प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w01 ९/१ पृ. १९-२१
  • “फ्रान्समा के हुँदैछ?”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “फ्रान्समा के हुँदैछ?”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • उपशीर्षकहरू
  • लामो दिन
  • नतिजा
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
w01 ९/१ पृ. १९-२१

“फ्रान्समा के हुँदैछ?”

“स्वतन्त्रता, प्यारो स्वतन्त्रता।” यी शब्दहरू फ्रान्सको राष्ट्रिय गान “ला मार्सेयाज”-बाट हो। निस्सन्देह, स्वतन्त्रता भनेको अत्यन्तै मूल्यवान्‌ कुरा हो। यद्यपि, हालसालै फ्रान्समा आधारभूत स्वतन्त्रता नै हनन हुने घटनाहरू भएकोले यो चिन्ताको विषय बनेको छ। त्यसकारण, शुक्रबार नोभेम्बर ३, २००० का दिन यहोवाका हजारौं साक्षीहरूले “फ्रान्समा के हुँदैछ? के फेरि स्वतन्त्रता पाउन सकिएला?” भन्‍ने शीर्षक भएको विशेष पर्चाको १ करोड २० लाख प्रति वितरण गरे।

फ्रान्समा यहोवाका साक्षीहरूले विभिन्‍न राजनैतिक तथा गुटविरोधी समूहहरूको विरोध सहनुपरेको केही वर्ष भइसक्यो। यसले गर्दा साक्षीहरूलाई व्यक्‍तिगत तवरमा, मण्डलीमा र राष्ट्रिय स्तरमा अप्ठ्यारो परेको छ। तथापि, जून २३, २००० मा फ्रान्सको सबैभन्दा उच्च प्रशासनिक अदालत, कोंसे डेटाँ-ले ३१ वटा तल्लो अदालतले १,१०० भन्दा बढी मुद्दाहरूको सम्बन्धमा गरेको निर्णय नै सही हो भनेर निर्णय गऱ्‍यो र त्यो उल्लेखनीय कुरा थियो। उच्च अदालतले यहोवाका साक्षीहरूको उपासना पूर्णतया फ्रान्सिसी नियमअनुरूप छन्‌ र अन्य धर्महरूमा जस्तै तिनीहरूको राज्यभवनमा पनि कर लगाउन पाइँदैन भनी पुष्टि गऱ्‍यो।

तथापि, यस निर्णयलाई पूर्णतया बेवास्ता गर्दै फ्रान्सिसी अर्थ मन्त्रालयले यहोवाका साक्षीहरूलाई अन्य धार्मिक संगठनहरूलाई जस्तो कर मुक्‍त गर्न अझै इन्कार गरेको छ। मन्त्रालयले फ्रान्समा भएका १,५०० वटा स्थानीय मण्डलीहरूसँग संगत गर्ने साक्षी तथा साथीहरूले दिएको चन्दामा ६० प्रतिशत कर लगाएको छ। अहिले यो मुद्दा चलिरहेको छ।

माथि उल्लिखित अभियानको उद्देश्‍य, यस विरोधाभासपूर्ण कुराको पर्दाफास गर्नु र यस्तो अचाक्ली कर लगाउँदा हुने खतराहरू तथा यस्तो प्रस्तावित नियमले सबैको धार्मिक स्वतन्त्रता हनन गर्छ भनी प्रकाश पार्नु थियो।a

लामो दिन

केही मण्डलीका साक्षीहरूले बिहान दुई बजे नै ट्रेन स्टेसन, कारखाना र विमानस्थलहरूबाहिर पर्चा वितरण गर्न सुरु गरे। बिहान छ बजे पेरिसमा चहलपहल सुरु हुन्छ। सार्वजनिक सवारीसाधन चढेर आफ्नो कार्यस्थल जाने मानिसहरूलाई भेट्‌न झन्डै ६,००० स्वयम्‌सेवकलाई शहरका महत्त्वपूर्ण स्थानहरूमा राखियो। एक युवतीले यस्तो टिप्पणी गरिन्‌: “धार्मिक स्वतन्त्रताको निम्ति तपाईंहरूले जे गरिरहनुभएको छ, त्यो सराहना योग्य छ। यसमा यहोवाका साक्षीहरू मात्र मुछिएका छैनन्‌।” मार्सेंमा ३५० जना भन्दा बढी साक्षीहरूले सबवे र सडकमा पर्चा वितरण गरे। त्यसको एक घण्टामै सरकारी रेडियोले यस अभियानबारे बताउँदै आफ्ना श्रोताहरूलाई यहोवाका साक्षीहरू तपाईंहरूलाई भेट्‌न आएमा छक्क नपर्नुहोस्‌ भनी भन्यो। मानव अधिकारसम्बन्धी युरोपेली अदालत भएको शहर स्ट्रासबर्गको मध्ये भागमा पर्ने स्टेसनमा यात्रुहरू पर्चा प्राप्त गर्न धैर्यपूर्वक लाइन लागे। भिन्‍नै विश्‍वास भएका एक जना वकिलले हाम्रो संघर्ष महत्त्वपूर्ण र सही भएको कारण हाम्रो मुद्दा चासो दिएर हेरिरहेको बताए।

बिहान आठ बजे घनघोर पानी परे तापनि ग्रेनोबल नाउँ गरेको हिमाली शहरका ५०७ जना साक्षीहरूले सडक सडकमा पर्चा वितरण गरे वा हरेक व्यक्‍तिगत पत्रमञ्जूषामा पर्चा खसाले। कार तथा ट्राम चालकहरूले केही भइरहेको देखे र आफ्नो सवारीसाधन रोकेर पर्चा मागे। पश्‍चिममा पर्ने पोइटर्स नाउँ गरेको शहरमा नौ बजे रेलबाट आइपुग्ने यात्रुहरूले आफू रेल चढेको ठाउँबाट पर्चा पाइसकेका थिए। जर्मन सीमासँगै पर्ने शहर मूलहाउसमा ४०,००० प्रति वितरण गरिसकेको थियो।

बिहान दस बजेसम्ममा थुप्रै मण्डलीले आफूसँग भएको आधाभन्दा बढी पर्चा वितरण गरिसकेका थिए। दिन बित्दै जाँदा थोरै मानिसले मात्र पर्चा लिन मानेनन्‌ र धेरै चाखलाग्दा वार्तालापहरू भए। स्वीस सीमाभन्दा ८० किलोमिटर टाढा बेस्कांनमा एक जना युवकले बाइबलप्रति चासो व्यक्‍त गरे र परमेश्‍वरले किन दुःखकष्ट रहिरहन दिनुभएको भनी सोधे। थप छलफलको निम्ति तिनलाई सँगैको राज्यभवनमा आउन निम्तो दिइयो र त्यहाँ परमेश्‍वर हामीबाट के चाहनुहुन्छ? पुस्तिकाबाट तुरुन्तै बाइबल अध्ययन सुरु गरियो।

थुप्रै साक्षीले दिउँसो खाजा खाने छुट्टिको समयमा एक वा दुई घण्टाजति प्रचार गरे। दिनभरि नै वितरण अभियान चलिरह्‍यो र थुप्रै मण्डलीको दिउँसो तीन चार बजेतिर वितरण कार्य सिद्धियो। असल श्‍यामपेनको निम्ति प्रख्यात शहर रिम्समा यहोवाका साक्षीहरूसँग पहिला अध्ययन वा संगत गरेका मानिसहरूले पुनः मण्डलीमा सम्पर्क राख्ने इच्छा व्यक्‍त गरे। बोर्डोमा तीनवटा गृह बाइबल अध्ययन सुरु भएको छ। सोही शहरमा, एउटी साक्षी अखबार किन्‍न एउटा पसल जाँदा तिनले काउन्टरमा पर्चाहरूको एक चाङ देख्छिन्‌। वास्तवमा, त्यो पसले पहिला यहोवाको साक्षी रहिछे र तिनले ती पर्चाहरू प्राप्त गरेकी रहिछे। यो पर्चाहरूको महत्त्व बुझेपछि अरूलाई पनि वितरण गर्न फोटोकपी गरेकी रहिछे।

ली हार्भे, नोरमान्डीमा यहोवाका साक्षीहरूको चन्दामा कर लगाइएको कुरा रेडियोमा सुनेपछि एक जना प्रोटेस्टेन महिला तीन छक पर्छिन्‌। तिनी उत्सुकतासाथ पर्चा स्वीकार्छिन्‌ र यस्तो अन्याय विरुद्ध आवाज उठाएकोमा साक्षीहरूलाई बधाइ दिन्छिन्‌। साँझ ७:२० बजे लियोंको स्थानीय टिभी समाचारले पर्चा वितरणबारे यस्तो टिप्पणी गऱ्‍यो: “आज बिहान यहोवाका साक्षीहरूको पर्चाभन्दा बरु वर्षाको पानी छल्नु सजिलो थियो।” दुई साक्षीहरूको अन्तरवार्ता लिइन्छ र तिनीहरूले अभियानको कारण बताउँछन्‌।

आफ्नो जागिरको समयपछि वितरण कार्यमा भाग लिन चाहने साक्षीहरूले घर फर्कंदै गरेका मानिसहरूलाई पर्चा दिनुका साथै पत्रमञ्जूषाहरूमा पर्चा खसाल्छन्‌। ब्रेस्ट र लिमोगेसजस्ता चिनियाँ माटोबाट बनिएका चीजहरूको निम्ति प्रख्यात शहरहरूमा राती ११:०० बजेतिर चलचित्र भवनबाट फर्कनेहरू त्यस दिन पर्चा पाउनेहरूमध्ये अन्तिम व्यक्‍तिहरू थिए। बाँकी रहेका पर्चाहरू जम्मा गरेर भोलिपल्ट बिहान वितरण गरिन्छ।

नतिजा

एक जना साक्षीले यस्तो लेखे: “हाम्रा विरोधीहरू हामीलाई कमजोर बनाइरहेका ठान्छन्‌। तर वास्तवमा भन्‍ने हो भने, त्यसको ठीक उल्टो भइरहेको छ।” अधिकांश मण्डलीहरूमा त्यस दिन ७५ प्रतिशतभन्दा बढी साक्षीहरूले भाग लिए, कसैकसैले त यस गतिविधिमा १०, १२ वा १४ घण्टासम्म बिताए। फ्रान्सको उत्तरमा पर्ने एम नाउँ गरेको शहरमा एक जना साक्षीले रातीको ड्युटी सिध्याएर बिहान पाँच बजेदेखि दिउँसो तीन बजेसम्म पर्चा वितरण गरे। सन्‌ १९०६ देखि मण्डली रहँदै आएको नजिकैको डेनें शहरमा ७५ जना साक्षीले शुक्रबारको दिन पर्चा वितरण गर्दै २०० घण्टा बिताए। अरूचाहिं वृद्धावस्था, अशक्‍तता र खराब मौसमको बावजूद पर्चा वितरण कार्यमा भाग लिन कटिबद्ध थिए। उदाहरणका लागि, ले मोंमा ८० वर्ष नाघिसकेका तीन जना बहिनीहरूले पत्रमञ्जूषाहरूमा पर्चा खसाल्न दुई घण्टा बिताए र हिंडडुल गर्न नसक्ने अपांग भाइले ट्रेन स्टेसनबाहिर पर्चा वितरण गरे। अनि पहिला निष्क्रिय भएका थुप्रै साक्षीहरूले यस विशेष गतिविधिमा भाग लिएको हेर्न पाउनु साह्रै प्रोत्साहनजनक कुरा थियो!

निस्सन्देह, यस वितरणद्वारा अत्यन्तै राम्रो साक्षी दिइयो। जीवनका हरेक क्षेत्रका मानिसहरू जसमध्ये कतिपयलाई घरमा भेटिदैंन्थ्यो, तिनीहरूले पर्चाको प्रति प्राप्त गरे। यस अभियानले गर्दा साक्षीहरूको गतिविधिको सुरक्षाको अलावा अन्य धेरै कुरा उपलब्ध भएको कुरा थुप्रै व्यक्‍तिविशेषले बताए। थुप्रैले यो अभियान, सबै फ्रान्सवासीहरूको आ-आफ्नो अन्तस्करणअनुसार उपासना गर्न पाउनुपर्ने स्वतन्त्रको सुरक्षा हो भन्‍ने धारणा राखे। यसको प्रमाणस्वरूप मानिसहरूले आफ्ना मित्र, सहकर्मी वा नातेदारहरूलाई पनि पर्चा दिन पर्चाका थप प्रतिहरू मागे।

हो, फ्रान्सका यहोवाका साक्षीहरू, यहोवाको नाउँ र राज्य गतिविधिबारे अरूलाई बताउँन पाएकोमा गर्व गर्छन्‌। (१ पत्रुस ३:१५) “धार्मिक र आदरणीय जीवन बिताउन सकौं” र तिनीहरूको स्वर्गमा हुनुहुने पिता यहोवाको प्रशंसा गर्ने काममा अझ हजारौंले भाग लिऊन्‌ भनी तिनीहरू निष्कपट आशा गर्छन्‌।—१ तिमोथी २:२, नयाँ संशोधित संस्करण।

[फुटनोट]

a धार्मिक भेदभावको विरोध गर्न जनवरी १९९९ मा पनि यस्तै अभियान चालिएको थियो। अगस्त १, १९९९, प्रहरीधरहरा-को पृष्ठ ९ र २००० यरबूक अफ जेहोभाज्‌ विट्‌नेसेज-को पृष्ठ २४-६ हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने