प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w00 १/१ पृ. २४-२९
  • युवावस्थादेखि नै सृष्टिकर्ताको सम्झना गर्दै

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • युवावस्थादेखि नै सृष्टिकर्ताको सम्झना गर्दै
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • मेरो मसीही सम्पदा
  • असल नमुनाहरूबाट लाभ उठाउँदै
  • अधिवेशनहरू धाउँदै
  • पूर्ण-समय सेवकाई
  • आजीवन शिक्षा
  • विवाह र अनवरत सेवा
  • स्कूल तथा हाम्रो नयाँ कार्यभार
  • थप आशिष्‌हरू
  • आभारी हुने थुप्रै कारण
  • आमाका थुप्रै कामहरू
    ब्यूँझनुहोस्‌!—२००२
  • एउटा मीठो मुस्कानले गर्दा!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
  • प्रेम साँचो ख्रिष्टियनहरूको चिनारी हो—हामीबीचको अमूल्य एकता जोगाउनुहोस्‌
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
  • मैले सुनभन्दा उत्तम कुरा पाएँ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
w00 १/१ पृ. २४-२९

जीवन कथा

युवावस्थादेखि नै सृष्टिकर्ताको सम्झना गर्दै

डेविड जि. हिब्शमानको वृत्तान्तमा आधारित

“यो मेरो जीवनको अन्तिम क्षण हो भने, म यहोवाप्रति विश्‍वासी भएँ होला भन्‍ने आशा राख्छु। बिन्ती छ, मेरो डेविडको ख्याल राख्नुहोस्‌। यहोवा, डेविड र हाम्रो विवाहको लागि पनि तपाईंलाई धन्यवाद छ। कस्तो राम्रो, कस्तो रमाइलो जीवन हामीले बितायौं!”

मार्च १९९२ मा मेरी श्रीमतीको मृत्युपछि उनको दैनिकीका यी आखिरी शब्दहरू पढ्‌दा मेरो कस्तो हालत भयो होला कल्पना गर्नुहोस्‌। पाँच महिनाअघि मात्र हामीले हेलेनले पूर्ण-समय सेवकाईमा बिताएको ६० औं वर्षको वार्षिकोत्सव मनाएका थियौं।

सन्‌ १९३१ मा अमेरिकाको ओहायोस्थित कोलम्बस अधिवेशनमा हेलेन र म सँगै बसेको म अझै झलझली सम्झन्छु। हेलेन १४ वर्ष पनि पुगेकी थिइनन्‌ तर उनले मैलेभन्दा पनि त्यो अधिवेशनको महत्त्वलाई राम्ररी बुझेकी थिइन्‌। सेवकाईको निम्ति हेलेनको जोस उनी र उनको विधवा आमाले अग्रगामी गर्न थाल्दा स्पष्ट भयो। यहोवाका साक्षीहरूको पूर्ण-समय सुसमाचार प्रचारकहरूलाई अग्रगामी भनिन्छ। उनीहरू आफ्नो सुविस्ताको घर छाडेर अमेरिकाको दक्षिणी भागको ग्रामीण इलाकाहरूमा प्रचार गर्न गए।

मेरो मसीही सम्पदा

मेरो आमाबाबु १९१० मा आफ्ना दुई साना बालबच्चाहरूको साथमा पूर्वी पेन्सिल्भेनियाबाट त्यस प्रान्तको पश्‍चिमी भाग ग्रोभ शहरमा बसाइँ सर्नुभयो। उहाँहरूले एउटा ठिक्कको घर किन्‍नुभयो र रिफर्मड चर्चको सक्रिय सदस्य हुनुभयो। त्यसको केही समयपछि त्यतिबेला बाइबल स्टुडेन्ट्‌स भनिने यहोवाका साक्षी, विलियम इभान्स हाम्रो घरमा आउनुभयो। त्यतिबेला लगभग २५/२६ वर्ष पुग्नुभएको बुबा र उहाँभन्दा पाँच वर्षले कान्छी आमा दुवैले त्यस मित्रैलो वेल्स मानिसको कुरा सुन्‍नुभयो र खाना खान बोलाउनुभयो। चाँडै उहाँहरूले सिकिरहनुभएको बाइबल सत्यलाई स्वीकार्नुभयो।

मण्डलीको नजिक बस्न बुबा सपरिवार झन्डै ४० किलोमिटर टाढा श्‍यारोन शहरमा बसाइँ सर्नुभयो। केही महिनापछि १९११/१२ तिर आमा र बुबाले बप्तिस्मा लिनुभयो। वाच टावर सोसाइटीको प्रथम अध्यक्ष चार्ल्स टेज रसलले बप्तिस्मा भाषण दिनुभयो। मेरो जन्म डिसेम्बर ४, १९१६ मा भयो र म, मेरो आमाबाबुको पाँचौं सन्तान थिएँ। मेरो जन्म हुँदा यसो भनिएको थियो रे: “माया गर्नुपर्ने अर्को एउटा बालक।” यसर्थ मेरो नाउँ डेविड भयो जसको अर्थ हो “प्रिय।”

म महिना दिनको मात्र हुँदा मलाई पहिलो चोटि अधिवेशनमा लगियो। ती दिनहरूमा बुबा र दाइहरू मण्डलीका सभा धाउन निकै किलोमिटर पैदल यात्रा गर्नुहुन्थ्यो र आमाले दिदी र मलाई ट्राममा लैजानुहुन्थ्यो। सभाहरूमा बिहान र अपराह्नका कार्यक्रमहरू हुन्थे। घरमा अक्सर हाम्रो कुराकानी प्रहरीधरहरा र द गोल्डेन एज-का, ब्यूँझनुहोस्‌!-को पुरानो नाउँ, लेखहरूबारे हुन्थ्यो।

असल नमुनाहरूबाट लाभ उठाउँदै

त्यतिबेला पिलग्रीम भनिने थुप्रै परिभ्रमण वक्‍ताहरू हाम्रो मण्डलीमा पनि आए। उहाँहरूले हामीसित अक्सर एक वा दुई दिन बिताउनुहुन्थ्यो। मैले एकदमै स्पष्टसित सम्झेको एक जना वक्‍ता वल्टर जे. थर्न हुन्‌। उहाँले “आफ्नो युवावस्थामा सृष्टिकर्त्ताको सम्झना” गर्नुभएको थियो। (उपदेशक १२:१) मानिसजातिको इतिहासबारे चार भागको दृश्‍य प्रस्तुति, “फोटो ड्रामा अफ क्रिएशन” देखाउन म सानैदेखि बुबासँग जाने गर्थें।

भाइ इभान्स र उहाँकी श्रीमती मिरियामको छोराछोरी नभए तापनि उहाँहरू हाम्रो परिवारको आध्यात्मिक आमाबाबु र बाजेबज्यै हुनुभयो। विलियमले सधैं बुबालाई “छोरा” भनेर बोलाउनुहुन्थ्यो र उहाँहरूले हाम्रो परिवारमा अग्रगामीको मनोभाव विकास गर्न मदत गर्नुभयो। भाइ इभान्स २० औं शताब्दीको सुरुतिर स्वानसि वरपरका मानिसहरूलाई बाइबल सत्य सुनाउन वेल्स फर्कनुभयो। स्वानसिमा उहाँ अमेरिकाबाट आएको प्रचारक भनेर चिनिनुहुन्थ्यो।

भाइ इभान्सले १९२८ मा आफ्नो जागिर छोड्‌नुभयो र पश्‍चिम भर्जिनियाको पहाडी इलाकामा प्रचार गर्न थाल्नुभयो। मेरा दुई दाइहरू, २१ वर्षको क्लारेन्स र १९ वर्षको कार्ल दुवै उहाँसित जानुहुन्थ्यो। हामी चारै दाजुभाइले पूर्ण-समय सेवकाईमा निकै वर्ष बितायौं। साँच्चै भन्‍ने हो भने हामी चारै जनाले आफ्नो युवावस्थामा यहोवाका साक्षीहरूको परिभ्रमण निरीक्षकको रूपमा सेवा गऱ्‍यौं। केही समयअघि मात्र आमाको कान्छी बहिनी मेरीले, उहाँ अहिले ९० वर्ष नाघिसक्नुभएको छ, मलाई यस्तो लेख्नुभयो: “भाइ इभान्सको सेवकाईको निम्ति जोसका साथै उहाँ ग्रोभ शहर आउनुभएकोमा हामी सबै साह्रै आभारी छौं!” आफ्नो युवावस्थादेखि सृष्टिकर्ताको सम्झना गर्ने अर्को एक व्यक्‍ति सानीमा मेरी पनि हुनुहुन्छ।

अधिवेशनहरू धाउँदै

सन्‌ १९२२ मा सिडार प्वाइन्ट, ओहायोमा सम्पन्‍न ऐतिहासिक अधिवेशनमा बुबा र दाइ क्लारेन्स मात्र जान पाउनुभयो। तथापि, १९२४ सम्ममा हाम्रो एउटा गाडी भइसकेको थियो र हामी सपरिवार कोलम्बसमा अधिवेशनको लागि गयौं। आठ दिने अधिवेशनको दौडान हामी बच्चाहरूले खानाको निम्ति आफैले जम्मा गरेको पैसा चलाउनुपर्थ्यो। परिवारको सबै सदस्यले आ-आफ्नो पेट पाल्न सिक्नुपर्छ भन्‍ने धारणा मेरो आमाबाबुको थियो। त्यसैले हामीले कुखुरा, खरायो र मौरी पालन गऱ्‍यौं। अनि हामी केटाहरू पैसा कमाउन अखबार बाँड्‌ने काम पनि गर्थ्यौं।

सन्‌ १९२७ मा क्यानाडाको टरोन्टोमा अधिवेशनको बेला हाम्रो छ महिनाको सानो भाइ पल पनि थियो। मैलेचाहिं आमाबाबु र दाइ दिदीहरू टोरोन्टोमा अधिवेशन जाऊञ्जेल विवाहित सानीमाको मदत लिएर पलको स्याहारसुसार गर्ने काम पाएँ। यो काम गरे वापत मैले दस डलर पाएँ र यो पैसाबाट मैले एउटा सुट किनें। हामीलाई सधैं सभाको निम्ति सुकिलो लुगा लगाउन र त्यसको जतन गर्न सिकाइएको थियो।

सन्‌ १९३१ मा कोलोम्बस ओहायोको स्मरणीय अधिवेशनको बेलासम्म क्लारेन्स र कार्लको विवाह भइसकेको थियो र उनीहरू आफ्नी पत्नीहरूसित अग्रगामी गरिरहेका थिए। उनीहरूको मोबाइल घर थियो। कार्लले वेस्ट भर्जिनियास्थित ह्वीलिङ भन्‍ने ठाउँकी क्लेरसित बिहे गरेको थियो र त्यसैले हो म क्लेरकी बहिनी हेलेनसित कोलोम्बस अधिवेशनमा सँगै बस्न पुगेको।

पूर्ण-समय सेवकाई

सन्‌ १९३२ मा १५ वर्षको उमेर पुग्दा मेरो स्कूलको पढाइ सिद्धियो र त्यसपछिको सालमा दक्षिण क्यारोलिनामा अग्रगामी गरिरहेका क्लारेन्स दाइलाई एउटा पुरानो गाडी दिएँ। मैले पनि अग्रगामी सेवाको निम्ति आवेदन दिएँ र क्लारेन्स दाइ र भाउजूसँगै काम गर्न थालें। त्यतिबेला हेलेन हपकिन्सभिल, केन्टकी क्षेत्रमा अग्रगामी गरिरहेकी थिइन्‌ र मैले उनलाई पहिलो चिठी लेखें। उत्तरमा उनले मलाई यस्तो प्रश्‍न गरिन्‌: “तपाईं अग्रगामी हो?”

मैले यस्तो जवाफ पठाएँ: “म अग्रगामी हुँ र आशा छ, सधैं रहनेछु।” हेलेनले त्यो पत्र आफ्नो मृत्यु नहोउञ्जेल झन्डै ६० वर्षसम्म राखिन्‌। त्यस चिठीमा हेलेनलाई मैले परमेश्‍वरको राज्य, संसारको आशा पुस्तिका पादरी र न्यायिक अधिकारीलाई वितरण गरेको विषयमा बताएको थिएँ।

बुबाले १९३३ मा मेरोलागि साढे दुई मिटर लामो र दुई मिटर चौडा ट्रेलर बनाइदिनुभयो र त्यसको भित्ता चाहिं क्यानभासको थियो र अगाडिपछाडि झ्याल थियो। त्यसपछिको चार वर्ष अग्रगामी गर्दा त्यही मेरो घर थियो।

मार्च १९३४ मा क्लारेन्स र कार्ल दाइ, भाउजूहरू, हेलेन र उनको आमा, क्लारेन्स दाइको साली र म गरेर जम्मा आठ जना लस एन्जलस, क्यालिफोर्नियामा अधिवेशन धाउन पश्‍चिमतिर लाग्यौं। कोही मेरो ट्रेलरमा चढे र त्यहीं सुते। अरू सबै लजमा सुत्दा मचाहिं गाडीमै सुतें। बाटोमा हाम्रो गाडी बिग्रिएकोले हामी लस एन्जलसको छ दिने अधिवेशनको दोस्रो दिनमा मात्र पुग्यौं। त्यहाँ मार्च २६ को दिन मैले र हेलेनले परमेश्‍वरप्रतिको समर्पण पानीको बप्तिस्माद्वारा प्रकट गर्न सक्यौं।

त्यस अधिवेशनमा तत्कालीन अध्यक्ष जोसेफ एफ. रदरफोर्डले सबै अग्रगामीहरूलाई व्यक्‍तिगत तवरमा भेट्‌नुभयो। हामी बाइबल सत्यका वीर योद्धाहरू हौं भनी हामीलाई प्रोत्साहन दिनुभयो। त्यतिबेलादेखि अग्रगामीहरू सेवकाईमा लागिरहन सकून्‌ भनेर आर्थिक सहयोग दिने प्रबन्ध गरियो।

आजीवन शिक्षा

लस एन्जलसको अधिवेशनबाट फर्कंदा हामी सबैले दक्षिण क्यारोलिना, भर्जिनिया, पश्‍चिम भर्जिनिया र केन्टकी प्रान्तका मानिसहरूलाई राज्य सन्देश बताउँदै आयौं। त्यस समयको सम्झना गर्दै हेलेनले वर्षौंपछि मलाई यसरी लेखिन्‌: “त्यहाँ मदत गर्न मण्डली, साथीहरू कोही पनि थिएन किनभने हामी त्यस विरानो ठाउँमा नयाँ थियौं। तर यस मार्फत्‌ मैले शिक्षा पाइरहेकी थिएँ। मैले अनमोल अनुभव बटुलिरहेकी थिएँ।”

उनले यस्तो प्रश्‍न गरिन्‌: “आफ्नो साथीभाइ र घरबाट टाढा हुँदा एउटी जवान केटीले के गर्ने? तर परिस्थिति त्यस्तो खराब थिएन। मलाई नरमाइलो लागेको कहिल्यै याद छैन। धेरै पढ्‌ने गर्थें। हामीले नबिराई बाइबल साहित्य पढ्‌ने र अध्ययन गर्ने गर्थ्यौं। हामीसित जति पैसा थियो, त्यसैबाट घर चलाउन, बजार जान, पन्चर टाल्न, खाना पकाउन, सिउन र प्रचार गर्न सिकेर आमासँग झन्‌ घनिष्ठ भएँ। मलाई कुनै पछुतो छैन र राजीखुसी ती कुराहरू फेरि पनि गर्न तयार छु।”

हेलेनको आमाको आफ्नै एउटा राम्रो घर भए तापनि ती दिनहरूमा हेलेन र उनको आमा सानो ट्रेलरमा नै खुसी थिए। सन्‌ १९३७ मा कोलोम्बस, ओहायो अधिवेशनपछि हेलेनको आमाको स्वास्थ्यस्थिति खराब भयो र अस्पताल भर्ना हुनुपऱ्‍यो। उहाँलाई खटाइएको ठाउँ फिलिप्पी, पश्‍चिम भर्जिनियामा नै नोभेम्बर १९३७ मा उहाँ बित्नुभयो।

विवाह र अनवरत सेवा

एउटा साधारण समारोहबीच पश्‍चिम भर्जिनिया, ह्वीलिङसँगै एल्म ग्रोभमा हेलेन जन्मेको घरमा जून १०, १९३८ मा हेलेन र मैले विवाह गऱ्‍यौं। म जन्मनुभन्दा केही वर्षअघि मेरो परिवारलाई सत्य सिकाउनुहुने हाम्रा प्रिय भाइ इभान्सले विवाह भाषण दिनुभयो। विवाहपछि हामीले पूर्वी केन्टकीमा अग्रगामी गर्ने विचार गरेका थियौं तर परिभ्रमण कार्य गर्ने निम्तो पाउँदा हामी छक्कै पऱ्‍यौं। यस अन्तर्गत पश्‍चिमी केन्टकी र टेनीसीका यहोवाका साक्षीहरूको समूहलाई सेवकाईमा मदत गर्नु थियो। हामीले भ्रमण गरेका सबै ठाउँहरूमा राज्य उद्‌घोषकहरू जम्माजम्मी ७५ जना मात्र थिए।

त्यतिबेला थुप्रै मानिसहरू राष्ट्रवादको लहरमा लागेका थिए र म पनि मसीही तटस्थताको कारण कैदमा पर्छु कि जस्तो लागेको थियो। (यशैया २:४) तथापि, प्रचारकार्यसित सम्बन्धित मेरो रेकर्डको कारण सेनाहरू खटाउने समितिले मलाई पूर्ण-समय सेवामा लागिरहने अनुमति दियो।

हामीले क्षेत्रीय सेवकाई थाल्दा प्रायः सबैजसोले हाम्रो युवावस्थाबारे टिप्पणी गर्थे। हप्किन्सभिल, केन्टकीमा एउटी मसीही बहिनीले हेलेनलाई अंकमाल गरेर यसो भनिन्‌: “मलाई सम्झनुभयो?” सन्‌ १९३३ मा हेलेनले तिनलाई, तिनको पतिको पसलमा प्रचार गरेकी रहिछिन्‌। तिनी आइतबारे स्कूलकी शिक्षिका थिइन्‌ तर हेलेनले दिएको पुस्तक पढेपछि तिनले आफ्नो कक्षासामु गैरबाइबलीय शिक्षाहरू सिकाउने गरेकोमा क्षमा मागेकी थिइन्‌। चर्चबाट राजीनामा दिएपछि तिनले आफ्नो समुदायमा बाइबल सत्य बताउन थालिन्‌। हेलेन र मैले पश्‍चिमी केन्टकीमा तीन वर्ष सेवा गऱ्‍यौं र हामी प्रायः त्यस बहिनी र तिनको पतिकै घरमा बस्थ्यौं।

त्यतिबेला हाम्रो सानो स्थानीय सम्मेलनहरू हुन्थ्यो र त्यस्तै एकचोटि ए. एच. म्याकमिलन आउनुभएको थियो। हेलेन सानो बच्चै हुँदा उहाँ हेलेनको आमाबाबुकहाँ बस्नुहुन्थ्यो त्यसैले उहाँ अधिवेशनको दौडान हाम्रो पाँच मिटर लामो मोबाइल घरमा बस्न रोज्नुभयो, हामीसित एउटा जगेडा पलंग थियो। उहाँले पनि महान्‌ सृष्टिकर्तालाई युवावस्थामै सम्झनुभएको थियो। उहाँले सन्‌ १९०० मा २३ वर्षको उमेरमा यहोवाप्रति जीवन समर्पण गर्नुभएको थियो।

नोभेम्बर १९४१ मा परिभ्रमण भाइहरूको काम केही समयको लागि रोक्का गरियो र मलाई हाजर्ड, केन्टकीमा अग्रगामी गर्न खटाइयो। फेरि एकचोटि हामीले कार्ल दाइ र क्लेर भाउजूसित काम गऱ्‍यौं। त्यहाँ हेलेनको भदा जोसेफ ह्‍युस्टनले पनि हामीसितै अग्रगामी गर्न थाले। तिनले पूर्ण-समय सेवकाईमा झन्डै ५० वर्ष बिताए। साक्षीहरूको मुख्यालय ब्रूकलिन न्यु योर्कमा विश्‍वासी भएर सेवा गर्दागर्दै १९९२ मा तिनको अकस्मात्‌ हृदयगति बन्द भएर मृत्यु भयो।

सन्‌ १९४३ मा हामीलाई रकभिल, कनेटिकट खटाइयो। हामीलाई दक्षिणतिर प्रचार गर्ने बानी भइसकेकोले यो ठाउँ एउटा बेग्लै संसार जस्तो थियो। रकभिलमा हेलेनले हरेक हप्ता नियमित तवरमा २० वटाभन्दा बढी बाइबल अध्ययन सञ्चालन गर्थिन्‌। पछि हामीले राज्यभवनको निम्ति एउटा ठिक्कको कोठा भाडामा लियौं र त्यहीं एउटा सानो मण्डली सुरु भयो।

रकभिलमा सेवा गर्दागर्दै हामीले साउथ लान्सिङ, न्यू योर्कमा वाचटावर बाइबल स्कूल अफ गिलियडको पाँचौं कक्षामा भाग लिने निमन्त्रणा पायौं। केन्टकीमा अग्रगामी गर्दाका साथीहरू अर्बी र बर्था बिभेन पनि त्यही कक्षामा हुने कुरा थाह पाउँदा हामी दंग भयौं।

स्कूल तथा हाम्रो नयाँ कार्यभार

हामी पनि हुन त जवानै थियौं तर हाम्रा प्रायजसो सहपाठीहरू झनै कम उमेरका थिए। हो, तिनीहरूले आफ्नो युवावस्थामै महान्‌ सृष्टिकर्ताको सम्झना गरेका थिए। हाम्रो स्नातक कार्यक्रम जुलाई १९४५ मा थियो र त्यतिबेला दोस्रो विश्‍वयुद्धको पनि अन्त हुन लागेको थियो। मिसनरी असाइन्मेन्ट पर्खुञ्जेल हामीले न्यु योर्क, ब्रूकलिनस्थित फ्ल्याटबुस मण्डलीमा सेवा गऱ्‍यौं। अन्ततः अक्टोबर २१, १९४६ मा बिभेन दम्पतीलगायत हामी छ जना सहपाठीहरूको साथमा ग्वाटेमालाको ग्वाटेमाला शहर गयौं। त्यतिबेला सम्पूर्ण मध्य अमेरिकाभरि ५० जना जति पनि साक्षीहरू थिएनन्‌।

अप्रिल १९४९ मा हामी केही मिसनरीहरू ग्वाटेमालाको दोस्रो ठूलो शहर क्वेटजाल्टेनागो सऱ्‍यौं। यो शहर समुद्रको सतहभन्दा २,३०० मिटर उचाइमा छ र पहाडको हावा सफा र स्वच्छ छ। हेलेनले हाम्रो गतिविधिबारे छोटकरीमा यस्तो लेखिन्‌: “दर्जनौं शहर तथा गाउँहरूमा प्रचार गर्न पाउनु हाम्रो निम्ति सुअवसरको कुरा हो। हामी बिहान चार बजेतिर उठ्‌थ्यौं र बसबाट (बसका झ्यालहरू सिसाको साटो अक्सर टाटको हुन्थ्यो) टाढाको शहर जान्थ्यौं। त्यहाँ हामीले सालाखाला आठ घण्टाजति प्रचार गरेर घर फर्कन्थ्यौं।” अहिले क्वेटजाल्टेनगोमा छ वटा र अरू ठाउँहरूमा थुप्रै मण्डलीहरू छन्‌।

चाँडै, ग्वाटेमालाको क्यारेबियन तटमा रहेको तेस्रो ठूलो शहर पोर्टो बारियोसमा सेवा गर्न मिसनरीहरूलाई आग्रह गरियो। हाम्रो प्रिय सँगी बिभेन जोडीलाई पनि त्यस नयाँ ठाउँमा खटाइयो। हामी ग्वाटेमालामा पाँच वर्ष सँगै बसेको हुँदा यो विछोड नरमाइलो लाग्यो र हामीले जीवनमा एक प्रकारको न्यास्रोपन महसुस गऱ्‍यौं। मिसनरी घरमा हेलेन र म मात्र भएकोले हामी सानो घरमा सऱ्‍यौं। सन्‌ १९५५ मा हेलेन र मैले माजाटेनागो नामक अझ गर्मी शहर जाने नयाँ कार्यभार स्वीकाऱ्‍यौं। सन्‌ १९५३ मा गिलियडबाट स्नातक भएको मेरो कान्छो भाइ पल र उसको पत्नी डोलोरेस हामी आउनुभन्दा केही समय अघिदेखि त्यहाँ सेवा गर्दैथिए।

ग्वाटेमालामा १९५८ सम्ममा ७०० भन्दा बढी साक्षीहरू, २० वटा मण्डली र तीन क्षेत्रहरू भइसकेको थियो। हेलेन र मैले फेरि परिभ्रमण कार्य थाल्यौं र हामीले क्वेटजाल्टेनगो र अरू ठाउँका साक्षीहरूको सानो समूह अनि अन्य केही मण्डलीहरू भ्रमण गर्थ्यौं। त्यसपछि अगस्त १९५९ मा हामीलाई फेरि ग्वाटेमाला शहरमा फर्कन बोलाइयो र त्यहाँ हामी शाखा कार्यालयमा बस्यौं। मचाहिं शाखा कार्यालयमै काम गर्थें र हेलेनचाहिं अर्को १६ वर्षसम्म मिसनरी सेवामै लागिरहिन्‌। त्यसपछि उनी पनि शाखा कार्यालयमै काम गर्न थालिन्‌।

थप आशिष्‌हरू

वर्षौंअघि यहोवालाई सेवा गर्नेहरूमध्ये म सबैभन्दा कान्छो हुँ जस्तो मलाई लाग्थ्यो। तर अहिले म सबैभन्दा बूढोहरूमध्ये हुन्छु र १९९६ मा न्यु योर्क प्याटरसनमा शाखा कार्यालयहरूका निम्ति आयोजना गरिएको स्कूलमा पनि म सबैभन्दा बूढोहरूमध्ये थिएँ। जसरी आफू जवान छँदा ठूलाहरूबाट मदत पाएँ, त्यसरी नै हालका दशकहरूमा आफ्नो युवावस्थादेखि सृष्टिकर्ताको सम्झना गर्न चाहने युवाहरूलाई मदत गर्न पाउनु मेरोनिम्ति सुअवसरको कुरा भएको छ।

यहोवाले ग्वाटेमालाका आफ्ना जनहरूमाथि थुप्रै आशिष्‌ वर्षाउनुभएको छ। ग्वाटेमाला शहरमा १९९९ मा ६० वटाभन्दा बढी मण्डलीहरू थिए। अनि उत्तर, दक्षिण, पूर्व र पश्‍चिममा अझ धेरै मण्डलीहरू छन्‌ र परमेश्‍वरको राज्य सन्देशका उद्‌घोषकहरू पनि हजारौं छन्‌। आजभन्दा ५३ वर्षअघि राज्य उद्‌घोषकहरू ५० जना पनि नभएको ठाउँमा अहिले १९,००० भन्दा बढी भएका छन्‌!

आभारी हुने थुप्रै कारण

समस्या नभएको जीवन त कसैको हुँदैन तर हामीले सधैं ‘आफ्नो भार यहोवामा राख्नसक्छौं।’ (भजन ५५:२२) उहाँले हामीलाई मायालु साथीभाइ मार्फत्‌ सँभाल्नुहुन्छ। उदाहरणका लागि, हेलेनले आफ्नो मृत्युभन्दा केही समयअघि मलाई बाइबलको हिब्रू ६:१० कुँदिएको सानो फ्रेम दिएकी थिइन्‌: “तिमीहरूको काम र त्यो प्रेम, जो उहाँको नाउँतर्फ, र पवित्र जनहरूको सेवा गरेको र गर्दै रहेकोमा तिमीहरूले देखाएका छौ, सो बिर्सनालाई परमेश्‍वर अधर्मी हुनुहुन्‍न।”

त्यो सँगै यस्तो पनि लेखेकी थिइन्‌: “मेरो प्रियतम तपाईंलाई मसित भएको भएभरको प्रेम-बाहेक अरू केही दिन सक्दिनँ। . . . यो पद तपाईंको निम्ति सुहाउँदो छ र म यो तपाईंको टेबलमा राख्न आग्रह गर्छु। मैले दिएकोले होइन तर तपाईंले सेवकाईमा बिताउनुभएको लामो समयसित एकदमै उपयुक्‍त भएकोले।” अहिलेसम्म यो ग्वाटेमाला शाखा कार्यालयको मेरो अफिसको टेबुलमा छ।

मैले युवावस्थादेखि यहोवाको सेवा गरेको छु र अहिले वृद्धावस्थामा मेरो राम्रो स्वास्थ्यस्थितिको निम्ति यहोवालाई धन्यवाद दिन्छु किनभने मैले आफूलाई सुम्पिएको जिम्मेवारी पूरा गर्न सकेको छु। मैले नियमित बाइबल पढाइ गर्दा अक्सर यस्ता पदहरू आउँछन्‌ जुन हेलेनले आफ्नो बाइबलमा शायद चिह्न लगाउँथिन्‌ होली। भजन ४८:१४ दोहऱ्‍याएर पढ्‌दा पनि मलाई त्यस्तै लाग्यो: “यही परमेश्‍वर सदा सर्वदा हाम्रा परमेश्‍वर हुनुहुन्छ। मृत्युसम्मै उहाँ हाम्रा अगुवा हुनुहुनेछ।”

बिगतका सबै राष्ट्रका मानिसहरूले आफ्ना प्रिय जनहरूलाई नयाँ संसारमा स्वागत गरिरहेको पुनरुत्थानको आशा अरूलाई बताउन पाउनु मेरोनिम्ति आनन्दको कुरा हो। कस्तो प्रत्याशा! यहोवा साँच्चै “सान्त्वना[को]” परमेश्‍वर हुनुहुन्छ भनी सम्झँदा हर्षका आँसुहरू कति बग्नेछन्‌ होला!—२ कोरिन्थी ७:६.

[पृष्ठ २५-मा भएको चित्र]

माथि बायाँदेखि: आमा, बुबा, सानीमा इभा, दाइहरू कार्ल र क्लारेन्स १९१० मा

[पृष्ठ २६-मा भएका चित्रहरू]

हेलेन र म, १९४७ र १९९२ मा

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने