छन्। नोभेम्बर १९९५ मा सुरु भएदेखि शाखा स्कूलले १०६ मुलुकका शाखा समितिका ३६० सदस्यहरूलाई उच्चस्तरीय प्रशिक्षण दिएको छ।
आगन्तुकहरूले विभिन्न ठाउँहरू हेर्दै जाँदा प्रायजसो ठाउँहरूमा चित्रहरूको प्रदर्शनीबाहेक अन्य कुराहरू पनि देखे। तिनीहरूले विभिन्न विभाग, कार्यालय र अरू काम गर्ने ठाउँहरूमा पनि जान पाए अनि त्यहाँ कसरी कार्य सम्पादन गरिन्छ भनेर राम्ररी थाह पाउनसके। श्रव्य एवं भिडियोको कामकुरा सञ्चालन हुने भवन यस भ्रमणको एउटा प्रभावकारी पक्ष थियो। बाइबल शिक्षा विस्तार गर्न यहाँ अत्युत्तम साधनहरू प्रयोग गरिएका छन्! जानकारीमूलक प्रदर्शनी तथा छोटो भिडियोहरूका श्रृंखलाहरूले आगन्तुकहरूलाई आवाज रेकर्ड गर्ने र भिडियोहरू तयार गर्ने तरिका बुझ्न मदत गऱ्यो। तिनीहरूले साजसज्जा र वेषभूषाबारे विस्तृत रूपमा गरिने अनुसन्धानबारे पनि थाह पाए। सबै पक्षलाई ध्यान दिंदै कम खर्चमा मञ्च तयार गर्ने तरिका पनि देखे। मानिसहरूले हेरिरहेका दृश्यलाई संगीतद्वारा कसरी जीवन्त पारिन्छ भनेर पनि तिनीहरूले देखे। सन् १९९० देखि सोसाइटीले बाइबलका विभिन्न विषयहरू प्रकाश पार्ने १० वटा भिडियोहरू ४१ भाषाहरूमा तयार पार्नुका साथै अमेरिकी सांकेतिक भाषा प्रयोग गर्नेहरूका लागि अन्य भिडियोहरू पनि बनाएको छ।
थुप्रै आगन्तुकहरूले फोटो ल्याब, चित्रकला विभाग, कम्प्युटरसम्बन्धी तालिम र सहयोग दिने जानकारी सेवा, ११,२४२ वटा मण्डली र ५७२ जना परिभ्रमण निरीक्षकहरूको क्रियाकलापको सुपरिवेक्षण गर्ने सेवा विभाग र वर्षेनी विभिन्न विषयमा सोधपुछ गरिने सालाखाला १४,००० प्रश्नहरूको जवाफ दिने लेखन विभाग हेरे। पत्राचार गर्नका लागि गरिने अनुसन्धान र गम्भीर समस्याहरूको सामना गर्ने प्रयत्न गरिरहेकाहरूप्रति देखाइने साँचो चासो देखेर तिनीहरू अत्यन्तै प्रभावित भए।
अनुवाद सेवामा पनि थुप्रै मानिसहरू ओइरिए। सोसाइटीले पहिले जति भाषाहरूमा बाइबल साहित्य उपलब्ध गराइरहेको थियो, गत पाँच वर्षमा त्यसमा अझ १०२ भाषाहरू थपेको छ भनी थाह पाएर तिनीहरू छक्क परे। विश्वभरि यहोवाका लगभग ८० प्रतिशत साक्षीहरूले अंग्रेजीबाहेक अन्य भाषाहरूमा सोसाइटीका प्रकाशनहरू पढ्छन्। तिनीहरूका आवश्यकताहरू पूरा गर्न १०० देशहरूमा १,७०० भन्दा बढी स्वंयसेवकहरू अनुवादसित सम्बन्धित कार्यमा सेवारत छन्। अमेरिका, युरोप, एसिया र अफ्रिकामा बोलिने भाषाहरूको प्रहरीधरहरा प्रदर्शन गरिएको थियो। आगन्तुकहरूले ३१ भाषामा प्रकाशित भएको नयाँ विश्व अनुवाद बाइबल हेर्न पाए। वाचटावरका प्रकाशनहरू हाल ३३२ भाषाहरूमा उपलब्ध छन् अनि परमेश्वर हामीबाट के चाहनुहुन्छ? पुस्तिका २१९ भाषाहरूमा प्रकाशित भइसकेको छ भनी तिनीहरूले थाह पाए।
विश्वभरि कानुनी मदत चाहिने विभिन्न क्रियाकलापलाई कानुनी विभागले कसरी मदत गर्छ भनेर पनि तिनीहरूलाई देखाइयो। अदालतमा सुनवाइ हुँदा एक जना साक्षी वकिलले रक्तक्षेपणसम्बन्धी मुद्दामा बहस गरिरहेको तिनीहरूले भिडियोमा हेर्न पाए। सुसमाचारको जनप्रचार कार्यलाई अघि बढाउन गरिएका प्रयासहरूबारे पनि तिनीहरूले जान्न पाए। (फिलिप्पी १:७) यसै वर्षको मार्च महिनामा सं.रा.अ., न्यु जर्सीस्थित संघीय जिल्ला अदालतले ओरडेलका नगरलाई त्यस समुदायमा घरघर गएर जन सेवकाईमा भाग लिन चाहने यहोवाका साक्षीहरूले अनुमतिपत्र लिनुपर्ने र बिल्ला लगाउनुपर्ने नियम खारेज गर्न निर्देशन दिइएको निर्णयमाथि ध्यानाकर्षित गराइयो।
आगन्तुकहरूले देखेका कुराहरू यति मात्र कहाँ हो र। तिनीहरूले प्रिकास्ट शप अर्थात् निर्माण कार्यको लागि विभिन्न सामग्रीहरू ढालेर बनाइने ठाउँमा प्रदर्शन गरिएका निर्माण सामग्रीहरू अवलोकन गरे अनि दूषित पानीलाई सफा गर्ने प्रविधि, विद्युत गृह, नरम पानी बनाउने सुविधा र मरम्मत कार्य गरिने अनेकन् कारखानाहरूको भ्रमण गरे। यो सबै हेर्न पाउनु एउटा अद्वितीय मौका थियो।
समर्पण कार्यक्रमले ईश्वरीय शिक्षालाई जोड दिन्छ
मे १९, बुधबारका दिन अपराह्ण ४ बजे समर्पण कार्यक्रम सुरु भयो। कार्यक्रममा सहभागी आनन्दित भीडमा मुख्यालयका सदस्य, सोसाइटीका अतिथि र क्यानाडा शाखाबाटै कार्यक्रम हेर्ने ३७२ जना व्यक्तिहरू गरेर जम्मा ६,९२९ जना थिए।
निस्सन्देह, वाचटावर सोसाइटीका अध्यक्ष मिल्टन. जी. हेन्शेलको स्वागत भाषणका हृदयस्पर्शी शब्दहरू सुनेर श्रोतागणहरू हर्षित भए। परिचालक निकायका सदस्य तथा यस समारोहका अध्यक्ष थिओडोर जारासले विलियम मेलनफन्टबारे बताए। तिनले “भवन कार्यक्रमका विशेषताहरू” प्रस्तुत गर्दै वाचटावर शैक्षिक केन्द्रको विकास, डिजाइन र निर्माणकार्यमा मुख्य भूमिका निर्वाह गर्ने तीन जना भाइहरूसित अन्तरवार्ता लिए। वर्षौंको दौडान निर्माणकार्यमा ८,७०० भन्दा बढी अस्थायी कामदारहरू आफै खर्च बेहोरेर काम गर्न आए भनेर यस अन्तरवार्तामा बताइयो। ईश्वरीय शिक्षाले सम्भव तुल्याएको एकता र उदारताको कत्ति राम्रो प्रदर्शन!
त्यसपछि “विश्वव्यापी ईश्वरीय शिक्षा” शीर्षक गोष्ठी प्रस्तुत गरियो। यसलाई परिचालक निकायका चार जना सदस्यहरूले प्रस्तुत गरे। ईश्वरीय ज्ञान परमेश्वरको वचन बाइबलमा आधारित छ र यसले मसीहीहरूलाई “हरेक असल काममा फलिफाप हुँदै परमेश्वरको ज्ञानमा बढदै” जाने प्रोत्साहन दिन्छ भनेर जोन ई. बारले जोड दिए। (कलस्सी १:१०) डानियल सिड्लिकले मसीही मण्डलीका शिर येशू ख्रीष्टदेखि विश्वव्यापी भ्रातृत्वका हरेक सदस्यसम्म ईश्वरीय शिक्षा कसरी ईश्वरतान्त्रिक रूपमा सुव्यवस्थित गरिएको छ भनी छलफल गरे। (१ कोरिन्थी १२:१२-२७) गेरिट लोश र क्यारी बार्बरद्वारा प्रस्तुत गोष्ठीका अन्तिम दुई भागले ईश्वरीय शिक्षाले परमेश्वरका सेवकहरूलाई कसरी सबै ठाउँका मानिसहरू भेट्न अनि तिनीहरूलाई परमेश्वरको तौरतरिकाअनुसार चल्न सिकाउँछ भनेर औंल्याए।—यशैया २:१-४; २ कोरिन्थी ३:५.
श्रोतागणलाई शैक्षिक केन्द्रमा सञ्चालन हुने विभिन्न स्कूलहरूबारे जानकारी दिन प्रशिक्षक तथा त्यसमा भाग लिनेहरूसित अन्तरवार्ता लिइयो। विश्वव्यापी तवरमा ईश्वरीय शैक्षिक कार्यक्रम पूरा गर्न हरेक स्कूलले निर्वाह गर्ने भूमिका प्रस्तुत गरियो। गिलियड स्कूलले बाइबलका एक एक पुस्तकको अध्ययन गर्न, यहोवाका जनहरूको आधुनिक इतिहास अध्ययन गर्न र मिसनरी सेवाको लागि तयार गर्न केन्द्रित गर्छ भनेर औंल्याइयो। शाखा स्कूलअन्तर्गत शाखा समितिका सदस्यहरूले गर्नुपर्ने विभिन्न कामकुराहरूबारे एकदमै विस्तृत अध्ययन गरिन्छ। परिभ्रमण निरीक्षक स्कूलले परिभ्रमण गर्ने भाइहरूको आवश्यकताहरू मात्र पूरा गर्दैन तर मण्डलीहरूको हित हुने आध्यात्मिक मदत पनि तिनीहरूलाई दिन्छ।
यो रमाइलो कार्यक्रम समापन गर्न परिचालक निकायका सदस्य लोयड ब्यारीले “हाम्रो महान् सृष्टिकर्तासँगै निर्माण कार्यमा सम्लग्न” विषयक समर्पण भाषण प्रस्तुत गरे। सृष्टिकर्ता यहोवा आफ्ना सबै सृष्टिबाट आनन्दित हुनुहुन्छ अनि उहाँसँगै आनन्दित हुन हामीलाई आमन्त्रित गर्नुहुन्छ भनेर औंल्याए। (यशैया ६५:१८) “सबै थोक बनाउने ता परमेश्वर नै” हुनुभएकोले यस निर्माणकार्यको श्रेय यहोवा परमेश्वरलाई जान्छ। (हिब्रू ३:४) यस्ता विचारहरू व्यक्त गरेपछि वक्ताले हाम्रो महान् सृष्टिकर्ता यहोवालाई वाचटावर शैक्षिक केन्द्र समर्पण गर्दै हार्दिक प्रार्थना चढाए।a
निस्सन्देह, कार्यक्रममा उपस्थित सबै व्यक्तिहरूले हप्ताभरिको यस चाडलाई सधैंभरि सम्झनेछन्। वाचटावर शैक्षिक केन्द्रको भ्रमण गर्ने प्रबन्ध मिलाए कसो होला? त्यहाँ गएर भ्रमण गर्दा हाम्रो मायालु सृष्टिकर्ताबारे अझ बढी जान्ने प्रयास गर्न र उहाँको धार्मिक स्तरअनुरूप चल्न तपाईं प्रोत्साहित हुनुहुनेछ भनी हामी निश्चित छौं।
[फुटनोट]
a भाइ ब्यारी अन्तसम्मै विश्वासी रहेर जुलाई २, १९९९ मा आफ्नो पार्थिव जीवन पूरा गरे। प्रहरीधरहरा, अक्टोबर १, १९९९, पृष्ठ १६ हेर्नुहोस्।
[पृष्ठ १०-मा भएका चित्रहरू]
सभागृह र भोजन कक्षमा टन्न मानिसहरू
[पृष्ठ १०-मा भएका चित्रहरू]
विभिन्न कुराहरू हेर्नु सबैभन्दा रमाइलो पक्ष थियो