चियापासको उच्च पहाडी भूमिमा शान्तिको सुसमाचार
“हातहतियारद्वारा सुसज्जित . . . एक डफ्फाले १३ जना नाबालक सहित ४५ जना असहाय किसानहरूको निर्मम हत्या गरेको चियापास प्रान्तको सबैभन्दा डरलाग्दो हत्याकाण्ड कसैले पनि बिर्सन सक्दैन।” डिसेम्बर २२, १९९७ मा चियापास प्रान्तको अक्टिअल्मा घटेको यस घटनालाई “एल यूनिभर्सल” अखबारले यसरी छाप्यो।
चियापास ग्वाटेमालाको सिमानसँग जोडिएको मेस्किकोको सुदुर दक्षिणी प्रान्त हो। गरिबी तथा अभावको लामो इतिहासपछि त्यहाँका माया जातिका आदिवासीहरूले इजिरसिटो ज्यापाटिस्टा दि लिबिरेसन नेसनलको (इ जेड एल एन, नेसनल लिबेरेसन ज्यापाटिस्टा आर्मी) नारा लिएर जनवरी १९९४ मा सशस्त्र विद्रोह सुरु गरे। शान्तिपूर्ण समाधानको लागि गरिएको वार्ताको केही टुंगो लागेन। विद्रोही तथा सरकारी सेना दुवै तर्फबाट हमला तथा आक्रमणहरूको नतिजा रगत बग्यो र धेरैले आफ्नो ज्यान गुमाए। यस्तो गोलमालपूर्ण अवस्थाले गर्दा धेरैजसो किसानहरू सुरक्षित स्थानहरूतिर भागे।
यस्तो अस्थिर परिस्थितिमा पनि एउटा शान्ति प्रेमी समूह भने राजनैतिक संघर्ष हुँदा तटस्थ रहे। स्थानीय तथा विश्वव्यापी रूपमा मानिसहरूले भोगिरहनु परेका समस्याहरूको एक मात्र समाधान परमेश्वरको राज्य हो भनेर तिनीहरू उत्साही भई प्रचार गर्छन्। (दानियल २:४४) तिनीहरू को हुन्? यहोवाका साक्षीहरू। येशूको आज्ञा पालन गर्दै तिनीहरूले चियापासको उच्च पहाडी भूमिका अत्यन्तै दुर्गम क्षेत्रहरूमा समेत राज्यको सुसमाचार सुनाउन प्रयत्न गरिरहेका छन्। (मत्ती २४:१४) यस्तो परिस्थितिमा तिनीहरूको प्रचार कार्य कस्तो रह्यो र परिणाम के भयो?
“म एक जना यहोवाको साक्षी हुँ”
भर्खरै राज्य प्रकाशक भएका युवक, अडल्फो एक दिन ओकोसिंगो रेडियो स्टेशनमा काम गरिरहेका थिए। अचानक, ढोका ढक्ढकाएको चर्को आवाज आयो। नकाबधारी मानिसहरूको एक डफ्फा ढोका फोरेर भित्र आए अनि उनको टाउकोमा बन्दुक तेर्साए। तिनीहरू हत्तपत्त प्रसारण कक्षमा पसे र त्यहाँ भएका उपकरणहरू कब्जा गरे अनि रेडियोमा सरकार विरुद्ध युद्धको घोषणा गरे।
अडल्फोतिर फर्कंदै ती बन्दुकधारी मानिसहरूले उनलाई तिनीहरूको आन्दोलनमा भाग लिने आदेश दिए। आफूले बप्तिस्मा नलिएको भएता पनि अडल्फोले यस्तो जवाफ दिए, “म एकजना यहोवाको साक्षी हुँ।” शान्तिको एक मात्र आशा परमेश्वरको राज्य हो भनी उनले तिनीहरूलाई बताए र तिनीहरूले दिएका पोशाक लगाउन र बन्दुक भिर्न दृढ भई अस्वीकार गरे। उनको यस्तो दृढता देखेर तिनीहरूले उनलाई छोडिदिए। ती घटनाहरूलाई सम्झँदै अडल्फो भन्छन्, “त्यस घटनाले साँच्चै मेरो विश्वास बलियो बनायो।”
अन्तमा, परिस्थिति सुध्रियो तर अझै पनि इलाका सेनाकै नियन्त्रणमा थियो। यसो भए तापनि स्थानीय मण्डलीको प्राचीनले त्यस इलाकामा रहेको सानो समूहका मसीहीहरूसँग काम गर्ने निमन्त्रणा दिंदा अडल्फोले खुसीसाथ स्वीकारे। चौकीहरू पार गर्दा उनले भेटेका सैनिकहरूलाई आफू यहोवा साक्षी हुँ भनी परिचय दिंदा तिनीहरूले उनलाई आदर गरे। पछि उनले बप्तिस्मा लिए र आफूले मदत गरेको त्यो सानो समूह यहोवाका साक्षीहरूको मण्डलीमा परिणत हुँदा उनी सन्तुष्ट भए। अडल्फोले भने, “मैले अहिले बप्तिस्मा लिएको छु, म अहिले ढुक्कसँग भन्न सक्छु, म एक जना यहोवाको साक्षी हुँ!”
“यहोवाले हामीलाई बलियो तुल्याउनुभयो”
इ जेड एल एन-ले रेडियोमा सरकार विरुद्ध युद्धको घोषणा गर्ने बित्तिकै शहरका मानिसहरू भागे। पूर्ण-समय सेवक अर्थात् अग्रगामी फ्रान्सिस्को तथा उनकी पत्नीले यस्तो परिस्थितिहरूको सामना गर्नु पर्दा यहोवाले कसरी बलियो तुल्याउनुभयो त्यसबारे उनीहरू यसरी वर्णन गर्छन्।
“हामीले तीन घण्टा हिंडेपछि पुग्ने ठाउँमा शरण लिने निर्णय गऱ्यौं। त्यहाँ एउटा मण्डली भएकोले हामीहरू त्यहाँ भाइहरूसँगै बस्न सक्थ्यौं। पालिंकामा क्षेत्रीय सम्मेलन हुने समय पनि नजिकै थियो। म र मेरी पत्नी त्यस सम्मेलनमा अग्रगामीहरूको निम्ति हुन गइरहेको विशेष सभा छुटाउन चाहँदैनथ्यौं। तर सम्मेलन जाने बाटोलाई इ जेड एल एनहरूले रोकेका छन् भनी हामीले थाह पायौं। हामीले नौ घण्टा हिड्नुपर्ने जंगलको बाटो भएर जाने निर्णय गऱ्यौं। हामी समयमै अग्रगामीहरूको सभामा पुग्यौं। अग्रगामीको सभा तथा सम्पूर्ण सम्मेलनबाट हामीले धेरै आनन्द उठायौं।
“सम्मेलनबाट फर्केर आउँदा हाम्रो घर जलेको भेट्टायौं र हाम्रा वस्तुभाउहरू पनि चोरिएछन्। केही लुगाहरू भएको एउटा सानो झोला मात्र हामीले भेट्टायौं। यी सब गुमाउनु परेकोमा हामी दुःखी भयौं तर ओकोसिंगोका भाइहरूले हामीलाई दयापूर्वक तिनीहरूको घरमा लगे। तिनीहरूले हामीलाई पहिले कहिल्यै नगरेको खेती किसानी काम पनि सिकाए। एक जना भाइले मलाई फोटो खिच्ने सीप सिकाइदिए, अर्काले चाहिं जुत्ता मर्मत गर्न सिकाए। यसैबाट म र मेरी पत्नीले अहिलेसम्म अग्रगामी सेवा नछोडीकन आफ्नो गुजारा चलाउन सकिरहेका छौं। यी सबै घटनाहरूलाई विचार गर्दा, धैर्य गर्न कठिन हुँदा यहोवाले हामीलाई बलियो तुल्याउनुहुँदो रहेछ भनी हामीले बुझ्यौं।”
प्रचारकार्यका फल
चियापास क्षेत्रका साक्षीहरूले कडा मेहनतका साथ आफ्ना इलाकाका मानिसहरूकहाँ सुसमाचार पुऱ्याउने काममा भाग लिन कठिनाइ र डरलाई आफ्नो बाधक बनाएनन्। उदाहरणका लागि, १९९५ अप्रिल र मे महिनामा तिनीहरूले विश्वव्यापी रूपमा आफ्ना सँगी मसीहीहरूसँगै उपयुक्त शीर्षकको, जीवनमा यति धेरै समस्याहरू किन? राज्य समाचार न. ३४ वितरण अभियानमा भाग लिए।
यस अभियानको दौडान पिब्लो नबो भन्ने ठाउँमा एक नियमित अग्रगामी भाइ सिरोले चासो देखाउने एक परिवारलाई भेट्टाए। तीन दिनपछि फर्केर जाँदा उनले तिनीहरूसँग बाइबल अध्ययन सुरु गर्नसके। तर सिरो र उनको साथी त्यस परिवारसँग अध्ययनको लागि अर्को पटक भेट्न जाँदा घरधनी घरमा थिएनन्। त्यहाँ नकाबधारी मानिसहरूको एक डफ्फा घरधनीलाई हानि पुऱ्याउन पर्खिरहेका थिए। तिनीहरूले भाइ सिरो र उनका साथीलाई त्यहाँ आउनुको कारण सोधे र मार्ने धम्की पनि दिए। मनमनै प्रार्थना गरेपछि ती दुई मसीहीहरूले हिम्मतका साथ तिनीहरू त्यस घरका परिवारलाई बाइबलबारे सिकाउन आएका हुन् भनी बताए। यति भनिसकेपछि नकाबधारी मानिसहरूले तिनीहरूलाई जान दिए। केही कारणवश घरधनी त्यस दिन घरमा आएनन्।
करिब तीन वर्षपछि, एक दिन आफूले पहिले बाइबल अध्ययन गरेका घरधनीलाई आफ्नो ढोकामा उभिरहेको देखेर सिरो छक्क परे। तिनको पूरै परिवारले बप्तिस्मा लिइसकेको र अहिले तिनीहरू ग्वाटेमालास्थित मण्डलीमा संगति गर्दै छन् भन्ने सुनेर सिरो कत्ति आनन्दित भए होलान्! तिनीहरूकी एउटी छोरीले त नियमित अग्रगामीसमेत गर्दै रहेछिन्।
आध्यात्मिक आहाराका लागि मूल्यांकन
चियापासका साक्षीहरूले लगातार रूपमा कठिनाइहरूको सामना गर्नुपरे तापनि एकै ठाउँमा भेला हुने महत्त्वलाई तिनीहरू साँच्चै मूल्यांकन गर्छन् भनेर जिल्ला निरीक्षकले रिपोर्ट दिए। (हिब्रू १०:२४, २५) हालैको विशेष सम्मेलन दिनमा भएको घटनाबारे उनले बताए। उपस्थित व्यक्तिहरू सुरक्षित रूपमा दिउँसो उज्यालोमै घर फर्कन सकियोस् भनेर सम्मेलन बिहान सबेरै सुरु गर्ने कार्यक्रम थियो। सम्मेलन हुने ठाउँसम्म पुग्न धेरैजसोले जंगलको बाटो भएर तीन घण्टाभन्दा लामो यात्रा गर्नुपरे तापनि बिहानको ७:०० बजे सबैजना आ-आफ्नो सीटमा बसिसकेका थिए। श्रोताहरूमा इ जेड एल एन समूहका छ जना सदस्यहरू पनि थिए। तिनीहरूले भाषण सुने, ताली बजाएर त्यसको प्रशंसा गरे र कार्यक्रमबाट भरपूर आनन्द उठाए। सम्मेलन धाउन तिनीहरूले पनि तीन घण्टा हिड्नुपर्थ्यो। तिनीहरूमध्ये बीस जना जति स्थानीय राज्यभवनमा आयोजित ख्रीष्टको स्मरणार्थ उत्सवमा पनि उपस्थित भए।
छापामार क्रियाकलापमा संलग्न अर्को एक जवान मानिसलाई उनको नाइकेले जंगलको केही इलाकामा गस्ती गर्न खटाएको थियो। उनी त्यहाँ पुग्दा, त्यस क्षेत्रमा बसोबास गर्ने अधिकांश यहोवाका साक्षीहरूलगायत सबै नै बस्ती छोडेर भागी सकेका थिए। त्यसैले, उनी एउटा रित्तो घरमा बसे। केही काम नभएकोले घरमा भएका केही किताबहरू लिएर पढ्न थाले। यी किताबहरू साक्षीहरूले छाडेका वाच टावरका प्रकाशनहरू थिए। यसरी एक्लै बस्नुपर्दा त्यस जवान मानिसले आफूले पढिरहेको कुराको मनन गर्ने समय पाए। त्यसपछि, उनले आफ्नो जीवन परिवर्तन गरेर हतियार नउठाउने निर्णय गरे। सकेसम्म चाँडै उनले यहोवाका साक्षीहरूलाई खोजे र बाइबल अध्ययन सुरु गरे। त्यसको छ महिनाभित्रमा उनले अरूलाई सुसमाचार सुनाउन थाले। उनीलगायत छापामार क्रियाकलापलाई समर्थन गर्ने उनका परिवारका अरू तीन सदस्य पनि अहिले बप्तिस्मा प्राप्त मसीही भइसकेका छन्।
सकारात्मक पक्ष हेर्दै
धेरै कठिनाइ भए तापनि साँच्चै भन्ने हो भने, विद्रोहले गर्दा प्रचार कार्यप्रति मानिसहरूले सकारात्मक मनोभाव देखाए। संघर्ष सुरुभएको शहरमा बस्ने एक जना प्राचीनले यसो भने: “संघर्ष चर्केको पाँच दिनपछि हामीले शहरभित्र र बाहिर प्रचार कार्यको आयोजना गऱ्यौं। मानिसहरू उत्सुकतासाथ हाम्रो कुरा सुन्थे। हामीले धेरै मात्रामा बाइबल प्रकाशनहरू प्रस्तुत गऱ्यौं र धेरै बाइबल अध्ययन पनि सुरु गऱ्यौं। एउटा इलाकामा धेरैले सच्चाइलाई विरोध गर्दैआइरहेका थिए तर संघर्षको कारण अहिले तिनीहरू सुन्छन्, बाइबल अध्ययन गर्छन् र सभाहरू तथा सम्मेलनहरू धाउँछन्।”
अति अस्थिर परिस्थितिको बावजूद पनि ईश्वरतान्त्रिक क्रियाकलाप कायमै राख्न सकेकोमा भाइहरू खुसी छन्। सरकारी फौज तथा इ जेड एल एन दुवै पक्षको ज्ञानले गर्दा तिनीहरूले नछुटाईकन सम्मेलनहरू आयोजना गर्न सकिरहेका छन्। यसले तिनीहरूलाई आध्यात्मिकतामा बलियो बनाएको छ। परिभ्रमण निरीक्षकको भ्रमणद्वारा पनि तिनीहरूले प्रचार कार्यमा लागिरहन जोडदार प्रोत्साहन पाइरहेका छन्। अझ एउटा रोचक पक्ष त यो पनि हो, संघर्षमा संलग्न व्यक्तिहरूबाट समेत साक्षीहरूले प्रोत्साहन पाएका छन्। प्रायः तिनीहरूले पनि साक्षीहरूलाई प्रचार गरिरहन आग्रह गर्छन्।
समयको दौडान, चियापासका मानिसहरूले भोग्नु परेको जाँच तथा कठिनाइहरू केही कम भए तापनि, रोकिएको भने छैन। एउटा कुरा भने पक्का छ—मानिसहरूलाई परमेश्वरको वचन बाइबलबाट शान्तिको सुसमाचार सुनाउने काममा कुनै कसर नछोडी लागिरहन यहोवाका साक्षीहरू दृढ छन्। (प्रेरित १०:३४-३६; एफिसी ६:१५) तिनीहरू यर्मिया अगमवक्ताका यी शब्दहरू स्वीकार्छन्, “हे परमप्रभु, मलाई थाह छ, कि मानिसहरूको मार्ग त्यो आफैमा छैन। आफ्नो पाइलालाई ठीक मार्गमा हिंड़ाउने शक्ति मानिसमा छैन।” (यर्मिया १०:२३) परमेश्वरको पुत्र, येशू ख्रीष्टको अधीनमा रहेको राज्यले मात्र संसारमा भइरहेको अन्याय तथा गरिबीको समाधान गर्नसक्छ।—मत्ती ६:१०.
[पृष्ठ ९-मा भएको नक्सा]
मेक्सिको खाडी
चियापास
ग्वाटेमाला
प्रशान्त महासागर
[स्रोत]
Mountain High Maps® Copyright © 1997 Digital Wisdom, Inc.
[पृष्ठ ९-मा भएको चित्र]
चियापासको उच्च पहाडी क्षेत्रमा साक्षीहरू सेवकाईमा गइरहेका