प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w00 ६/१५ पृ. ८-११
  • रबिनसन क्रूसो टापुमा उद्धार

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • रबिनसन क्रूसो टापुमा उद्धार
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • उपशीर्षकहरू
  • आध्यात्मिक उद्धार
  • उद्धार गरिएकाहरूलाई दरिलो बनाउने
  • उद्धार कार्य जारी छ
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
w00 ६/१५ पृ. ८-११

रबिनसन क्रूसो टापुमा उद्धार

चिलीको समुद्री तटबाट झन्डै ६४० किलोमिटर टाढा प्रशान्त महासागरमा अवस्थित जुआन फर्नान्डेज भनिने द्वीपपुञ्जका तीन टापुहरूमध्ये एउटा टापुको नाम हो रबिनसन क्रूसो।a यस ९३ वर्ग किलोमिटर क्षेत्रफल भएको टापुको नाम अंग्रेजी लेखक डानिएल डेफोद्वारा १८ औं शताब्दीमा लिखित प्रसिद्ध उपन्यास रबिनसन क्रूसो-को नामबाट नामाकरण गरिएको हो। यो उपन्यास त्यस टापुमा झन्डै चार वर्षसम्म एक्लै जीवन बिताउने स्कटल्याण्डका बासिन्दा अलेक्जेण्डर सेल्कर्कका अविस्मरणीय क्षणहरूमा आधारित थियो।

उक्‍त टापुको काठको संकेत पाटीमा एक भागमा यस्तो लेखिएको छ: “यस ठाउँमा स्कटलाण्डका नाविक अलेक्जेण्डर सेल्कर्कले चार वर्षभन्दा बढी दिनानुदिन आफूलाई एक्लो अवस्थाबाट उद्धार गर्ने जहाजको उत्सुकतासाथ प्रतीक्षा गरिरहे।” अन्ततः, सेल्कर्कलाई उद्धार गरियो र तिनी आफ्नो जन्मभूमी फर्के। तर तिनलाई आफ्नो सानो प्रमोदवनरुपी टापुमा जति रमाइलो लाग्न छोड्यो। रिपोर्टअनुसार तिनले पछि यसो भने: “हे, मेरो प्यारो टापु! मैले तिमीलाई कहिल्यै नछाडेको भए हुनेथियो!”

समय बित्दैजाँदा त्यो टापु क्याथोलिक चर्च विरुद्ध “धार्मिक अपराध” गर्नेहरूलाई राख्ने कैदी शिविरको रूपमा प्रयोग गर्न थालियो। सेल्कर्कले चिनेजानेको सानो प्रमोदवनरूपी टापुमा कत्ति ठूलो परिवर्तन! तथापि, अहिले यस टापुका बासिन्दाहरूले संसारको अरू कुनै भागमा नपाईने शान्तिपूर्ण वातावरण अनुभव गरिरहेका छन्‌। थुप्रै टापुको संस्कृतिहरूसित मिल्दोजुल्दो चिन्तामुक्‍त जीवनशैलीले गर्दा यहाँ जोसित पनि जुनसुकै विषयमा सजिलैसित कुराकानी थाल्न सकिन्छ।

आधिकारिक तवरमा रबिनसन क्रूसोमा झन्डै ५०० जना बासिन्दाहरू भए तापनि धेरैजसो समय यस टापुमा करिब ४०० जना मात्र हुन्छन्‌। किनभने केही आमा तथा तिनका छोराछोरी वर्षेनी स्कूल लाग्ने दिनमा चिलीको मुख्य भू-भागमा बसोबास गर्छन्‌ र बिदाको महिनामा मात्र आफ्ना परिवारसित समय बिताउन यस टापुमा फर्कन्छन्‌।

यसको बगैंचारूपी सौन्दर्यका बावजूद रबिनसन क्रूसो टापुका केही बासिन्दाहरूले आध्यात्मिक शून्यता महसुस गरिरहेका छन्‌ र जवाफको खोजी गरिरहेका छन्‌। अरूले चाहिं आफूलाई आध्यात्मिक तवरमा उद्धार गरिनुपर्ने आवश्‍यकता महसुस गर्दैछन्‌।

आध्यात्मिक उद्धार

यस्तो आध्यात्मिक उद्धार १९७९ देखि सुरु भयो। चिलीको सान्टिआगोमा यहोवाका साक्षीहरूसित अध्ययन गरिरहेकी एक महिला यस टापुमा बसाइँ सरिन्‌ र अरूलाई पनि आफूले सिकेका कुराहरू सिकाउन थालिन्‌। केही समयपछि आफ्नै कामकाजबाट यस टापुमा आएका मण्डलीका प्राचीनले त्यस महिलाको मदतले आध्यात्मिकतामा राम्रो उन्‍नति गरिरहेको सानो बाइबल अध्ययन समूहलाई भेट्टाउँदा तीनछक परे। त्यसको तीन महिना पश्‍चात्‌ उक्‍त प्राचीन फेरि त्यस टापुमा फर्कंदा यस बाइबल शिक्षिका तथा तिनका दुई विद्यार्थी बप्तिस्मा लिन योग्य भइसकेकोले यस प्राचीनको अध्यक्षतामा तिनीहरूलाई बप्तिस्मा दिइयो। पछि, यी भर्खरै बप्तिस्मा लिएकाहरूमध्ये एकले विवाह गरिन्‌ र आफ्नो पतिसँग मिलेर आध्यात्मिक उद्धारको आवश्‍यकता परेकाहरूको खोजी गर्न थालिन्‌। तिनको पतिले एउटा चिटिक्क परेको राज्य भवन निर्माण गर्न नेतृत्व लिए। यो राज्य भवनले यहाँको सानो समूहलाई मदत गरिरहेको छ। तर समय बित्दै जाँदा आर्थिक कठिनाइहरूले गर्दा तिनीहरूले रबिनसन क्रूसो छाडे र मध्ये-चिलीको मण्डलीमा बसाइँ सरेर त्यहीं सक्रियतासाथ लगातार यहोवाको सेवा गरिरहेका छन्‌।

बिस्तारै अरू टापुवासीहरूले झूटा धर्मबाट उद्धार पाउन थालेपछि यो सानो समूह फस्टाउनथाल्यो। तथापि, उच्च शिक्षा हासिल गर्न विद्यार्थीहरूले टापु छोड्‌नै पर्ने हुँदा यो समूह घटेर दुई बप्तिस्मा प्राप्त बहिनी र एक जवान केटी मात्र बाँकी भए। बिदाको दौडान आमाहरू त्यस टापुमा फर्कंदा यो समूह फेरि बढ्‌ने गर्छ। यसले वर्षभरि टापुमै बस्ने ती तीन मसीहीहरूलाई निकै प्रोत्साहन दिन्छ। यी बहिनीहरूको कडा परिश्रमले गर्दा रबिनसन क्रूसोभरि यहोवाका साक्षीहरू चिरपरिचित छन्‌। हो, केही टापुवासीहरू तिनीहरूको कामको विरुद्ध खडा भएका छन्‌ र राज्य सन्देशलाई इन्कार गर्न अरूलाई दबाउ दिन्छन्‌। तैपनि, सोझा हृदय भएका मानिसहरूको हृदयमा छरिएको बाइबल सत्यको बीउ उम्रन छोडेका छैनन्‌।

उद्धार गरिएकाहरूलाई दरिलो बनाउने

त्यस टापुमा वर्षको एक चोटि परिभ्रमण निरीक्षकले भ्रमण गर्छन्‌। अनकन्टार ठाउँका मुठिभर साक्षीहरूकहाँ भ्रमण गर्नु कस्तो छ? रबिनसन क्रूसोमा पहिलो पटक भ्रमण गर्ने क्षेत्रीय निरीक्षकले त्यस भ्रमणबारे यसरी व्याख्या गरे:

“यो यात्रा साँच्चै सपनाजस्तै थियो। हामी बिहान ७ बजे भेलपाराइसेबाट सान्टिआगोको सेरीलस विमानस्थलतर्फ लाग्यौं। त्यहाँ पुगेर सात जना मात्र यात्रु अट्‌ने जहाज चढ्यौं। झन्डै २ घण्टा ४५ मिनेटको उडानपछि हामीले टाढा बादलबीच चुस्स निस्केको हिमालको चुचुरो देख्यौं। हामी जतिजति नजिक पुग्यौं त्यतिनै महासागरको बीचमा तैरिरहेको विशाल चट्टान अर्थात्‌ टापु प्रस्ट देखिन थाल्यो। यो विशाल खाडीमा तैरिरहेको अथवा समुद्रमा हराएको जहाज जस्तो देखिन्थ्यो।

“जहाज बिसाएपछि, एउटा डुंगामा चढेर हामी गाउँसम्म पुग्यौं। यताउता समुद्रबाट चट्टानहरू टुस्स टुस्स निस्केका हुनाले जुआन फर्नान्डेजका भुवादार सिलहरूका लागि विश्राम स्थल हुनपुगेको छ। यी भुवादार सिलहरूको संख्या निकै घट्‌दै गइरहेकाले तिनीहरू संरक्षित जन्तुहरूमध्ये पर्छन्‌। अचानक डुंगाको छेवैबाट केही कुरा उडेर तुरुन्तै समुद्रमा बिलायो। यो उडन्ते माछा थियो। तिनका पखेटा चराका पखेटाजस्तै हुन्छन्‌। सायद तिनीहरू किराफटेंग्रा समात्न पानीबाहिर उफ्रिंदा हुन्‌। निस्सन्देह, यी सिकारी आफै पनि कहिलेकाहीं सिकार बन्‍न पुग्छन्‌। पानी बाहिर उफ्रँदा क्वाप्प पार्न अरू सिकारीहरू ढुकेर बसिरहेका हुन्छन्‌।

“अन्ततः, हामी सान ह्वान बाउटिस्टा (सेन्ट जोन द बाप्टिस्ट) भन्‍ने गाउँमा आइपुग्यौं। आफ्ना पाहुनाहरूलाई स्वागत गर्न अथवा को को आउँदैछन्‌ भनेर हेर्न त्यहाँका केही बासिन्दाहरू डुंगा रोक्ने ठाउँमा उभिरहेका थिए। गाढा हरियो मखमली गलैंचाजस्ता घाँसहरूले ढाकिएको, सफा नीलो आकाशमा छरिएका सेता बादलहरू, अनि चुच्चा चुच्चा परेका एल युन्क (अचानो जस्तो) पर्वत देखेर हामी असाध्यै मोहित भयौं।

“हामीले केही छिनपछि त्यहाँ किनारमा केही मसीही बहिनीहरू र तिनीहरूका छोराछोरीहरू हाम्रो प्रतीक्षामा बसिरहेका देख्यौं। यो बिदाको समय भएकोले अरूबेलाभन्दा ठूलो भीड थियो। न्यानो भलाकुसारीपछि हामीलाई एउटा रहरलाग्दो क्याबिनमा लगियो र यो एक हप्ताको लागि हाम्रो घरसरह भयो।

“यो हाम्रो विशेष हप्ता थियो र समय बितेको पत्तै हुनेछैन भन्‍ने हामीलाई लाग्न थाल्यो। हामीले त्यस एक हप्ताको सदुपयोग गर्नुपर्ने थियो। त्यसैले, त्यसै दिन दिउँसोको खाना खाइसकेपछि हामी तुरुन्तै हाम्रो आध्यात्मिक बहिनी भएर परमेश्‍वरको आध्यात्मिक प्रमोदवनको सदस्य हुन तयार भइरहेकी बाइबल अध्ययनलाई भेट्‌न गयौं। तिनी आनन्दले गद्‌गद भइरहेकी भए तापनि कता कता हड्‌बडाएकी पनि थिइन्‌। तिनले धेरैसमयदेखि पर्खिरहेको बप्तिस्माको घडी नजिकै आइसकेको थियो। तिनी एक जना योग्य सुसमाचार प्रचारक हुन आवश्‍यक केही कुराहरू तिनीसित छलफल गऱ्‍यौं। अर्कोदिन तिनले प्रचार कार्यमा पहिलोपल्ट भाग लिइन्‌। तेस्रो दिन, तिनीसित बप्तिस्मा लिन चाहिने योग्यताहरूबारे कुरा गऱ्‍यौं। हप्ताको अन्त नहुँदै, तिनले बप्तिस्मा लिइन्‌।

“त्यस हप्ताको दौडान भएका सभाहरूलाई १४ जनाको अत्यधिक उपस्थितिले समर्थन गऱ्‍यो। हरेक दिन क्षेत्रसेवकाई, पुनःभेट, बाइबल अध्ययन तथा गोठालोरूपी भेटहरूका लागि प्रबन्ध गरिएको थियो। वर्षैभरि यस्ता कामहरू आफैले गर्ने बहिनीहरूका लागि यो कस्तो प्रोत्साहनदायी कुरा थियो!”

यस टापुका पुरुषहरूले आफ्ना पेसामा शारीरिक बल निकै खर्च गर्नुपर्ने भएकोले सच्चाइप्रति ध्यान दिन गाह्रो परिरहेको छ। यहाँको मुख्य पेशानै झिंगे माछा पक्रनु हो र यस काममा निकै समर्पित हुनुपर्छ। नकारात्मक प्रतिक्रिया देखाउनुको अर्को कारण तिनीहरूको पूर्वाग्रह पनि हो। जे भए पनि, भविष्यमा यस टापुका थुप्रै बासिन्दाहरूले राम्रो प्रतिक्रिया जनाउनेछन्‌ भन्‍ने आशा गरिएको छ।

अहिलेसम्ममा, यस टापुमा दस जनाले सच्चाइ तथा यहोवा परमेश्‍वरको उद्देश्‍य सिकेर उद्धार पाइसकेका छन्‌। तिनीहरूमध्ये कसैकसैले विभिन्‍न कारणले गर्दा टापु छाडिसकेका छन्‌। तर चाहे तिनीहरू रहून्‌ वा नरहून्‌, तिनीहरूले पाएको उद्धार अलेक्जेण्डर सेल्कर्कले पाएको उद्धारभन्दा अति उल्लेखनीय छ। अहिले तिनीहरू जहाँ रहे तापनि आध्यात्मिक प्रमोदवनको आनन्द उठाउँछन्‌। हाल त्यहाँ बसिरहेका बहिनीहरू र तिनीहरूका छोराछोरीहरूले बगैंचारूपी ठाउँको आनन्द उठाइरहेका छन्‌। तर त्योभन्दा पनि ठूलो कुरा त, तिनीहरूले हर तरहबाट पूर्ण प्रमोदवनरूपी पृथ्वीमा बाँच्ने आशा पाएका छन्‌।

उद्धार कार्य जारी छ

भौगोलिक तवरमा हेर्ने हो भने, यस रबिनसन क्रूसोमा बसोबास गर्ने यहोवाका साक्षीहरू आफ्ना अरू आध्यात्मिक भाइबहिनीहरूभन्दा धेरै टाढा छन्‌। तथापि, स्कटल्याण्डका बासिन्दा सेल्कर्कजस्तै तिनीहरू एक्लो महसुस गर्दैनन्‌। नियमित तवरमा पाइने ईश्‍वरतान्त्रिक साहित्य, वाच टावर सोसाइटीको चिली शाखाबाट वर्षको तीनपटक पठाइने सम्मेलन तथा अधिवेशनका भिडियोहरू अनि क्षेत्रीय निरीक्षकको वार्षिक भ्रमणजस्ता कुराहरूले तिनीहरूलाई यहोवाको संगठनसित घनिष्ठ भइरहन मदत गर्छ। त्यसैले, तिनीहरू ‘यस संसारमा भएका भाइहरूको सम्पूर्ण संगठनको’ सक्रिय भाग भई नै रहेका छन्‌।—१ पत्रुस ५:९.

[फुटनोट]

a यस टापुको आधिकारिक नाम मास आ टिरा हो।

[पृष्ठ ९-मा भएको नक्सा/चित्र]

चिली

सान्टिआगो

रबिनसन क्रूसो टापु

सान ह्वान बाउटिस्टा

एल युन्क

प्रशान्त महासागर

सान्टा क्लारा टापु

[चित्र]

टापु प्रस्ट देखिनथाल्दा यो महासागरको बीचमा तैरिरहेको विशाल चट्टानजस्तो लाग्छ

[स्रोत]

Map of Chile: Mountain High Maps® Copyright © 1997 Digital Wisdom, Inc.

[पृष्ठ ८, ९-मा भएको चित्र]

विशाल अनि चुच्चा चुच्चा परेको एल युन्क भनिने (अचानो जस्तो ) पर्वत

[पृष्ठ ९-मा भएको चित्र]

सान ह्वान बाउटिस्टा गाउँ (सेन्ट जोन द बाप्टिस्ट )

[पृष्ठ ९-मा भएको चित्र]

सानातिना चट्टानहरू भुवादार सिलहरू तथा सी लायनहरूका लागि विश्राम स्थल हुनपुगेको छ

[पृष्ठ १०-मा भएको चित्र]

हामी चिलीको सान्टिआगोबाट सानो हवाईजहाज चढ्यौं

[पृष्ठ १०-मा भएको चित्र]

रबिनसन क्रूसो टापुको खाल्डाखुल्डी परेको किनार

[पृष्ठ १०-मा भएको चित्र]

टापुको साधारण राज्यभवन

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने