प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w01 २/१५ पृ. ३०-३१
  • तपाईंको शारीरिक हावभाव यसले तपाईंबारे के बताउँछ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तपाईंको शारीरिक हावभाव यसले तपाईंबारे के बताउँछ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • उपशीर्षकहरू
  • आदरणीय मुद्रा
  • विनम्र मनोभाव
  • शोक, लाज र रिस
  • मित्रता र हर्ष प्रकट गर्नु
  • हिंड्‌नु र दगुर्नु
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
w01 २/१५ पृ. ३०-३१

तपाईंको शारीरिक हावभाव यसले तपाईंबारे के बताउँछ?

शारीरिक हावभावमा कुनै एक व्यक्‍तिले अर्को व्यक्‍तिसित कुराकानी गर्दा प्रयोग गर्ने भावभंगी, इसारा र आनीबानी आदि समावेश छन्‌। तपाईंको शारीरिक हावभावले के भन्छ? के यसले आदर, नम्रता र आनन्द व्यक्‍त गर्छ? अथवा रिसाहापन र झिजोपन प्रकट गर्छ? बाइबलले गहिरो अर्थ प्रकट गर्ने थुप्रै शारीरिक मुद्रा तथा भावभंगीबारे निकै चर्चा गरेको छ। केही मुलुकका व्यक्‍तिहरू अरूको तुलनामा सहजै हावभाव प्रकट गर्ने र आफ्ना अनुभूतिहरू व्यक्‍त गर्न नहिचकिचाउने भए तापनि बाइबलको जमानामा व्यक्‍त गरिएका अभिव्यक्‍तिहरूमाथि विचार गरेर हामी थुप्रै कुरा सिक्नसक्छौं।

आदरणीय मुद्रा

यहोवालाई प्रार्थना गर्न पाउनु एउटा विशेषाधिकार हो र प्रार्थना गर्दा गहिरो आदरपूर्ण मनोभाव प्रकट गर्नुपर्छ। हिब्रूहरू र प्रारम्भिक मसीहीहरूले प्रार्थना गर्न कुनै खास मुद्रामा हुनैपर्ने गरी हत्केलाहरू जोडेर नमस्कार गर्ने वा आफ्ना दुवै हत्केला आपसमा बाँध्ने आदि नियमहरू त बनाएनन्‌ तर यी मुद्राहरूलाई अत्यन्तै आदरणीय मानिन्थ्यो। प्रार्थना गर्दा खडा हुने वा घुँडा टेक्ने प्रचलन थियो र स्पष्टतया बप्तिस्मा लिइसक्नुभएपछि येशूले खडा भएर प्रार्थना गर्नुभएको थियो। त्यसै गरी, उहाँले गेतसमनीको बगैंचामा घुँडा टेकेर प्रार्थना गर्नुभएको थियो। (लूका ३:२१, २२; २२:४१) खडा हुँदा होस्‌ वा घुँडा टेक्दा, कहिलेकाहीं स्वर्गतिर हात पसारेर प्रार्थना गरिन्थ्यो भने कहिलेकाहीं बिन्ती गर्दा हात मास्तिर उठाइन्थ्यो वा अघिल्तिर फैलाइन्थ्यो। यसबाहेक, प्रार्थना गर्दा व्यक्‍तिविशेषले आफ्ना आँखा वा अनुहार स्वर्गतिर फर्काएका पनि हुनसक्छन्‌।—नहेम्याह ८:६; मत्ती १४:१९; अय्यूब २२:२६.

बिन्ती चढाउने केही व्यक्‍तिहरूचाहिं घुँडा टेकेर बस्छन्‌, शिर निहुराउँछन्‌ वा एलियाले जस्तै भुँइमा निहुरेर शिर घुँडाहरूमा अडाउँछन्‌। (१ राजा १८:४२) एकदमै शोकमा पर्दा वा व्यग्र प्रार्थना गर्दा प्रार्थना गर्ने व्यक्‍ति साँच्चै भुँइमा लम्पसार पर्न सक्छन्‌। तथापि, येशूले प्रार्थना निष्कपट हुनुपर्छ भनेर स्पष्ट पार्नुभयो भने देखावटी र अनुहार वा शरीरको मुद्राबाट बनावटी भक्‍ति वा पवित्रताको भावना व्यक्‍त गर्ने ढोंगी व्यवहारको भर्त्सना गर्नुभयो।

पूर्वका मानिसहरू एकअर्कालाई आदर देखाउँदा र विशेष गरी अख्तियारवालालाई बिन्ती गर्दा प्रार्थना गर्दाखेरिको जस्तै हावभाव वा मुद्रा प्रकट गर्छन्‌। अरू समक्ष निवेदन गर्दा घुँडा टेकेको उदाहरण पनि हामी पाउँछौं। यो उक्‍त व्यक्‍तिको उपासना गरेको होइन तर उनको ओहदा वा दर्जालाई गहिरो आदरसहित स्वीकारेको हो। (मत्ती १७:१४) आदर देखाउने सम्बन्धमा हामी धर्मशास्त्रबाट थरीथरीका कुरा सिक्नसक्छौं।

विनम्र मनोभाव

पुरातन समयमा अर्को व्यक्‍तिको जुत्ताको फित्ता खोलिदिनु वा जुत्ता ल्याइदिनुलाई निम्नस्तरीय कामको रूपमा लिइन्थ्यो। यसो गर्दा व्यक्‍तिविशेषको नम्रता प्रकट हुन्थ्यो भने मालिकको तुलनामा आफू नगण्य छु भनेर मानिलिएको भाव पनि व्यक्‍त हुन्थ्यो। हात धुँदा वा खुट्टा धुँदा पानी खन्याइदिनु पनि अतिथि सत्कार र सम्मान गर्ने तरिका थियो भने कुनै कुनै अवस्थामा यो विनम्रता जाहेर गरेको चिह्न पनि हुन्थ्यो। एलीशाले “एलियाका हातमा पानी हाल्ने” गरेकोले तिनी एलियाको सेवक वा दासको रूपमा चिनिन्थे। (२ राजा ३:११) तिनको हावभावद्वारा पक्कै पनि तिनको विनम्र व्यवहार झल्किन्थ्यो। येशूले आफ्ना चेलाहरूलाई नम्रता र आदरको पाठ सिकाउन यस्तै एउटा पूर्वेली चलन प्रयोग गरेर देखाउनुभएको थियो अर्थात्‌ उहाँले चेलाहरूको खुट्टा धोइदिनुभयो।—यूहन्‍ना १३:३-१०.

विनम्र भई अरूको सेवा गर्ने तत्परता पटुका कसेर पनि देखाइन्थ्यो। यसले काम गर्दा, दगुर्दा वा त्यस्तै अन्य काम गर्दा अप्ठ्यारो नहोस्‌ भनेर लामो धोती माथि सारेर पेटी वा पटुका कस्ने बाइबलकालीन चलनलाई संकेत गर्छ। काम गर्न सहमत हुँदा, मिलेर काम गर्दा वा आपसमा बाँडचुँड गर्दा नम्रता प्रकट गर्न हात मिलाउनु वा एकअर्काको न्यानो भावसहित हात समात्ने गरिन्थ्यो। (गलाती २:९) भाइहरूबीच हात मिलाउनु कत्ति हृदयस्पर्शी रहेछ!

शोक, लाज र रिस

पुरातन समयमा यहोवाका विश्‍वासी सेवकहरू यस्ता भावनाहरू खुलस्त रूपमा व्यक्‍त गर्थे। त्यस समय टाउकोमा धूलो वा खरानी छरेर, लुगा च्यातेर, भाङ्‌ग्रा लाएर, रोएर, दुःखी हुँदै शिर निहुराएर वा भुँइमा बसेर शोक प्रकट गरिन्थ्यो। (अय्यूब २:१२, १३; २ शमूएल १३:१९) दाह्री खौरनु वा उखेल्नु, शिर ढाक्नु, आफ्नै शिरमा हात राख्नु आदिले शोक वा लाजलाई संकेत गर्थ्यो। (एज्रा ९:३; एस्तर ६:१२; यर्मिया २:३७) पछिल्ला भावभंगीले शोक गर्नेमाथि परमेश्‍वरले ठूलो दुःख ल्याउनुभएको छ भन्‍ने संकेत दिन्थ्यो भनी कसै कसै विश्‍वास गर्छन्‌। साँचो उपासकहरू शोक वा लाजलाई हल्कासित लिंदैनन्‌।

उपवास बसेर पनि सन्ताप र पश्‍चात्ताप देखाइन्थ्यो। (२ शमूएल १:१२; योएल १:१३, १४) येशू यस पृथ्वीमा हुनुहुँदा ढोंगीहरूले उपवास बस्दा “पवित्रता” देखाउन उदास हुँदै दुःखी अनुहार लाउँथे तर पिताले हृदय हेर्नुहुने भएको कारण येशूले आफ्ना चेलाहरूलाई उपवास बस्दा मानिसहरूले थाह नपाऊन्‌ भनेर शिरमा तेल लगाउनू र मुख धुनू भन्‍नुभयो। (मत्ती ६:१६-१८) आध्यात्मिक कुरामा एकाग्रचित्त भई ध्यान दिन मसीहीहरू कहिलेकाहीं उपवास बस्ने गर्थे।—प्रेरित १३:२, ३.

अक्सर केही बोलेर अरूप्रति रोष, वैमनस्यता, खिसी, भर्त्सना, घृणा, ठट्टा र त्यस्तै अरू भाव प्रकट गरिन्छ। यिनमा ओठ लेब्राउनु, मुन्टो बटार्नु वा औंला ठड्याउनु, गाला चड्‌काउनु, धूलो उडाउनु र खुट्टा बजार्नु आदि पर्छन्‌। (इजकिएल २५:६; भजन २२:७; सपन्याह २:१५; मत्ती ५:३९; २ शमूएल १६:१३) यी भावहरूले प्रतिद्वन्द्वी, घृणित शत्रु वा शोषण गर्ने व्यक्‍तिमाथि आपत्ति आइपर्दा रमाहट प्रकट गरेको संकेत गर्नसक्छन्‌। मसीहीहरूले शोक व्यक्‍त गर्न र गल्ती गरेका छन्‌ भने लाज प्रकट गर्न केही भावभंगी व्यक्‍त गर्नसक्छन्‌ तर तिनीहरू आफ्नो शारीरिक भावभंगीबाट रिस वा घृणा व्यक्‍त गर्नदेखि भने टाढै रहन्छन्‌।

मित्रता र हर्ष प्रकट गर्नु

बाइबलीय मुलुकहरूमा न्यानो मित्रता जाहेर गरिन्थ्यो। म्वाइँ खाएर अनि निकै भावविह्वल भएर म्वाइँ खाँदै र रुदै गम्लंग अँगालो हालेर मित्रता व्यक्‍त गरिन्थ्यो। (उत्पत्ति ३३:४; प्रेरित २०:३७) येशू यस पृथ्वीमा हुनुहुँदा आरामसित अडेस लागेर खाने चलन भएकोले अर्को व्यक्‍तिको छातीमा अडेस लाग्नुले घनिष्ठ मित्रता वा अनुमोदनलाई व्यक्‍त गर्थ्यो र यस्तो भावलाई छातीमा अडेस लगाइ भनिन्थ्यो। (यूहन्‍ना १३:२३, २५) यो प्रचलन लूका १६:२२, २३ मा दिइएको दृष्टान्तको आधार हो। अर्को व्यक्‍तिको भागको रोटी खानु उनीसितको मित्रता र शान्तिको प्रतीक थियो। यसरी घनिष्ठता व्यक्‍त गरेर उल्टो उनकै हानि पुऱ्‍याउनुलाई निम्नस्तरीय विश्‍वासघात मानिन्थ्यो।—भजन ४१:९.

ताली बजाएर अनि बाजागाजासहित नाचेर हर्ष प्रकट गरिन्थ्यो। काम गर्दा, जस्तै, दाख टिप्दा रमाएर कराउनु र गीत गाउनुलाई आनन्द वा कृतज्ञता सहितको हर्षोल्लासको चिह्न मानिन्थ्यो। (भजन ४७:१; न्यायकर्त्ता ११:३४; यर्मिया ४८:३३) आज यहोवाका आनन्दित सेवकहरू आफ्नो अन्तरराष्ट्रिय भ्रातृत्वबीच पाएको मित्रताको कदर गर्छन्‌, ‘यहोवाको आनन्दलाई’ आफ्नो बल बनाउँछन्‌ र परमेश्‍वरको प्रशंसा गर्दै उत्सुकतासाथ गीत गाउँछन्‌।

हिंड्‌नु र दगुर्नु

“हिंड्‌नु” भन्‍ने दृष्टान्तपूर्ण अभिव्यक्‍तिले कुनै खास मार्गमा चल्नुलाई बुझाउँछ। जस्तै, “नूह . . . परमेश्‍वरको साथै हिंड़नेगर्थे।” (उत्पत्ति ६:९) परमेश्‍वरसित हिंड्‌नेहरूले, परमेश्‍वरले तोक्नुभएको जीवनस्तर पछ्याउँथे र उहाँको अनुमोदन पाउँथे। मसीही युनानी धर्मशास्त्रले यही अभिव्यक्‍ति प्रयोग गर्दै परमेश्‍वरको सेवक हुनुअघि र पछिका दुई विपरीत मार्गहरूको सजीव वर्णन गरेको छ। (एफिसी २:२, १०) त्यसै गरी, “दगुर्नु” शब्द कुनै मार्गलाई प्रतीकात्मक अर्थमा वर्णन गर्नुपर्दा प्रयोग गरिन्थ्यो। यहूदाका अगमवक्‍तालाई आफूले नपठाए तापनि “कुदेर गए” भनी परमेश्‍वरले भन्‍नुभयो। भनाइको मतलब तिनीहरूले बिना अख्तियार अगमवाणी गर्ने गलत मार्ग रोजे। पावलले मसीही मार्गलाई “दौड” भनेर व्याख्या गरे। तिनले यसलाई पुरस्कार प्राप्त गर्न नियमको परिधिभित्र रहेर दौडनु पर्ने दौडसित तुलना गरे।—यर्मिया २३:२१; १ कोरिन्थी ९:२४.

हाम्रो शारीरिक भावभंगीले थुप्रै कुरा व्यक्‍त गर्छ। त्यसकारण, यसले सधैं आदरपूर्ण, नम्र मनोभाव व्यक्‍त गर्न अनि रिसाहा र जंगी स्वभाव होइन तर मित्रता र हर्ष देखाओस्‌। अनि जसै हामी ‘परमेश्‍वरसित हिंड्‌छौं,’ अनन्त जीवनको “दौड़मा” सफल हुनेछौं।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने